Revised Common Lectionary (Complementary)
113 परमप्रभुको प्रशंसा गर!
परमप्रभुका दासहरू उहाँको प्रशंसा गर!
परमप्रभुको नाउँको प्रशंसा गर।
2 परमप्रभुको नाउँ अहिले
र सदा-सर्वदालाई धन्य बनी रहोस्।
3 परमप्रभुको नाउँको प्रशंसा
पूर्वमा सूर्य उदय हुने ठाउँदेखि पश्चिममा सूर्य अस्ताउने ठाँउ सम्म भइरहोस्।
4 परमप्रभु सबै जातिहरूभन्दा उच्च हुनुहुन्छ।
उहाँको महिमा माथि स्वर्ग सम्म जान्छ।
5 कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन।
परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ।
6 परमेश्वर हामी भन्दा नित्तान्त माथि हुनुहुन्छ।
उहाँले आकाश र पृथ्वी देख्न तल हेर्नुपर्छ।
7 परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो।
परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो।
8 अनि परमेश्वरले ती मानिसहरूलाई मुल्यवान बनाउनु भयो।
परमेश्वरले तिनीहरूलाई महत्वपूर्ण नेताहरू बनाउनु भयो।
9 एउटी स्त्रीको नानीहरू नहुन सक्लान
तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ!
परमप्रभुको प्रशंसा गर!
इस्राएल बेकामको मरुभूमि जस्तै छ
17 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
18 “हे मानिसको छोरो, तामा, फलाम, जस्ता, अनि सीसा चाँदीको तुलनामा बेकार छ। कारीगरले चाँदीलाई शुद्ध पार्न आगोमा हाल्छ। चाँदी गल्छ अनि कारीगरले यसलाई मैलाबाट अलग पार्छ। इस्राएल देश बेकारको मैला जस्तो भएको छ। 19 यसैकारण परमप्रभु मेरो मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू सबै बेकारको मैला जस्तो भएकाछौ। त्यसकारण म तिमीहरूलाई यरूशलेम भित्र भेला गराउनेछु। 20 कारीगरले चाँदी, काँसा, फलाम, सीसा अनि जस्तालाई आगोमा हाल्छ। आगो एकदमै ठूलो बनाउँनको निम्ति फुकिन्छ। त्यसपछि यो धातुहरू सबै गल्न थाल्छ। यस्तै प्रकारले म तिमीलाई आफ्नो आगोमा हालेर पगाल्छु। त्यो मेरो आगो चाँहि क्रोध हो। 21 म तिमीलाई त्यो आगोमा हाल्छु अनि म आफ्नो क्रोधको आगो फुक्छु अनि तिमी पग्लिन थाल्छौ। 22 चाँदी आगोमा पग्लिन्छ अनि कारीगरले चाँदी हाल्छ अनि पगाल्छ। यस्तै प्रकारले शहरमा तिमी पग्लिन्छौ। त्यसपछि तिमीले थाहा पाउनेछौ कि म नै परमप्रभु हुँ अनि तिमीले सम्झनेछौ कि म नै तिम्रो विरूद्ध आफ्नो क्रोध निकाल्दैछु।’”
इजकिएल यरूशलेमको विरूद्ध बोल्छन्
23 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 24 “हे मानिसको छोरो! यरूशलेमसित कुरा गर। उसलाई भन, तिमी भूमि हौ जुन सफा पारिएको छैन्। जब म क्रोधित हुन्छ तिमीमाथि पानी पर्नेछैन। 25 यरूशलेममा अगमवक्ताहरूले नराम्रो योजना बनाइरहेछ ऊ त्यो सिंह जस्तो भएको छ, जब त्यसले आफूले पक्रेको जनावर खान्छ त्यस समय गर्जन्छ। ती अगमवक्ताहरूले धेरै जीवनहरू नष्ट गरेका छन्। तिनीहरूले धेरै बहुमूल्य चीहहरू राखेका छन्। तिनीहरूले यरूशलेममा धेरै स्त्रीहरूलाई विधवा बनाए।
26 “पूजाहारीहरूले मेरो ब्यावस्था भङ्ग गरेका छन्। तिनीहरूले मेरो पवित्र चीजहरू अपवित्र बनाएका छन्। तिनीहरूले पवित्र र अपवित्र वस्तुहरूमा भेद राख्दैनन् अनि तिनीहरूले मानिसहरूलाई सफा र मैला बीचको भिन्नता सिकाउँदैनन्। तिनीहरूले मेरो विश्रामको दिनलाई सम्मान गर्न अस्वीकार गरे। म तिनीहरूको बिचमा अपमानित भएकोछु।
27 “यरूशलेमका बूढा-प्रधानहरू आफूले पक्रेका पशुहरू खाँदै गरेका ब्वाँसाहरू जस्तै छन्। बूढा-प्रधानहरू फाइदा लिनको लागि मानिसहरूलाई आक्रमण गर्छन् अनि मार्छन्।
28 “अगमवक्ताहरूले मानिसहरूलाई चेताउनी दिदैनथे तिनीहरूले सत्यलाई लुकाउँथे। तिनीहरू त्यो कारीगार जस्तै हुन जसले पर्खाल दृढ बनाउँदैन केवल दूलोमा लेप लगाइदिन्छ। तिनीहरूको ध्यान केवल झूटोमाथि हुन्छ। तिनीहरूले आफ्नो जादूको प्रयोग भविष्य जान्नका निम्ति गर्छन्। तर तिनीहरू खाली झूटो बोल्छन्। तिनीहरू भन्छन्, ‘परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो।’ तर तिनीहरू खाली झूटो बोलिरहेछन् परमप्रभुले तिनीहरूसँग बात गर्नुभएन।
29 “सामन्य जनता एका-अर्कामा लाभ उठाउँछन्। तिनीहरू एका-अर्कालाई धोका दिन्छन अनि चोरी गर्छन। तिनीहरू गरीब अनि असहाय मानिसहरूसँग यस्तो व्यवहार गर्छन्। तिनीहरूले विदेशीहरूलाई पनि धोका दिन्छन्, मानौं तिनीहरूको विरूद्ध कुनै नियम छैन्।
30 “देश रक्षाकोलागि पर्खाल बनाउन अथवा त्यही भत्केको भागमा उभिन एकजना मानिस मैले तिनीहरूको माझमा खोजें धाँदोमा उभिएर प्रार्थना गर्ने मानिस तर जसले त्यस्तो गर्न सक्थ्यो कुनै मानिस पनि पाउनँ सकिनँ। 31 यसकारण म आफ्नो क्रोध प्रकट गर्छु, म तिनीहरूलाई पूर्ण रूपमा नष्ट गर्छु! अपवित्र कामको निम्ति म तिनीहरूलाई दण्ड दिन्छु। जुन तिनीहरूले गरे। यो सब तिनीहरूको दोष हो।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
येशू ख्रीष्टमा परमेश्वरको प्रेम
31 यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ? 32 परमेश्वरले हाम्रो निम्ति जे पनि गर्नुहुनेछ। परमेश्वरले उहाँको आफ्नै पुत्रलाई कष्ट मात्र भोगाउनु भएन तर हाम्रा निम्ति बलि दिनुभयो। तब के परमेश्वरले हामीलाई येशूका साथै हरेक उपहार दिनुहुन्न र? 33 परमेश्वरले चुन्नु भएका मानिसहरूलाई कसले दोष लगाउन सक्छ? कसैले सक्तैन! परमेश्वर मात्र एक हुनुहुन्छ जसले आफ्ना मानिसहरूलाई धर्मी बनाउनुहुन्छ। 34 परमेश्वरका मानिसहरूलाई कसले दोषी हो भनी भन्न सक्छ? कसैले सक्तैन! ख्रीष्ट येशू हाम्रा निम्ति मर्नुभयो, तर त्यति मात्र होइन, उहाँ मृत्युबाट जीवित पनि हुनुभयो। अनि उहाँ परमेश्वरको दाहिनेपट्टि हुनुहुन्छ र हाम्रा निम्ति परमेश्वरलाई बिन्ति गरिरहनु भएको छ। 35 ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नाङ्गोपनाले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अँहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अँहँ सक्दैन। 36 धर्मशास्त्रले भन्छ,
“तिमीहरूका निमित्त हामीहरू दिनभरि नै मृत्युको मुखमा छौं।
मानिसहरू सोंच्दछन् हामी बेकारहौं, मारिने भेंडा़ जस्ता छौं।”(A)
37 तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं। 38-39 हो, म निश्चिन्त छु कि कुनै चीजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्तैन न मृत्यु वा जीवनले न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले न त कुनै वर्तमानका वा भविष्यका कुराले न त कुनै माथिका वा तलका शक्तिले न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ जो हाम्रा प्रभु ख्रीष्ट येशूमा छ।
© 2004, 2010 Bible League International