Revised Common Lectionary (Complementary)
हन्नाले धन्यवाद दिन्छिन्
2 हन्नाले प्रार्थना गरिन्,
“परमप्रभुमा, म खुशी छु!
परमप्रभुमा म विजयको अनुभव गर्छु।
तपाईंको मुक्तिमा म खुशी छु,
अनि मेरो शत्रुहरू माथि धाक जमाउँछु।
2 परमप्रभु जस्तो पवित्र कोही छैन।
तपाईं बाहेक कोही परमेश्वर छैन।
हाम्रो परमेश्वर बाहेक यहाँ अरू कुनै आश्रय छैन।
3 अब अहंकार हुदैन!
अहंकारपूर्ण वचनहरू अब छैन,
कारण परमप्रभु परमेश्वर सर्वज्ञानी हुनुहुन्छ।
परमेश्वरले मानिसका कार्यहरू तौलनु हुन्छ।
4 शूरबीर र योद्धाहरूका धनु भाँचिएका छन्
अनि दुर्बलहरू बलिया भएका छन्।
5 विगतमा धेरै भोजन प्राप्त गर्नेहरू
अब काम नगरी भोजन नपाउने भएका छन्।
तर विगतमा जो भोक-भोकै थिए,
तिनीहरू अहिले भोजन खाएर मोटाएका छन्।
आमा बन्ने सौभाग्य नपाएकी स्त्रीहरू
अहिले सातवटाकी आमा बन्न सफल छिन्!
तर जुन स्त्रीका धेरै सन्तानहरू थिए,
तिनीहरू सबै गएकाले ती स्त्री दुःखी छिन्।
6 परमप्रभुले कुनै मानिसहरूलाई मृत्युमा पार्नुहुन्छ,
अनि परमप्रभुले नै कुनैलाई जीवन दिनुहुन्छ।
उहाँले कोही मानिसलाई तल पातालमा पठाउनुहुन्छ
अनि अरू कोहीलाई जीउनको निम्ति उठाउनुहुन्छ र जीवन दिनुहुन्छ।
7 परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ,
अनि उहाँले नै धनी बनाउनुहुन्छ,
परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ
र फेरि उच्च आसनमा बसाउनुहुन्छ।
8 परमप्रभुले कंगालहरूलाई धूलोबाट उठाउँनुहुन्छ,
अनि दुःख हटाई दिनुहुन्छ।
परमप्रभुले कंगालीहरूलाई राजा सँग-सँगै बसाउनुहुन्छ।
परमप्रभुले कंगालीहरूलाई सम्मानको सिंहासनमा राख्नुहुन्छ।
परमप्रभु उनी हुन जसले संसारको जग बसाल्नु भयो
अनि त्यसमाथि संसार बनाउनु भयो।
9 परमप्रभुले आफ्ना पवित्र मानिसहरूको रक्षा गर्नुहुन्छ,
ठेस लागेर लड्नबाट उनीहरूलाई बँचाउनु हुन्छ,
तर पापीहरू अन्धकारमा नष्ट भएर डुब्ने छन्।
तिनीहरूका शक्ति विजय प्राप्त गर्न
सहायक सिद्ध हुनेछैन।
10 परमप्रभुले आफ्ना शत्रुहरूलाई नष्ट पार्नुहुन्छ।
सर्वोच्च परमेश्वर स्वर्गबाट उहाँको दुश्मनहरूका विरूद्ध गर्जनुहुन्छ।
उहाँले सारा पृथ्वीको न्याय गर्नुहुन्छ,
परमप्रभुले आफ्ना राजालाई बलियो पार्नुहुन्छ।
उहाँले चुनेका राजालाई बलियो पार्नुहुन्छ।”
इसहाक-प्रतिज्ञाका पुत्र
15 परमेश्वरले अब्राहामलाई भन्नुभयो, “म साराईलाई नयाँ नाउँ दिनेछु अनि तिम्री पत्नि साराईको नयाँ नाउँ सारा हुनेछ। 16 म उसलाई आशीर्वाद दिनेछु। म उसलाई एउटा छोरा पनि दिनेछु अनि तँ छोराको बुबा हुनेछस्। तिनी धेरै राष्ट्रहरूको आमा हुनेछिन् अनि उबाट धेरै राजाहरू जन्मिनेछन्।”
17 परमेश्वरलाई सम्मान दर्शाउन अब्राहाम जमीनतिर मुख गरी घोप्टो भए। तर तिनले हाँस्दै आफैंसित भने, “म एक सय बर्षको भएँ, अब म छोरा जन्माउन सक्तिन। अनि सारा पनि नब्बे बर्षकी भई र उनले नानी जन्माउन सक्तिन।”
18 तब अब्राहामले परमेश्वरलाई भने, “म आशा गर्छु इश्माएल जीवित रही तपाईंको सेवा गर्नेछ।”
19 परमेश्वरले भन्नुभयो, “होइन! मैले भनी सकें तिम्री पत्नी साराले एउटा छोरो जन्माउनेछिन् जसको नाउँ तिमीले इसहाक राख्नेछौ। म त्यो सित करार गर्नेछु। त्यो करार त्यस्तो हुनेछ उसका सबै सन्तानहरूसित सधैँको निम्ति बाँचिरहने छ।”
20 “तैंले इश्माएलको कुरा गरिस अनि मैले त्यो सुनें। म उसलाई आशीर्वाद दिन्छु। उसको धेरै सन्तानहरू हुनछन् अनि तिनी बाह्रजना महान राजकुमारहरूको पिता हुनेछन् र तिनको परिवारहरूबाट एउटा महान् राष्ट्र बनिनेछ। 21 मेरो करार इसहाकसित गर्नेछु। इसहाक साराको छोरो हुनेछ। त्यो छोरो अर्को बर्ष यही समयमा जन्मिनेछ।”
22 परमेश्वर अब्राहामसित कुरा गरिसकेपछि स्वर्गमा जानु भयो।
गलातीका ख्रीष्टियनहरू प्रति पावलको प्रेम
8 अघि-अघि तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौ। तिमीहरू त्यस्ता देवताहरूको दास थियौ जो साँच्चो थिएनन्। 9 अब तिमीहरूले साँच्चो परमेश्वरलाई चिन्छौ। वास्तवमा परमेश्वरले तिमीहरूलाई चिन्नुभयो। यसकारण अघि-अघि मानिलिएका ती कमजोर र निकम्मा व्यवस्थाहरू तिर फेरि किन फर्कन्छौ? फेरि त्यसकै कमारा बन्न चाहन्छौ? 10-11 तिमीहरूले अझै पनि व्यवस्थाको शिक्षा अनुसार खास दिन, महीना, ऋतु र वर्ष मनाउँछौ। तिमीहरूबारे मलाई डर लाग्छ कि तिमीहरूको लागि मैले जे जति परिश्रम गरें ती सबै व्यर्थ त भएनन्?
12 दाज्यू-भाइ दिदी-बहिनीहरू, म पनि तिमीहरू जस्तै थिएँ, यसकारण दया गरी अब म जस्तै भइदेऊ। अघि तिमीहरू मेरो लागि खुबै राम्रा थियौ। 13 सम्झ त, म किन तिमीहरू भएकोमा पहिल्यै आएँ। किन कि मलाई सन्चो थिएन। तब मैले तिमीहरूमा सुसमाचार प्रचार गरें। 14 मेरो बिसन्चो तिमीहरूलाई भार बन्यो। तर तिमीहरूले म प्रति घृणा दर्शाएनौ। तिमीहरूलाई छोड्न मलाई बाध्य गरेनौ। तिमीहरूले मलाई यस्तो स्वागत गर्यो कि म परमेश्वरबाट आएको दूत नै हुँ। तिमीहरूले मलाई स्वयं येशू ख्रीष्टलाई झैं स्वीकार्यो। 15 त्यसबेला तिमीहरू खुबै प्रसन्न थियौ। कता हरायो त्यो खुशी अहिले? मलाई सम्झना छ हुन सक्ने सब किसिमको सहायता मलाई दियौ। यदि सम्भव हुन्थ्यो भने आफ्नो आँखा पनि निकालेर अनि मलाई दिने थियौ। 16 के अहिले म तिमीहरूको शत्रु भएको छु किनकि म सत्य बोल्छु?
17 ती मानिसहरू तिमीहरूमाथि खुबै चासो राख्दैछन्, तर तिनीहरूको मनसाय राम्रो छैन। तिमीहरूकोलागि त्यो राम्रो होइन। तिनीहरू चाहन्छन् कि तिमीहरू हाम्रो विरोधमा खडा हौ। तिनीहरू चाहन्छन् कि तिमीहरूले तिनीहरूलाई मात्र पछ्याउनु अनि अरूलाई होइन। 18 जब मानिसहरूले तिमीमा चासो लिन्छन भने त्यो सधैँ राम्रो छ यदि उद्देश्य राम्रो छ भने। त्यो सधैँ सत्य हो, म तिमीहरूसित हुँदा होस् कि नहुँदा होस्। 19 मेरा साना बालकहरू हो! जन्म दिंदा आमालाई जस्तो प्रसुति पीडा हुन्छ, मलाई पनि त्यस्तै पीडा अनुभव भइरहेछ। तिमीहरू ख्रीष्ट जस्तै नहुन्जेल म त्यही पीडा अनुभव गरिनै रहन्छु। 20 मलाई लाग्छ यदि म अहिले तिमीहरूसित हुँदो हुँ त म मेरो स्वरको लय नै बद्लाउने थिएँ किन कि म अन्योलमा परेको छु।
© 2004, 2010 Bible League International