Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
होशे 5:15-6:6

15 जबसम्म तिनीहरूले आफ्ना अपराध,
    स्वीकार गरेर मेरो उपस्थितिको खोजी गर्दैनन्,
    तब सम्म म फर्केर आफ्नै ठाँउमा जानेछु।
आफ्नो कष्टमा तिनीहरूले मलाई यसो भन्दै खोज्नेछन्।”

परमप्रभु तर्फ फर्कि आउँनेको पुरस्कार

“आऊ, हामी परमप्रभुतिर फर्कौ
    किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ,
    र उहाँले नै हामीलाई निको पार्नुहुनेछ।
उहाँले चोट पार्नु भएकोछ,
    र उहाँले नै हामीलाई मलम पट्टी बाँध्नु हुनेछ।
दुइ दिनपछि उहाँले हामीलाई पुनःर्जीवित पार्नु हुनेछ
    अनि तेस्रो दिन उहाँले हामीलाई माथि उठाउँनु हुनेछ।
    हामी उहाँकै अघि जिउँदो हुनेछौं।
आऊ, हामी परमप्रभुलाई चिनौं,
    हामी परमप्रभुलाई चिन्ने प्रयन्त गरिरहौं।
हामीलाई थाह छ उहाँ आउनुहुनेछ।
    उहाँको आगमन प्रभात झैं निश्चय छ।
उहाँ हामीकहाँ जमीनलाई भिजाउने,
    आखिरी बर्षा झैं आउनु हुनेछ।”

मानिसहरू विश्वास योग्य छैनन्

“ए एप्रैम, म तिमीलाई के गरूँ?
    ए यहूदा म तिमीलाई के गरूँ?
किनकि तेरो प्रेम बिहानको कुइरो जस्तै,
    र बिलिने शीत जस्तै छ।
यसैकारण मैले तिनीहरूमाथि
    अगमवक्ताद्वारा बञ्चरो चलाएकोछु।
मैले तिनीहरूलाई मेरो मुखको वचनद्वारा घात गरेकोछु।
    मेरो न्यायहरू ज्योति झैं प्रकट हुनेछन।
किनभने म अमर प्रेम चाहन्छु
    बलिदान होइनँ।
अनि मानिसहरूले बल्दै गरेको बलि ल्याउनु भन्दा,
    परमेश्वरलाई बेशी जानेको म चाहन्छु।

भजनसंग्रह 50:7-15

परमेश्वर भन्नुहुन्छ, “हे मेरो भक्तजनहरू, ध्यान दिएर मेरो कुरा सुन!
    इस्राएल का मानिसहरू हो, म तिमीहरूलाई तिमीहरूकै विरूद्धमा साक्षी प्रकट गर्ने छु
    म परमेश्वर हुँ, तिमीहरूकै परमेश्वर।
मैले तिमीहरूले चढाएका बलिहरूका विषय मैले गुनासो गरिरहेको छैन।
    तिमी इस्राएल का मानिसहरूले सधैँ नै होमबलिहरू चढायौं।
    प्रत्येक दिन ती बलिहरू मलाई चढायौं।
म तिम्रो घरबाट साँढेहरू लिने छैन
    म तिमीहरूको गोठहरूबाट बाख्राहरू लिने छैन।
10 मलाई ती पशुहरूको आवश्यकता छैन।
मसँग पहिल्यैबाट जंङ्गलमा पशुहरू छन्।
    हजारौं पर्वतहरूमा त्यस्ता पशुहरू मेरो आफ्नै छन्।
11 उच्च पर्वतहरूमा भएका सबै चरा-चुरूङ्गीहरू म जान्दछु।
    प्रत्येक जल-प्राणी र जति पहाडहरूमा छन् ती सबै मेरै हुन्।
12     म भोको छैन तर यदि म भोको हुँदो हुँ ता पनि म तिमीहरूलाई खाना माग्ने छैन।
    पहिल्यैबाटै यो संसार र यसका प्रत्येक चीजहरू मेरो आफ्नै हुन्।
13 म साँढेहरूको मासु र बाख्राहरूका दूध खान्नँ।”

14 यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ।
    तिमीहरूले उच्चतम् परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर।
15 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकार म सहयोग गर्नेछु।
    अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”

रोमी 4:13-25

विश्वासद्वारा परमेश्वरको प्रतिज्ञा पाउन सकिन्छ

13 अब्राहाम र उनका भावी सन्तानहरूले परमेश्वरको प्रतिज्ञा पाए कि उनीहरूले सारा संसार पाउने छन्। अब्राहामले त्यो प्रतिज्ञा पाएको व्यवस्थालाई विश्वास गरेको कारणले होइन। अब्राहामले परमेश्वरको प्रतिज्ञा पाएको कारण उनी आफ्नो विश्वासले गर्दा धर्मी थिए। 14 यदि मानिसहरूले व्यवस्था पछ्याएर परमेश्वरको वचन पाउने भए, तब विश्वास मूल्यहीन बन्ने थियो, र परमेश्वरको अब्राहामसँग को प्रतिज्ञा बेकम्मा बन्ने थियो। 15 किनभने जब मानिसहरूले व्यवस्था पालन गर्दैनन् तब व्यवस्थाले परमेश्वरलाई रिस उठाउँछ। तर यदि त्यहाँ कुनै व्यवस्था छैन भने, त्यहाँ अनाज्ञाकारीताको कुनै प्रश्न आउँदैन।

16 यसकारण परमेश्वरको विश्वास प्रतिज्ञाको फल हो। त्यसैले परमेश्वरको प्रतिज्ञा सित्तैको उपहार जस्तै पाउन सकिन्छ। अनि यदि प्रतिज्ञा सित्तैको उपहार भए, अब्राहामका विश्वास हुने सबै मानिसहरूले त्यो वचन पाउन सक्छन्। यो प्रतिज्ञा ती मानिसहरूका लागि मात्र होइन जो मोशाको व्यवस्थाको अधीनमा छन्। प्रतिज्ञा सबैको निम्ति हो जो अब्राहाम जस्तै विश्वासी थिए। अब्राहाम हामी सबैका पिता हुन्। 17 धर्मशास्त्रमा यस्तो लेखिएको छ, “मैले तिमीलाई सबै जातिका पिता बनाएँ”(A) यो परमेश्वर समक्ष सत्य छ। अब्राहामले परमेश्वरमा विश्वास गरे जसले मृतहरूलाई जीवन दिनुहुन्छ र जुन कुराहरू अहिलेसम्म भएको छैन त्यसको निर्णय दिनुहुन्छ।

18 अब्राहामको सन्तान हुनेछ भन्ने आशा थिएन। तर अब्राहामले परमेश्वरमा विश्वास गरे र आशा जीवित राखे। त्यही कारणले अब्राहाम धेरै जातिका पिता भए। परमेश्वरले जस्तो उनलाई भन्नुभयो, “तिमीसँग धेरै सन्तानहरू हुनेछन्।”(B) 19 अब्राहाम प्रायः एकसय वर्ष उमेर पुगिसकेका थिए, यसैले उनको शरीरबाट सन्तानहरू हुन उमेर बितिसकेको थियो। सारहबाट पनि कुनै छोरा-छोरी भएन। अब्राहामले यसको विषयमा सोचेका थिए। तर परमेश्वरप्रति उनको विश्वास कमजोर भएन। 20 परमेश्वरले प्रतिज्ञा गर्नु भएको कुरा गर्नुहुनेछ भन्ने कुरामा अब्राहामले किहिल्यै शंका गरेनन्। अब्राहमले आफ्नो विश्वास गुमाएनन्। बरू, उनको विश्वास अझ दृढ भयो अनि उनले परमेश्वरको प्रशंसा गरे। 21 आफूले दिनुभएको प्रतिज्ञा पूर्ण गर्नमा परमेश्वर सामर्थी हुनुहुन्छ भन्ने कुरामा अब्राहाम पूर्णरूपले निश्चिन्त थिए। 22 यसैले, “परमेश्वरले अब्राहामको विश्वासलाई ग्रहण गर्नु भयो। औ उनलाई धर्मी बनाउनु भयो।”(C) 23 ती शब्दहरू “परमेश्वरले उनको विश्वासलाई मानिलिए” भने अब्राहामको लागि मात्र लेखिएको थिएन। 24 ती शब्दहरू हाम्रो निम्ति पनि थियो। परमेश्वरले हामीलाई पनि ग्रहण गर्नुहुन्छ जसले उहाँमा विश्वास गर्दछ, जसले हाम्रा प्रभु येशूलाई मृत्युबाट बौराउन भयो। 25 येशूलाई हाम्रो पापहरूका निम्ति मर्नु दिइयो। अनि हामीलाई धर्मी बनाउन उहाँ मृत्युबाट जीवनमा आउनु भयो।

मत्ती 9:9-13

येशूले मत्तीलाई बोलाए

(मर्कूस 2:13-17; लूका 5:27-32)

जब येशू गइरहनु भएको थियो, उहाँले एकजना मत्ती नाम गरेको मानिसलाई भेट्नु भयो। मत्ती महसूल उठाउने अड्डामा बसिहहेका थिए। येशूले भन्नुभयो, “मसित आऊ।” त्यसपछि मत्ती जुरूक्क उठे र येशूको पछि लागे।

10 येशू बेलुकीको भोजन मत्तीकै घरमा खान बस्नु भएको बेला त्यहाँ धेरै कर उठाउनेहरू र पापीहरू आएका थिए अनि तिनीहरूले येशू र उहाँका चेलाहरू सँगै भोजन खादै थिए। 11 येशूले ती मानिसहरूसँग खाना खाइ रहनु भएको फरिसीहरूले देखे। फरिसीहरूले येशूका चेलाहरूलाई सोधे, “किन तिमीहरूका गुरूले कर उठाउनेहरू र पापीहरूसँग बसेर खाना खान्छन्?”

12 फरिसीहरूले भन्दै गरेको कुरा येशूको सुन्नुभयो। अनि उहाँले भन्नुभयो, “स्वस्थ मानिसहरूलाई वैद्यको आवश्यकता पर्दैन। जो रोगी छ उसैलाई वैद्यको आवश्यकता पर्दछ। 13 म तिमीहरूलाई एउटा कुरो भन्नेछु। जाऊ अनि यसको अर्थ के हो सिक: ‘म पशुको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।’(A) म यहाँ धार्मिक मानिसहरूलाई भेट्न आएको होइन, ती पापीहरूलाई भेट्न आएको हुँ।”

मत्ती 9:18-26

येशूले मरेकी केटीलाई जीवित पार्नु भयो र रोगी स्त्रीहरूलाई निको पार्नु भयो

(मर्कूस 5:21-43; लूका 8:40-56)

18 येशू यी कुराहरू भन्दै हुनुहुन्थ्यो, त्यसैबला सभाधरको एकजना प्रमुख उहाँकहाँ आए। येशूको अघि तिनले शिर झुकाए, अनि भने, “मेरी छोरी अहिले मरी कृपया आउनुहोस् र तपाईंको हात त्यसमाथि राखिदिनुहोस् अनि त्यसले आफ्नो जीवन फिर्ता पाउनेछ।”

19 तुरन्तै येशू उठ्नु भयो अनि तिनीसित जानुभयो। उहाँका चेलाहरू पनि पछि लागे।

20 बाह्र वर्षदेखि रगत बहने रोगले ग्रस्त एउटी स्त्री त्यहाँ थिईन्। येशूको पछिल्तिर आएर उनले उहाँको वस्त्रको फेरमा छोइन्। 21 तिनले सोच्दै थिइन्, “यदि मैले उहाँको लुगाको फेरमा छोएँ मात्र भने पनि म ठीक भइजानेछु।”

22 येशू पछिल्तिर फर्किनु भयो र तिनलाई देखेर भन्नुभयो, “हे प्यारी छोरी खुशी होऊ। तिम्रो विश्वासले तिमी निको भएकि छौ।” तिनै बेला तिनी ठीक भइन्।

23 येशू यहूदी शासकसँग हिँड्दै हुनुहुन्थ्यो। उहाँ तिनको घरमा पुग्नु भयो। मानिसहरूलाई शोक धुन बजाईरहेको देख्नुभयो। उहाँले धेरै मानिसहरूलाई त्यहाँ रोइरहेको देख्नुभयो किनभने युवती मरेकी थिई। 24 येशूले भन्नुभयो, “पर जाऊ। यो युवती मरेकी छैन। ऊ निदाएकी मात्र छे।” यो देखेर मानिसहरूले उहाँको हाँसो उडाए। 25 जब मानिसहरूलाई घरबाट बाहिर पठाइयो, तब येशू युवतीको कोठामा प्रवेश गर्नुभयो। उहाँले युवतीको हात समात्नुभयो अनि त्यो युवती जुरुक्क उठी। 26 तब यस कुराको खबर सारा मुलुकभरि फिँजियो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International