Revised Common Lectionary (Complementary)
परमेश्वरले आफ्ना विशेष दासलाई डाक्नु हुन्छ
49 टाढामा रहेका मेरा मानिसहरू! मेरा कुरा ध्यान दिएर सुन्,
पृथ्वीमा बाँचिरहेका सम्पूर्ण मानिसहरू ध्यान दिएर सुन्।
परमप्रभुले उहाँको सेवा गर्न मलाई आह्वान गर्नुभयो।
म जन्मनु भन्दा अघि नै परमप्रभुले मेरो नाउँ काढ़नु भयो,
जब म आमाको गर्भमा नै थिएँ।
2 परमप्रभुले मलाई उहाँका निम्ति बोल्न प्रयोग गर्नुहुन्छ।
उहाँ मलाई धारिलो तरवार जस्तै प्रयोग गर्नुहुन्छ,
तर उहाँले मलाई रक्षा पनि गर्नुहुन्छ।
ऊ हाँले मलाई आफ्नो हत्केलामा लुकाउनु हुन्छ।
परमप्रभुले मलाई तिखो काँड झैं प्रयोग गर्नुहुन्छ,
तर उहाँले मलाई काँडको ढोक्रोमा लुकाउनु हुन्छ।
3 परमप्रभुले मलाई भन्नुभयो, “इस्राएल, तिमी मेरो दास हौ।
म तिमीसँग अचम्म लाग्दो कामहरू गर्नेछु।”
4 मैले भने, “मैले व्यर्थै परिश्रम गरें,
मैले आफूलाई थोत्रो पारें, तर उपयोगी काम भने भएन।
मैले मेरा सारा शक्तिहरू प्रयोग गरें
तर वास्तवमा मैले केही पनि पाइनँ।
यसैले, परमप्रभुले मसँग केही गर्नलाई निर्णय दिनु पर्छ।
परमेश्वरले मेरो कामको प्रतिफल दिनै पर्छ।”
5 परमप्रभुले मलाई आमाको गर्भमा सिर्जना गर्नु भयो
ताकि याकूब र इस्राएललाई उहाँ समक्ष फर्काउनका लागि
उहाँको सेवक हुन सकुँ।
परमप्रभुले मलाई सम्मान गर्नुहुनेछ।
म परमेश्वरबाट आफ्नो बल पाउनेछु।
6 परमप्रभुले मलाई भन्नुभयो, “तिमी मेरो एक मुख्य दास हौ।
इस्राएलका मानिसहरू कैदी छन्, तर तिनीहरूलाई मकहाँ फर्काई ल्याउनेछु।
याकूबका वंशहरू मकहाँ फर्की आउनेछन्।
तर, तिमीसँग अर्को काम छ यो त्यो भन्दा पनि अझ मुख्य छ।
सारा जातिहरूका लागि म तिमीलाई ज्योति बनाउनेछु।
तिमी पृथ्वीमा भएका सारा मानिसहरूलाई बचाउने मेरो बाटो हुनेछौ।”
7 परमप्रभु, इस्राएलका परम-पवित्र
र इस्राएलका उद्धारक भन्नुहुन्छ,
“मेरो दास नम्र छ उसले शासकहरूको सेवा गर्दछ,
तर मानिसहरूले उसलाई हेला गर्दछन्।
तर, राजाहरूले उसलाई हेर्ने छन्,
अनि उसलाई आदर गर्न उभिनेछन्।
महान अगुवाहरूले ऊ अघि शिर झुकाउनेछन्।”
यो घट्ना हुने नै छ किनभने परमप्रभु, इस्राएलका परम-पवित्रले, यो चाहनुहुन्छ। अनि परमप्रभुलाई विश्वास गर्न सकिन्छ। उहाँले नै तिमीलाई चुन्नु भएको हो।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
40 मैले परमप्रभुलाई बोलाएँ, र उहाँले मलाई उत्तर दिनुभयो।
उहाँले मेरा विलापहरू सुन्नुभयो।
2 परमप्रभुले मलाई चिहानबाट माथि उठाउनु भयो।
उहाँले मलाई हिलै-हिलो भएको ठाउँबाट उठाउनु भयो।
उहाँले मलाई उठाउनु भयो, भूइँमा राख्नु भयो
अनि चिप्लीनदेखि मेरा खुट्टा सम्हाली दिनुभयो।
3 परमप्रभुले मेरो ओठमा नयाँ गीत दिनु भयो, “परमेश्वरको लागि स्तुति-गान गर।”
धेरै मानिसहरूले ममाथि के हुन लागिरहेछ भनेर हेर्नेछन्,
अनि तिनीहरूले परमेश्वरको उपासना गर्नेछन्।
तिनीहरूले परमप्रभुमा भरोसा गर्नेछन्।
4 त्यो मानिस जसले परमप्रभुमाथि भरोसा गर्छ, साँच्चै धन्य हुनेछ।
यदि कुनै मानिसले कसैलाई आफ्नो भूलहरू र झूटो देवताहरूतर्फ लाँदैन भने त्यो मानिस साँच्चै नै धन्य हुनेछ।
5 हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंले आश्चर्यजनक कामहरू गर्नुभएको छ!
तपाईंसँग हाम्रो लागि अद्भूत प्रकारका योजनाहरू छन्।
कसैले पनि त्यस्तो सूची बनाउन सकेनन्!
म घरि-घरि ती कुराहरू भन्छु जुन कुराहरू अनगन्ती छन्।
6 परमप्रभु, तपाईंले मेरो निम्ति कुराहरू बुझाउनु भयोः
तपाईं प्राणीका बलिहरू र अन्नको अर्पणहरू चाहनु हुन्न।
तपाईं होमबलि र पापबलिहरू चाहनु हुन्न।
7 यसैले मैले भनें, “म यहाँ छु! म त्यो काम गर्न तयारछु,
जुनकाम मैले गर्नु पर्छ भनि यो पुस्तकमा लेखिएको छ।
8 हे मेरो परमेश्वर, तपाईं जे चाहनु हुन्छ म त्यही अनुरूप गर्दछु।
म तपाईंको व्यवस्था जान्दछु।
9 मैले महासभामा मानिसहरूलाई तपाईंको विजयको सुसमाचारहरू बताएँ।
अनि परमप्रभु, तपाईं जान्नुहुन्छ म ती सुसमाचारहरू भन्नका लागि कहिल्यै रोकिने छैन!
10 हे परमप्रभु, तपाईंले गर्नु भएका असल कुराहरू बताएँ,
मैले ती कुराहरू हृदयमा लुकाई राखिनँ।
परमप्रभु, मैले मानिसहरूलाई भनें तिनीहरू बाँच्नलाई तपाईंमाथि आश्रित हुन सक्छन्।
मैले तपाईंको विश्वस्तता र अनुग्रहलाई सभामा मानिसहरूबाट लुकाइनँ।
11 यसैकारण, हे परमप्रभु! मदेखि तपाईंको कृपा नलुकाउनु होस्!
तपाईंको विश्वस्तता र कृपादानले मेरो रक्षा गरोस्।”
1 पावलबाट प्रणाम। परमेश्वरले इच्छा गरेकाले म ख्रीष्ट येशूको प्रेरित बन्न परमेश्वरद्वारा बोलाइएको छु। हाम्रा ख्रीष्टमा भाइ सोस्थनेसबाट पनि।
2 कोरिन्थमा भएका परमेश्वरको मण्डली जसलाई ख्रीष्ट येशूमा पवित्र गराइएका छन्, औ जसलाई परमेश्वरले उहाँको पवित्र मानिसहरू हुन बोलाउनु भएको छ। तिमीहरूलाई पनि प्रत्येक ठाउँका अरू सबै मानिसहरूसँगै बोलाइएको छ, जसकोमा ख्रीष्टमाथि विश्वास छ-जो हाम्रो तथा तिनीहरूका परमप्रभु हुनुहन्छ।
3 हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।
पावल परमेश्वरलाई धन्यवाद चढाउँछन्
4 परमेश्वरले ख्रीष्ट येशूको माध्यममा तिमीहरूलाई दिइएको अनुग्रहको निम्ति म आफ्ना परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु। 5 येशूमा तिमीहरूले हरतरहले आशीर्वाद पाएकाछौ। तिमीहरू आफ्नो जम्मै बोली-बचन र सारा ज्ञानमा धनी भएका छौ। 6 ख्रीष्टको सत्य बारे तिमीहरूमा प्रमाणित भएको छ। 7 यसैले हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन पर्खिरहुन्जेल तिमीहरूलाई कुनै आत्मिक वरदानको अभाव हुने छैन। 8 येशूले तिमीहरूलाई सदा सुदृढ राख्नु हुनेछ कि हाम्रा प्रभु येशू ख्रीष्टको पुरागमनको दिनमा पनि तिमीहरूलाई केही दोष हुने छैन। 9 परमेश्वर विश्वास योग्य हुनुहुन्छ। एक उनै हुन् जसले तिमीहरूलाई आफ्ना पुत्र येशू ख्रीष्ट, हाम्रा प्रभुसित सँगती गर्नु बोलाउनु भएकोछ।
येशू, परमेश्वरका थुमा
29 अर्को दिन येशूलाई आफूतिर आइरहनु भएको यूहन्नाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ। 30 त्यो उही हो जसको विषयमा मैले भनेको थिएँ। ‘एकजना पुरुष मेरो पछि आउनेवाला हुनुहुन्छ जो मभन्दा महान् हुनुहुन्छ किनभने उहाँ मभन्दा पहिले नै अस्तित्वमा हुनु हुन्थ्यो।’ 31 उहाँ को हुनुहुन्छ भनेर पनि मैले जानेको थिइन, तर म मानिसहरूलाई पानीले बप्तिस्मा दिदै आँए ताकि यहूदीहरूले जानुन् कि उहाँ ख्रीष्ट हुनुहुन्छ।”
32-34 तब यूहन्नाले भने, “ख्रीष्ट को थिए भनेर पनि जान्दिन थिएँ। तर परमेश्वरले मलाई पानीले मानिसहरूलाई बप्तिस्मा दिन पठाउनु भएको हो। अनि परमेश्वरले मलाई भन्नुभयो, ‘तिमीले आत्मा ओर्लिदै एक जना मानिसमाथि बसेको देख्नेछौ। त्यही मानिसले पवित्र आत्माद्वारा बप्तिस्मा दिनेछन्।’” यूहन्नाले भने, “मैले यो सबै भइरहेको देखेकोछु। मैले स्वर्गबाट आत्मा ओर्लँदै गरेको देखें। मैले पवित्र आत्मालाई ढुक्कुर जस्तै देखें अनि उहाँमाथि बसेको देखें। मैले यो देखेको हुँ र म गवाही पनि दिन्छु कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।”
येशूका प्रथम चेलाहरू
35 अर्को दिन फेरि यूहन्ना त्यहाँ उपस्थित थिए। उनिसँग उहाँका दुइजना चेलाहरू थिए। 36 यूहन्नाले येशू हिडिरहेका देखे र उनोले भने, “हेर, परमेश्वरका थुमा।”
37 यूहन्नाको कुरा सुनिसके पछि ती दुइ चेलाहरू येशूको पछि लागे। 38 येशूले फर्केर हेर्नु भयो र उहाँको पछि ती दुइजना चेला आहरहेको देखेर उहाँले भन्नुभयो, “तिमीहरू के चाहन्छौ?”
ती दुइजनाले भने, “रब्बी, तपाँईं कहाँ बस्नुहुन्छ?”
39 येशूले उत्तर दिनुभयो, “मसँग आओ अनि तिमीहरूले देख्नेछौ।” तब ती दुइजना येशूसँग गए। तिनीहरूले येशू बस्नु भएको ठाउँ देखे। त्यस दिन येशूसँगै तिनीहरू वास बसे। त्यसबेला चार बजी सकेको थियो।
40 यूहन्नाबाट येशूको विषयमा जाने पछि तिनीहरू येशूकै पछि लागे। ती दुइजना मध्ये एकजनाको नाउँ अन्द्रियास थियो। तिनी शिमोन पत्रुसका भाइ थिए। 41 पहिले अन्द्रियसले आफ्नो भाइ शिमोनलाई खोज्ने काम गरे। शिमोनलाई अन्द्रियासले भने, “हामीले मसीह पाएकोछौं।”
42 तब शिमोनलाई अनिद्रयासले येशूकहाँ ल्याए। येशूले शिमोनतर्फ हेर्दै भन्नु भयो, “तिमी यूहन्नाको छोरो शिमोन हौ। तिमीलाई केफास[a] भनिने छ।”
© 2004, 2010 Bible League International