Revised Common Lectionary (Complementary)
55 तर स्तिफनस पवित्र-आत्माले परिपूर्ण थिए। स्तिफनसले उँभो आकाश तिर हेरे। उनले परमेश्वरको महिमा देखे। अनले येशूलाई परमेश्वरको दाहिने तर्फ उभिरहेको देखे। 56 स्तिफनसले भने, “हेर! मैले स्वर्ग खुल्ला अनि मानिसको पुत्र परमेश्वरको दाहिने तर्फ उभिरहेको देख्छु!”
57 तुरून्तै समस्त यहूदी अगुवाहरू एकसाथ ठूलो स्वरमा चिच्याए। तिनीहरूले आफ्ना हातले कान बन्द गरे। तिनीहरू सबै एकसाथ स्तिफनस तिर दौडे। 58 तिनीहरूले उनलाई शहर बाहिर फ्याँके अनि ढुङ्गा हान्न थाले। ती मानिसहरू ज-जसले स्तिफनसको विरूद्ध झूटो कुरा गरेका थिए, तिनीहरूले आफ्ना पोशाक खोलेर शावल नाउँको एक युवकलाई दिए। 59 अनि त्यसपछि तिनीहरूले स्तिफनस माथि ढुङ्गा हान्न शुरू गरे। तर स्तिफनस प्रार्थना गरिरहेका थिए। उनले भने, “प्रभु येशू, मेरो आत्मा ग्रहण गर्नुहोस्!” 60 तब उनले घूँडा टेके अनि जोडले चिच्याए, “प्रभु, यिनीहरूलाई यो पापका निम्ति दोष नदिनुहोस्!” यति भनिसके पछि स्तिफनसले देह त्याग गरे।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
31 हे परमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु
मलाई निराश नपार्नुहोस्।
मप्रति कृपालु हुनुहोस् र मेरो रक्षा गर्नुहोस्।
2 हे परमेश्वर, मप्रति ध्यान दिनुहोस्।
चाँडै आउँनु होस् अनि मलाई बचाउनु होस्।
मेरो चट्टान हुनुहोस्।
मेरो सुरक्षाको ठाउँ भइदिनु होस्।
मेरो किल्ला बनिनुहोस् मेरो रक्षा गर्नुहोस्।
3 हे परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ अनि तपाईं मेरो किल्ला हुनुहुन्छ।
यसर्थ, तपाईंको सुरक्षाको निम्ति मेरो अगुवाइ गर्नुहोस् र मलाई निर्देशन गर्नुहोस्।
4 मेरा शत्रुहरूले मेरै समक्ष पासो थापे।
मलाई तिनीहरूको पासोबाट बचाउँनु होस्।
तपाईं मेरो सुरक्षाको स्थान हुनुहुन्छ।
5 हे परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ, जसमाथि हामी भरोसा गर्न सक्छौं।
मैले आफ्नो जीवन तपाईंको हातमा राखिदिएँ,
मलाई बचाउनु होस्!
15 मेरो जीवन तपाईंको हातमा छ,
मलाई मेरो शत्रुहरूदेखि बचाउनुहोस्।
कतिपय मानिसहरूले मलाई खेदिरहेका छन्।
मलाई तिनीहरूबाट बचाउनुहोस्।
16 कृपया स्वागत जनाएर तपाईंको दासलाई ग्रहण गर्नुहोस्।
ममाथि कृपादृष्टि परोस् र मलाई बचाउनु होस्!
2 भर्खर जन्मेका बालकहरू जस्तो होऊ। शुद्ध आत्मिक दूधको निम्ति भोकाऊ जसले तिमीहरूलाई बढ्न र मुक्ति हासिल गर्न सहायता गर्छ। 3 अहिले तिमीहरूले परमप्रभुको दयाको स्वाद पाएकाछौ।
4 प्रभु येशू सजीव पत्थर[a] हुनुहुन्छ। संसारका मानिसहरूले निश्चय गरे कि तिनीहरू त्यो पत्थर चाहँदैनन्। तर उहाँ परमेश्वरले चुन्नुभएको पत्थर हुनुहुन्छ। परमेश्वरका निम्ति उहाँ धेरै मूल्यवान हुनुहुन्छ। यसर्थ उहाँकहाँ आऊ। 5 तिमीहरू पनि सजीव पत्थरहरू जस्तै छौ। परमेश्वरले एक आध्यात्मिक मन्दिर निर्माण गर्नलाई तिमीहरूलाई उपयोग गर्दै हुनुहुन्छ। तिमीहरूले त्यस मन्दिरमा पवित्र पूजाहारीहरूको रुपमा आत्मिक बलि चढाऊ जुन येशू ख्रीष्टबाट परमेश्वरलाई स्वीकार्य हुनेछ। 6 धर्मशास्त्रले भन्छ,
“मैले एक बहुमूल्य कुनेको ढुङ्गा छानेको छु,
अनि म त्यो ढुङ्गा सियोनमा राख्छु,
जो मानिस उनलाई विश्वास गर्छ, कहिले पनि लज्जित हुनुपर्दैन।”(A)
7 त्यो पत्थर तिमीहरूको निम्ति, जसले विश्वास गर्छन्, अति मूल्यवान छ। तर विश्वास नगर्ने मानिसहरूको निम्ति उहाँ हुनुहुन्छ:
“निर्माण कर्त्ताहरूले अस्वीकार गरेको ढुङ्गा,
तिनीहरूलाई आवश्यक छैन, त्यो पत्थर आधारशीला भयो।”(B)
8 जसले विश्वास गर्दैनन् तिनीहरूको निम्ति उहाँ हुनुहुन्छ्:
“एक ढुङ्गा जसले मानिसहरूलाई ठेस लगाउँछ,
एक ढुङ्गा जसले मानिसहरूलाई लडाउँछ।”(C)
मानिसहरूलाई ठेस लाग्छ किनभने तिनीहरू परमेश्वरले भनेका कुरा पालन गर्दैनन्। यो परमेश्वरको योजना अनुसार हुन्छ।
9 तर तिमीहरू चुनिएका मानिसहरू हौ। तिमीहरू राजाका पूजाहारीहरू हौ। तिमीहरू मानिसहरूका पवित्र जाति हौ। तिमीहरू ती मानिसहरू हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरूको विषयमा भन्न तिमीहरू चुनिएका हौ। उहाँले तिमीहरूलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।
10 एक समयमा तिमीहरू परमेश्वरको मानिस थिएनौ।
तर अब तिमीहरू परमेश्वरका मानिस हौ।
विगत समयमा तिमीहरूले कहिल्यै पनि कृपा पाएका थिएनौ
तर अहिले तिमीहरूले परमेश्वरबाट कृपा पाएकाछौ।
येशूले आफ्ना चेलाहरूलाई ढाडस दिनुहुन्छ
14 येशूले भन्नुभयो, “आफ्ना हृदयलाई दुःखी हुन नदेऊ। परमेश्वरमा भरोसा गर। अनि ममा भरोसा गर। 2 त्यहाँ मेरा पिताको घरमा धेरै कोठाहरू छन्। यदि यो सत्य नभएको भए म तिमीहरूलाई भन्ने थिईनँ। म त्यहाँ तिमीहरूको व्यवस्था मिलाउन गइरहेछु। 3 म गए पछि तिमीहरूको लागि सबै व्यवस्था मिलाइसके पछि म फर्की आउनेछु। तब म तिमीहरूलाई त्यहाँ लानेछु। तब तिमीहरू म जहाँ छु त्यहीं हुनेछौ। 4 म जुन ठाउँमा गइरहेछु तिमीहरू त्यो बाटो जान्दछौ।”
5 थोमाले भने, “प्रभु, तपाईं कहाँ गइरहनु भएको छ हामी जान्दैनौ। तब हामीले बाटो कसरी जान्ने?”
6 येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ। 7 यदि तिमीहरूले मलाई चिनेको भए तब मेरो पितालाई पनि चिन्ने थियौ। तर अब तिमीहरू पितालाई जान्नेछौ। तिमीहरूले उहाँलाई देखेकाछौ।”
8 फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाइदिनु होस्। त्यही हामीलाई पर्याप्त हुनेछ।”
9 येशूले जवाफ दिनु भयो, “फिलिप धेरै समयदेखि म तिमीहरूसँगै छु र पनि मलाई चिन्दिन भन्छौ? जसले मलाई देखेकोछ उसले मेरो पितालाई पनि देखेकोछ। यसर्थ तिमी कसरी भन्छौ, ‘हामीलाई पिता देखाउनु होस्?’ 10 के तिमीहरू विश्वास गर्छौ कि म पिताभित्र छु र पिता मभित्र हुनुहुन्छ भनेर? जुन कुराहरू मैले भने त्यो मबाट आएको होइन। पिता मभित्र बाँच्नु हुन्छ अनि उहाँले आफ्नो काम आफैं गर्नुहुन्छ। 11 मैले पहिल्यै भनि सकें कि विश्वास गर, ममा पिता र पितामा म हुन्छु। अथवा मैले गरेको कामहरूको कारणले गर्दा पनि विश्वास गर।
12 “म तिमीहरूलाई सत्य भन्छु। जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ। किनभने म पिताकहाँ गइरहेछु। 13 अनि मेरो नाममा केही पनि माग्यो भने, म त्यो तिमीहरूको लागी गरिदिनेछु। तब पिताको महिमा पुत्रको माध्यमाबाट देखिनेछ। 14 यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने, म दिनेछु।
© 2004, 2010 Bible League International