Revised Common Lectionary (Complementary)
संगीत प्रमुखको निम्ति, बाँसुरीसहित गाइने दाऊदको भजन।
5 हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस्
र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु।
2 हे मेरा राजा, हे मेरा परमेश्वर,
मेरो प्रार्थना सुनिदिनु होस्।
3 हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु,
र तपाईंको सहयोग खोज्दछु।
अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।
4 हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न।
तिनीहरू तपाईंको आदर गर्दैनन्।
5 मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्।
तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
6 जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ।
तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्।
7 तर परमप्रभु, तपाईंको मन्दिर अघि म दण्डवत् गर्नेछु।
8 हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्।
यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्।
9 ती मानिसहरू सत्य बोल्दैनन्।
तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन्।
तिनीहरूका मुख खाली चिहान जस्ता छन्।
तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।
10 हे परमेश्वर, तिनीहरूलाई दण्ड दिनुहोस्!
तिनीहरूले थापेको पासोमा आफैं परून्।
ती मानिसहरूले तपाईंको विरूद्धमा विद्रोह गरे,
यसर्थ तिनीहरूको धेरै अपराधहरूको लागि दण्ड दिनुहोस्।
11 तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन्।
तिनीहरू अनन्त सुखी रहुन्।
परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्।
12 हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ।
तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ।
18 यो सन्देश परमप्रभुबाट आएको हो, “जब ती सङ्कटका दिनहरू तिमीहरूमाथि आइपर्नेछ, म सम्पूर्ण रूपले ध्वंस पार्नेछैन। 19 यहूदाका मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘यर्मिया, परमप्रभु हाम्रा परमेश्वरले हामीमाथि त्यस्तो हानीकारक कार्यहरू किन गर्ने?’ तिमीले तिनीहरूलाई उत्तर देऊ, ‘किनभने तिमीहरूले उहाँलाई त्यागेका छौ। तिमीहरूले आफ्नै भूमिमा विदेशी मूर्तिहरूका सेवा गर्यौ यसकारण, त्यो भूमिमा जुन तिम्रो होइन त्यसमा विदेशीहरूलाई अब सेवा पुर्याउनेछौ।’”
20 परमप्रभुले भन्नुभयो, “यो सन्देश याकूबका परिवारहरूलाई देऊ,
यो सन्देश यहूदाका राज्यमा फैलाऊ।
21 यो सन्देश सुन,
‘तिमी मूर्ख मानिसहरूसँग चेत नै छैन,
तिमीहरूका आँखाहरू छन् तर तिमीहरू देख्दैनौ।
तिमीहरूका कानहरू छन् तर तिमीहरू सुन्दैनौ।’”
22 परमप्रभुले भन्नुभयो, “तिमीहरू किन मसित डराउँदैनौ?
तिमीहरू मेरो अघि डरले काम्दैनौ? अँहँ।
त्यो म नै हुँ जसले सागरको लागि सीमाना झैं तट बनाएँ।
सागरले बालुवा ननागोस् भनी मैले यो एउटा स्थायी नियम बनाएँ।
सागरमा छालहरू उठेर आउँछन्,
तर तिनीहरूले नष्ट पार्न सक्तैनन्।
छालहरू गर्जन्छन् तर तट नाग्न सक्तैनन्।
23 यी मानिसहरू अप्ठेरा र विद्रोही छन्।
तिनीहरूले मसित विद्रोह गरे
अनि मलाई छोडिदिए।
24 तर तिनीहरूले कहिल्यै भनेनन्,
‘आऊ, हामी हाम्रा परमप्रभु परमेश्वरको डर बोकौ अनि उहाँको सम्मान गरौं।
उहाँले वाली उठाउने समय निर्धारण गरिदिनु हुन्छ।
उहाँले हामीलाई शरद ऋतु र वसन्तको बर्षा ठीक समयमा दिनुहुन्छ।’
25 हे यहूदाका मानिसहरू हो!
तिमीहरूले खराब काम गर्यौ।
यही कारणले बर्षाकाल र बाली उठाउने समय कहिल्यै आउँदैन।
तिम्रो पापहरूले तिमीलाई असल वस्तुहरूको आनन्दमय भोगबाट वन्चित गरायो।
26 मेरा मानिसहरू माझमा दुष्ट मानिसहरू छन्।
जो पासो थाप्छन् र चराको शिकार गर्नेहरू झैं लुक्छन्।
तर तिनीहरूले मानिसहरूलाई नै पासोमा पार्छन।
27 चराहरूले भरिएको पिँजडा जस्तै
दुष्ट मानिसहरूका घरहरू झूटा कुराहरूले भरिएको हुन्छ।
तिनीहरूका मिथ्या कर्मले तिनीहरूलाई धनी र शक्तिशाली बनायो।
28 तिनीहरू आफ्नो दुष्टकर्मले मोटा अनि ठूला मानिसहरू बनिएका छन्।
तिनीहरूको दुष्ट्याईंले सीमा नाघिसकेकोछ।
तिनीहरू टुहुरा-टुहुरीहरूका निम्ति बोल्दैनन्।
तिनीहरू गरीबहरूको पक्षमा निष्पक्ष न्याय गर्दैनन्।
29 के मैले ती यहूदाका मानिसहरूलाई
तिनीहरूका दुष्टाईंका निम्ति दण्ड नदिनु?”
यो सन्देश परमेश्वरबाट आएको हो।
“के म यस्तो जातिको विरूद्ध प्रतिकार खोज्दै नखोजौं?”
30 “परमप्रभु भन्नुहुन्छ, डरलाग्दो र भयानक
एउटा घटना यस देशमा घट्यो।
31 अगमवक्ताहरूले झूटो अगमवाणी दिन्छन्।
पूजाहारीहरूले आफू खुशी शासन गर्छन्,
अनि मेरा मानिसहरूले त्यसलाई त्यसरी नै मन पराउँछन्।
जब अन्त आउँछ तिमीहरूले के गर्नेछौ?
13 तिमीहरूले हामीबाट परमेश्वरकै वचन झैं ग्रहण गरेको कारणले हामी सधैँ परमेश्वरलाई धन्यवाद दिंदछौ। जब तिमीहरूले त्यो वचन हामीहरूबाट सुन्यौ, तिमीहरूले इच्छापूर्वक ती वचनहरू परमेश्वरबाट पाए झैं ग्रहण गर्यौ अनि मानिसहरूबाट आए झैं होइन। वास्तवमा त्यो वचन परमेश्वरकै हो। त्यस वचनले तिमी विश्वासीहरूमा कार्य गर्यौं। 14 दाज्यू-भाइहरू, दिदी-बहिनीहरू! ख्रीष्ट येशूमा तिमीहरू यहूदियामा परमेश्वरको मण्डलीहरू जस्ता हौ। यहूदियामा परमेश्वरका जनहरूले त्यहाँका अरू यहूदीहरूबाट खुबै कष्ट खपेका थिए। अनि तिमीहरूले पनि आफ्नै देशवासीहरूबाट उस्तै दुःख भोग्यौं। 15 ती यहूदीहरूले प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे। तिमीहरूले हामीलाई हाम्रो देश छोडन बाध्य गराए। परमेश्वर तिनीहरूसित खुशी हुनु हुन्न। तिनीहरू सबैका विरुद्ध छन्। 16 तिनीहरूले अयहूदीहरूलाई प्रचार गर्न वाधा दिए। हामी गैर-यहूदीहरूलाई प्रचार गर्छौं ताकि तिनीहरू पनि बाँच्न सकुन्। तर ती यहूदीहरू आफ्ना पुराना पापहरूमाथि पनि अझै पापहरू थुपार्दै छन्। अब तिनीहरूमाथि परमेश्वरको रिस पुरै आउनेवाला छ।
तिनीहरूलाई फेरि भेट्ने पावलको इच्छा
17 हे दाज्यू-भाइहरू र दिदी-बहिनीहरू! छोटो समयको लागि हामी तिमीहरूबाट छुट्टिएका थियौं। हामी शारीरिक रूपमा तिमीहरू सित छैनौ तर हाम्रो सोचाइमा तिमीहरूसितै छौं। तिमीहरूलाई भेट्न हामी खुबै उत्सुक थियौं र हामीले भेट गर्नु कड चेष्टा पनि गर्यौ। 18 हो, हामी तिमीहरूलाई भेट्न चाहन्छौं। म पावल तिमीहरूकहाँ आउन धेरै चोटी साँच्चो चेष्टा चलाँए, तर त्यसो गर्न शैतानले हामीलाई सधैँ बाधा पुर्यायो। 19 जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुन्छ तब तिमीहरू नै हाम्रा गर्वको विषय हुनेछौ, किनभने तिमीहरू हाम्रो आशा, हाम्रो मुकुट अनि हाम्रो आनन्द हौ। 20 तिमीहरू नै साँच्चै, हाम्रो महिमा र आनन्द हौ।
© 2004, 2010 Bible League International