Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 89:5-37

हे परमप्रभु, तपाईंले आश्चर्यपूर्वक कुराहरू सृजना गर्नु हुन्छ।
जसको निम्ति तपाईंलाई आकाशहरूले पनि प्रशंसा गर्छन्।
    मानिसहरू तपाईंमाथि आश्रित हुन सक्छन्। पवित्र स्वर्गदूतहरूको सभाले तपाईंको बारेमा गाउँदछ।
स्वर्गमा तपाईंको बराबरी हुने कोही पनि छैन।
    कुनै पनि “देवता” परमप्रभुको तुलनामा आउन सक्तैन।
परमेश्वर पवित्र स्वर्गदूतहरूसित सदा-सर्वदा मिल्नु हुन्छ।
    ती सबै स्वर्गदूतहरू उहाँका हुन्।
तिनीहरू डराएर उहाँको श्रद्धा गर्दछन्,
    तिनीहरू उहाँको सम्मानमा बस्दछन्।
हे सेनाहरूका परमप्रभु, परमेश्वर तपाईं जस्तो यहाँ अरू कोही छैन।
    हामी पूर्णरूपले तपाईंमाथि भरोसा राख्छौं।
तपाईंले विशाल समुद्रको शक्तिशाली ज्वारभाटमाथि शाश्वत गर्नुहुन्छ।
    तपाईं त्यसको छालहरूलाई शान्त पार्न सक्नु हुन्छ।
10 परमेश्वर तपाईंले राहबलाई डर देखाउनु भयो,
    तपाईंको आफ्नै शक्तिशाली पाखुराहरूले तपाईंका शत्रुहरूलाई यत्र-तत्र पारिदिनु भयो।
11 स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू तपाईंकै हुन्,
    परमेश्वर तपाईंले संसार र यसका सबै थोकहरू सृजना गर्नुभयो।
12 उत्तर र दक्षिण दिशामा तपाईंले सारा थोकहरू सृजना गर्नुभयो।
    ताबोर पर्वत र हर्मोन पर्वतले तपाईंकै नाउँको गुण-गान गर्दछन्।
13 हे परमेश्वर तपाईंसँग शक्ति छ।
    तपाईंको शक्ति महान् छ,
    विजय तपाईंकै हो।
14 तपाईंको साम्राज्य सत्य र न्यायमाथि बनिएको छ।
    प्रेम र विश्वास तपाईंको सिंहासनका दासहरू हुन्।
15 हे परमेश्वर, तपाईंका ईमान्दार भक्तजनहरू साँच्चि नै खुशी छन्।
    तिनीहरू तपाईंको कृपाको प्रकाशमा बाँच्दछन्।
16 तपाईंको नाउँले तिनीहरूलाई सधैँ खुशी पार्छ।
    तिनीहरूले तपाईंको सदगुणको प्रशंसा गर्दछन्।
17 तपाईं तिनीहरूका आश्चार्यमय बल हुनुहुन्छ।
    तपाईंबाटै उनीहरूको शक्ति आउँछ।
18 परमप्रभु, तपाईं हाम्रो रक्षक हुनुहुन्छ।
    इस्राएल को एकमात्र पवित्र आत्मा हाम्रा राजा हुनुहुन्छ।
19 तपाईं आफ्ना भक्तजनहरूसँग दर्शनमा बोल्नु भयो अनि भन्नुभयो,
“मैले भीडबाट एकजना जवान केटोलाई छानें
    अनि मैले त्यस जवानलाई मुख्य मानिस बनाएँ,
    मैले त्यस जवान सिपाहीलाई बलियो, बनाएँ।
20 मैले मेरो दास दाऊदलाई पाएँ,
    अनि मेरो विशिष्ट तेलले उसलाई अभिषेक गरें।
21 मैले दाऊदलाई आफ्नो दाहिने पाखुराले सहयोग गरें।
    अनि मेरो शक्तिले, उसलाई बलियो बनाएँ।
22 शत्रुहरूले, ‘चुनेका राजालाई’ पराजित गर्न सकेनन्।
    दुष्ट मानिसहरूले उनलाई परास्त गर्न सकेनन्।
23 म तिनीहरूको शत्रुहरूलाई शेष पार्नेछु
    र तिनीहरूको सल्लाहकारलाई तल फ्याँक्नेछु।
24 म सधैँ आफूले छानेका राजालाई प्रेम र सहयोग गर्नेछु।
    म उनलाई सधैँ बलियो बनाउने छु।
25 मैले छानेका राजालाई समुद्रको अध्यक्ष नियुक्त गर्छु।
    उसले नदीहरूमाथि नियन्त्रण गर्नेछ।
26 उसले मलाई भन्नेछ, तपाईं मेरो पिता हुनुहुन्छ।
    तपाईं मेरो परमेश्वर, मेरो चट्टान, मेरो रक्षक हुनुहुन्छ।
27 अनि उसलाई म मेरो प्रथम जन्मने छोरो बनाउने छु।
    ऊ नै पृथ्वीमा सबै भन्दा महान् राजा हुनेछ।
28 मेरो प्रेमले चुनिएका राजालाई सदा-सर्वदा रक्षा गर्नेछु।
    तिनको र मेरो यो करार कहिल्यै समाप्त हुनेछैन।
29 उनका परिवारहरू अनवरत रहने छन्
    जबसम्म स्वर्ग रहन्छ तबसम्म उनको राज्य रहनेछ।
30 यदि उनका सन्तानहरूले मेरो व्यवस्था मान्न छाडे यदि तिनीहरूले मेरो आज्ञा अमान्य गरे,
    म तिनीहरूलाई दण्ड दिनेछु।
31 यदि छानिएका राजाका भावी सन्तानहरूले
    मेरो नियमहरू भत्काउँदै मेरो आज्ञाहरू उल्ङ्घन गर्छन् भने,
32 तब म उनीहरूलाई कडा दण्ड दिनेछु।
    म तिनीहरूका दुष्ट-कर्मको सजाय कोर्राले दिनेछु।
33 तर म ती मानिसहरूबाट माया मारेर टाढा जाने छैन।
    म तिनीहरू प्रति सधैँ विश्वासी रहने छु।
34 म दाऊदसँग भएको करार तोड्ने छैन।
    म मेरो करार-वचन परिणत गर्नेछैन।
35 मेरो पवित्रतामा, उनीप्रति एक प्रतिज्ञा गरेको छु
    अनि म दाऊद प्रति झूटो हुने छैन।
36 दाऊदका सन्तानहरू अनवरत रहनेछन्।
    तिनीहरू हुन्जेल उनिहरूको राज्य रहने छ।
37 जुन सरह, यो अनवरत चल्नेछ, त्यस करारको साक्षी आकाशहरू छन्,
    त्यो करारमा भरोसा गर्न सकिन्छ।”

उत्पत्ति 35:1-15

याकूब बेतेलमा

35 परमेश्वरले याकूबलाई भन्नु भयो, “बेतेल शहरमा जाऊ, त्यहाँ बस अनि पूजा गर्नलाई त्यहाँ एउटा वेदी बनाऊ। ‘एल’ लाई स्मरण गर, ती परमेश्वर जो तिमी दाज्यू एसावदेखि बाँच्नको लागि भाग्दै थियौ, त्यस समय तिमीलाई परमेश्वरले दर्शन दिनु भएको थियो। तिमीले आराधना गर्नको निम्ति त्यहाँ एउटा वेदी बनाऊ।”

यसकारण, याकूबले आफ्नो परिवार तथा आफ्ना सबै सेवकहरूलाई भने, “काठ र धातुले बनिएका जे जति झूटा देवताहरू तिमीहरूसित छन् ती सब नष्ट गरिदेऊ। आफूलाई पवित्र बनाऊ अनि सफा लुगाहरू लगाऊ। हामीहरू यो ठाउँ छोडेर बेतेल जानेछौं, अनि त्यहाँ आफ्नो परमेश्वरको निम्ति एउटा वेदी बनाउनेछौं। उहाँ मेरो उही परमेश्वर हुनुहुन्छ जसले मेरो प्रत्येक कष्टमा सहायता गर्नुहुन्छ, अनि म जहाँ जान्छु मसँगै हुनुहुन्छ।”

यसर्थ मानिसहरूसित भएका झूटा देवताहरू तिनीहरूले सबै याकूबलाई दिए। तिनीहरूले आफ्नो कानमा लगाएका कुण्डलहरू पनि याकूबलाई दिए। याकूबले शकेम नाउँको शहरको नजिक एउटा फलाँटको रूखको नजिक ती सब चीजहरू गाडि दिए।

याकूब र तिनका छोराहरूले त्यो ठाउँ छोडे। त्यस ठाउँका मानिसहरूले तिनीहरूलाई लखेटेर मार्न चाहन्थे। तर तिनीहरूले त्यसो गरेनन् किनभने तिनीहरू परमेश्वरसित आत्यन्तै डराएका थिए। यसर्थ याकूब अनि उसका मानिसहरू लूज पुगे। आज लूजलाई बेतेल भनिन्छ। यो कनान भूमिमा पर्छ। याकूबले त्यहाँ एउटा वेदी बनाएर त्यस ठाउँको नाउँ “एल-बेतेल” राख्यो। याकूबले त्यस ठाउँको नाउँ त्यही रोजे कारण जति बेला ऊ आफ्नो दाज्यू देखि भाग्दै थियो परमेश्वरले त्यहीं दर्शन दिनु भएको थियो।

रिबेकाकी धाई दबोराह त्यहाँ मरी, तिनीहरूले त्यसलाई बेतेलमा फलाँटको रूखमुनि गाडे। तिनीहरूले त्यस ठाउँको नाउँ अल्लोन बकुत राखे।

याकूबको नयाँ नाउँ

याकूब जब पद्दनआरामबाट फर्कियो परमेश्वरले फेरि उसलाई दर्शन दिनु भयो। परमेश्वरले याकूबलाई आशीर्वाद दिनुभयो। 10 परमेश्वरले याकूबलाई भन्नुभयो, “तिम्रो नाउँ याकूब हो, तर म तिम्रो नाउँ बद्ली गरी दिनेछु। अब उसो तिमीलाई याकूब भनिने छैन र तिम्रो नयाँ नाउँ इस्राएल हुनेछ।” यसर्थ परमेश्वरले उसको नाउँ इस्राएल राख्नु भयो।

11 परमेश्वरले उसलाई भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ अनि म तिमीलाई आशीर्वाद दिन्छु। फल्दै-फुल्दै अनि बढदै जाऊ। तिम्रा सन्तानहरूबाट धेरै राष्ट्र अनि राजाहरू बनिनेछन्। 12 मैले अब्राहाम र इसहाकलाई विशेष भूमि दिएँ र अब तिमीलाई त्यो भूमि दिनेछु। अनि त्यो भूमि तिमीपछि आउने तिम्रा सन्तानलाई पनि दिनेछु।” 13 त्यसपछि परमेश्वर त्यहाँबाट जानु भयो। 14-15 त्यस ठाउँमा याकूबले एउटा स्मारक ढुङ्गा राख्यो। उनले दाखरस र तेलले अभिषेक गरी त्यस ढुङ्गालाई पवित्र पार्यो। यो ठाउँ एउटा विशेष ठाउँ भयो किनभने यहाँ परमेश्वरले याकूबसित कुरा गर्नु भएको थियो। याकूबले यस ठाउँको नाउँ बेतेल राख्यो।

प्रेरित 10:44-48

गैर-यहूदीहरूसँग पवित्र-आत्मा

44 पत्रुस बोलिरहेको बेला सन्देश सुन्ने ती सबै मानिसहरूमा पवित्र आत्मा उत्रनु भयो। 45 यहूदी विश्वासीहरू जो पत्रुससँग त्यहाँ आएका थिए तिनीहरू छक्क परे किनकी गैर-यहूदीहरूमा पनि पवित्र-आत्माको उपहार बर्षिएको थियो। 46 यहूदीहरूले ती गैर-यहूदीहरूले विभिन्न भाषाहरू बोलेका र परमेश्वरको स्तुति गरेको सुने। त्यसपछि पत्रुसले भने, 47 “के कसैले पानीलाई रोक्न सक्छ जसद्वारा यी मानिसहरूलाई बप्तिस्मा लिनबाट रोक्न सकिन्छ? तिनीहरूले पनि हामीहरूले जस्तै पवित्र आत्मा प्राप्त गरेका छन्।!” 48 तब पत्रुसले कर्नीलियस, उनका सन्तानहरू अनि साथीहरूलाई येशू ख्रीष्ट को नाउँमा बप्तिस्मा दिने आज्ञा दिए। तब मानिसहरूले पत्रुसलाई केही दिन सम्म त्यही बसिदिने बिन्ती गरे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International