Revised Common Lectionary (Complementary)
दश आज्ञाहरू
20 तब परमप्रभुले भन्नुभयो,
2 “म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ।
3 “तिमीहरूले मबाहेक अरू कुनै देवता पूज्नु हुँदैन।
4 “तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ। 5 कुनै पनि प्रकारको मूर्ति त्यस्तो प्रतिरूपको पूजा नगर र त्यसको अगाडी ननिहुर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म मेरा मानिसहरूले अरू देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कसैले मलाई घृणा गर्छ भने, तिनीहरूका सन्तानहरू, नाती-नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठह्राउनेछु। 6 तर म हजारौं पुस्तासम्म ती सन्तानहरूसित दयालु हुनेछु जसले मलाई प्रेम गर्छ र मेरो आज्ञाहरू पालन गर्छ।
7 “तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ दुरूपयोग गर्नु हुँदैन। जसले परमप्रभुको नाउँको दुरूपयोग गर्छन् तिनीहरूलाई बाँच्न दिनु हुँदैन।
8 “विश्राम दिनलाई एक विशेष दिन भनी मान्नु पर्छ भनी सधैँ ध्यानमा राख। 9 हप्तामा छ दिन आफ्नो काम गर। 10 तर सातौं दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्रामको दिन हो। यसर्थ त्यो दिन कसैले पनि काम गर्नु हुँदैन तिमीहरूका कमारा-कमारीहरू, छोरा-छोरीहरू अनि तिमीहरूका पशुहरू तथा तिमीहरूका शहरहरूमा भएका विदेशीहरूले पनि काम गर्नु हुँदैन। 11 किनभने परमप्रभुले छ दिनमा आकाश, पृथ्वी, समुद्र अनि तिनीहरूमा भएका प्रत्येक चीज सृष्टि गर्नु लगाउनु भयो अनि सातौं दिनमा उहाँले विश्राम लिनु भयो। यस प्रकारले विश्राम दिनलाई परमप्रभुले आशीर्वाद दिनु भयो। त्यस दिनलाई परमप्रभुले विशेष दिन बनाउनु भयो।
12 “तिमीहरूले आफ्नो आमा-बाबुलाई आदर गर्नु पर्छ। यसो गर्यौ भने तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरद्वारा दिइने भूमिमा धेरै समयसम्म बाँच्न सक्नेछौ।
13 “तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।
14 “तिमीले व्यभिचार गर्नु हुँदैन।
15 “तिमीले कुनै चीज चोरी गर्नु हुँदैन।
16 “तिमीले अरूको विषयमा झूटो गवाही दिनु हुँदैन।
17 “तिमीहरूले छिमेकीहरूका घर, पत्नी, पुरूष अनि स्त्री, कमारा, कमारीहरू अथवा तिनीहरूको केही चीजहरूको चाहना गर्नु हुँदैन”
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
19 स्वर्गले परमेश्वरको महिमाको विषयमा बोल्छ।
आकाश-मण्डलले उहाँका हातबाट बनिएका राम्रा-राम्रा कुराहरूका विषयमा भन्दछ।
2 प्रत्येक नयाँ दिनले धेरै-धेरै सृष्टिको कथा वर्णन गर्छ।
अनि प्रत्येक रातले परमेश्वरको धेरै-धेरै शक्ति प्रकट गर्छ।
3 तिमीले साँच्चि नै केही वचन वा शब्दहरू सुन्न सक्तैनौ।
उनीहरूले स्वर निकाल्दैनन् जो हामी सुन्न सक्छौं।
4 तर तिनीहरूको “स्वर” सारा संसारभरि फैलिएर जाँदछ।
तिनीहरूका “वचनहरू” पृथ्वीको कुना-कुनासम्म पुग्छन्।
घामको लागि आकाश घर सरह हुन्छ।
5 घाम एक हर्षित दुलहा जस्तो भएर आफ्नो ओछ्यानबाट आउँछ।
यो एउटा बलियो खेलाडी जस्तै दगुर्नमा तीव्र इच्छा भए झैं,
आफ्नो यात्रा आकाशमा तर्न शुरू गर्छ।
6 घामले आफ्नो यात्रा एक क्षितिजबाट थालेर अर्को क्षितिजमा शेष गर्छ।
यसको तापबाट केही पनि लुक्दैन।
परमप्रभुको उपदेशहरू पनि त्यस्तै छ।
7 परमप्रभुका शिक्षाहरू अत्युत्तम छन्।
तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्।
परमप्रभुको व्यवस्था विश्वास योग्यको छ।
यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ।
8 परमप्रभुका विधिहरू सही छन्।
तिनीहरूले मानिसहरूलई खुशी पार्छन्।
परमप्रभुका आदेशहरू निष्कपट छन्,
तिनीहरूले जीवनमा उचित मार्ग देखाउँछन्।
9 परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो
जसले अनन्त चम्किलो उज्यालो पार्छ।
परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्।
तिनीहरू सम्पूर्ण ठीक छन्।
10 परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्।
तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मीठा छन्।
11 परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ।
यदि तिनीहरूलाई पालन गर्यौं भने असल चिजहरू आउँछन्।
12 हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्।
यसैले मलाई गुप्ती पापहरू गर्न नलगाउनु होस्।
13 मैले चाहेका पापहरू गर्न नलगाउनु होस्।
ती पापले ममाथि राज नगरोस्।
यदि तपाईंले मलाई सहयोग गर्नुभयो भने म आफ्ना पापहरूबाट मुक्त हुन्छु।
14 आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला।
परमप्रभु, तपाईं मेरो चट्टान हुनुहुन्छ, तपाईंले मात्र मलाई बचाउनु हुन्छ।
परमेश्वरको शक्ति र ख्रीष्टमा ज्ञान
18 नष्ट भएकाहरूका निम्ति क्रूस बारेको शिक्षा मूर्खतापूर्ण ठहर्छ। तर हामी उद्धार पाइरहेकाहरूका निम्ति यो परमेश्वरको शक्ति हो। 19 शास्त्रमा लेखिएको छः
“म ज्ञानीहरूको ज्ञानलाई नष्ट गर्नेछु,
बुद्धिमानीहरूको बुद्धिलाई शून्य पार्नेछु।”(A)
20 ज्ञानी कहाँ छ? शिक्षित कहाँ छ? यस युगको दार्शनिक कहाँ छन्? परमेश्वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनु भएको छन्। 21 परमेश्वरले आफ्ना ज्ञानद्वारा के चाहनु हुन्छ भनेः ज्ञानद्वार संसारका मानिसहरूले परमेश्वरलाई चिनेन। त्यसैकारण परमेश्वरलाई जसले विश्वास गर्छन् तिनीहरूको उद्धारका निम्ति मूर्खातापूर्ण लाग्ने सुसमाचार दिनु भयो।
22 यहूदीहरू प्रमाणका निम्ति चमत्कारहरू माग्छन्। ग्रीकहरू ज्ञान चाहन्छन्। 23 तर हामी यही प्रचार गर्छौं ख्रीष्ट क्रूसमा मारिनुभयो। तर यहूदीहरूको निम्ति यो एउटा ठूलो समस्या बन्छ। गैर-यहूदीहरूको लागि यो एउटा मूर्खता हो। 24 तर जो परमेश्वरले छानेका यहूदी र गैर-यहूदीहरूका निम्ति ख्रीष्ट उनै परमेश्वरको शक्ति र ज्ञान हुनुहुन्छ। 25 किनकि परमेश्वरको मूर्खता मानिसहरूको ज्ञान भन्दा ज्ञानी हुन्छ। परमेश्वरको दुर्बलता मानव शक्ति भन्दा बलवान् हुन्छ।
येशूको मन्दिरतर्फ प्रस्थान
(मत्ती 21:12-13; मर्कूस 11:15-17; लूका 19:45-46)
13 यहूदीहरूको निस्तार चाड़[a] अति नजिक थियो। अतः येशू यरूशलेमतर्फ जानु भयो। 14 यरूशलेममा येशू मन्दिर तर्फ जानु भयो। उहाँले मन्दिरमा मानिसहरूले गाई-गोरू, भेंडा़ अनि परेवाहरू बेच्दै गरेको देख्नु भयो। अन्य मानिसहरू टेबलमाथि बसिरहेको देख्नु भयो। तिनीहरू लेनदेन र मानिसको पैसाको व्यपार गरिरहेका थिए। 15 येशूले केही डोरीका टुक्राहरूलिएर कोर्रा बनाउनुभयो। तब जम्मै ती मानिसहरूलाई भेंडा़ र गाई सहित मन्दिर बाहिर क्षेत्रवाट लघार्नु भयो। येशूले लेनदेन गरिएको पैसा छरपष्ट पार्दै टेबल उल्टाई दिनुभयो। 16 येशूले ती ढुकुरहरू बेच्नेहरूलाई भन्नुभयो, “यी चीजहरू यहाँबाट लगेर गइहाल। मेरा पिताको घरलाई किनबेचको बजार जस्तो नबनाऊ।”
17 यो भइसके पछि येशूका चेलाहरूले धर्माशास्त्रमा के लिखिएको थियो त्यसको सम्झना गरेः
“तपाईंको घरको व्यग्रताले मलाई मार्नेछ।”(A)
18 यहूदीहरूले येशूलाई भने, “यी चीजहरू गर्ने तपाईंको अधिकारको प्रमाणको लागि चमत्कार देखाउनु होस्।”
19 येशूले भन्नुभयो, “यो मन्दिरलाई ध्वंश पार र फेरि म यसलाई तीन दिनमा बनाई दिनेछु।”
20 यहूदीहरूले भने, “यो मन्दिर निर्माण गर्नेलाई मानिसहरूलाई छयालीस वर्ष लागेको थियो। यसकारण यसलाई तीन दिन भित्रमा फेरि बनाउन सक्छु भनेर कसरी घोषणा गर्न सक्छौ?”
21 वास्तवमा मन्दिरको संदर्भ येशूलाई आफ्नो शरीरसँग थियो। 22 मृत्युबाट उहाँ बौरी उठी सकेपछि उहाँले त्यसो भनेको कुरा उनका चेलाहरूले सम्झे। तब येशूले भन्नुभएको वचन र धर्मशास्त्रमा तिनीहरूले विश्वास गरे।
© 2004, 2010 Bible League International