Revised Common Lectionary (Complementary)
एक नयाँ दिन आइरहेछ
9 पहिला मानिसहरूले सोचे जबूलून र नप्तालीको कुनै महत्व थिएन। तर पछि परमेश्वरले ती तीन जग्गाहरूलाई महिमामय बनाउनु हुनेछ। ती तीन जग्गाहरू हुनः समुद्रको बाटो, यर्दन नदीको पूर्वमा भएको जग्गा र गालीलका गैर-यहूदीहरू। 2 ती मानिसहरू अन्धकारमय संसारमा बाँचेका थिए। तर तिनीहरूले “दिव्य ज्योति” देख्नेछन्। तिनीहरू अँध्यारोमा बसेका थिए, तर “दिव्य ज्योति” तिनीहरूमाथि चम्किनेछ।
3 परमेश्वर, तपाईंकै कारणले गर्दा ती जातिहरूको वृद्धि हुने भयो। तपाईंले मानिसहरूलाई खुशी पार्नु भयो। अनि मानिसहरूले आफ्ना खुशीहरू तपाईंलाई देखाए। खेतमा बाली काट्ने बेलाको झैं त्यो खुशी रमाइलो हुनेछ। त्यो खुशी युद्धमा जितेर आ-आफ्नो भाग बाँडिने बेलाको आनन्द झैं हुनेछ, 4 किनभने तिमीहरूले गह्रुँ भार लगेर गयौ। मानिसहरूका ढाडका गह्रुँ भारी तिमीहरूले हटाएर लगिदियौ। मानिसहरूलाई दण्ड दिने फलामको डन्डा भाँचेर फालिदियौ। यो तिमीहरूले मिद्यानलाई पराजय गरेको बेला जस्तै हुनेछ।
दाऊदको भजन।
27 हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ,
मैले कोहीसँग पनि डराउनु पर्दैन!
मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ!
यसैले म कोसैसँग डराउने छैन।
4 परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः
“जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ,
परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ
अनि मन्दिरमा परिदर्शन गर्न सकुँ।”
5 परमप्रभुले मलाई बचाउँनु हुन्छ।
जब म सङ्कटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ।
उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ।
6 मेरा शत्रुहरूले मलाई घेरेका छन्।
तर तिनीहरूलाई परास्त गर्न मलाई परमप्रभुले सहयोग गर्नु हुनेछ।
त्यसपछि म उहाँको पालमा बलि चढाउने छु।
म आनन्दको जयकार सहित बलिदान गर्नेछु,
म परमप्रभुको सम्मानमा भजन गाउनेछु।
7 हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस्।
मलाई जवाफ दिनुहोस्।
मलाई कृपादान गर्नुहोस्।
8 हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु।
म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छु।
म तपाईं समक्ष बोल्न आएँ।
9 हे परमप्रभु, तपाईंको दासबाट अनुहार नफर्काउनु होस्,
मलाई साथ दिनुहोस्।
मलाई टाढा नधकेल्नुहोस्,
मलाई नत्याग्नु होस्,
मेरो परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ।
कोरिन्थीको मण्डलीमा फाटो
10 हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म विनयपूर्वक भन्दछु, दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, तिमीहरू आपसमा मिलेर बस जसले गर्दा तिमीहरूको बीचमा फाटो नआवोस्। एउटै विचार र एउटै उद्देश्य लिएर तिमीहरू एक भई बस भन्ने मेरो विन्ती छ।
11 मेरा भाइ-बहिनीहरू हो, क्लोएको परिवारबाट मैले तिमीहरूका बारेमा सुनेको छु कि तिमीहरूको बीचमा झगड़ा छ। 12 मेरो भन्नुको तात्पर्यः यही हो तिमीहरूमध्ये कसैले “म पावललाई मान्छु,” कसैले “म अपोल्लोसलाई मान्छु,” कसैले “म केफासलाई मान्छु,” अनि कसैले, “म ख्रीष्टलाई मान्छु” भन्छौ अरे। 13 ख्रीष्टलाई विभिन्न दलमा बाँट्न सकिन्न। के पावल तिमीहरूका निम्ति क्रूसमा मरेका हुन् र? होइनन्! के पावलको नाउँमा तिमीहरू बप्तिस्मा भएका हौ र? होइनौ! 14 म परमेश्वरलाई धन्यवाद चढाउँछु कि तिमीहरूमध्ये क्रिसपस र गायसलाई बाहेक मैले कसैलाई पनि बप्तिस्मा दिएको छैन। 15 म यसको निम्ति कृतज्ञ छु किनभने तिमीहरू मेरो नाउँमा बप्तिस्मा भयौ भनेर कसैले भन्न सक्ने छैन। 16 हो, मैले स्तिफनसको परिवारलाई मात्र बप्तिस्मा दिएको हुँ। तर अरू कसैलाई म आफूले बप्तिस्मा दिएको कुराको मलाई सम्झमा छैन। 17 ख्रीष्टले मलाई बप्तिस्मा दिन पठाउनु भएको छैन। उहाँले मलाई शुभ-सन्देश सुनाउने काम अह्राउनु भएको छ। तर शुभ-संदेश सांसारिक ज्ञानको शब्दहरूमा सुनाउन होइन। शुभ-सन्देश सुनाउँदा मैले सांसारिक ज्ञानका शब्दहरू प्रयोग गरें भने त ख्रीष्टको क्रूसले आफ्नो शक्ति हराउनेछ।
परमेश्वरको शक्ति र ख्रीष्टमा ज्ञान
18 नष्ट भएकाहरूका निम्ति क्रूस बारेको शिक्षा मूर्खतापूर्ण ठहर्छ। तर हामी उद्धार पाइरहेकाहरूका निम्ति यो परमेश्वरको शक्ति हो।
गालिलमा येशू आफ्नो काम शुरु गर्दै
(मर्कूस 1:14-15; लूका 4:14-15)
12 येशूले यूहन्ना थुनामा परे भन्ने कुरा सुन्नु भयो। त्यसपछि उहाँ गालील तर्फ लाग्नुभयो। 13 येशू नासरतमा बस्नु भएन। उहाँ गालिल झीलको नजिकको कर्फनहुम नगरमा बस्नु भयो। कर्फनहुम, जबुलून अनि नप्तालीका क्षेत्रमा पर्छ। 14 येशूले यशैया अगमवक्ताद्वारा बोलिएको यिनै वचनलाई पूरा गर्नका निम्ति यसो गर्नु भयो:
15 “सुन! जबुलून र नप्तालीको मुलुक,
यर्दन नदीपारिको क्षेत्र, समुन्द्रको किनारा तिरजाने बाटो,
गालील, गैर-यहूदीहरूको मुलुक।
16 जहाँका मानिसहरू आत्मिकि अन्धकारमा थिए,
तिनीहरूले एउटा ठूलो ज्योति देखे।
अँध्यारो मुलुकमा बस्नेहरूको निम्ति ज्योति चम्कियो।
जो मुलुकको चिहान जस्तै ठाउँमा बाँच्न परेको थियो।”(A)
17 यसै बेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो। उहाँले भन्नलाग्नुभयो, “तिमीहरू पश्चताप गर अनि आफ्नो रहन-सहन परिवर्तन गर, किनभने, स्वर्गको राज्य नजिक आइपुगेको छ।”
येशू केही चेलाहरू चुन्नु हुन्छ
(मर्कूस 1:16-20; लूका 5:1-11)
18 गालील झीलका छेउ भएर येशू हिँडिरहनु भएको थियो। उहाँले दुइजना दाज्यू-भाइलाई देख्नुभयो पत्रुस भनिने शिमोन र तिनको भाइ अन्द्रियास दुवै दाज्यू-भाइ माछामार्ने जालहारी थिए। अनि तिनीहरूले समुन्द्रमा जाल हानेर माछा मार्दैं थिए। 19 येशूले भन्नुभयो, “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका जलहारी बनाउनेछु।” 20 शिमोन र अन्द्रियास दुवैले आफ्नो जालहरू त्यति नै बेला छाडिदिए र येशूको पछिलागे।
21 गालील झील भएर येशू हिंड्दै जानुभयो। उहाँले अरू दुइजना दाज्यू-भाइलाई देख्नुभयो, याकूब र यूहन्ना ती जब्दीका छोराहरू थिए। तिनीहरूले जाल बुन्दै गरेका देख्नु भयो। येशूले ती दुइ दाज्यू-भाइलाई पनि बोलाउनु भयो। 22 तिनीहरूले पनि तुरन्तै आफ्नो डुङ्गा र आफ्नो बाबुलाई छोडेर येशूको पछि लागे।
येशूको उपदेश र मानिसहरूको चंगाई
(लूका 6:17-19)
23 येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।
© 2004, 2010 Bible League International