Revised Common Lectionary (Complementary)
दाऊदको प्रार्थना।
86 म दरिद्र र असहाय मानिस हुँ।
हे परमप्रभु, दया गरि मेरो प्रार्थना सुन्नुहोस्, अनि उत्तर दिनुहोस्।
2 हे परमप्रभु, म तपाईंको भक्त हुँ, दयागरी मलाई बचाउनु होस्।
म तपाईंको दास हुँ, तपाईं मेरो परमेश्वर हुनुहुन्छ,
मेरो भरोसा तपाईंमा छ, मलाई रक्षा गर्नुहोस्।
3 मेरो स्वामी, ममाथि दया गर्नुहोस्।
म प्रत्येक क्षण तपाईंलाई नै प्रार्थना गरीरहेछु,।
4 हे स्वामी, म मेरो जीवनलाई तपाईं कै हातमा सुम्पिन्छु।
मलाई उपयोगी बनाउनु होस्, म तपाईंको दास हुँ।
5 हे स्वामी, तपाईं धर्मी र दयालु हुनुहुन्छ।
तपाईका मानिसहरू तपाईंलाई सहयोग माग्छन्, तपाईं ती मानिसहरूलाई साँच्चि नै प्रेम गर्नुहुन्छ।
6 परमप्रभु, मेरो प्रार्थना ग्रहण गर्नुहोस्।
कृपादानको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।
7 परमप्रभु, म मेरो सङ्कटको समयमा तपाईंलाई प्रार्थना गर्दछु,
म जान्दछु तपाईंले जवाफ दिनु हुनेछ!
8 हे परमेश्वर, तपाईं झैं अर्को कोही छैन।
तपाईंले गर्नु भएको काम अरू कसैले गर्न सक्दैनन्।
9 स्वामी, तपाईंले प्रत्येक व्यक्तिलाई बनाउनु भयो।
तिनीहरू सबै जना आए र तपाईलाई उपासना गरून्।
तिनीहरू सबै जनाले तपाईंको नामको सम्मान गरून्।
10 हे परमेश्वर, तपाईं महान् हुनुहुन्छ!
तपाईं अद्भूत कार्यहरू गर्नुहुन्छ, तपाईं अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ।
11 हे परमप्रभु, तपाईंको तरिकाहरू सिकाउनु होस्,
अनि म बाँच्नेछु र सत्य पालन गर्नेछु।
मलाई मेरो जीवनको मुख्य चीज,
तपाईंको नाउँमा पूजा गरिरहन सहायता गर्नु होस्।
12 हे परमेश्वर, मेरो स्वामी तपाईंको प्रशंसा गर्दछु।
मेरो सम्पूर्ण हृदयबाट म तपाईंको नामको अनन्त सम्मान गर्नेछु।
13 हे परमेश्वर, तपाईंसँग मप्रति कति बढ्ता प्रेम छ?
तपाईंले मलाई मुत्युको मुखबाट बचाउनु भयो।
14 अंहकारीहरूले ममाथि आक्रमण गरिरहेछन्, परमेश्वर।
निर्दयी झुण्डका मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्।
अनि त्यस्ता मानिसहरूले तपाईंको इज्जत गर्दैनन्।
15 हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ।
तपाईंमा धैर्य, सत्यता र कृपाले भरिपूर्ण छ।
16 परमेश्वर, तपाईंले मेरो कुरा सुनेको र मप्रति कृपालु भएको देखाउनु होस्।
म तपाईंको दास हुँ, मलाई बल प्रदान गर्नुहोस्।
म तपाईंको दास हुँ, मलाई बचाउनु होस्!
17 परमेश्वर, तपाईंले मलाई साथ दिएको संकेत दिनुहोस्।
मेरो शत्रुहरूले त्यो संकेत हेर्नेछन् अनि तिनीहरू असन्तुष्ट हुनेछन्।
त्यसले तपाईंले मेरो प्रार्थना सुन्नु भएको बुझाउँछ अनि मलाई तपाईंले सहायता दिनु हुनेछ।
हागार कमारी स्त्री
16 साराई अब्रामकी पत्नी थिइन्, तर ती दुइ जनाको कुनै सन्तान भएन। साराईकी एउटी कमारी थिई, जसको नाउँ हागार थियो त्यो मिश्रकी थिई। 2 साराईले आफ्नो लोग्नेलाई भनी, “परमप्रभुले मलाई कुनै सन्तान दिनु भएन। यसर्थ मेरी कमारीसित तपाईंले सहवास गर्नुहोस् अनि म त्यस कमारीबाट जन्मेको नानीलाई मेरो आफ्नै नानी मान्नेछु।” अब्रामले आफ्नी पत्नीको सल्लाह माने।
3 यो घट्ना अब्राम कनानमा दशबर्षसम्म बसे पछिको हो। साराईले अब्रामलाई आफ्नो कमारी राख्ने अनुमति दिई हालिन्। (हागार साराईको मिश्र देशकी कमारी थिई)
4 हागारले अब्रामको गर्भ धारण गरी। जब उनले चाल पाई उनले गर्भ धारण गरी ऊ घमण्डले फुलिइ अनि अनुभव गरी ऊ साराई उसको मालिकनीभन्दा असल हो। 5 तर साराईले अब्रामलाई भनिन्, “मेरी कमारीले मलाई घृणा गर्छे। यसको निम्ति म तपाईंलाई जिम्मावार ठहराउँछु। मैले तपाईंलाई आफ्नी कमारी दिएँ र त्यसले गर्भ धारण गरी। तब उनले आफूलाई म भन्दा असल हुँ भन्ने गर्छे। म चाहन्छु परमप्रभुले हामी दुइ बीच ठीक न्याय गरून्।”
6 तर अब्रामले साराईलाई भने, “तिमी हागारकी मालिकनी हौ र तिमीले उसलाई जे इच्छा लाग्छ त्यही गर्न सक्छौ।” यसर्थ साराईले हागारलाई सजाय दिई अनि हागार भागी।
हागारको छोरो इश्माएल
7 परमप्रभुको र्स्वग दूतले हागारलाई मरुभूमिमा पानीको स्रोतनेर भेटे। त्यो पानीको स्रोत शूर जाने बाटोनिर थियो। 8 स्वर्गदूतले हागारलाई भने, “हागार तिमी साराईकी दासी हौ, तिमी किन यहाँ छौ? तिमी कहाँ जाँदैछौ?”
हागारले भनी, “म साराईदेखि भाग्दैछु।”
9 परमप्रभुका स्वर्गदूतले हागारलाई भने, “साराई तिम्री मालिक्नी हुन, फर्केर जाऊ अनि तिनको आज्ञा पालन गर।” 10 स्वर्गदूतले पनि भने, “म तिम्रा सन्तानहरू यति सम्म बढाउनेछु तिनीहरूलाई गन्न सकिंदैन।”
11 परमप्रभुका दूतले यसो पनि भने,
“हागार अहिले तिमी गर्भवती छौ,
अनि तिमीले छोरो जन्माउने छौ।
तिमीले उसको नाउँ इश्माएल राख्ने छौ,
किनभने तिमीलाई कुव्यावहार गरिएको छ जो परमप्रभुले सुन्नु भएको छ,
र उहाँले तिमीलाई सहायता गर्नु हुनेछ।
12 इश्माएल स्वतन्त्र
र जंङ्गली गधा झैं हुनेछ,
ऊ सबैको विरूद्धमा जानेछ,
अनि सबै व्यक्तिहरू उसको विरूद्धमा आउनेछन्।
ऊ एउटा भूमिबाट अर्को भूमिमा जानेछ,
उनले आफ्नो आफन्तहरूको नजिक पाल हाल्नेछ,
तर तिनीहरूको विरूद्धमा जानेछ।”
13 परमप्रभुले हागारसित कुरा गर्नु भयो। हागारले परमेश्वरलाई अर्कै नाउँले सम्बोधन गरेर भनिन्, “तपाईं परमेश्वर हुनुहुन्छ जसले मेरो हेरचाह गर्नु हुन्छ।” यसैकारण उनले भनिन्, किनभने उनले विचार गरिन्, उनले साँच्चै त्यहाँ परमप्रभुलाई देखिन् जसले उसको हेरचाह गर्नु हुदै थियो। 14 यसैले त्यस पानीको स्रोतको नाउँ बेर-लहै-रोइ राखियो। त्यो स्रोत कादेश र बेरेदको बीचमा छ।
परमेश्वरको राज्यमा को पस्न पाउने छ?
(मत्ती 19:13-15; मर्कूस 10:13-16)
15 कोही मानिसहरूले आ-आफ्ना बालकहरू येशूकहाँ ल्याँउदै थिए ताकि येशूले तिनीहरूलाई छोएर आशीर्वाद दिनुभएको होस्। तर चेलाहरूले जब देखे, तिनीहरूले मानिसहरूलाई हकारे। 16 तर येशूले ती ससाना बालहरूलाई बोलाउनु भयो अनि चेलाहरूलाई भन्नुभयो, “ती स साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यी बालकहरू जस्तै मानिसहरूको हो। 17 म तिमीहरूलाई साँच्चो भन्दछु तिमीहरूले ससाना बालकले केही थोक ग्रहण गरे जस्तै परमेश्वरको राज्यलाई पनि ग्रहण गर्नु पर्छ। नत्र तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ!”
© 2004, 2010 Bible League International