Revised Common Lectionary (Complementary)
सुलेमानको भजन।
72 हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्।
राजकुमारको सहायता गर्नुहोस् ताकि उसले तपाईंको धार्मिकता जानोस्।
2 आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्।
गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।
3 त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।
4 गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहुन्।
उहाँले असहायहरूलाई साथ दिइयोस्।
कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिऊन्।
5 जब सम्म घाम उदाउँछ
अनि जून आकाशमा रहन्छन् मानिस डरले राजालाई सम्मान गर्ने होस्!
6 खेतहरूमा पानी बर्षे जस्तै,
धर्तीमा पानी परे जस्तै राजा बनुन्।
7 उहाँको राज्यकालमा धार्मिकता फूलोस्-फलोस्।
जब सम्म जून रहन्छ तब सम्म शान्ति रहोस्।
8 उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्।
युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्!
9 मरुभूमिमा बसिरहेका मानिसहरूले उहाँको अघि भूँई तिर अनुहार पारेर शिर झुकाउन्,
उहाँको सम्पूर्ण शत्रुहरू तिनीहरूको मैलो अनुहार लिएर उहाँप्रति निहुरिउन्।
10 तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्।
शेबा र शेबाका राजाहरूले उहाँलाई भेटी चढाऊन्।
11 सम्पूर्ण राजाहरूले हाम्रो राजाको अघि शिर झुकाउन्।
सबै जातिहरूले उहाँको सेवा गरून्।
12 हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ।
हाम्रो राजाले दीन-दुःखी, असहायहरूलाई साथ दिनुहुन्छ।
13 दीन-दुःखी, असहायहरू उहाँमाथि आश्रित छन्।
राजाले तिनीहरूलाई जीउँदो राख्नुहुन्छ।
14 अत्याचार र क्रूर मानिसहरू जसले तिनीहरूलाई नोक्सान पुर्याउनँ चाहन्छन् तिनीहरूदेखि राजाले बचाउँनु हुन्छ।
ती दीन-हीन मानिसहरूको जीवन राजाको निम्ति अत्यन्त महत्वपूर्ण छ।
15 राजाको दीर्घायु होस्!
अनि उहाँले शेबाबाट सुन प्राप्त गरून्।
सधैँ राजाको निम्ति प्रार्थना गर।
प्रत्येक दिन राजालाई आशीर्वाद दिनु।
16 खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस्
र पहाडहरू अन्नबालीले ढाकियोस्।
खेतहरू लबानोन जस्ता मलिलो रहोस्।
अनि खेतहरू हरियो घाँसहरूले ढाकिए जस्तै,
शहरहरू मानिसहरूले भरिभराउ बनोस्।
17 राजा सदालाई ख्याती प्राप्त बनोस्।
जब सम्म घाम रहन्छ तब सम्म मानिसहरूले उहाँको नाउँ याद गरून्।
मानिसहरू उहाँबाट धन्य रहोस्
अनि सबैले उहाँलाई आशीर्वाद दिऊन्।
18 परमप्रभु परमेश्वर, इस्राएलका परमेश्वरको गुण-गान गर!
परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!
19 उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर!
उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्!
आमेन! आमेन!
20 (यस्सीको छोरो दाऊदको प्रार्थना यही समाप्त हुँदछ।)
बिलामको अन्तिम अगमवाणी
15 तब बिलामले यी कुराहरू भनेः
“यो बओरको छोरो बिलाम
जसले आफ्नो आखाँले सफासँग देख्न सक्छ,
16 कसले परमेश्वरको वचन सुन्न सक्छ,
अनि कसले सर्वउच्च परमेश्वरबाट ज्ञान प्राप्त गर्न सक्छ?
सर्वशक्तिमान परमेश्वरले यो कुराहरू देखाउनु भयो त्यो मैले देखें।
म नम्रता पूर्वक तपाईंलाई भन्छु के म स्वच्छ देख्दैछु।
17 “म परमप्रभुलाई देख्न सक्छु, तर अहिले होइन,
म उहाँलाई देख्न सक्छु, तर नजीकबाट होइन।
एउटा राजा तारा जस्तै याकूबको वंशबाट आउनेछ,
इस्राएलका मानिसहरूबाट एक जना शासक जन्मनेछ।
मोआबी मानिसहरूको त्यस शासकले टाउको किच्चयाउनुहुनेछ
अनि शेतको वंशनै ध्वंश पार्नु हुनेछ।
18 इस्राएलको शत्रु सेईरको भूमि इस्राएलको दखलमा हुनेछ,
एदोमको भूमि पनि तिनीहरूकै दखलमा रहनेछ
जब इस्राएलले बहादुरी देखाउनेछ।
19 “याकूबको वंशबाट शासक आउनेछ,
र त्यस शहरमा बाँचेकाहरूलाई ध्वंश पार्नेछ।”
जकरियाद्वारा परमेश्वरको प्रशंसा
67 त्यसपछि यूहन्नाको बाबु जकरियामा पवित्र आत्मा आउनु भयो। अनि तिनले यस्तो अगमवाणी दिन थालेः
68 “इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गर।
कारण उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्नु भयो,
अनि तिनीहरूलाई स्वतन्त्रता दिनुभयो।
69 परमेश्वरकै सेवक दाऊदका बंशबाट
उहाँले हामीलाई शक्तिशाली मुक्तिदाता दिनु भएको छ।
70 उहाँले भन्नु भएको थियो कि उहाँले यी सब गर्नु हुनेछ।
धेरै अघिनै उहाँका पवित्र अगमवक्ताहरूबाट उहाँले यी सब कुराहरू भन्नु भएको हो।
71 उहाले हामीलाई शत्रुहरूदेखि,
अनि हामीलाई घृणागर्ने शक्तिहरूदेखि जोगाउनु भएको छ।
72 उहाँले हाम्रा पुर्खाहरूलाई दया गर्नेछु भन्नु भएकोछ।
उहाँले पवित्र करार पनि स्मरण गर्नु भएकोछ।
73 उहाँले हाम्रा पुर्खा अब्राहामको अघि शपथ खानु भएको थियो की
74 उहाँले हामीलाई हाम्रो शत्रुहरूको पन्जाबाट स्वतन्त्र राख्ने शपथ लिनु भएकोछ,
औ हामीलाई निर्भयपूर्वक उहाँको सेवामा राख्नु हुनेछ।
75 जब सम्म हामी जीवित रहन्छौ हामी पवित्र अनि परमेश्वर अघि सही मार्गमा रहनेछौं।
76 “ए बालक, अब तिमी, महा-महिमाको अगमवक्ता कहलाइनेछौ।
उहाँको आगमनको मार्ग तयारी पार्न तिमी सर्वप्रथम परमेश्वरको अघि जानेछौ।
77 तिमीले उहाँका मानिसहरूलाई तिनीहरूको पापहरूबाट क्षमा पाएर कसरी बाँच्ने त्यो बुझाउनेछौ।
78 “परमेश्वरको प्रेमपूर्ण करूणा पाएर,
हामीमा स्वर्गबाट एउटा नयाँ उज्यालो ज्योति चम्कनेछ।
79 उहाँले अन्धकारमा बसेका, मृत्युको डरमा परेकाहरूलाई मद्दत गर्नु हुनेछ।
उहाँले हामीलाई शान्तिको मार्गतिर पथ-प्रदर्शन गर्नु हुनेछ।”
© 2004, 2010 Bible League International