Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
29 परमेश्वरका सन्तान हो, परमप्रभुको प्रशंसा गर।
उहाँको महिमा र शक्तिको प्रशंसा गर।
2 परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं।
आफ्ना खास पोशाक[a] लगाएर उहाँको उपासना गरौं।
3 परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।
मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ, यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।
4 परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ।
उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ।
5 परमप्रभुको आवाजले देवदारका रूखहरू पनि टुक्रा-टुक्रा पारेर भाँच्छ।
परमप्रभुले लबनोनका ठूला-ठूला देवदारूको रूखहरू भाँच्नु हुन्छ।
6 परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ।
यो सानो साँढे उफ्रिरहेको झैं देखिन्छ।
सिरिओन हल्लिन्छ।
त्यो सानो पाठो नाच्दै गरे झैं देखिन्छ।
7 परमप्रभुको आवाज बिजुलीको चमकसित हावाबाट बाहिरिन्छ।
8 परमप्रभुको आवाजले मरुभूमि पनि चम्काई दिन्छ।
कादेशको मरुभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ।
9 परमप्रभुको आवाजले मृगलाई भयभीत पारिदिछ।
परमप्रभुले जंङ्गलहरू ध्वंश पारिदिनु हुन्छ;
तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्।
10 जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो
अनि सदा-सर्वदको लागि राजा नै हुनुहुनेछ।
11 परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्।
परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिको आशीर्वाद दिऊन्।
परमेश्वरले शमूएललाई बोलाउनु भयो
3 एलीको अधीनमा रहेर बालक शमूएलले परमप्रभुको सेवा गर्थे। त्यस बेला परमप्रभु मानिसहरूसँग सिधै धेरै जस्तो बोल्नुहुन्थेन। उहाँले धेरै मानिसहरूलाई दर्शनहरू दिनु भएन।
2 एली लगभग अन्धा जस्तै भइसकेका थिए। एक रात तिनी ओछ्यानमा पल्टिरहेका थिए। 3 शमूएल चाहिँ पवित्र सन्दूक भएको परमप्रभुको मन्दिरमा सुतिरहेका थिए। परमप्रभुको बत्ती जलिरहेकै थियो। 4 परमप्रभुले शमूएललाई बोलाउनु भयो। “म यहाँ हाजीर छु” शमूएलले उत्तर दिए। 5 शमूएलले सोचे एलीले उसलाई बोलाएको हो। यसकारण शमूएल हतारीएर एलीकहाँ गए। शमूएलले आफ्नो उपस्थिति जाहेर गरेर भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।”
तर एलीले भने, “मैले तिमीलाई बोलाएको होइनँ। आफ्नो ओछ्यानमा गएर सुत।”
शमूएल आफ्नो ओछ्यानमा गए। 6 परमप्रभुले फेरि बोलाउनु भयो, “शमूएल!” शमूएल फेरि एलीको ओछ्यानमा गएर भने, “तपाईंले मलाई बोलाउनु भएको हो, म यहाँ छु।”
एलीले भने, “मैले बोलाएको छैन मेरो छोरा! जाऊ, गएर सुत।”
7 अहिलेसम्म शमूएलले व्यक्तिगत रूपमा परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुले शमूएल सँग सिधै बातचित गर्नु भएको थिएन।
8 परमप्रभुले शमूललाई तेस्रो चोटि बोलाउनु भयो। शमूएल उठेर फेरि एलीको छेउ पुगे। शमूएलले भने, “म यहाँ छु, तपाईंले मलाई बोलाउँनु भयो।”
त्यतिबेला भने एलीले बुझे कि परमप्रभुले शमूएललाई बोलाउँदै हुनुहुन्थ्यो। 9 एलीले शमूएललाई भने, “ओछ्यानमा जाऊ! यदि फेरि बेलाउँनु भयो भने भन्नु, ‘परमप्रभु भन्नुहोस्। म तपाईंको दास हुँ र तपाईंले भन्नु भएको सुन्दैछु।’”
यसकारण शमूएल ओछ्यानमा गए।
शावलको जीवन परिवर्तन
9 त्यसैबेला शावलले यरूशलेममा प्रभुका चेलाहरूलाई अझै डर देखाउँदै अनि तिनीहरूलाई मार्ने प्रयास गरिरहेको थियो। यसैले तिनी प्रधान पूजाहारीकहाँ गए। 2 शावलले प्रधान पूजाहारीलाई दमीशकको शहरमा सभाघरहरूका यहूदीहरूलाई ख्रीष्टका मार्ग पहिल्याउनेहरू खोजी निकाल्ने अधिकार दिँदै चिट्ठीहरू लेखी माँगे। उसले यदि कुनै पुरुष वा स्त्री विश्वासीहरू भेट्टाए तिनीहरूलाई पक्रेर यरूशलेम फर्काई ल्याउनेछ।
3 तब शावल दमीशक गए। जब ऊ शहरको नजीक पुगे, अचानक आकासबाट प्रज्वलित ज्योति उनको चारैतिर चम्कियो। 4 शावल भूइँमा लडे। उनले एउटा आवाज उनैसँग बोलिरहेको सुने, “शावल, शावल! तिमी मलाई किन सताइरहेछौ?”
5 शावलले भने, “तपाईं को हुनुहुन्छ प्रभु?”
त्यो आवजले जवाफ दियो, “म येशू हुँ। जसलाई तिमी दुःख दिइरहेका छौ। 6 उठ अनि शहर तर्फ जाऊ। त्यहाँ कसैले तिमीलाई के गर्नु पर्ने बताई दिनेछ।”
7 शावलसँग यात्रा गरीरहेका मानिसहरू त्यहाँ ठिङ्गै उभिरहे। ती मानिसहरूले आवाज सुने तर कतै कोही देखनन्। 8 शावल भूइँबाट उठे। उसको आँखा खोलियो तर केही देख्न सकेनन्। यसकारण शावलसँग आएका मानिसहरूले उनको हात पक्रेर तिनलाई दमीशक सम्म लगे। 9 तीन दिन सम्म शावलले न देख्न सक्यो, न खायो न पियो।
© 2004, 2010 Bible League International