Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 21

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

21 हे परमप्रभु, तपाईंको बलले राजालाई खुशी पार्छ।
    जब तपाईं उसलाई बचाउनु हुन्छ ऊ अति नै खुशी हुन्छ।
तपाईंले राजालाई ती थोकहरू दिनु भयो जुन उनले चाहेका थिए।
    हे परमप्रभु, राजाले तपाईंसँग केही थोकहरू मागे र मागेका थोकहरू सबै तपाईंले दिनुभयो।

हे परमप्रभु, तपाईंले साँच्ची नै राजालाई आशीर्वाद दिनु भयो।
    तपाईंले सुनको मुकुट उहाँको शिरमा लगाई दिनु भयो।
हे परमेश्वर, राजाले जीवन-दान तपाईंसित मागे र तपाईंले उनलाई त्यही दिनुभयो।
    तपाईंले उनलाई दीर्घायु प्रदान गर्नुभयो, जुन सदा-सर्वदाको निम्ति जारी रहनेछ।
तपाईंले जित्नका लागि राजालाई अगुवाइ गर्नुभयो अनि उनलाई महान् महिमा प्रदान गर्नुभयो।
    तपाईंले उसलाई इज्जत र आदर दिनुभयो।
हे परमेश्वर, तपाईंले साँच्ची नै राजालाई सदा सर्वदाको निम्ति आशीर्वाद दिनुभयो।
    जब राजाले तपाईंको मुहार हेर्नु हुन्छ अनि त्यसले उहाँलाई आनन्दित पार्छ।
राजाले परमप्रभुमाथि भरोसा राख्छ।
    सर्वोच्च परमेश्वरको दयाबाट उनले कहिल्यै उदास हुनु पर्दैन।
हे परमेश्वर, तपाईंले आफ्ना शत्रुहरूलाई तपाईं कतिको शक्तिशाली हुनुहुन्छ देखाउनु हुनेछ।
    जसले तपाईंमाथि हेय-दृष्टि राख्छन्।
    तपाईंको शक्तिले ती मानिसहरूलाई परास्त गर्छ।
हे परमप्रभु, तपाईं जब राजासँग हुनुहुन्छ,
    उनी तातो चूल्हा जस्तो हुन्छन्।
जसले प्रत्येक कुरा दिंदछन्।
    आफ्नो क्रोधको ज्वालामा सबै शत्रुहरूलाई नष्ट पार्छ।
10 शत्रुहरूका सन्तानहरू समेत नष्ट भए।
    तिनीहरू यस पृथ्वीबाट लोप भएर गए।
11 किनभने ती मानिसहरूले तपाईंको विरूद्ध नराम्रा योजनाहरू तयार गरे, परमप्रभु।
    तिनीहरूले अधर्मका कामहरू गर्ने योजना गरे तर तिनीहरू सफल भएनन्।
12 हे परमप्रभु, तपाईंले ती मानिसहरूलाई आफ्ना दास बनाउनु भयो।
तपाईंले तिनीहरूलाई डोरीले सँगै बाँध्नु भयो।
    तपाईंले तिनीहरूका घाँटीहरू वरिपरि डोरीहरू बाँध्नु भयो,
    तिनीहरूलाई दासहरूले जस्तै शिर झुकाएर बस्ने पार्नु भयो।

13 हे परमप्रभु, हामी तपाईंको प्रशंसा गर्छौ!
    हामी तपाईंको महा-शक्तिको विषयमा वाद्य-वादनसहित गीतहरू गाउने छौं।

यशैया 24:1-16

परमेश्वरले इस्राएललाई दण्ड दिनु हुनेछ

24 हेर! परमप्रभुले यो ठाउँलाई नष्ट गर्नुहुनेछ। परमप्रभुले यस ठाउँलाई सम्पूर्ण प्रकारले उजाड पार्नु हुनेछ। परमप्रभुले मानिसहरूलाई जबरजस्ती यस ठाउँबाट टाढा खेद्नु हुनेछ। त्यसबेला, साधरण मानिसहरू र पूजाहारीहरू एक समान हुनेछन्। दासहरू र मालिकहरू एक समान हुने छन्। दासीहरू र उनीहरूका मालिक्नीहरू पनि समान हुनेछन्। किन्ने ग्राहाक र बेच्ने पसलेहरू पनि एक समान हुनेछन्। कर्जदार र साहूकारहरू एक समान हुनेछन्। बैंकवाला र बैंकबाट ऋण लिनेहरू पनि समान हुनेछन्। सारा मानिसहरूलाई त्यो ठाउँ छोड्नलाई बाध्य पारिने छ। जम्मै धन-सम्पत्ति लैजाने वा खोसिने छ। यस्तो घटना हुने नै छ कारण परमप्रभुले आदेश गर्नु भएकोछ। यो देश रित्तो र उजाड हुनेछ। यो संसार रित्तो र दुर्बल हुनेछ। पृथ्वीका महत्वपूर्ण मानिसहरू हराउँनेछन्।

यो पृथ्वीमा बस्ने मानिसहरूले भूमि नै अशुद्ध बनाउनेछ। यो कसरी भयो? मानिसहरूले परमेश्वरको व्यवस्थाका विरूद्ध गल्ती कामहरू गरे। मानिसहरूले परमेश्वरको धार्मिक-विधानहरू पालन गरेनन्। मानिसहरूले धेरै समय अघि नै परमेश्वरसँग एक करार गरेका थिए तर त्यो तिनीहरूले भङ्ग गरे। यस पृथ्वीमा बस्ने मानिसहरू आफ्ना गल्ती कामहरूले गर्दा दोषी छन्। यसैले यस पृथ्वीलाई नष्ट गर्नलाई परमेश्वरले निर्णय गर्नुभयो। मानिसहरू दण्डित हुने छन्। केवल थोरै मानिसहरू मात्र बाँकी रहने छन्।

दाखका बोटहरू मर्नेछन्। नयाँ दाखरस राम्रो छैन्। बितेका दिनहरूमा मानिसहरू खुशी थिए। तर अहिले ती मानिसहरू दु:खी छन्। मानिसहरूले आफ्नो हर्ष र उल्लास देखाउन बन्द गरे। ढोलकहरू, खैंजडीहरू र विणाहरूबाट आउने संगीतहरू समाप्त भए। मानिसहरूले दाखरस पिइरहेको बेलामा खुशीका गीतहरू गाउँदैनन्। तिनीहरूले पिइरहेका दाखरसको स्वाद तितो भयो।

10 “पूर्ण अस्तव्यस्त” भन्ने नाउँ नै यो शहरलाई सुहाउँछ। शहर नष्ट पारियो। मानिसहरू घरभित्र प्रवेश गर्न सक्दैनन् ढोकाहरू बन्द भएकाछन्। 11 मानिसहरूले बजारमा दाखरस अझ खोजी रहन्छन्। तर सम्पूर्ण रमाईलोपन समाप्त भयो। खुशी टाढा लगियो। 12 यस शहरको लागि विनाश मात्र छोडियो। प्रवेशद्वारहरू पनि नष्ट गरियो।

13 फसलको बेलामा, मानिसहरूले रूखबाट जैतून झारे
    तर केही मात्रामा जैतूनहरू रूखमा नै छाडिए।
    त्यस्तै प्रकारले यस पृथ्वीमा केही जातिहरू मात्र छाडिनेछन्।
14 छाडिएका मानिसहरू चिच्याउन थाल्नेछन्।
तिनीहरूका चिच्याहट समुद्रका गर्जन भन्दा पनि जोडले हुनेछ।
    तिनीहरू परमेश्वरको महानताले गर्दा खुशी हुनेछन्।
15 ती मानिसहरूले भन्नेछन, “पूर्वमा भएका मानिसहरू, परमप्रभुको प्रशंसा गर!
    टाढा देशहरूमा बस्ने मानिसहरू,
    परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर!”
16 संसारका सबै कुनाहरूबाट परमेश्वरको निम्ति गाइएका स्तुति गीत सुनिनेछन्।
    ती गीतहरू असल परमेश्वरको स्तुति गीत हुनेछ।
तर म भन्छु “मलाई पीर छ, म दु:खमा छु।
    म जे देख्छु, ती भयंकर चीजहरू हुन्।
देशद्रोहीहरू मानिसहरूको विरूद्ध उठ्दैछन्
    अनि तिनीहरूलाई चोट पुर्याउँदैनन्।”

1 थिस्सलोनिकी 4:1-12

परमेश्वरलाई प्रसन्न पार्ने जीवन

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, अब मैले तिमीहरूलाई केही अर्को कुरो भन्दैछु। परमेश्वरलाई खुशी राख्ने हिसाबले कसरी जिउनु पर्छ त्यो हामीले तिमीहरूलाई सिकाएका छौं अनि त्यसरी नै तिमीहरू बसिरहेका छौ। अब हामी तिमीहरूलाई भन्छौ अनि उत्साह दिन्छौ कि प्रभु येशूमा त्यही प्रकारले अझ लागी रहो। तिमीहरू जान्दछौ कि हामीले तिमीहरूलाई के गर्नु शिक्षा दिएका छौं। हामीले ती कुराहरू प्रभु येशूको अधिकारले भनेका हौं। परमेश्वर चाहनु हुन्छ तिमीहरू पवित्र जीवन बिताऊ अनि व्यभिचारबाट टाढो बस। परमेश्वर इच्छा गर्नुहुन्छ कि तिमीहरूले आफ्नो शरीर नियंत्रणमा राख्न सिकेको हुनुपर्छ। परमेश्वरलाई सम्मान गर्न तिमीहरूले शरीर पवित्र राख। आफ्नो शरीरलाई व्यभिचारको काममा नलगाऊ। तिनीहरू ज-जसले परमेश्वरलाई जान्दैनन् तिनीहरू त्यसो गर्छन्। यस विषयमा तिमीहरू कसैले ख्रीष्टमा भएका भाइसँग भूल काम गर्नु हुँदैन अनि तिनको शोषण गर्नु हुँदैन। यस्तो कुकर्मीहरूलाई परमप्रभुले दण्ड दिनुहुनेछ। यसबारे पहिल्यै भनिसकेका छौं र चेताउनी पनि दिइसकेका छौं। परमेश्वरले हामीलाई पवित्र भएर बस्न बोलाउनु भएको हो अपवित्रतामा होइन। यसकारण जसले यो शिक्षालाई मान्नु अस्वीकार गर्छ उसले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ, मान्छेलाई होइन। परमेश्वर तिमीहरूलाई आफ्नो पवित्र आत्मा दिनुहुन्छ।

ख्रीष्टमा भाइ-बहिनीहरूलाई प्रेम गर भनेर लेखिरहने कुनै आवश्यकता देख्दैनौं। आपस्तमा प्रेम गर भन्ने आज्ञा परमेश्वर स्वयंले दिइसक्नु भएको छ। 10 अनि वास्तवमा तिमीहरूले म्यासिडोनियाका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूलाई प्रेम गर्दछौ। दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिनीहरूलाई अझै कसिलो प्रेम गर। यो हाम्रो हौसला हो।

11 शान्तीपूर्ण जीवन बाँच्ने कोशिश गर। आफ्नै धन्धा याद गर, आफ्नै हातले काम गर। हामीले तिमीहरूलाई यी कार्यहरू गर भनी बातइसकेका छौं। 12 यदि तिमीहरूले यस्तो काम गरे विश्वास नगर्नेहरूले पनि तिम्रो जीवन शैलीको आदर गर्नेछन्। अनि आफ्नै आवश्यकताको लागि कसैमाथि भर पर्नु पर्दैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International