Revised Common Lectionary (Complementary)
12 परमप्रभु जुन मानिसहरूको परमेश्वर स्वरूप हुनुहुन्छ, तिनीहरू सौभाग्यशाली हुन्छन्।
किनभने परमेश्वरले तिनीहरूलाई उहाँको आफ्नै खास मानिसहरू सरह रोज्नु भएकोछ।
13 परमप्रभुले स्वर्गबाट तल हेर्नु भयो
अनि उहाँले सारा मानिसहरूलाई देख्नु भयो।
14 उहाँले उच्च-आसनबाट
तल पृथ्वीमा बाँचिरहेका सारा मानिसहरूलाई हेर्नु भयो।
15 परमेश्वरले प्रत्येक मानिसको रचना गर्नुभयो।
परमेश्वर तिनीहरूले के सोच्दछन् जान्नुहुन्छ।
16 कुनै पनि राजा आफ्नो महान् शक्तिद्वारा बाँच्दैन।
कुनै पनि बलियो सिपाही उसको महान् बलबाट बाँच्दैन।
17 घोडाहरूले साँच्चै लडाइँमा विजय ल्याउँदैनन्।
तिनीहरूका बलले तिनीहरूलाई वास्तवमा भाग्न सहायता गर्न सक्दैन।
18 परमप्रभुले हेर्नुहुन्छ साथै हेरचाह गर्नुहुन्छ तिमीहरूमध्ये जसले उहाँलाई मान्दछन्।
जसले उहाँलाई सम्मान् गर्छ उहाँ महान् प्रेमले, मानिसहरूको रक्षा गर्नुहुन्छ।
19 परमेश्वरले ती मानिसहरूलाई मृत्युबाट बचाउनु हुन्छ।
जब तिनीहरू भोका हुन्छन् उहाँले तिनीहरूलाई बल दिनुहुन्छ।
20 यसैले हामी आशा लिएर परमप्रभुलाई पर्खनेछौं।
उहाँले हामीलाई साथ दिनुहुन्छ र रक्षा गर्नुहुन्छ।
21 परमेश्वरले हामीलाई खुशी पार्नु हुन्छ,
हामी साँच्चै उहाँको पवित्र नाउँमा भरोसा गर्छौं।
22 हे परमप्रभु, हामी साँच्चो मनले तपाईंलाई पूज्दछौं।
यसर्थ हामीलाई तपाईंको महान् प्रेम दर्शाउनुहोस्।
इस्राएलसित परमेश्वरको करार पत्र
19 इस्राएलीहरू मिश्र छोडेर बसाइँ सर्दा तेस्रो महिनामा सीनै मरुभूमिमा पुगे। 2 तिनीहरू रपीदीमबाट सीनै मरुभूमिमासम्म यात्रा गए र तिनीहरूले आफ्नो छाउनी होरेब पर्वतको नजिकै मरुभूमिमा बनाए। 3 तब मोशा परमेश्वरसित भेट गर्न पर्वतमा चढे। परमप्रभुले मोशासित कुरा गर्नु भयो अनि तिनलाई भन्नु भयो, “यी कुराहरू याकूबको ठूलो परिवारलाई भन, 4 ‘तिमीहरूले देख्यौ मैले तिमीहरूलाई मिश्रबाट चील झैं ल्याएँ। 5 यसकारण म अहिले तिमीहरूलाई मेरा आज्ञा पालन गर अनि मेरो करार अनुशरण गर भन्छु। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू मेरो आफ्नै मानिसहरू हुनेछौ। सम्पूर्ण संसार मेरो हो। 6 तिमीहरू मेरो लागि पूजाहारीहरूको एउटा विशेष राष्ट्र हुनेछौ।’ मोशा मैले तिमीलाई भनेका कुराहरू इस्राएली मानिसहरूलाई अवश्यै भन्नुपर्छ।”
7 मोशा पर्वतबाट तल आए अनि मानिसका अगुवाहरूलाई बोलाए। मोशाले सबै कुरा तिनीहरूलाई भने जुन परमप्रभुले उनलाई आज्ञा दिनुभएको थियो। 8 सबै मानिसहरू राजी हुँदै भने, “परमप्रभुले जे भन्नु हुन्छ हामी गर्ने छौं।”
त्यसपछि मोशा फर्केर परमेश्वरकहाँ पर्वतमाथि गए अनि मानिसहरूले भनेका कुरा मोशाले परमप्रभुलाई भने। 9 तब परमप्रभुले मोशालाई भन्नु भयो, “म तिमीकहाँ बाक्लो बादलको रूपमा आउँनेछु। म तिमीसित बोल्नेछु। मैले तिमीसँग कुरा गरेको सबैले सुन्ने छन्। म यसो गर्नेछु जसले गर्दा ती मानिसहरूले तिमीले भनेको कुरा सधैँ विश्वास गर्नेछन्।”
त्यसपछि मानिसहरूले भनेका सबै कुराहरू मोशाले परमेश्वरलाई भने।
पवित्र आत्माको आगमन
2 जब पेन्तिकोसको[a] दिन आइपुग्यो, प्रेरितहरू सबै एकै ठाउँमा जम्मा भएका थिए। 2 अचानक स्वर्गबाट जोडले हुरी बतास चले जस्तै एउटा आवाजले तिनीहरू जुन कोठामा बसिरहेका थिए त्यस कोठालाई सम्पूर्ण प्रकारले ढाकिदियो। 3 तिनीहरूले आगोका ज्वालाहरू जस्तो देखे। ती ज्वालाहरू विभाजित भएर प्रत्येक मानिसमाथि बस्यो। 4 तिनीहरू सबै पवित्र आत्माले परिपूर्ण भए र तिनीहरूले विभिन्न भाषाहरूमा बोल्न थाले। पवित्र आत्माले तिनीहरूलाई त्यसो गर्न शक्ति प्रदान गर्नुभयो।
5 त्यसबेला यरूशलेममा केही धार्मिक यहूदीहरू बस्थे। तिनीहरू संसारको प्रत्येक राष्ट्रबाट आएका थिए। 6 तिनीहरू धेरै जसो आवाज सुने पछि आए। प्रेरितहरूले आ-आफ्ना भाषामा बोलेको सुनेर तिनीहरू छक्क परे।
7 यी सबै यहूदीहरू यसमा आर्श्चय चकित भए। तिनीहरूले बुझेनन् कि कसरी प्रेरितहरू यस्तो गर्न सक्षम भए। तिनीहरूले भने, “हेर! यी मानिसहरू जो बोलिरहेका छन् तिनीहरू सबै गालीलबाट आएका हुन्। 8 तर हामी तिनीहरूले बोलेका शब्दहरू हाम्रो आफ्नै भाषामा सुनिरहेका छौं। यो कसरी सम्भव भयो? हामी विभिन्न ठाउँहरूबाट आएका हौं 9 पार्थीया, मेदीया, एलाम, मेसोपोटामिया, यहूदिया, कपोदिसिया, पोन्टस, एशिया, 10 फ्रिगिया, प्याम्फिलिया, मिश्रदेश, साईरिन छेउको लिबिया, रोम 11 क्रेती र अरबीयाबाटा। हामी कतिपय जन्मजात यहूदीहरू हौं अनि अरू कतिलाई यहूदी धर्ममा परिवर्तन गरिको छ। हामी ती विभिन्न देशहरूबाट आएका हौं। तर हामी ती मानिसहरूलाई हाम्रो आफ्नै भाषामा सुन्न सक्छौं। तिनीहरूले परमेश्वरको विषयमा भनेका सबै महान कुराहरू हामी बुझ्न सक्छौं।”
© 2004, 2010 Bible League International