Revised Common Lectionary (Complementary)
2 तिनीहरू रपीदीमबाट सीनै मरुभूमिमासम्म यात्रा गए र तिनीहरूले आफ्नो छाउनी होरेब पर्वतको नजिकै मरुभूमिमा बनाए। 3 तब मोशा परमेश्वरसित भेट गर्न पर्वतमा चढे। परमप्रभुले मोशासित कुरा गर्नु भयो अनि तिनलाई भन्नु भयो, “यी कुराहरू याकूबको ठूलो परिवारलाई भन, 4 ‘तिमीहरूले देख्यौ मैले तिमीहरूलाई मिश्रबाट चील झैं ल्याएँ। 5 यसकारण म अहिले तिमीहरूलाई मेरा आज्ञा पालन गर अनि मेरो करार अनुशरण गर भन्छु। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू मेरो आफ्नै मानिसहरू हुनेछौ। सम्पूर्ण संसार मेरो हो। 6 तिमीहरू मेरो लागि पूजाहारीहरूको एउटा विशेष राष्ट्र हुनेछौ।’ मोशा मैले तिमीलाई भनेका कुराहरू इस्राएली मानिसहरूलाई अवश्यै भन्नुपर्छ।”
7 मोशा पर्वतबाट तल आए अनि मानिसका अगुवाहरूलाई बोलाए। मोशाले सबै कुरा तिनीहरूलाई भने जुन परमप्रभुले उनलाई आज्ञा दिनुभएको थियो। 8 सबै मानिसहरू राजी हुँदै भने, “परमप्रभुले जे भन्नु हुन्छ हामी गर्ने छौं।”
त्यसपछि मोशा फर्केर परमेश्वरकहाँ पर्वतमाथि गए अनि मानिसहरूले भनेका कुरा मोशाले परमप्रभुलाई भने।
धन्यवादको भजन।
100 हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
2 परमप्रभुको सेवामा खुशी हौ!
खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ!
3 परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान।
उहाँले हामीलाई बनाउनु भयो।
हामी उहाँका मानिसहरू हौं, अनि हामी उहाँका खर्कका भेंडाहरू हौं।
4 उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ।
उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ।
उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
5 परमप्रभु, भलो हुनुहुन्छ।
उहाँको प्रेम अनन्त छ।
हामी सदा सदा-सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!
परमेश्वरसँग शान्ति
5 हाम्रो विश्वासको कारणले गर्दा हामी परमेश्वरसँग धर्मी बनेकाछौं। यसर्थ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा थियो हामी परमेश्वरबाट शान्ति पाउँछौं। 2 ख्रीष्टको माध्यम र हाम्रो विश्वासको कारण हामीले अनुग्रहमा प्रवेश पाएकाछौं जहाँ हामी अहिले उभिएकाछौं अनि परमेश्वरको महिमा पाउने आशामा हामी आनन्द मनाइरहेछौं। 3 त्यति मात्र होइन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं। किन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं? किनभने हामी जान्दछौं कि ती दुःखहरूले हामीलाई संयमी बनाउँदछ। 4 अनि यही संयमले हामीलाई प्रमाण गर्दछ कि हामी बलिया छौं। अनि यस्तो प्रमाणहरूले हामीलाई आशा प्रदान गर्दछ। 5 अनि यस आशाले हामीलाई कहिल्यै निराशा बनाउँदैन। किनभने परमेश्वरले आफ्नो प्रेमको बर्षाले हाम्रा हृदयहरू पारिपूर्ण पारिदिनु भयो। पवित्र आत्माद्वारा उहाँले हामीलाई आफ्नो प्रेम दिनुभो। त्यो पवित्र आत्मा परमेश्वरबाट हामीलाई उपहार हो।
6 जब हामी अझै कमजोर थियौं, ठिक त्यसै बेला ख्रीष्ट हामी दुष्ट मानिसहरूको लागि मर्नु भयो। 7 राम्रा मानिसहरूको निम्ति मर्ने साह्रै कठिनले कोही राजी होलान। कोही भने अति असल मानिसको निम्ति मर्ने निश्चय पनि गर्न सक्लान। 8 यद्यपि हामीहरू अझै पापी जीवन जिउँदा-जिउँदै पनि ख्रीष्ट हाम्रो निम्ति मर्नु भयो। यस प्रकारले परमेश्वरले आफ्नो प्रेम हामीलाई देखाउनु भयो।
येशू मानिसहरूको लागि दु:ख मान्नु हुन्छ
35 येशू सारा शहर र गाउँहरू हुँदै यात्रा गर्नुभयो। तिनीहरूका सभाघरहरूमा शिक्षा दिनुभयो अनि राज्यको बारेमा सुसमाचार प्रचार गर्नु भयो। येशूले सबै प्रकारका रोग र बिमारीहरू निको पार्नुभयो। 36 उहाँले भीडलाई देख्नूभयो र उनीहरूको निम्ति टिठाउनु भयो। किनभने तिनीहरू असहाय अनि चिन्तित थिए। तिनीहरू गोठालो नभएका भेंडा़हरू जस्तै हैरान भई तितर-बितर भएका थिए। 37 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल ता धेरै छन् तर फसल काट्ने खेतालाहरू कम्ती छन्। 38 प्रभु फसलका मालिक हुनुहुन्छ। उहाँलाई प्रार्थना गर जसद्वारा उहाँले आफ्ना फसल संग्रह गर्न अधिक कर्मीहरू पठाउनु हुनेछ।”
येशूले आफ्ना प्रेरितहरूलाई प्रचार गर्न पठाउनु हुन्छ
(मर्कूस 3:13-19; 6:7-13; लूका 6:12-16; 9:1-6)
10 येशूले आफ्ना बाह्र जना चेलाहरूलाई बोलाउनु भयो। उहाँले दुष्टात्माहरूलाई धपाउने सामर्थ्य तिनीहरूलाई दिनुभयो। उहाँले हरेक प्रकारको रोग र बिमारहरू निको गर्न सक्ने सामर्थ्य तिनीहरूलाई दिनुभयो। 2 ती बाह्र प्रेरितहरूको नाउँ यस प्रकार छ:
शिमोन (जसलाई पत्रुस पनि भनिन्छ),
अनि उसको दाज्यू अन्द्रियास,
जब्दीको छोरो याकूब,
अनि उसको भाइ यूहन्ना,
3 फिलिप,
बारथोलोमाइ,
थोमा,
महसूल उठाउने मत्ती,
अल्फयसको छोरो याकूब,
थेदियस,
4 शिमोन कनानी,
र यहूदा इस्कारयोत (यो त्यही मानिस थियो जसले येशूलाई विश्वासघात गर्यो)।
5 येशूले यी बाह्रजना प्रेरितहरूलाई आज्ञा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई राज्यको विषयमा प्रचार गर्न भनी पठाउनुभयो। येशूले भन्नुभयो, “गैर यहूदीहरूकहाँ नजाऊ। सामरीहरूका शहरहरूमा पनि नजाऊ। 6 बरू इस्राएली मानिसहरूकहाँ जाऊ। तिनीहरू हराएका भेंडा़हरू झैं छन्। 7 जब तिमीहरू जान्दछौ, ‘स्वर्गको राज्य आउनै लागेका छ भनी प्रचार गर।’ 8 रोगीहरूलाई निको पार, मरेकाहरूलाई जिवनमा ल्याऊ। कुष्ट रोगीहरूको उपचार गर। मानिसहरूबाट भूत धपाऊ। म तिमीहरूलाई सित्तैंमा यी शक्तिहरू दिन्छु। यसर्थ सित्तैंमा तिनीहरूलाई सघाऊ।
9 तिमी आफ्ना साथमा पैसा सुन, चाँदी र तामा नलैजाऊ। 10 झोला समेत नबोक यात्राका निम्ति लाउने लुगाफाटा वा जुत्ता नलैजाऊ। हिँड्नलाई लौरो समेत नबोक। एक कामदारलाई उसले चाहेका सबै चीजहरूको बन्दोबस्त हुनुपर्छ।
11 “जव तिमीहरू कुनै गाउँ वा शहरतिर जान्छौ त्यहाँ कुनै न कुनै योग्य मानिसलाई भेट् अनि स्थान नछाडे सम्म उसको घरमा बस। 12 तिमी घरभित्र पस्ने बित्तीकै त्यसलाई भन। ‘तपाईंलाई शान्ति होस्।’ 13 घरभित्र भएका मानिसहरूले तिनीहरूलाई स्वागत जनाए भने तिनीहरू तिम्रो शान्तिको कामना ग्रहण गर्न योग्यका छन्। यदि तिनीहरूले स्वागत नजनाए तिमीहरूको शान्तिको कामना फिर्ता लेऊ किनभने तिनीहरू तिमीहरूको शान्तिको कामनाका योग्य छैनन्। 14 यदि कुनै घर वा शहरले तिमीहरूलाई स्वागत नगरे अथवा तिमीहरूको कुरा नसुने त्यो ठाउँ छोड्दा गोडाको धुलोसम्म टक्टकाउनु। 15 तिमीहरूलाई म साँच्चो भन्दछु। न्यायको दिनमा तिनीहरूको अवस्था सोदोम र गमोराको भन्दा नराम्रो हुनेछ।
येशूद्वारा समस्याहरू बारे चेताउनी
(मर्कूस 13:9-13; लूका 21:12-17)
16 “सुन! म तिमीहरूलाई ब्वाँसोका बीचमा भेंडा़झैं गरी पठाउँछु। यसकारण सर्पझैं चनाखो बन। अनि ढुकुरझैं सोझो बन। 17 सबै मानिसहरूदेखि सर्तक बन। तिनीहरूले तिमीहरूलाई पक्रिने छन् अनि अदालतमा पुर्याउनेछन्। तिनीहरूले आफ्नो सभाघरहरूमा लगेर तिमीहरूलाई कोर्रा लाउनेछन्। 18 तिनीहरूले तिमीहरूलाई राज्यपाल अनि राजाहरूको अघि लानेछन्। मेरो कारणले गर्दा तिनीहरूले यसो गर्नैछन्। तिमीहरू ती हाकिम अनि राजाहरू र गैर-यहूदीहरूको समक्ष मेरो बारेमा भन्नेछौ। 19 जब तिमीहरू पक्राउ पर्ने छौ के बोल्नु पर्ने र कसरी बोल्नु पर्ने भन्ने बारेमा चिन्तित नबन। त्यसबेलामा तिमीहरूले भन्नु पर्ने कुराहरू तिमीहरूलाई बताइनेछ। 20 वास्तवमा तिमीहरू बोल्नेछैनौ परमपिताको आत्मा आफैं तिमीहरूबाट बोल्नुहुनेछ।
21 “दाज्यू-भाइहरू आफ्नै दाज्यू-भाइहरूको विरुद्द हुनेछन् तिनीहरू एकले अर्कालाई मार्न लाउनेछन्। बाबुहरूले आफ्नै छोराहरूलाई मार्न लाउनेछन्। छोराछोरीहरू आमाबाबुहरूको विरूद्ध उठ्नेछन्, र तिनीहरूलाई मार्ने षड्यन्त्र गर्नेछन्। 22 सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन् किनभने तिमीहरूले मलाई पछ्याउँछौ। तर जसले आखिरसम्म सहन्छ उसको उद्धार हुनेछ। 23 जब एउटा शहरबाट तिमीहरू खेदिनेछौ तब अर्कौ शहरमा जाऊ। म तिमीहरूसित साँच्चो भन्दछु। मानिसको पुत्र आउन अघि नै तिनीहरू इस्राएलको सबै शहरहरू भएर गइ सकेको हुनेछैनौ।
© 2004, 2010 Bible League International