Revised Common Lectionary (Complementary)
7 परमप्रभु भन्नुहुन्छ:
“आनन्दित हौ अनि याकूबका निम्ति गाऊ।
इस्राएलको राज्यहरूमा महानताका निम्ति हल्ला गर।
प्रशंसाको गीत गाऊ अनि यसो भन्दै चिच्याऊ
‘हे परमप्रभु! तपाईंका मानिसहरू जो इस्राएलबाट जीवित छोडिएका छन्
तिनीहरूलाई सुरक्षा गर्नु होस्।’
8 हेर, म तिनीहरूलाई उत्तरबाट
र टाढो-टोढो देशहरूबाट ल्याउनेछु
अनि भेला पार्नेछु।
तिनीहरू मध्ये कतिपय मानिसहरू अन्धा र लङ्गडाहरू छन्।
कतिपय स्त्रीहरू गर्भवती छन्,
अनि तिनीहरू मध्ये कति जना प्रसव पीडामा छन्।
तर धेरै-धेरै मानिसहरू फर्की आउनेछन्।
9 तिनीहरू रूँदै आउनेछन्।
तर म तिनीहरूलाई सान्त्वना दिनेछु र पानीको झरनातिर डोर्याई लानेछु।
म तिनीहरूलाई सोझो बाटो डोर्याउनेछु
ताकि तिनीहरू लड्ने छैनन्।
म तिनीहरूलाई यस्तो पथ डोर्याउँने छु
किनभने इस्राएलको निम्ति म पिता हुँ,
अनि एप्रैम मेरो जेठो छोरो हो।
10 “हे जातिहरू हो, परमप्रभुबाट आएको वचनलाई ध्यान लगाएर सुन
यो सन्देश समुद्र, उत्तर र सुदूर भूमिहरूमा फिँजाऊ,
‘परमप्रभुले इस्राएलका मानिसहरूलाई जताततै तितर-बितर पार्नु भएकोछ,
तर उहाँले उनीहरूलाई फेरि भेला गरेर ल्याउनु हुनेछ
र भेंडा़ गोठालाले आफ्नो भेंडा़ बथानहरू सुरक्षा गरे झैं सुरक्षा गर्नुहुनेछ।’
11 परमप्रभुले याकूबलाई मोल तिरेर उकास्नु हुन्छ
र याकूब भन्दा बलियाहरूबाट उद्धार पार्नु हुन्छ।
12 इस्राएलका मानिसहरू सियोनको टाकुरामा आउने छन् र खुशीले चिच्याउने छन्।
तिनीहरूका अनुहारहरू परमप्रभुको उदारताले चम्किनेछ।
असल कुराहरूका बारे जुन परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ।
परमेश्वरले तिनीहरूलाई अन्न, नयाँ दाखरस,
भद्राक्षेको तेल, थुमाहरू र गाई-गोरूहरू दिनु हुनेछ।
तिनीहरूको हृदय पानीले भिजेको बारी जस्तो हुनेछ।
इस्राएलका मानिसहरूलाई संकष्टहरूले अब पिरोलिने छैनन्।
13 तब इस्राएलका तरूणीहरू आनन्दले मग्न हुँदै नाँच्नेछन्।
अनि जवान र बूढा मानिसहरू त्यो नाचगानमा सम्मिलित हुने छन्।
म तिनीहरूका उदासीपनलाई हर्ष र अनन्दामा परिवर्तन गरिदिन्छु।
म इस्राएलका मानिसहरूलाई शोकको सट्टामा आनन्द र सान्त्वना दिनेछु।
14 म पूजाहारीहरूलाई असल असल कुराहरूले परिपूर्ण पार्नेछु।
मेरा मानिसहरू मैले दिएका उपहारहरूले सन्तुष्ट हुनेछन्।”
परमप्रभुले यी कुराहरू भन्नुभयो।
12 हे यरूशलेम! परमप्रभुको प्रशंसा गर!
हे सियोन! आफ्ना परमप्रभुको प्रशंसा गर।
13 यरूशलेम, परमेश्वरले तिम्रा प्रवेशद्वारहरू बलियो बनाइदिनु भयो।
अनि परमेश्वरले तिम्रो शहरका मानिसहरूलाई आशीर्वाद दिनुभयो।
14 परमेश्वरले तिमीहरूलाई आफ्नो देशमा ल्याईदिनु भयो।
यसैले शत्रुहरूले तिमीहरूका अन्नहरू युद्धमा लगेनन्।
अनि तिमीहरूसँग प्रशस्त खाद्य-पदार्थहरू छन्।
15 परमेश्वरले पृथ्वीलाई आदेश दिनुभयो,
यसले तुरन्तै पालन गर्यो।
16 जबसम्म धर्ती ऊन जस्तो सेतो हुँदैन परमेश्वरले हिम बर्षा गराउनु हुन्छ।
परमेश्वरले हावाबाट धूलोको कण खसे झैं हिमपात बर्षाउनु हुन्छ।
17 परमेश्वरले आकाशबाट चट्टानहरू झैं असिना बर्षाउनु हुन्छ।
उहाँले पठाएको चिसो कसैले पनि थाम्न सक्तैन।
18 त्यसपछि, परमेश्वरले अर्को आज्ञा गर्नुभयो,
अनि फेरि तातो बतास बहन थाल्यो
हिउँ पग्लियो अनि पानी बग्न थाल्यो।
19 परमेश्वरले आज्ञाहरू याकूबलाई दिनुभयो,
परमेश्वरले आफ्ना नियमहरू र कानूनहरू इस्राएललाई दिनुभयो।
20 परमेश्वरले यस्ता कामहरू कुनै जातिको लागि गर्नु भएन।
परमेश्वरले अन्य जातिहरूलाई आफ्नो नियमहरू सिकाउनु भएन।
परमप्रभुको प्रशंसा गर!
ख्रीष्टमा हुनेहरूलाई आत्मिक आशिष
3 उहाँले हामीलाई स्वर्गीय स्थानहरूमा प्रत्येक ख्रीष्टमा रहेको आत्मिक आशिष दिनु भएकोछ। हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरमा प्रशंसा। 4 ख्रीष्टमा हुने हामीलाई पिता परमेश्वरले संसारको सृष्टि गर्नु भन्दा पहिल्यै छान्नुभयो किनभने परमेश्वरले आफ्नो सामुन्ने निर्दोष र पवित्र जन रहन सकौं भनी हामीलाई प्रेमले छान्नु भएको हो। 5 अनि संसारको सृष्टि हुनु भन्दा पहिल्यै परमेश्वरले हामीलाई येशू ख्रीष्टद्वारा आफ्ना बालकहरू बनाउने निश्चय गर्नुभयो। यो उहाँको इच्छा थियो। यसैमा उहाँ प्रसन्न हुनुहुथ्यो। 6 उहाँको यही आश्र्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसनीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो।
7 हामी जो ख्रीष्टमा छौं उहाँका रगतबाट मुक्त गराइएका छौं। परमेश्वरकै असीम अनुग्रहले आफ्ना पापहरूबाट हामीले क्षमा पाएकाछौं। 8 परमेश्वरले ज्ञान र समझसँग यो अनुग्रह अत्यन्तै उदारतापूर्वक दिनुभयो। 9 आफ्ना गुप्त योजना हामीलाई जनाउँनु भएकोछ। परमेश्वर यही चाहानु हुन्थ्यो र उहाँले यो ख्रीष्टद्वारा गर्ने योजना गर्नुभयो। 10 ठीक समयमा आफ्नो योजना पूर्ण गर्ने परमेश्वरको उद्देश्य हो। स्वर्ग र पृथ्वीका सबै थोक ख्रीष्टको अधीनमा गर्ने उहाँको योजना थियो।
11 परमेश्वरको जन बन्न ख्रीष्टमा हामी छानिएकाछौं। उहाँको इच्छा र योजना अनुसार परमेश्वरले हामीलाई उहाँको मानिस बनाउन चाहानु हुन्थ्यो। उहाँले प्रत्येक चीज नै आफ्नो इच्छासँग मिल्ने बनाउँनु हुन्छ। 12 ख्रीष्टमा आशा राख्ने हामी पहिलो जन हौं। अनि हामी छानिएका हौं ताकि उहाँको महिमामा हामीले प्रशंसा ल्याउन सकौं। 13 तिमीहरू पनि त्यस्तै हौ। तिमीहरूले आफ्नो मुक्तिको बारेमा साँच्चो शिक्षा-सुसमाचार सुनिहाल्यौ। सुसमाचार सुनेपछि तिमीहरूले ख्रीष्टमा विश्वास गर्यौ। अनि परमेश्वरले आफ्नो विशेष छाप तिमीहरूमा लगाउनु भयो र तिमीहरूलाई पवित्र आत्मा दिनुभयो जुन उहाँले प्रतिज्ञा गर्नुभएको थियो। 14 पवित्र आत्मा चाँहि परमेश्वरले आफ्ना मानिसहरूलाई प्रतिज्ञा गरेका कुराहरू पाउँछौ नै भन्ने एउटा जमानत हो। यसले परमेश्वरमा हुनेहरूलाई पूर्ण स्वतंत्रता दिनेछ। यी सबको उद्देश्य हो परमेश्वरको महिमाको प्रशंसा ल्याउनु।
ख्रीष्ट संसारमा आउनु भयो
1 संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचन[a] थियो। त्यो वचन परमेश्वरसँग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो। 2 उहाँको वचन शुरूमा परमेश्वसँग हुनुहुन्थ्यो। 3 र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन। 4 उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो। 5 त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन।
6 परमेश्वरद्वारा पठाइएको यूहन्ना नाउँका एकजना मानिस थिए। 7 यूहन्ना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए। 8 यूहन्ना ज्योति थिएनन्, तर उनी ज्योतिको बारेमा साक्षी दिन आएका थिए। 9 सत्य-ज्योति संसारमा आइरहकाछन् भनेर उनले बताई दिए। त्यो ज्योतिले सम्पूर्ण मानिसहरूलाई ज्योति दिनेछ।
10 उहाँ संसारका हुनुहुन्थ्यो, संसार उहाँद्वारा हुन आयो, तर संसारले उहाँलाई चिनेन। 11 उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्। 12 केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो। 13 ती बालकहरू प्राकृतिक तवरबाट जन्मेका थिएनन्। तिनीहरू आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। बद्लामा तिनीहरू परमेश्वरबाट जन्मेका थिए।
14 वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो। 15 यूहन्नाले ख्रीष्टकै सम्बन्धमा मानिसहरूलाई भने, “उहाँ एकजना हुनुहन्छ जसका विषयमा म भनिरहेको थिंए, ‘जो म पछि आउनु हुन्छ, उहाँ मभन्दा महान हुनुहुन्छ। किनभने उहाँ मभन्दा पहिल्यै आउनु भएको थियो।’”
16 हो, वचन अनुग्रह र सत्यको भण्डार हुनुहुन्छ। हामीले उहाँबाट धेरै आशिष पाएका छौं। 17 मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो। 18 कसैले पनि कहिल्यै परमेश्वरलाई देखेका छैनन्। तर एकमात्र पुत्र जो परमेश्वर हुनुहुन्छ अनि जो पिताको अति नजिकमा हुनुहुन्छ र उहाँले हामीलाई परमेश्वर चिनाउनु भएकोछ।
© 2004, 2010 Bible League International