Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 148

148 परमप्रभुको प्रशंसा गर!

माथि स्वर्गमा भएका स्वर्गदूतहरू हो।
    परमप्रभुको प्रशंसा गर।
हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर!
    उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!
हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर।
    आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।
हे आकाशका आकाश, परमप्रभुको प्रशंसा गर!
    आकाशमाथि भएका पानी हो, परमप्रभुको प्रशंसा गर!
परमप्रभुको प्रशंसा गर!
    किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो।
परमेश्वरले यी सब कुराहरू सदा-सर्वदा रहोस् भनी रच्नुभयो।
    परमेश्वरले सारा नियमहरू बनाउनुभयो जुन कहिल्यै अन्त हुने छैनन्।
हे पृथ्वीमा भएका सारा कुराहरू हो, परमप्रभुको प्रशंसा गर!
    समुद्रमा भएका सारा ठूल-ठूला प्राणीहरू हो, परमप्रभुको प्रशंसा गर।
परमेश्वरले आगो र हिउँ,
    असिना, धुँवा, आँधी, बतास रच्नुभयो।
परमेश्वरले पर्वतहरू र डाँडा-काँडाहरू रचना गर्नुभयो,
    फलका रूखहरू र देवदारको रूखहरू रच्नुभयो।
10 परमेश्वरले सारा जङ्गली पशुहरू, विशाल पशुहरू,
    साना-साना घस्रने जन्तुहरू साथै चरा-चरूङ्गीहरू रच्नु भयो।
11 परमेश्वरले राजा र राष्ट्रहरू दुवै पृथ्वीमा बनाउनु भयो।
    परमेश्वरले अगुवाहरू र न्याय कर्ताहरू बनाउनु भयो।
12 परमेश्वरले जवान पुरूष र नारीहरू रच्नु भयो।
    परमेश्वरले बृद्ध र युवा मानिसहरू रच्नु भयो।
13 परमप्रभुको नाउँको प्रशंसा गर!
    सदा-सर्वदा उहाँको नाउँको सम्मान गर।
स्वर्ग र पृथ्वीमा भएको प्रत्येक चीजले
    उहाँको प्रशंसा गरोस्!
14 परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ।
    मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्।
    मानिसहरूले इस्राएललाई प्रशंसा गर्नेछन्।
तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो, परमप्रभुको प्रशंसा गरौं!

यशैया 49:13-23

13 हे स्वर्ग र पृथ्वी, आनन्दित होऊ।
    हे पर्वतहरू आनन्दले चिच्याऊ।
किनभने परमप्रभुले आफ्नो मानिसहरूलाई सान्त्वना दिनुहुन्छ।
    परमप्रभु आफ्ना गरीब मानिसहरू प्रति असल हुनुहुन्छ।

14 तर अहिले सियोनले भन्दछ, “परमप्रभुले मलाई त्याग्नु भयो,
    मेरो मालिकले मलाई भुल्नु भयो।”

15 तर परमप्रभु भन्छु,
“के एउटी आमाले आफ्नो नानी बिर्सिन सक्छे?
    के एउटी स्त्रीले आफ्नो गर्भबाट जन्माएको आफ्नै नानीलाई बिर्सिन सक्छे र?
यदि उसले बिर्सन सक्छे भने पनि,
    म तिमीलाई बिर्सिने छैन।
16 हेर, मैले तेरो नाउँ मेरो हत्केलामा खोपेको छु।
    म सारा समय तेरो बारेमा सोच्दछु।
17 तिमीहरूका नानीहरू तिमीहरूकहाँ फर्केर आउनेछन्।
    मानिसहरूले तिमीहरूलाई पराजित गरे,
    तर ती मानिसहरूले तिमीहरूलाई एक्लै छोडेर गए।
18 माथि हेर, तिम्रा चारैतिर हेर,
    तिमीहरूका सारा नानीहरू एकसाथ तिमीहरूकहाँ आइरहेछ।”
परमप्रभु भन्नुहुन्छ, “जस्तो म जीवित छु म तिमीहरूसँग यो प्रण गर्दछु:
    तिमीहरूका नानीहरू तिमीहरू कै घाँटी वरिपरि बाँधिएको गहना जस्तो हुनेछन्।
    तिम्रा नानीहरू दुलहीले लगाउने घाँटीको हार जस्तो हुनेछन्।

19 “तिमीहरू अहिले पराजित र नष्ट भएकाछौ।
    तिमीहरूका ठाउँहरू काम नलाग्ने भएकाछन्।
तर केही छिनमा नै, तिमीहरू आफ्ना ठाउँमा धेरै मानिसहरू हुनेछन्,
    अनि मानिसहरू जसले तिमीहरूलाई नाश गरे तिनीहरू एकदम टाढा हुनेछन्।
20 तिमीहरू आफ्ना नानीहरू हराउँदा दु:खी भएका थियौ,
    तर ती नानीहरूले तिमीहरूलाई भन्नेछन् ‘यो भूमि एकदम सानो छ।
    हामीलाई बस्न एउटा ठूलो ठाउँ दिनुहोस्।’
21 तब तिमीहरू स्वयंले भन्नेछौ,
    ‘कसले मलाई यी सारा नानीहरू दिए?
म दु:खी र एक्लै थिएँ।
    म पराजित भएको थिएँ
र आफ्ना मानिसहरूबाट टाढा भएको थिएँ।
    यसकारण कसले मलाई यी नानीहरू दिए?
हेर, म एक्लै छाडिएको थिएँ।
    यी सारा नानीहरू कहाँबाट आए?’”

22 परमप्रभु मेरो मालिक भन्नुहुन्छ,
“हेर म आफ्ना हात जातिहरू प्रति हल्लाउने छु।
    म मेरो झण्डा सारा मानिसहरूले देख्ने गरी उठाउनेछु।
त्यसपछी तिनीहरूका नानीहरू तिमीहरूकहाँ ल्याउनेछन्।
    ती मानिसहरूले तिमीहरूका नानीहरू काँधमा बोकेर ल्याउने छन्,
    अनि तिनीहरूका पाखुराहरूमा उनीहरूले समात्नेछन्।
23 राजाहरू तिम्रा नानीहरूका शिक्षकहरू हुनेछन्।
    राजाका छोरीहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्।
ती राजाहरू र छोरीहरूले तिमीहरूको अघि आफ्ना शिर झुकाउने छन्।
    तिनीहरूले तिमीहरूका खुट्टाको मैलामा चुम्बन गर्नेछन्।
त्यसपछि तिमीहरूले जान्नेछौ कि म परमप्रभु हुँ।
    तब तिमीहरूलाई थाहा हुनेछ कि जसले ममाथि आशा गर्दछ ऊ निराश हुनेछैन्।”

मत्ती 18:1-14

येशू सोध्नुहुन्छ सबभन्दा महान को हो?

(मर्कूस 9:33-37; लूका 9:46-48)

18 त्यसैबेला चेलाहरू येशूकहाँ आए र सोधे, “स्वर्गको राज्यमा सबभन्दा महान को होलान्?”

येशूले एकजना सानो बालकलाई आफूकहाँ बोलाउनुभयो। अनि चेलाहरूको अघि त्यो बालकलाई उभ्याउनु भयो। अनि भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरू सानो बालकहरू जस्तै बदलिएनौ भने तिमीहरू स्वर्गको राज्यमा कहिल्यै प्रवेश गर्न सक्नेछैनौ। जसले आफूलाई यो सानो बालक झैं आफूलाई नम्र बनाउन सक्छ स्वर्गको राज्यमा उही महान हुन्छ।

“यदि कुनै मानिसले मेरो नाममा यो बालकलाई ग्रहण गर्छ भने, उसले मलाई ग्रहण गरेको हुनेछ।

पापको बारेमा चेताउनी

(मर्कूस 9:42-48; लूका 17:1-2)

“यदि एउटा सानो बालकले ममाथि विश्वास राख्छ भने, अनि कसैले त्यो बालकलाई पापमा पार्छ भने त्यस मानिसको लागी अति नराम्रो हुनेछ। त्यसको निम्ति त घाँटीमा एउटा ठूलो जाँतो झुण्ड्याएर स्वयंलाई अगाध समुद्रमा डुबाइदिनु असल हुनेछ। जुन कारणले मानिसहरूलाई पाप गराउँछ यस संसारमा म ती मानिसहरूको निम्ति दु:ख मान्छु। यस्तो घट्ना हुनैपर्छ। तर यस्तो गर्ने मानिसहरूलाई कहिल्यै राम्रो हुनेछैन।

“यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्नलाउँछ भने त्यसलाई काटेर फालिदेऊ। दुइहात वा खुट्टा सहित निरन्तर नरकको आगोमा जल्नुभन्दा त बरू शरीरको एउटा अङ्ग गुमाएर सधैँ भरि बाँच्नु असल हो। यदि तिम्रा आँखाले तिमीलाई पापगर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुइवटा आँखा भएर सधैँ भरिलाई नरकको अग्निमा पस्नु भन्दात एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुनेछ।

हराएको भेंडा़को उखान

(लूका 15:3-7)

10 “होशियार बस। यी साना बालकलाई तुच्छ नठान। म तिमीहरूलाई भन्दछु यी बालकहरूका स्वर्गमा दुतहरू छन्। अनि ती दूतहरू स्वर्गमा मेरा पिताका साथमा छन्। 11 [a] परमेश्वरको पुत्र हराएकाहरूलाई वचाउन आउनु भएको छ।

12 “तिमीहरू के सोच्छौ? यदि कुनै मानिसको 100 वटा भेंडा़हरू छन्, अनि कुनै एउटा हराएको छ, भने अरू 99 वटा भेंडा़लाई डाँडामा छोडेर ऊ हराएको एउटा भेंडा़लाई खोज्न जाँदैन? के यो ठीक होइन? 13 अनि जब उसले हराएको भेंडा़ भेट्टाउँछ तब ऊ आफूसित भएका 99 वटा भेंडा़मा भन्दा त्यो एउटा भेंडा़ पाएर रमाउनेछ। म तिमीहरूलाई साँच्चो भन्दछु। 14 त्यसरीनै तिम्र स्वर्गका पिताको इच्छा यो छ कि यी मध्ये कुनै पनि साना बालकहरू नहराओस्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International