Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
27 हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ,
मैले कोहीसँग पनि डराउनु पर्दैन!
मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ!
यसैले म कोसैसँग डराउने छैन।
2 दुष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्।
तिनीहरूले मलाई तरवारले काट्न सक्छन्।
मेरा शत्रुहरूले मलाई आक्रमण गर्न सक्छन्,
अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्।
3 तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्।
तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन।
यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन।
किनभने म परमप्रभुमाथि भरोसा गर्दछु।
4 परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः
“जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ,
परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ
अनि मन्दिरमा परिदर्शन गर्न सकुँ।”
5 परमप्रभुले मलाई बचाउँनु हुन्छ।
जब म सङ्कटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ।
उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ।
6 मेरा शत्रुहरूले मलाई घेरेका छन्।
तर तिनीहरूलाई परास्त गर्न मलाई परमप्रभुले सहयोग गर्नु हुनेछ।
त्यसपछि म उहाँको पालमा बलि चढाउने छु।
म आनन्दको जयकार सहित बलिदान गर्नेछु,
म परमप्रभुको सम्मानमा भजन गाउनेछु।
27 शहरको किनारतिर शाऊल, तिनका नोकर र शमूएल अघि बढ्दै थिए। शमूएलले शाऊललाई भने, “तपाईंको नोकरलाई हामी भन्दा अघि हिँड्न भन्नुहोस्। मैले तपाईंलाई परमेश्वरको संदेश सुनाउन बाँकी नै छ।” नोकर तिनीहरू भन्दा केही अघि हिँड्न थाल्यो।
शमूएलले शाऊललाई अभिषेक गरिदिए
10 शमूएलले एक ढुँग्रो विशेष तेल लिए र शाऊलको टाउकोमा खन्याई दिए। शमूएलले म्वाई खाँदै भने, “परमप्रभुले तपाईंलाई आफ्ना मानिसहरूका अगुवाको रूपमा अभिषेक गर्नुभएको छ। तपाईंले परमप्रभुका मानिसहरूलाई शासन गर्नुहुनेछ तपाईंले तिनीहरूलाई चारैतिरका शत्रुबाट रक्षा गर्नुपर्छ। परमप्रभुले तपाईंलाई आफ्नो मानिसहरूको शासकको रूपमा अभिषेक गर्नुभएको हो। यहाँ एउटा संकेत छ त्यसले यो सत्य हो भनि प्रमाण दिइने छ। 2 आज तपाईंले मबाट बिदा भएर जानु भएपछि बिन्यामिनीको सिमानामा भएको राहेलको चिहाननेर सेलमहमा दुइजना मानिसहरू भेट्टाउनु हुनेछ। ती दुइजना मानिसहरूले भन्नेछन्, ‘तपाईंले खोजिरहनु भएको गधाहरू कसैले पाएको छ। तपाईंका पिता गधाहरूबारे चिन्तित हुन छाडेर तपाईंको निम्ति सुर्ता गर्दै भन्दै हुनुहुन्छ: अब म मेरो छोराको लागि के गरूँ?’”
3 तब शमूएलले भने, “तपाईंहरू ताबेरमा बज्राँठको रूख नआइन्जेलसम्म अघि बढ्नुहोस्। त्यहाँ तीनजना मानिसहरू भेट्नुहुनेछ। तिनीहरू बेतेलमा परमेश्वरको आराधना गर्न गइरहेका हुनेछन्। ती मध्येको पहिलोले तीनवटा पाठा बोकेको हुनेछ। दोस्रोले तीनवटा रोटी र तेस्रोले एक मशक दाखरस बोकेको हुनेछन्। 4 ती तीनै जना मानिसले तपाईंलाई अभिवादन गर्नेछन्। तिनीहरूले दुइवटा रोटी दिनेछन्। ती दुइवटै रोटी तपाईंले स्वीकार गर्नुपर्छ। 5 त्यहाँबाट तपाईं गिबियत एलोहिम जानुपर्छ। त्यहाँ पलिश्तीहरूको एउटा चौकी छ। जब तपाईं त्यस शहरमा पुग्नुहुन्छ केही अगमवक्ताहरू निक्लदै गरेको भेट्नु हुनेछ। ती अगमवक्ताहरू आराधनास्थानबाट झर्दै गरेका हुनेछन्। तिनीहरूले अगमवाणीहरू बोलिरहेका हुनेछन्। तिनीहरूले खैंजडी, ढोलक, बाँसुरी र वीणा बजाउँदै गरेका हुनेछन्। 6 त्यति बेला परमप्रभुको आत्मा तपाईंमाथि उत्रनुहुनेछ र तपाईंलाई शक्ति दिनुहुनेछ, तपाईं परिवर्तन हुनुहुनेछ। तपाईं भिन्न मानिस हुनुहुनेछ। तपाईं पनि ती अगमवक्ताहरूसितै अगमवाणी बोल्नसक्ने हुनुहुन्छ। 7 यी घटनाहरू घटिसके पछि तपाईं जे चाहनुहुन्छ गर्न सक्नुहुन्छ। किनकी परमेश्वर तपाईंसित हुनुहुनेछ।
8 “म भन्दा पहिले गिलगाल जानुहोस्। त्यसपछि म तपाईं भएकोमा आउने छु। म त्यहाँ होमबलि र मेलबलि चढाउँनेछु। तर तपाईंले सात दिन पर्खनु पर्नेछ। तब म आउनेछु अनि तपाईंले के गर्नुपर्छ म बताउँनेछु।”
अरू प्रेरितहरूले पावललाई माने
2 चौध वर्ष बितेपछि बर्णाबाससित म फेरि यरूशलेम गएँ। र तीतसलाई साथमा लगें। 2 म गएको कारण परमेश्वरले मलाई त्यहाँ जानै पर्ने देखाउनु भयो। मैले विश्वासीहरूका अगुवाहरूलाई त्यहाँ भेटें। जब हामी एकान्त भयौं मैले तिनीहरूलाई त्यही सुसमाचार व्याख्या गरें जुन म अ-यहूदीहरू माझ प्रचार गर्छु। तिनीहरूले मेरो काम बुझुन् भन्ने म चाहन्थें जसमा कि मेरा विगतका कामहरू र वर्तमानका प्रयासहरू खेर नजाऊन्।
3 तीतस मसितै थिए। तीतस ग्रीक थिए। तर ती विश्वासीहरूले तीतसलाई खतना गर्नु कर लगाएनन्। 4 हामी यस्तै समस्याहरू बारे कुरा गर्न चाहन्थ्यौं, किन कि कतिपय अविश्वासीहरू गुप्त रूपले हाम्रा दलमा पसेका थिए। ख्रीष्ट येशूमा हाम्रो स्वतंत्रता बुझ्न तिनीहरू जासूस बनेर पसेका थिए। 5 तर हामी ती झूटा भाइहरूले चाहेका कुरामा अलिकति पनि झुकेनौं जसमा कि तिमीहरूमा सुसमाचारको सत्यता रहिरहोस्।
6 तर ठूला-बड़ा मानिसहरूले मैले प्रचार गरेको सुसमाचारलाई अदल-बदल गरेनन्। तिनीहरू “ठूला-बडा” होलान् कि नहोलान् त्यसले मलाई केही फरक पर्दैन। परमेश्वरका निम्ति सबै एक समान छन्। 7 तर ती नाइकेहरूले देखे कि परमेश्वरले पत्रुसलाई यहूदीहरू माझ अनि मलाई गैर-यहूदीहरू माझ सुसमाचार प्रचार गर्न लगाउनु भयो 8 परमेश्वरले पत्रुसलाई यहूदीहरूको प्रेरित भएर काम गर्नु लगाउनु भयो। अनि मलाई पनि गैर-यहूदीहरूको प्रेरित भई काम गर्न लगाउनु भयो। 9 याकूब, पत्रुस र यूहन्ना अगुवा जस्ता मानिन्छन्। तिनीहरूले बुझे कि परमेश्वरले मलाई विशेष वरदान दिनु भएकोछ। यसकारण तिनीहरूले बर्णाबास र मलाई स्वीकार गरे। तिनीहरूले भने, “पावल र बर्णाबास, हामी मान्छौं कि तिमीहरू ती मानिसहरूकहाँ जाऊ जो यहूदी होइनन् र हामी चाँहि यहूदीहरू माझ जान्छौं।” 10 तिनीहरूले हामीले एउटा कुरो भने कि गरीबहरूलाई सहायता गर्न नभुल्नु। अनि मैले त्यो कुरा गर्ने भरसक प्रयास गरेको छु।
© 2004, 2010 Bible League International