Revised Common Lectionary (Complementary)
148 परमप्रभुको प्रशंसा गर!
माथि स्वर्गमा भएका स्वर्गदूतहरू हो।
परमप्रभुको प्रशंसा गर।
2 हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर!
उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!
3 हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर।
आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।
4 हे आकाशका आकाश, परमप्रभुको प्रशंसा गर!
आकाशमाथि भएका पानी हो, परमप्रभुको प्रशंसा गर!
5 परमप्रभुको प्रशंसा गर!
किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो।
6 परमेश्वरले यी सब कुराहरू सदा-सर्वदा रहोस् भनी रच्नुभयो।
परमेश्वरले सारा नियमहरू बनाउनुभयो जुन कहिल्यै अन्त हुने छैनन्।
7 हे पृथ्वीमा भएका सारा कुराहरू हो, परमप्रभुको प्रशंसा गर!
समुद्रमा भएका सारा ठूल-ठूला प्राणीहरू हो, परमप्रभुको प्रशंसा गर।
8 परमेश्वरले आगो र हिउँ,
असिना, धुँवा, आँधी, बतास रच्नुभयो।
9 परमेश्वरले पर्वतहरू र डाँडा-काँडाहरू रचना गर्नुभयो,
फलका रूखहरू र देवदारको रूखहरू रच्नुभयो।
10 परमेश्वरले सारा जङ्गली पशुहरू, विशाल पशुहरू,
साना-साना घस्रने जन्तुहरू साथै चरा-चरूङ्गीहरू रच्नु भयो।
11 परमेश्वरले राजा र राष्ट्रहरू दुवै पृथ्वीमा बनाउनु भयो।
परमेश्वरले अगुवाहरू र न्याय कर्ताहरू बनाउनु भयो।
12 परमेश्वरले जवान पुरूष र नारीहरू रच्नु भयो।
परमेश्वरले बृद्ध र युवा मानिसहरू रच्नु भयो।
13 परमप्रभुको नाउँको प्रशंसा गर!
सदा-सर्वदा उहाँको नाउँको सम्मान गर।
स्वर्ग र पृथ्वीमा भएको प्रत्येक चीजले
उहाँको प्रशंसा गरोस्!
14 परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ।
मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्।
मानिसहरूले इस्राएललाई प्रशंसा गर्नेछन्।
तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो, परमप्रभुको प्रशंसा गरौं!
प्रस्तावना
1 यी हितोपदेशहरू दाऊदका छोरा सुलेमानका हुन्। सुलेमान इस्राएलका राजा थिए। 2 मानिसहरू ज्ञानी भएर असल कर्म गर्न सिकुन् भनी यी वचनहरू लेखिएका हुन्। यी वचनहरूले मानिसहरूलाई असल-असल शिक्षाहरू ग्रहण गर्न सिकाउँछन्। 3 यी वचनहरूले मानिसहरूलाई विवेकशील, असल, न्यायपूर्ण, ईमान्दार हुन सही मार्गदर्शन गर्छन्। 4 यी हितोपदेशहरूले अनुभवहीन मानिसहरूलाई विवेकशील भएर काम गर्न सिकाउँछन्। तिनीहरूले युवकहरूलाई बुद्धि दिन्छन् अनि यसलाई तिनीहरूले कसरी प्रयोग गर्ने भन्ने सिकाउँछन्। 5 बुद्धिमान मानिसहरूले यी वचनहरू सुनेर अथवा पढेर आफ्नो ज्ञान बढाइ दिशा निर्देशन पाउँछन्। ती बुद्धिमानी मानिसहरूले यी वचनहरूबाट अझ वेशी ज्ञान विकास गराउँन सक्छन् र अझ ज्ञानी हुन्छन्। अनि त्यस्ता मानिसहरू जो समस्या समाधान गर्न निपुण छन् तिनीहरूले यी वचनहरूबाट अझ ज्ञान-आर्जन गर्छन्। 6 तब गुप्त अर्थहरू भएका कार्यहरू अनि भनाईहरू ती मानिसहरूका निम्ति स्पष्ट हुनेछन्। रहस्यमय कुराहरू तिनीहरू बुझ्न योग्य हुनेछन्।
7 परमप्रभुलाई सम्मान गर्नु बुद्धिको शुरूवात हो। तर मूर्खहरूले[a] अनुशासन अनि ज्ञानलाई घृणा गर्छन्।
साँच्चो ज्ञान
13 यहाँ तिमीहरू माझ कुनै यस्तो मानिस छ जो ज्ञानी अनि बुद्धिमान छ? तब उसले ठीकसित बसेर आफ्नो ज्ञानको प्रमाण दिनु पर्छ। उसले ज्ञानबाट आउने नम्रतासित काम गर्नुपर्छ। 14 यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन। 15 यस किसिमको “ज्ञान” माथिका परमेश्वरबाट आउँदैन। यो “ज्ञान” संसारबाट आउँछ। त्यो आध्यात्मिक होइन, त्यो शैतानबाट हो। 16 जहाँ इर्ष्या अनि स्वार्थ छ त्यहाँ अव्यवस्थित अनि हरेक किसिमको दुष्टाँई हुन्छन्। 17 तर ज्ञान जो माथिका परमेश्वरबाट आउँछ त्यो यस्तो हुन्छ प्रथम त्यो शुद्ध हुन्छ। त्यो शान्तिमय नम्र र तर्क सँगति हुन्छ। यो ज्ञान सर्वदा जो मानिसहरू समस्यामा छन् तिनीहरूलाई सहायता गर्न सधैँ तत्पर रहन्छ अनि अन्य मानिसहरूको लागि उपकार गर्ने हुन्छ। यो ज्ञान सदैव निष्पक्ष अनि इमान्दार हुन्छ। 18 मानिसहरू जो शान्तिको निम्ति शान्तिसाथ कार्य गर्छन् तिनीहरूले धार्मिकताको फसल बटुल्छन्।
© 2004, 2010 Bible League International