Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 30:15-20

15 “आज मैले तिमीहरूलाई राम्रो र नराम्रो अनि जीवन र मृत्यु रोज्न दिएको छु। 16 म तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू पालन गर्ने, उहाँको विधि तथा नियमहरू अनुशरण गर्ने आदेश दिन्छु। परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमि आफ्नो बनाउनको निम्ति प्रवेश गररिरहेका छौ त्यहाँ परमप्रभुले आशिष दिनु हुनेछ र त्यहाँ तिमीहरू बसो-बास गर्नेछौ अनि तिमीहरूका सन्तान फिँजिनेछन्। 17 तर यदि तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ अनि अट्टेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्यौ भने, 18 तब तिमीहरू ध्वंश हुनेछौ। म तिमीहरूलाई चेतावनी दिन्छु यदि तिमीहरूले परमप्रभुलाई अमान्य गर्यौ भने यर्दन नदीपारि पट्टिको भूमि जुन तिमीहरू आफ्नो बनाउँन प्रवेश गर्न लागेका छौ त्यहाँ धेरै बाँच्ने छैनौ।

19 “आज मैले तिमीहरूलाई स्वर्ग र पृथ्वीलाई साक्षी राखेर दुइवटा ढुङ्गाहरूबाट एउटा रोज्नु लाउँदैछु। जीवन अथवा मृत्यु रोज्न सक्छौ। पहिलो रोजाइ आशीर्वाद ल्याउँछ, अनि अरू रोजाई सराप यसकारण जीवनलाई रोज। तब तिमी अनि तिमीहरूको नानीहरू बाँच्ने छन्। 20 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नै पर्छ र उहाँका आज्ञा पालन गर्नै पर्छ। उहाँलाई कहिलै त्याग नगर किनभने परमप्रभु नै तिमीहरूका जीवन हुनुहुन्छ। तब परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूः अब्राहाम, इसहाक र याकूबसित गर्नु भएको प्रतिज्ञा अनुसार पाएको भूमिमा उहाँले दीर्घायु जीवन दिनुहुनेछ।”

भजनसंग्रह 1

पहिलो भाग

(भजनसंग्रह 1–41)

यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन,
    पापीहरूको जस्तो जीवन बिताउँदैन,
    अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ।
धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँछ।
    ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ।
यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ
    ऊ ठीक समयमा फल दिने रूख सरह हो।
    ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन
उसले गरेको प्रत्येक काममा ऊ सफल हुन्छ।

तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्।
    दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ।
यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन्,
तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन्।
    ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन।
किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ,
    तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।

फिलेमोन 1-21

ख्रीष्ट येशूको एक कैदी पावल र हाम्रा भाइ तिमोथीबाट

हाम्रा प्रिय बन्धु तथा सहकर्मी फिलेमोनलाई अभिवादन।

साथै हाम्री बहिनी अप्फियालाई, सहकर्मी अर्खिप्पसलाई र तिम्रो घरमा भेला हुने मण्डलीलाई, पनि!

हाम्रा परमेश्वर पिता अनि प्रभु येशू ख्रीष्टबाट अनुग्रह अनि शान्ति तिमीहरू साथ रहोस्।

फिलेमोनको प्रेम र विश्वास

आफ्नो प्रार्थनामा म तिमीलाई सम्झन्छु र तिम्रो निम्ति म सधैँ मेरो परमेश्वरलाई धन्यवाद चढाउँछु। परमेश्वरका पवित्र मानिसहरू प्रति तिम्रो प्रेम र प्रभु येशूमा तिम्रो विश्वासको कुरा म सुन्दछु। म प्रार्थना गर्छु कि तिमीले हामीसित सहयोग गरेको विश्वासले ख्रीष्टमा भएको हाम्रा हरेक असल कुरो गहनपूर्वक बुझ्नमा तिमीलाई सहायता दिनेछ। मेरा भाइ! तिमीले परमेश्वरका मानिसहरूलाई प्रेम गर्यौ अनि तिनीहरूलाई प्रफुल्लित तुल्यायौ। यसले मलाई आनन्द अनि सुविस्था प्रदान गरेको छ।

ओनेसिमसलाई एक भाइको रूपमा स्वीकार गर

तिमीले केही गर्नु छ। ख्रीष्ट प्रति भएको मेरो अधिकारको कारणले म तिमीलाई यसो गर भन्न सक्छु। तर मैले तिमीलाई आदेश दिएको होइन, केवल प्रेमको शक्तिमा म तिमीलाई निवेदन गर्दछु। म पावल हुँ अनि अहिले म वृद्ध मानिस हुँ अनि ख्रीष्ट येशूको लागि बन्दी छु। 10 म मेरो छोरो ओनेसिमसको बारेमा निवेदन गरिरहेछु। म कारागारमा छँदा ऊ मेरो छोरो बनियो। 11 बितेका दिनहरूमा ऊ तिम्रोलागि बेकम्म थियो। तर वर्त्तमान समयमा तिमी र म दुवैको लागि ऊ उपयोगी मानिस भएको छ।

12 म उसलाई फेरि तिमीकहाँ मेरो हृदयसितै पठाउँदैछु। 13 म कारागारमा रहेको बेला मलाई सहायता गर्नका निम्ति म आफैं उसलाई यहाँ सुसमाचारको निम्ति राख्न चाहन्थें। मलाई सहायता गरेर उसले तिम्रो सेवा गर्ने थियो। 14 तर तिम्रो अनुमति नलिई म केही गर्न चाहँदिन। त्यसो हुँदा तिमीले मेरो निम्ति गर्ने असल कार्य तिमीले स्वयं गर्न चाहेको हुनेछौ अनि मैले कर लाएको हुने छैन।

15 ओनेसिमस तिमीबाट केही समयकोलागि छुट्टिएको थियो। यसो भएको हुन सक्छ कि त्यसलाई तिमीले सदाका निम्ति फिर्ता पाउनेछौ। 16 अझ एक दासको रूपमा होइन, तर दासभन्दा अधिक अनि एक प्रिय भाइको रूपमा ग्रहण गर। म उसलाई खुबै माया गर्छु। तर तिमीले उसलाई अझ बेसी माया गर्नेछौ। तिमीले उसलाई एउटा मानिसको रूपमा अनि प्रभुमा भाइको रूपमा पनि माया गर्नेछौ।

17 यसर्थ यदि मलाई साथी भनेर स्वागत गर्छौ भने ओनेसिमसलाई पनि स्वागत गर। मलाई स्वीकार गरे जस्तै उसलाई स्वीकार गर। 18 ओनेसिमसले तिमीसित केही भूल गरेछ भने मलाई दोष्याऊ। यदि उसले केही तिर्नु परे मलाई लगाऊ। 19 म पावल हुँ। यो म मेरो आफ्नै हातले लेख्दैछु। यदि ओनेसिमसले केही बाँकी तिर्नु छ भने त्यो म तिर्छु। आफ्नो जीवनको लागि तिमी मेरो कति ऋणी छौ त्यस बारे म केही भन्न चाहँदिन। 20 हो, मेरा भाइ, प्रभुका निम्ति मेरो लागि केही गरिदेऊ। ख्रीष्टमा मेरो हृदय शान्त गराऊ। 21 तिमीले मेरो आशा पूरा गर्नेछौ भन्ने पूर्ण विश्वासमा म यो पत्र लेख्दैछु। म जान्दछु तिमीले मैले भनेको भन्दा अधिक गर्नेछौ।

लूका 14:25-33

तिमी पहिला योजना बनाऊ

(मत्ती 10:37-38)

25 धरै मानिसहरूले येशूसँग यात्रा गरिरहेका थिए। उहाँ तिनीहरूपट्टि फर्कनु भयो अनि भन्नुयो, 26 “यदि कोही मानिस मकहाँ आँउछ भने, अनि मलाई भन्दा अधिक उसको बाबु, आमा, पत्नी, छोरा-छोरी, दाज्यू-भाइ तथा दिदी बहिनीहरूलाई प्रेम गर्छ भने त्यो मानिस मेरो चेला हुन सक्तैन। कुनै पनि मानिसले आफ्नो जीवनलाई भन्दा वेशी मलाई धेरै प्रेम गर्नु पर्छ। 27 यदि कसैले आफ्नो क्रूस (समस्या) नउठाई मलाई पछ्याउँछ भने त्यो मानिस मेरो चेला हुन सक्तैन।

28 “यदि तिमी एउटा भवन बनाउन चाहन्छौ भने, तिमीले पहिले बसेर त्यो बनाउनलाई कति खर्च लाग्ने हो त्यसको छलफल गर्नु पर्छ। भवनको काम पूरा सिध्याउनलाई त्यत्ति तिम्रोमा भएको पैसाले पुग्छ पुग्दैन त्यो हेर्नु पर्छ। 29 यदी तिमीले यसो नगरे, काम त शुरू गर्न सक्छौ तर त्यसलाई पूरा गर्न सक्तैनौ। अनि यदि पूरा गर्न नसके सबै मानिसहरूले तिमालाई खिसी गर्नेछन्। 30 तिनीहरूले भन्ने छन्, ‘यो मानिसले घर बनाउन त शुरू गर्यो तर पूरा गर्न भने सकेन।’

31 “यदि कुनै राज अर्को राजासँग युद्ध गर्न जाँदैछ भने, पहिले ऊ बस्नु पर्छ, योजना बनाउनु पर्छ। यदी त्यसको दश हजार मनिसहरू छन् अनि उसको विपक्षी बीसहजार मानिसहरू लिएर आउँदैछ भने, त्यसले निर्णय गर्नु पर्छ कि ऊ विजयी हुन सक्छ कि सक्तैन। 32 यदि उसले त्यो राजालाई जित्न सक्तैन भने उसले आफ्नो मानिसहरू अर्को राजाकोमा शान्ति प्रस्ताव राख्नको निम्ति पठाउनु पर्छ।

33 “त्यसरी नै, तिमीहरूले पहिले योजना बनाउनु पर्छ। मलाई पछ्याउने हो भने तिमीहरूले प्रत्येक कुरालाई छाडनु पर्छ। नत्र तिमीहरू मेरो चेला बन्न सक्तैनौ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International