Revised Common Lectionary (Complementary)
परमप्रभु आफ्ना मानिसहरू प्रति कृपालु हुनुहुन्छ
7 मैले परमप्रभुका दयापूर्ण कर्महरू सोचिरहेकोछु।
म परमप्रभुको स्तुति गर्न सोचिरहेकोछु।
परमप्रभुले इस्राएलका मानिसहरूलाई
धेरै राम्रो चीजहरू दिनु भयो।
परमप्रभु हाम्रो निम्ति साह्रै दयालु हुनुहुन्छ।
परमप्रभुले हामीलाई दया देखाउनु भयो।
8 परमप्रभुले भन्नुभयो, “तिनीहरू नै मेरा मानिसहरू हुन्।
तिनीहरू मेरा खास मानिसहरू हुन्।”
यसकारण परमप्रभुले ती मानिसहरूलाई बचाउनु भयो।
9 मानिसहरूसँग धेरै कष्टहरू थिए,
तर परमप्रभु उनीहरूका विरूद्ध थिएनन्।
परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुभयो।
अनि उनीहरू प्रति दु:खी हुनुभयो।
यसकारण परमप्रभुले उनीहरूलाई बचाउनु भयो,
उहाँले तिनीहरूलाई बचाउनु आफ्ना खास स्वर्गदूतलाई पठाउनु भयो।
उहाँले तिनीहरूलाई उठाउनु भयो र बोक्नु भयो,
अनि तिनीहरूलाई सदा-सर्वदा हेरचाह गर्नु भयो।
148 परमप्रभुको प्रशंसा गर!
माथि स्वर्गमा भएका स्वर्गदूतहरू हो।
परमप्रभुको प्रशंसा गर।
2 हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर!
उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!
3 हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर।
आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।
4 हे आकाशका आकाश, परमप्रभुको प्रशंसा गर!
आकाशमाथि भएका पानी हो, परमप्रभुको प्रशंसा गर!
5 परमप्रभुको प्रशंसा गर!
किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो।
6 परमेश्वरले यी सब कुराहरू सदा-सर्वदा रहोस् भनी रच्नुभयो।
परमेश्वरले सारा नियमहरू बनाउनुभयो जुन कहिल्यै अन्त हुने छैनन्।
7 हे पृथ्वीमा भएका सारा कुराहरू हो, परमप्रभुको प्रशंसा गर!
समुद्रमा भएका सारा ठूल-ठूला प्राणीहरू हो, परमप्रभुको प्रशंसा गर।
8 परमेश्वरले आगो र हिउँ,
असिना, धुँवा, आँधी, बतास रच्नुभयो।
9 परमेश्वरले पर्वतहरू र डाँडा-काँडाहरू रचना गर्नुभयो,
फलका रूखहरू र देवदारको रूखहरू रच्नुभयो।
10 परमेश्वरले सारा जङ्गली पशुहरू, विशाल पशुहरू,
साना-साना घस्रने जन्तुहरू साथै चरा-चरूङ्गीहरू रच्नु भयो।
11 परमेश्वरले राजा र राष्ट्रहरू दुवै पृथ्वीमा बनाउनु भयो।
परमेश्वरले अगुवाहरू र न्याय कर्ताहरू बनाउनु भयो।
12 परमेश्वरले जवान पुरूष र नारीहरू रच्नु भयो।
परमेश्वरले बृद्ध र युवा मानिसहरू रच्नु भयो।
13 परमप्रभुको नाउँको प्रशंसा गर!
सदा-सर्वदा उहाँको नाउँको सम्मान गर।
स्वर्ग र पृथ्वीमा भएको प्रत्येक चीजले
उहाँको प्रशंसा गरोस्!
14 परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ।
मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्।
मानिसहरूले इस्राएललाई प्रशंसा गर्नेछन्।
तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो, परमप्रभुको प्रशंसा गरौं!
10 परमेश्वर नै हुनुहुन्छ जसले आफ्नो महिमाको लागि सबैकुरा बनाउनुभयो। उहाँले आफ्नो महिमाको भागीदार बनाउन उहाँले धेरै छोराहरू चाहनुभयो। यसर्थ परमेश्वरले जे-जे गर्नु परेको थियो त्यही गर्नुभयो। परमेश्वरले उहाँलाई एक पूर्ण मानिस बनाउनुभयो जसले सबैलाई मुक्ति तर्फ डोर्याउनु हुन्छ। परमेश्वरले उहाँको यातनाद्वारा येशूलाई पूर्ण बनाउनुभयो।
11 उहाँ नै एक जसले मानिसलाई पवित्र बनाउँनुहुन्छ र ती पवित्र बनाएकाहरू एउटै परिवारबाट आएका छन्। यसकारण उहाँ तिनीहरूलाई आफ्ना दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू भन्न लजाउनु हुन्न। 12 त्यसैले उहाँ भन्नुहुन्छ,
“हे परमेश्वर! तपाईंको बारेमा म आफ्ना भाइ-बहिनीहरूलाई घोषणा गर्नेछु।
तपाईंका सबै मानिसहरूका अघि म तपाईंको प्रशंसाको गीत गाँउनेछु।”(A)
13 उहाँ यसो पनि भन्नुहुन्छ,
“म परमेश्वरमा भरोसा गर्छु।”(B)
अनि उहाँ भन्नुहुन्छ,
“म यहाँ छु, अनि मसित ती छोराछोरीहरू छन्, जो परमेश्वरले मलाई दिनुभएको छ।”(C)
14 ती छोराछोरीहरू भौतिक शरीमा छन् जो मानिसहरू हुन्। अनि येशू पनि ती मानिसहरू जस्तै बन्नुभयो र तिनीहरूको जस्तै अनुभव बटुल्नु भयो। त्यसैकारण उहाँले मृत्युलाई अङ्गालेर त्यसलाई अर्थात शैतानलाई नष्ट गर्नुभयो जस सित मार्ने शक्ति छ। 15 येशू ती मानिसहरू जस्तै बन्नुभयो र मर्नुभयो जसले गर्दा तिनीहरूलाई मुक्त गर्न सकून्। आफ्नो मृत्युको भयले गर्दा तिनीहरूले सारा जीवन कमाराले जस्तै बिताए। 16 यो स्पष्ट छ कि, येशूले स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका सन्तानहरूलाई सहायता गर्नुहुन्छ। 17 यसैकारणले येशूले आफूलाई हरतरहले आफ्ना भाइ बहिनीहरू जस्तै बनाउनु आवश्यक थियो ता कि उहाँ परमेश्वरको सेवामा दयालु र विश्वासयोग्य प्रधान पूजाहारी बन्न सकून् अनि यस प्रकारले मानिसहरूलाई पापहरू क्षमा दिनसकून्। 18 अनि अब येशूले ती मानिसहरूलाई सहायता गर्न सक्नुहुन्छ जो परीक्षित छन्। येशू तिनलाई सहायता गर्न समर्थ हुनुहुन्छ किनकि उहाँ आफैंले कष्ट भोग्नु भयो र परीक्षित हुनुभयो।
मातापितासँग येशू मिश्रदेशमा
13 ज्योतिषीहरू गएपछि, परमप्रभुको एउटा दूत सपनामा यूसुफकहाँ देखा परे। दूतले भने, “उठ, साना बालक र उहाँकी आमालाई साथमा लिएर मिश्रदेशमा जाऊ। हेरोदले साना बालकहरूलाई खोज्न लागिरहेकोछ। उसले सानो बालकलाई मार्न चाहन्छ। मैले नभनेसम्म तिमी त्यही बस्नु।”
14 अनि यूसुफ उठेर सानो बालक र उनकी आमालाई साथमा लिएर त्यसै बखत मिश्रदेश तर्फ लागे। तिनीहरूले रातीनै घर छोडे। 15 हेरोदको मृत्यु नभएसम्म यूसुफ मिश्रदेशमा नै बसे अगमवक्ताद्वारा परमेश्वरले भन्नु भएको वचन यसरी पूरा भयो। परमेश्वरले भन्नुभयो, “मैले आफ्नो पुत्रलाई मिश्र देशबाट बोलाएँ।”(A)
बेतलेहेममा हेरोदद्वारा स-साना बालकहरूको हत्या
16 ज्योतिषीहरूबाट हेरोदले धोका पाएको थाहा पाएपछि तिनी साह्रै रिसाए। अनि बेतलेहेम र त्यसका छेउछाउमा भेट्टाएका सबै स-साना बालकहरूलाई मार्ने आदेश दिए। ज्योतिषीहरूबाटै हेरोदले बालक जन्मेको समय पत्ता लगाएका थिए। त्यस बेलादेखि अहिलेसम्म दुइ वर्षको अवधि बितेको थियो। अनि हेरोदले दुइ वर्षर त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाएका थिए। 17 तब यर्मिया अगमवक्ताद्वारा परमेश्वरले भन्नुभएको वचन सत्य भयो:
18 “रामामा एउटा स्वर सुनियो,
रूवाबासी र आलाप-विलापको।
राहेलले आफ्ना बालकहरूको लगि विलाप गरिरहेकी थिइन,
शान्त बन्न तिनले अस्वीकार गरिन्, किनकि तिनका बालकहरू अब जीवित थिएनन्।”(B)
यूसुफ र मरियम मिश्रदेशबाट फर्कन्छन्
19 हेरोद मरेपछि, परमप्रभुका एकजना दूत यूसुफकहाँ सपनामा देखा परे। यो घट्ना त्यसबेला भयो जब यूसुफ मिश्रदेशमा नै थिए। 20 स्वर्गदूतले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई लिएर इस्राएल जाऊ। बालकलाई मार्न चाहने ती मानिस अहिले मरिसकेका छन्।”
21 त्यसपछि यूसुफ उठे, बालक र उहाँकी आमालाई लिएर इस्राएल तर्फ आए। 22 तर यूसुफले यहूदियामा त्यसबेला अर्खिलाउस राजा भएको कुरो सुने। आफ्ना बाबु हेरोदको मृत्युपछि अर्खिलाउस राजा भए। यसकारण यूसुफ त्यहाँ जान डराए। सपनामा पनि तिनलाई चेताउनी भयो। त्यसपछि तिनले त्यो ठाउँ छाडे अनि गालीलको इलाकामा गए। 23 यूसुफ नासरत भन्ने ठाउँमा पुगे र त्यही बस्न थाले। यसरी अगमनक्ताद्वारा बोलिएको वचन सत्य भयो। परमेश्वरले भन्नुभएको थियो कि “ख्रीष्टलाई नासरी[a] भनिनेछ।”
© 2004, 2010 Bible League International