Revised Common Lectionary (Complementary)
दाऊदको प्रार्थना।
86 म दरिद्र र असहाय मानिस हुँ।
हे परमप्रभु, दया गरि मेरो प्रार्थना सुन्नुहोस्, अनि उत्तर दिनुहोस्।
2 हे परमप्रभु, म तपाईंको भक्त हुँ, दयागरी मलाई बचाउनु होस्।
म तपाईंको दास हुँ, तपाईं मेरो परमेश्वर हुनुहुन्छ,
मेरो भरोसा तपाईंमा छ, मलाई रक्षा गर्नुहोस्।
3 मेरो स्वामी, ममाथि दया गर्नुहोस्।
म प्रत्येक क्षण तपाईंलाई नै प्रार्थना गरीरहेछु,।
4 हे स्वामी, म मेरो जीवनलाई तपाईं कै हातमा सुम्पिन्छु।
मलाई उपयोगी बनाउनु होस्, म तपाईंको दास हुँ।
5 हे स्वामी, तपाईं धर्मी र दयालु हुनुहुन्छ।
तपाईका मानिसहरू तपाईंलाई सहयोग माग्छन्, तपाईं ती मानिसहरूलाई साँच्चि नै प्रेम गर्नुहुन्छ।
6 परमप्रभु, मेरो प्रार्थना ग्रहण गर्नुहोस्।
कृपादानको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।
7 परमप्रभु, म मेरो सङ्कटको समयमा तपाईंलाई प्रार्थना गर्दछु,
म जान्दछु तपाईंले जवाफ दिनु हुनेछ!
8 हे परमेश्वर, तपाईं झैं अर्को कोही छैन।
तपाईंले गर्नु भएको काम अरू कसैले गर्न सक्दैनन्।
9 स्वामी, तपाईंले प्रत्येक व्यक्तिलाई बनाउनु भयो।
तिनीहरू सबै जना आए र तपाईलाई उपासना गरून्।
तिनीहरू सबै जनाले तपाईंको नामको सम्मान गरून्।
10 हे परमेश्वर, तपाईं महान् हुनुहुन्छ!
तपाईं अद्भूत कार्यहरू गर्नुहुन्छ, तपाईं अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ।
11 हे परमप्रभु, तपाईंको तरिकाहरू सिकाउनु होस्,
अनि म बाँच्नेछु र सत्य पालन गर्नेछु।
मलाई मेरो जीवनको मुख्य चीज,
तपाईंको नाउँमा पूजा गरिरहन सहायता गर्नु होस्।
12 हे परमेश्वर, मेरो स्वामी तपाईंको प्रशंसा गर्दछु।
मेरो सम्पूर्ण हृदयबाट म तपाईंको नामको अनन्त सम्मान गर्नेछु।
13 हे परमेश्वर, तपाईंसँग मप्रति कति बढ्ता प्रेम छ?
तपाईंले मलाई मुत्युको मुखबाट बचाउनु भयो।
14 अंहकारीहरूले ममाथि आक्रमण गरिरहेछन्, परमेश्वर।
निर्दयी झुण्डका मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्।
अनि त्यस्ता मानिसहरूले तपाईंको इज्जत गर्दैनन्।
15 हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ।
तपाईंमा धैर्य, सत्यता र कृपाले भरिपूर्ण छ।
16 परमेश्वर, तपाईंले मेरो कुरा सुनेको र मप्रति कृपालु भएको देखाउनु होस्।
म तपाईंको दास हुँ, मलाई बल प्रदान गर्नुहोस्।
म तपाईंको दास हुँ, मलाई बचाउनु होस्!
17 परमेश्वर, तपाईंले मलाई साथ दिएको संकेत दिनुहोस्।
मेरो शत्रुहरूले त्यो संकेत हेर्नेछन् अनि तिनीहरू असन्तुष्ट हुनेछन्।
त्यसले तपाईंले मेरो प्रार्थना सुन्नु भएको बुझाउँछ अनि मलाई तपाईंले सहायता दिनु हुनेछ।
27 शहरको किनारतिर शाऊल, तिनका नोकर र शमूएल अघि बढ्दै थिए। शमूएलले शाऊललाई भने, “तपाईंको नोकरलाई हामी भन्दा अघि हिँड्न भन्नुहोस्। मैले तपाईंलाई परमेश्वरको संदेश सुनाउन बाँकी नै छ।” नोकर तिनीहरू भन्दा केही अघि हिँड्न थाल्यो।
शमूएलले शाऊललाई अभिषेक गरिदिए
10 शमूएलले एक ढुँग्रो विशेष तेल लिए र शाऊलको टाउकोमा खन्याई दिए। शमूएलले म्वाई खाँदै भने, “परमप्रभुले तपाईंलाई आफ्ना मानिसहरूका अगुवाको रूपमा अभिषेक गर्नुभएको छ। तपाईंले परमप्रभुका मानिसहरूलाई शासन गर्नुहुनेछ तपाईंले तिनीहरूलाई चारैतिरका शत्रुबाट रक्षा गर्नुपर्छ। परमप्रभुले तपाईंलाई आफ्नो मानिसहरूको शासकको रूपमा अभिषेक गर्नुभएको हो। यहाँ एउटा संकेत छ त्यसले यो सत्य हो भनि प्रमाण दिइने छ। 2 आज तपाईंले मबाट बिदा भएर जानु भएपछि बिन्यामिनीको सिमानामा भएको राहेलको चिहाननेर सेलमहमा दुइजना मानिसहरू भेट्टाउनु हुनेछ। ती दुइजना मानिसहरूले भन्नेछन्, ‘तपाईंले खोजिरहनु भएको गधाहरू कसैले पाएको छ। तपाईंका पिता गधाहरूबारे चिन्तित हुन छाडेर तपाईंको निम्ति सुर्ता गर्दै भन्दै हुनुहुन्छ: अब म मेरो छोराको लागि के गरूँ?’”
3 तब शमूएलले भने, “तपाईंहरू ताबेरमा बज्राँठको रूख नआइन्जेलसम्म अघि बढ्नुहोस्। त्यहाँ तीनजना मानिसहरू भेट्नुहुनेछ। तिनीहरू बेतेलमा परमेश्वरको आराधना गर्न गइरहेका हुनेछन्। ती मध्येको पहिलोले तीनवटा पाठा बोकेको हुनेछ। दोस्रोले तीनवटा रोटी र तेस्रोले एक मशक दाखरस बोकेको हुनेछन्। 4 ती तीनै जना मानिसले तपाईंलाई अभिवादन गर्नेछन्। तिनीहरूले दुइवटा रोटी दिनेछन्। ती दुइवटै रोटी तपाईंले स्वीकार गर्नुपर्छ। 5 त्यहाँबाट तपाईं गिबियत एलोहिम जानुपर्छ। त्यहाँ पलिश्तीहरूको एउटा चौकी छ। जब तपाईं त्यस शहरमा पुग्नुहुन्छ केही अगमवक्ताहरू निक्लदै गरेको भेट्नु हुनेछ। ती अगमवक्ताहरू आराधनास्थानबाट झर्दै गरेका हुनेछन्। तिनीहरूले अगमवाणीहरू बोलिरहेका हुनेछन्। तिनीहरूले खैंजडी, ढोलक, बाँसुरी र वीणा बजाउँदै गरेका हुनेछन्। 6 त्यति बेला परमप्रभुको आत्मा तपाईंमाथि उत्रनुहुनेछ र तपाईंलाई शक्ति दिनुहुनेछ, तपाईं परिवर्तन हुनुहुनेछ। तपाईं भिन्न मानिस हुनुहुनेछ। तपाईं पनि ती अगमवक्ताहरूसितै अगमवाणी बोल्नसक्ने हुनुहुन्छ। 7 यी घटनाहरू घटिसके पछि तपाईं जे चाहनुहुन्छ गर्न सक्नुहुन्छ। किनकी परमेश्वर तपाईंसित हुनुहुनेछ।
8 “म भन्दा पहिले गिलगाल जानुहोस्। त्यसपछि म तपाईं भएकोमा आउने छु। म त्यहाँ होमबलि र मेलबलि चढाउँनेछु। तर तपाईंले सात दिन पर्खनु पर्नेछ। तब म आउनेछु अनि तपाईंले के गर्नुपर्छ म बताउँनेछु।”
अन्यजातिहरूसँग जीउन वारे चेताउनी
14 अविश्वासीहरू जस्ता तिमीहरू होइनौ। यसैले उनीहरूसँग सहभागी नहोऊ। असल र खराबमा के साझेदारी हुन्छ? अँध्यारो र उज्यालो एकैसाथ हुन सक्दैन। 15 ख्रीष्ट र बेलियालले कसरी सम्झौता गर्न सक्छन्? एक विश्वासीले अविश्वासीबाट के पाउन सक्छ? 16 परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छ,
“म तिनीहरूसित बस्छु,
तिनीहरूसितै हिँड्छु,
म तिनीहरूका परमेश्वर हुनेछु,
अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।”(A)
17 “यसैले ती मानिसहरूबाट निस्केर आऊ,
आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ,
केही असुद्ध कुराहरू नछोऊ,
र म तिमीरूलाई स्वीकार गर्नेछु।”(B)
18 “म तिमीहरूका पिता बन्नेछु,
अनि तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ,
सर्वशक्तिमान् परम प्रभु भन्नु हुन्छ।”(C)
7 प्यारा साथीहरू! हामीले परमेश्वरबाट यी प्रतिज्ञाहरू पाएकोछौं। यसकराण हरेक किसिमको अशूद्धताबाट हाम्रा शरीर वा हाम्रा अत्मालाई पवित्र पर्छ। हाम्रो जिउने तरिकामा परिपक्क हुने कोशिश हामीले गर्नुपर्छ, किनकि हामी परमेश्वरलाई आदर गर्छौं।
© 2004, 2010 Bible League International