Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाईः अलामौथ ‘बिन’ रागमा गाउने दाऊदको भजन।
9 म सम्पूर्ण हृदयबाट परमप्रभुको प्रशंसा गर्छु।
हे परमप्रभु, तपाईंले सिर्जना गर्नु भएका सबै आर्श्चयपूर्ण कुराहरूको विषयमा म भन्नेछु।
2 सर्वोच्च परमेश्वर, म तपाईंको नाउँको प्रशंसा गर्छु।
तपाईंले मलाई अत्यन्त खुशी बनाउनु भयो।
3 मेरा शत्रुहरू तपाईंदेखि भागेर फर्किए
तर तिनीहरू लडे र नष्ट भए।
4 तपाईं साँच्चो न्यायकर्त्ता हुनुहुन्छ, तपाईं आफ्नो सिंहासनमा न्यायकर्त्ता सरह विराजमान हुनुहुन्छ।
हे परमप्रभु तपाईंले मेरो मामिला सुनिदिनु भयो र मेरो विषयमा निर्णय लिनु भयो।
5 तपाईंले अन्य मानिसहरूका दोष देखाउनु भयो।
हे परमप्रभु, तपाईंले ती दुष्टहरूलाई नाश गर्नुभयो।
तपाईंले तिनीहरूको नाउँ जिउँदा मानिसहरूको सूचीबाट सदाको लागि मेटिदिनु भयो।
6 शत्रुहरू खत्तम भए! हे परमप्रभु, तपाईंले तिनीहरूका शहरहरू पनि ध्वंश पारिदिनु भयो।
अब, खाली भग्नावशेष मात्र छाडिएका छन्।
ती दुष्टहरूको पुनः सम्झनाको लागि हामीसँग केही पनि बाँकी छैन।
7 तर परमप्रभुले सदा-सर्वदा राज्य गर्नुहुन्छ, परमप्रभुले आफ्नो साम्राज्य दह्रिलो बनाउनु भएको छ।
परमप्रभुले यस पृथ्वीमा भएका सबै मानिसहरूको ठीकसँग न्याय गर्नुहुन्छ।
8 परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ।
उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ।
9 धेरै मानिसहरू संकष्टमा फँसेका छन्
र पीडित छन् किनभने तिनीहरूसँग धेरै कष्टहरू छन्।
ती मानिसहरू आफ्ना समस्याहरूको बोझद्वारा श्रापित छन्।
परमप्रभु, सुरक्षाको स्थान हुनुहुन्छ, तिनीहरू भाग्न सक्छन्।
10 मानिसहरू ज-जसले तपाईंको नाउँ जान्दछन्
तपाईंमाथि भरोसा राख्ने नै छन्।
हे परमप्रभु, यदि मानिसहरू तपाईंकहाँ आए भने,
तपाईंले उनीहरूलाई सहयोग नगरी बस्न सक्नु हुन्न।
11 तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ।
अन्य मानिसहरूलाई पनि परमप्रभुले गर्नु भएका महान् कार्यहरूको विषयमा भन।
12 परमप्रभुले ती मानिसहरूलाई सम्झनु भयो
जसले उहाँलाई गुहारे।
ती दुःखी मानिसहरू सहयोगको लागि चिच्याए
अनि परमप्रभुले उनीहरूलाई बिर्सनु भएन।
13 मैले परमेश्वरलाई यो प्रार्थना गरें, “हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्।
मेरो शत्रुहरूले मलाई सताइरहेछन्,
‘मृत्युको द्वारबाट’ मलाई बचाउँनु होस्।
14 तब, यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु।
परमप्रभु म अत्यन्त खुशी हुनेछु किनभने तपाईंले मलाई बचाउँनु भयो।”
घोडाहरूको दर्शन
7 जकरियालाई फारसमा दाराको शासनकालको दोस्रो बर्षको (शाबाथको महिना) एघारैं महिनाको चौबिसौं दिनमा परमप्रभुबाट यो समचार प्राप्त भयो। (जकरिया बेरेक्याहका छोरा थिए अनि हेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए।) समचार यो थियोः
8 राती मैले एउटा मानिसलाई रातो घोडामा चढिरहेको देखें। त्यो बेंसीमा मेहेंदीको रूखहरूको बीचमा उभिरहेको थियो। त्यसको पछि राता, फुस्रो अनि सेतो घोडाहरू पनि थिए। 9 मैले सोधें, “यी घोडाहरू के को निम्ति, परमप्रभु?”
त्यस समय मसँग कुरा गर्ने स्वर्गदूतले भने, “म तिमीलाई देखाउनेछु यी घोडाहरू के को निम्ति हुन्।”
10 त्यसपछि मेहेंदीको रूखको बिचमा उभिएको मानिसले भन्यो, “परमप्रभुले यी घोडाहरू पृथ्वीमा यता-उता घुम्नको निम्ति पठाउनु भएको हो।”
11 त्यतिबेला घोडाहरूले मेहेंदीको रूखको बीचमा उभिएको परमप्रभुको स्वर्गदूतसँग कुरा गरे। उनीहरूले भने, “हामी पृथ्वीमा यता-उता घुमिसक्यौं अनि सबै शान्त र आराम छ।”
12 तब परमप्रभुका स्वर्गदूतले भने, “परमप्रभु तपाईंले यरूशलेम अनि यहूदाको शहरलाई कहिले सम्म सान्तवना दिनुहुन्छ? अहिले तपाईंले यी शहरहरूलाई सत्तरी बर्ष सम्म क्रोध देखाउँनु भयो।”
13 तब परमप्रभुले त्यो स्वर्गदूतलाई उत्तर दिनु भयो जो मसँग कुरा गरिरहेको थियो। परमप्रभुले सान्तवना पूर्ण वचनहरू भन्नुभयो। 14 त्यस समय परमप्रभुको एकजना स्वर्गदूत जो मसँग कुरा गरिरहेका थिए उनले मलाई भने, “मानिसहरूलाई यी सबै कुराहरू बताउँनु।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ:
“यरूशलेम अनि सियोनका निम्ति मेरो बिशेष प्रेम छ।
15 म यी राष्ट्रहरूप्रति अत्यन्तै क्रोधित छु,
जसले आफू अति सुरक्षित अनुभव गर्छ,
म अधिक क्रोधित भएको थिएँ,
अनि आफ्नो मानिसहरूलाई दण्ड दिनको लागि,
ती जातिहरूको प्रयोग गरें।
तर ती जातिहरूले ज्यादा भन्दा ज्यादा नोक्शान गरे।”
16 यसकारण, परमप्रभु भन्नुहुन्छ,
“म यरूशलेममा कृपा सहित जान्छु।”
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
“मेरो मन्दिर त्यहाँ पुनःनिर्माण गरिनेछ
अनि नाप्ने डोरी यरूसलेममाथि तन्काइनेछ।”
17 स्वर्गदूतले भने, “मानिसलाई यो पनि भन,
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
‘मेरो शहरमा फेरि उन्नति हुनेछ,
परमप्रभुले सियोनलाई आराम दिनुहुनेछ,
उहाँले यरूशलेमलाई फेरि चुन्नु हुनेछ।’”
तिमी यहूदीहरू पनि पापपूर्ण छौ
2 यदि तिमीले अरूलाई जाँच गर्न सक्छु भनेर सोच्छौ भने, तब तिमी भूल धारणामा छौ। तिमी पनि पापको दोषी छौ। तिमीले अरू मानिसहरूलाई जाँच गर्छौ तर तिमीले पनि त्यस्तै नराम्रो कामहरू गरेका हुन्छौ। यसकारण जब तिमी तिनीहरूलाई जाँच गर्छौ तब तिमी आफैंले आफूलाई जाँच गरिरहेका हुनेछौ। 2 ज-जसले नराम्रा कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ। अनि हामी जान्दछौं कि परमेश्वरको न्याय ठीक हुँदछ। 3 तिमीहरूले पनि ती गल्ती काम गर्नेलाई जाँच गर्छौ। तर तिमी आफैं पनि त्यस्तै नराम्रो काम गरिरहेका हुन्छौ। यसैले तिमीहरूलाई थाहा छ कि परमेश्वरले निश्चय न्याय गर्नुहुनेछ अनि त्यसबाट तिमीहरू भाग्न पाउने छैनौ। 4 के तिमी परमेश्वरको दया, सहनशीलता र धैर्यलाई नकार्न सक्छौ? के तिमीहरू उहाँको दया तिमीहरूकै हृदय र जीवन परिवर्तनको निम्ति हो भन्ने कुरालाई अमान्य ठान्छौ?
5 तर तिमीहरू आफूलाई परिवर्तन गर्ने कुरामा अत्यन्त उग्र र हठी छौ। यसकारण तिमीहरूले आफैं प्रति परमेश्वरको क्रोधलाई उकास्दैछौ जुन परमेश्वरको न्यायको बेलामा बुझ्ने छौ। 6 परमेश्वरले मानिसहरूका आ-आफ्नो कर्म अनुसार पुरस्कार अथवा दण्ड दिनुहुनेछ। 7 कतिपय मानिसहरू परमेश्वरको महिमा, सम्मान, र जीवनको लागि बाँच्दछन् जुन कहिल्यै नष्ट गर्न सकिंदैन। ती मानिसहरू जो यी कुराहरूका निम्ति बाँच्दछन्, उनीहरू सधैँ असल कर्म गर्दछन्। परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दान गर्नु हुँदछ। 8 तर अन्य मानिसहरू स्वार्थी र सत्य पछ्याउन अस्वीकार गर्छन्। तिनीहरूले दुष्टताको बाटो अफ्नाउँदछन्। परमेश्वरले उनीहरूलाई दण्ड र क्रोध दिनुहुँदछ। 9 जसले दुष्ट कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले दुःख र पीडाहरू दिनुहुनेछ-पहिले यहूदीहरूलाई र गैर-यहूदीहरूलाई पनि। 10 तर जसले असल कर्म गर्छ उनीहरूलाई परमेश्वरले गौरव, सम्मान र शान्ति प्रदान गर्नु हुनेछ पहिले यहूदीहरूलाई र त्यसपछि गैर-यहूदीहरूलाई। 11 परमेश्वरले सबैलाई समान न्याय गर्नु हुनेछ।
© 2004, 2010 Bible League International