Revised Common Lectionary (Complementary)
148 परमप्रभुको प्रशंसा गर!
माथि स्वर्गमा भएका स्वर्गदूतहरू हो।
परमप्रभुको प्रशंसा गर।
2 हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर!
उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!
3 हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर।
आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।
4 हे आकाशका आकाश, परमप्रभुको प्रशंसा गर!
आकाशमाथि भएका पानी हो, परमप्रभुको प्रशंसा गर!
5 परमप्रभुको प्रशंसा गर!
किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो।
6 परमेश्वरले यी सब कुराहरू सदा-सर्वदा रहोस् भनी रच्नुभयो।
परमेश्वरले सारा नियमहरू बनाउनुभयो जुन कहिल्यै अन्त हुने छैनन्।
7 हे पृथ्वीमा भएका सारा कुराहरू हो, परमप्रभुको प्रशंसा गर!
समुद्रमा भएका सारा ठूल-ठूला प्राणीहरू हो, परमप्रभुको प्रशंसा गर।
8 परमेश्वरले आगो र हिउँ,
असिना, धुँवा, आँधी, बतास रच्नुभयो।
9 परमेश्वरले पर्वतहरू र डाँडा-काँडाहरू रचना गर्नुभयो,
फलका रूखहरू र देवदारको रूखहरू रच्नुभयो।
10 परमेश्वरले सारा जङ्गली पशुहरू, विशाल पशुहरू,
साना-साना घस्रने जन्तुहरू साथै चरा-चरूङ्गीहरू रच्नु भयो।
11 परमेश्वरले राजा र राष्ट्रहरू दुवै पृथ्वीमा बनाउनु भयो।
परमेश्वरले अगुवाहरू र न्याय कर्ताहरू बनाउनु भयो।
12 परमेश्वरले जवान पुरूष र नारीहरू रच्नु भयो।
परमेश्वरले बृद्ध र युवा मानिसहरू रच्नु भयो।
13 परमप्रभुको नाउँको प्रशंसा गर!
सदा-सर्वदा उहाँको नाउँको सम्मान गर।
स्वर्ग र पृथ्वीमा भएको प्रत्येक चीजले
उहाँको प्रशंसा गरोस्!
14 परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ।
मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्।
मानिसहरूले इस्राएललाई प्रशंसा गर्नेछन्।
तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो, परमप्रभुको प्रशंसा गरौं!
5 परमप्रभुले मलाई आमाको गर्भमा सिर्जना गर्नु भयो
ताकि याकूब र इस्राएललाई उहाँ समक्ष फर्काउनका लागि
उहाँको सेवक हुन सकुँ।
परमप्रभुले मलाई सम्मान गर्नुहुनेछ।
म परमेश्वरबाट आफ्नो बल पाउनेछु।
6 परमप्रभुले मलाई भन्नुभयो, “तिमी मेरो एक मुख्य दास हौ।
इस्राएलका मानिसहरू कैदी छन्, तर तिनीहरूलाई मकहाँ फर्काई ल्याउनेछु।
याकूबका वंशहरू मकहाँ फर्की आउनेछन्।
तर, तिमीसँग अर्को काम छ यो त्यो भन्दा पनि अझ मुख्य छ।
सारा जातिहरूका लागि म तिमीलाई ज्योति बनाउनेछु।
तिमी पृथ्वीमा भएका सारा मानिसहरूलाई बचाउने मेरो बाटो हुनेछौ।”
7 परमप्रभु, इस्राएलका परम-पवित्र
र इस्राएलका उद्धारक भन्नुहुन्छ,
“मेरो दास नम्र छ उसले शासकहरूको सेवा गर्दछ,
तर मानिसहरूले उसलाई हेला गर्दछन्।
तर, राजाहरूले उसलाई हेर्ने छन्,
अनि उसलाई आदर गर्न उभिनेछन्।
महान अगुवाहरूले ऊ अघि शिर झुकाउनेछन्।”
यो घट्ना हुने नै छ किनभने परमप्रभु, इस्राएलका परम-पवित्रले, यो चाहनुहुन्छ। अनि परमप्रभुलाई विश्वास गर्न सकिन्छ। उहाँले नै तिमीलाई चुन्नु भएको हो।
उद्धारको दिन
8 परमप्रभु भन्नुहुन्छ,
“त्यहाँ एक त्यस्तो विशेष समय आउनेछ जब म आफ्नो दया देखाउनेछु।
त्यस समय म तिम्रो प्रार्थनाको उत्तर दिनेछु।
त्यहाँ एक विशेष समय आउनेछ जब म तिमीलाई बचाउँछु,
त्यस समय म तिमीलाई सहायता गर्नेछु म तिमीलाई रक्षा गर्ने छु
अनि मानिसहरू र म बीच भएको करार पत्रको तिमी साक्षी हुनेछौ।
देश अहिले ध्वंश भयो तर तिमीले त्यो भूमि फिर्ता दिनेछौ,
ती मानिसहरूलाई जो त्यसको मालिक थियो।
9 तिमीहरूले कैदीहरूलाई भन्ने छौ,
‘कैदबाट तिमीहरू बाहिर आऊ।’
अन्धकारमा बस्ने मानिसहरूलाई तिमीहरूले भन्नेछौ,
‘अन्धकारबाट निस्क।’
यात्रा गरिरहेका बेलामा मानिसहरूले खानेछन्।
रित्तो पहाडहरूमा तिनीहरूले खानेकुरा पाउनेछन्।
10 मानिसहरू भोको हुने छैनन् नत तिनीहरू तिर्खाउने नै छन्।
तातो घाम र बतासले तिनीहरूलाई हानि पुर्याउने छैन्।
किनभने परमेश्वरले तिनीहरूलाई सान्त्वना दिनुहुनेछ,
अनि उहाँले तिनीहरूलाई डोर्याउनु हुनेछ।
उहाँले तिनीहरूलाई पानीका श्रोतहरूको छेउमा लैजानु हुनेछ।
11 मेरा मानिसहरूका लागि म बाटो बनाइदिनेछु।
पर्वतहरू समतल बनाई दिनेछु,
अनि भत्किएको बाटोहरू माथि उठ्नेछन्।
12 “हेर, मानिसहरू टाढा-टाढाबाट मकहाँ आइरहेछन्
उत्तर अनि र पश्चिमबाट आइरहेछन्।
मानिसहरू मकहाँ मिश्रदेश अन्तर्गत आस्वानबाट आइरहेछन्।”
13 हे स्वर्ग र पृथ्वी, आनन्दित होऊ।
हे पर्वतहरू आनन्दले चिच्याऊ।
किनभने परमप्रभुले आफ्नो मानिसहरूलाई सान्त्वना दिनुहुन्छ।
परमप्रभु आफ्ना गरीब मानिसहरू प्रति असल हुनुहुन्छ।
14 तर अहिले सियोनले भन्दछ, “परमप्रभुले मलाई त्याग्नु भयो,
मेरो मालिकले मलाई भुल्नु भयो।”
15 तर परमप्रभु भन्छु,
“के एउटी आमाले आफ्नो नानी बिर्सिन सक्छे?
के एउटी स्त्रीले आफ्नो गर्भबाट जन्माएको आफ्नै नानीलाई बिर्सिन सक्छे र?
यदि उसले बिर्सन सक्छे भने पनि,
म तिमीलाई बिर्सिने छैन।
चेलाहरू नै येशूका परिवार
(मर्कूस 3:31-35; लूका 8:19-21)
46 जब येशू मानिसहरूसित अझ बातचीत गर्दै हुनुहुन्थ्यो उहाँका आमा र भाइहरू बाहिर उभिरहेका थिए। तिनीहरू येशूसँग भेट गर्न चाहन्थे। 47 कुनै एकजनाले भने, “तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन्, अनि तिनीहरू तपाईंसँग भेट गर्न चाहन्छन्।” 48 येशूले त्यो बोल्दै गर्ने मानिसलाई भन्नुभयो, “मेरा आमा र मेरा भाइहरू को हुन्?”
49 आफ्ना चेलाहरूलाई संकेत गर्दै उहाँले भन्नुभयो, “हेर! यिनीहरू नै आमा र भाइहरू हुन्। 50 जसले स्वर्गको मेरो पिताले चाहनु भए झैं गर्दछ उनीहरूनै मेरा भाइ, बहिनी र आमा हुन्।”
© 2004, 2010 Bible League International