Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
28 हे परमप्रभु, तपाईं मेरो निम्ति चट्टान हुनुहुन्छ।
म तपाईंलाई सहायताको निम्ति गुहारी रहेछु।
मेरो प्रार्थनाहरू सुन्नकोलागि कान नथुन्नुहोस्!
यदि तपाईंले सहायताको निम्ति मेरो बिन्ती सुन्नु भएन भने,
मानिसहरूले सोच्नेछन् म चिहानमा भएका मुर्दाहरू भन्दा पनि कमजोर छु।
2 हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु।
जब म बोलाउँछु मलाई सुनि दिनुहोस्।
मप्रति दया दर्शाउनु होस्।
3 हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्।
तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम”[a] शब्दसँग स्वागत गर्दछन,
तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरूद्ध अधर्म कामहरू गर्दछन्।
4 हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्।
यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्।
तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्।
5 दुष्ट मानिसहरूले परमप्रभुको धार्मिक कार्यहरू बुझ्दैनन्।
उहाँले के बनाउनु भएकोछ भनी तिनीहरू बुझ्दैनन्।
परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुने छ,
अनि फेरि सम्वृद्धि बनाऊनु हुने छैन।
6 परमप्रभुको प्रशंसा गर।
उहाँले मेरो करूणाको प्रार्थना सुन्नुभयो।
7 परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँ मेरो ढाल हुनुहुन्छ,
म उहाँमाथि सम्पूर्ण हृदयले भरोसा गर्छु,
उहाँले मलाई सहायता गर्नु हुन्छ, यसकारण म खुशी छु,
र उहाँको प्रशंसाको गीत गाउँछु।
8 परमप्रभुले आफूले रोज्नु भएका प्रियजनलाई रक्षा गर्नुहुन्छ।
परमप्रभुले उहाँलाई बचाउनु हुन्छ। परमप्रभु उसको शक्ति हुनुहुन्छ।
9 हे परमेश्वर, आफ्ना मानिसहरूलाई रक्षा गर्नुहोस्।
जो तपाईंका हुन, तिनीहरूलाई आशीर्वाद दिनु होस्।
तिनीहरूको अनन्त अगुवाई र सम्मान गर्नुहोस्।
शिमशोन गाजा शहरमा जान्छन्
16 एकदिन शिमशोन गाजा शहर तिर गए। तिनले त्यहाँ एउटी वेश्यालाई देखे। तिनी त्यो रात त्यससित बस्न गए। 2 कसैले गाजाका मानिसहरूलाई भने, “शिमशोन यहाँ आएका छन्।” तिनीहरूले शिमोशोनलाई मार्न चाहन्थे, यसर्थ तिनीहरूले शहर घेरे। तिनीहरू शहर-द्वारको नजिकमा लुके अनि रातभरि शिमशोनलाई पर्खिरहे। रातभरि तिनीहरू अत्यन्त चूपचापसित बसे। तिनीहरूले एका-अर्कालाई भने, “जब बिहान हुन्छ हामी शिमशोनलाई मार्नेछौं।”
3 तर शिमशोन त्यस वेश्यासित आधा रातसम्म मात्र बसे। शिमशोन आधारातमा उठे। शिमशोनले शहर-द्वार अठ्याए र तिनले पर्खालबाट दुवै चौकट निकाले। शिमोशनले ढोकाको, दुइवटा स्तम्भहरू अनि ढोका बन्द राख्ने बारहरू भत्काइ दिए। शिमशोनले ती वस्तुहरूलाई आफ्ना काँधमा हाले अनि तिनीहरूलाई बोकेर हेब्रोन शहर नजिकको डाँडको टापुमा लगे।
शिमशोन अनि दलीला
4 पछि, शिमशोन दलीला नाउँ भएकी स्त्रीसँगको प्रेममा फँसे। उनी सोरेक बेंसीकी थिइन्।
5 पलिश्ती मानिसहरूका शासकहरू दलीला कहाँ गए। तिनीहरूले भने, “हामी जान्न चाहन्छौं के चिजले शिमशोनलाई यति बलवान तुल्याउँछ। त्यो रहस्य तिनलाई भन्न लगाऊ र उसलाई छल। तब हामी तिनलाई कसरी पक्रिनु अनि बाँध्नु त्यो जान्ने छौं। तब हामी तिनलाई नियन्त्रण गर्न सामर्थ हुनेछौं। यदि तिमीले यसो गरि दियौ भने हामी प्रत्येकले तिमीलाई एघार सय चाँदीका सिक्का गरी दिनेछौं।”
6 यसर्थ दलीलाले शिमशोनलाई भनिन्, “तिमी किन यस्तो बलवान छौ मलाई भन। कसैले बाँधेर तिमीलाई असहाय तुल्याउन सक्छ?”
7 शिमशोनले उत्तर दिए, “कुनै व्यक्तिले मलाई सातवटा ताजा धनुका नसुकेका बलियो ताँदोले बाँध्नु पर्थ्यो यदि कसैले त्यति गरे म कुनै अन्य मानिस जस्तै कमजोर हुनेछु।”
8 तब पलिश्ती मुखियाहरूले सातवटा ताजा, नयाँ ताँदो दलीला कहाँ ल्याइदिए। दलीलाले शिमशोनलाई ताँदोहरूद्वारा बाँधि दिइन्। 9 केही मानिसहरू अर्को कोठामा लुकिरहेका थिए। दलीलाले शिमशोनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरूले तिमीलाई पक्रिन्छन्।” तर शिमशोनले सजिलैसित ती ताँदोहरू चुँडाइदिए। ती ज्वालाको नजिक परेको धागो जस्तै टुक्रिए। यसकारण ती पलिश्ती मानिसहरूले शिमशोनको शक्तिको भेद पाएनन्।
10 तब दलीलाले शिमशोनलाई भनिन्, “तिमीले मलाई ढाँट्यौ। तिमीले मलाई मूर्ख पार्यौ। कृपया मलाई साँचो भन, कसैले तिमीलाई कसरी बाँध्न सक्छ?”
11 शिमशोनले भने, “कसैले मलाई नयाँ डोरीले बाँध्नु पर्छ। तिनीहरूले मलाई ती डोरीहरूले बाँध्नु पर्छ जसलाई पहिला प्रयोग नगरिएको हुनुपर्छ। यदि कसैले त्यो गर्यो भने म अन्य कुनै मानिसजस्तै कमजोर हुनेछु।”
12 यसर्थ दलीलाले केही नयाँ डोरीहरू लिइन् अनि शिमशोनलाई बाँधिन्। कोही मानिसहरू अर्को कोठामा लुकिरहेका थिए। तब दलीलाले तिनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरू तिमीलाई पक्रिन आइरहेछन्।” तर तिनले धागो चुँडाएको जस्तै ती डोरीहरू सजिलै चुँडाए।
13 तब दलीलाले शिमशोनलाई भनिन्, “तिमीले फेरि मलाई ढाँट्यौ। तिमीले मलाई मूर्ख पार्यौ। अब मलाई भन कसैले तिमीलाई कसरी बाँध्न सक्छ?”
शिमशोनले भने, “यदि तिमीले मेरो टाउकोका सातवटा कपालको लट्टालाई ताँनमा बुनेर एउटा काँटाले कस्यौ भने म अन्य कुनै मानिस जस्तै कमजोर हुनेछु।”
पछि, शिमशोन सुत्न गए। यसर्थ दलीलाले तिनको टाउकोका कपालबाट सात लट्टा बुन्नका निम्ति तानको प्रयोग गरिन्। 14 तब दलीलाले पालको कीलाले तानलाई भूइँमा कसिदिइन्। फेरि तिनले उसलाई बोलाईन्, “शिमशोन पलिश्ती मानिसहरू तिमीलाई पक्रिन आइरहेछन्।” शिमशोनले पालको कीला, र तान उखेलि दिए।
15 तब दलीलाले शिमशोनलाई भनिन्, “‘म तिमीलाई प्रेम गर्छु’ भनी तिमी कसरी भन्न सक्छौ जब तिमीले म माथि विश्वास नै गर्दैनौ भने? तिम्रो भेद मलाई बताउन तिमी अस्वीकार गर्छौ। तिमीले मलाई मूर्ख तुल्याएको यो तेस्रो पल्ट हो। तिम्रो महान शक्तिको भेद तिमीले मलाई भनेका छैनौ।” 16 उसले शिमशोनलाई दिनहुँ दिक्दारी बनाईन रहिन्। आफ्नो भेदको बारेमा उसको सोधाइद्वारा तिनी यति थकित भए कि तिनलाई अब मर्छु जस्तो लाग्न थाल्यो। 17 अन्तमा, शिमशोनले दलीलालाई सबै कुरा भने। तिनले भने, “मैले कहिले पनि मेरो कपाल काटेको छुइनँ। म जन्मनु अघिबाट नै मलाई परमेश्वर प्रति समर्पण गरिएको थियो। यदि कसैले मेरो कपाल काटिदिए म मेरो शक्ति गुमाउनेछु। म अन्य कुनै पनि मानिस जस्तै कमजोर हुनेछु।”
18 दलीलाले बुझिन् कि शिमशोनले उसलाई तिनको भेद बताए भनी। उसले पलिश्ती मानिसहरूका शासकहरूलाई एक सन्देश पठाइन्। उसले भनिन्, “फेरि फर्की आऊ। शिमशोनले मलाई सबै कुरा भनेकाछन्।” यसर्थ पलिश्ती मानिसहरूका शासकहरू दलीला कहाँ फर्केर आए। तिनीहरूले चाँदिका सिक्का ल्याए जो उसलाई दिन्छौं भनी तिनीहरूले वचन दिएका थिए।
19 जब शिमशोन तिनको काखमा पल्टिरहेका थिए, दलीलाले उनलाई सुत्ने तुल्याईन र एउटा मानिसलाई शिमशोनको कपालका सातवटा लट्टा काट्नलाई भित्र बोलाइन्। यसप्रकार उसले शिमशोनलाई कमजोर तुल्याइन्। शिमशोनको शक्तिले उसलाई छोड्यो। 20 तब दलीलाले तिनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरू तिमीलाई पक्रन आइरहेछन्।” तिनी ब्यूँझिए अनि सोचे, “मैले अघि गरे जस्तै म भाग्ने छु अनि स्वयंलाई मुक्त तुल्याउनेछु।” तर शिमशोनलाई थाहा भएन कि परमप्रभुले तिनलाई त्यागी सक्नु भएको थियो।
21 पलिश्ती मानिसहरूले शिमशोनलाई पक्रे। तिनीहरूले तिनका आँखा निकालिदिए अनि तिनलाई गाजा शहरमा लगे। त्यसपछि उनीहरूले भागेर जान नदिनलाई तिनलाई काँसाका साङ्गलाहरूले बाँधिदिए। तिनीहरूले शिमशोनलाई झ्यालखानमा हाले अनि जाँतो चलाउन लगाए। 22 तर शिमशोनको कपाल फेरि उम्रन थाल्यो।
15 कोही मानिसहरू डाह र शेखीले अनि कसैले अरूलाई सहायता गर्ने इच्छाले ख्रीष्टलाई प्रचार गर्छन्। 16 यी मानिसहरूले प्रेमले प्रचार गर्छन कारण तिनीहरू जान्दछन् कि सुसमाचार सुरक्षित राख्न म अह्राइएकोछु। 17 तर अरू वेइमान्दारी र स्वार्थमा ख्रीष्ट विषयमा प्रचार गर्छन् किनभने तिनीहरू सम्झन्छन् कि म झेलखानामा हुदाँ मलाई कष्ट दिनु तिनीहरू सक्षम हुन्छन्। 18 तिनीहरूले मलाई कष्टमा पारे तापनि म पर्वाह गर्दिनँ। तिनीहरूले पनि मानिसहरूलाई ख्रीष्टबारे सुनाउँदैछन्, त्यही महत्वपूर्ण कुरा हो। म चाहन्छु तिनीहरूले प्रचार नै गरून्। म चाहन्छु कि तिनीहरूले राम्रो उदेश्यले यसो गरून्। यदि यो खराब भावनाले भएता पनि म खुशी नै छु कारण तिनीहरूले ख्रीष्ट विषयमा नै प्रचार गर्छन्।
अनि म खुशी नै भइरहन्छु। 19 तिमीहरूले मेरो लागि प्रार्थना गर्दैछौ, अनि येशू ख्रीष्टको आत्माले मलाई सहायता गर्छ। यसैले म जान्दछु कि यो सम्पूर्ण कुरोले मेरो मुक्ति ल्याउँछ। 20 मेरो दृढ इच्छा अनि आशा त्यो हो कि कुनै कुरोमा पनि म ख्रीष्टलाई भुल्ने छैन। म सधैँ आशा गर्दछु जब सम्म म यस शरीरमा रहनेछु ख्रीष्टको महानता देखाउनु अहिले ठूलो आँट पाउनेछु। म मरुँ अथवा जिउँदै रहुँ यो काम गरि रहनेछु। 21 मेरो निम्ति मेरो जीवनको उदेश्य ख्रीष्ट हुन र मृत्युको अर्थ लाभ हो।[a]
© 2004, 2010 Bible League International