Revised Common Lectionary (Complementary)
113 परमप्रभुको प्रशंसा गर!
परमप्रभुका दासहरू उहाँको प्रशंसा गर!
परमप्रभुको नाउँको प्रशंसा गर।
2 परमप्रभुको नाउँ अहिले
र सदा-सर्वदालाई धन्य बनी रहोस्।
3 परमप्रभुको नाउँको प्रशंसा
पूर्वमा सूर्य उदय हुने ठाउँदेखि पश्चिममा सूर्य अस्ताउने ठाँउ सम्म भइरहोस्।
4 परमप्रभु सबै जातिहरूभन्दा उच्च हुनुहुन्छ।
उहाँको महिमा माथि स्वर्ग सम्म जान्छ।
5 कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन।
परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ।
6 परमेश्वर हामी भन्दा नित्तान्त माथि हुनुहुन्छ।
उहाँले आकाश र पृथ्वी देख्न तल हेर्नुपर्छ।
7 परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो।
परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो।
8 अनि परमेश्वरले ती मानिसहरूलाई मुल्यवान बनाउनु भयो।
परमेश्वरले तिनीहरूलाई महत्वपूर्ण नेताहरू बनाउनु भयो।
9 एउटी स्त्रीको नानीहरू नहुन सक्लान
तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ!
परमप्रभुको प्रशंसा गर!
8 तिमीहरू एकदमै नजिक-नजिकमा बस्छौ। कहीं कसैको लागि केही जग्गा नराखी घरहरू बनाउँछौ। तर परमप्रभुले जब तिमीहरूलाई दण्ड दिनुहुनेछ तब तिमीहरूलाई एक्लो पार्नु हुनेछ। सम्पूर्ण भूमिमा तिमीहरूमात्र रहनेछौ। 9 सेनाहरूका परमप्रभुले मलाई भन्नुभयो र मैले सुने, “अब त्यहाँ धेरै घरहरू छन्। तर म प्रतिज्ञा गर्छु कि ती सबै घरहरू ध्वंश हुनेछन्। त्यहाँ सुन्दर र ठूला-ठूला घरहरू होलान् तर सबै रित्ता हुनेछन्। 10 त्यसबेला दश बीघा जमिनबाट अलिकति मात्र दाखरस बनिने छ। अनि धेरै बोरा बीउहरूबाट अलिकति मात्र अन्न उब्जनेछ।”
11 तिमीहरू बिहानै उठ्ने छौ र पिउनलाई मद्य खोज्ने छौ। दाखरस पिएर मातेकोले गर्दा तिमीहरू राती अबेर सम्म जागा रहन्छौ। 12 तिमीहरू मातेर संगीतमय सामग्रीहरू जस्तै विणा, ढोलक, खैंजडी, सारङ्गी, बाँसुरी र मद्य लिएर उत्सव मनाउँछौ। अनि परमप्रभुले गर्नु भएका कुराहरू तिमीहरू वास्ता गर्दैनौ। परमप्रभुका हातले धेरै भन्दा धेरै चीजहरू बनाउनु भयो तर तिमीहरूले त्यतापट्टि ध्यान दिएनौ। यसकारण यो तिमीहरूकालागि अ-शुभ हुनेछ।
13 परमप्रभु भन्नुहुन्छ, “मेरा मानिसहरू पक्राउ पर्नेछन् अनि लगिनेछन्। किनभने तिनीहरूले मलाई राम्ररी चिनेनन्। अहिले इस्राएलमा भएका कतिपय मानिसहरू मुख्य छन्। तिनीहरू आफ्ना विलासी जीवनमा सुखी छन्। तर ती सबै महान् मानिसहरूलाई भोक प्यासले अत्यन्त सताईनेछन्। 14 तब तिनीहरू मर्नेछन् र पातालमा जानेछन् सियोलले, तिनीहरूले धेरै-धेरै मानिसहरू भेट्नेछ। चिहानले आफ्नो ठूलो मुख उघारेर बसेको छ। अनि सबै मानिस सियोल भित्र जानेछन्।”
15 ती मानिसहरू नम्र हुनेछन्। ती ठूला मानिसहरूले शिर झुकाउनेछन् अनि भूइँतिर हेर्नेछन्। 16 सेनाहरूका परमप्रभुले निष्पक्ष न्याय गर्नु हुनेछ, र मानिसहरूले उहाँ कति महान हुनहुन्छ भनेर थाहा पाउने छन्। पवित्र परमेश्वरले जुन सही कुराहरू छन् त्यही काम गर्नुहुनेछ, र मानिसहरूले उहाँलाई सम्मान गर्नेछन्। 17 परमेश्वरले इस्राएलका मानिसहरूलाई देश छोडेर जान वाध्य पार्नुहुनेछ; त्यो स्थान खाली हुनेछ। भेंडा़हरू जहाँ इच्छा लाग्दछ त्यहीं गएर बस्ने छन्। त्यसका पाठाहरू त्यही ठाँउमा चर्ने छन् जुन ठाउँमा एकपल्ट धनी मानिसहरू थिए।
18 ती मानिसहरूलाई हेर! तिनीहरूले आफ्ना दोष र पापहरू आफ्ना पछाडी त्यसरी तान्दछन् जसरी मानिसहरूले हातेगाडी र डोरीहरू तान्दछन्। 19 ती मानिसहरूले भन्दछन्, “हामी परमप्रभुलाई कामना गर्दछौ कि उहाँले चाहनु भएका कुराहरू चाँडै नै गरून्। तब हामी जान्नेछौ के घटना घट्छ। हामी कामना गर्छौ परमप्रभुको योजना चाँडै नै पुरा हुन्छ होला। तब मात्र हामी जान्दछौ उहाँको योजना के हो।”
20 हाय! भन्छौ नराम्रो वस्तुहरू राम्रो हुन् अनि राम्रो वस्तुहरू नराम्रो हुन्। तिनीहरू सोच्छन अँध्यारो उज्यालो हो अनि उज्यालो अँध्यारो हो। तिनीहरू सोच्छन् मीठो तीतो हो अनि तीतो मीठो हो। 21 तिनीहरू हामी चतुर छौं भनी सम्झन्छन्। तिनीहरू आफूलाई बुद्धिमान ठान्दछन्। 22 ती मानिसहरू दाखरस पिउनमा प्रसिद्ध छन्। तिनीहरू मद्य मिसाउनमा सिपालु छन्। 23 अनि तिमीहरूले त्यस्ता मानिसहरूलाई पैसा दियौ भने उनीहरूले अपराधीलाई क्षमा दिनेछन्। तर तिनीहरूले असल मानिसहरूलाई न्याय गर्न अनुमति दिंदैनन्।
विधवाद्वारा भेटी चढाएको अर्थ बुझाउने चेष्टा
(लूका 21:1-4)
41 येशू मन्दिरको ढुकुटी सामु बस्नुभयो जहाँ आएर मानिसहरूले पैसा चढाउने गर्दथे। उहाँले धेरै धनी मानिसहरूले मन्दिरको ढुकुटीमा धेरै पैसा हालेको हेर्नुभयो। 42 तब एउटी गरीब विधवा आई अनि दुइवटा स-साना ताँमाका सिक्काहरू दिई। ती सिक्काहरूको मूल्य एक पैसा भन्दा कम थियो।
43 येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यो गरीब विधवाले खाली दुइवटा स साना सिक्काहरू चढाई। तर वास्तवमा अरू धनी मानिसहरूले दिएको भन्दा त्यसले धेरै दिई। 44 ती मानिसहरूको धेरै छन्, तर तिनीहरूले आफूलाई नचाहिएको मात्र दिएका छन्। त्यो स्त्री धेरै गरीब छे। तर त्यसले आफूमा भएको सबै नै दिई। अनि त्यसले ती पैसाहरू आफूलाई मद्त पुर्याउनको लागि नै हो भन्ने ठानी।”
© 2004, 2010 Bible League International