Revised Common Lectionary (Complementary)
दाऊदको मस्किल भन्ने भजन।
32 त्यो मानिस खुशी हुन्छ,
जसका पापहरू क्षमा गरिएका छन्।
त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।
2 त्यो मानिस खुशी हुन्छ,
जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ।
त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।
3 परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें।
तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ।
जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।
4 परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो।
म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ।
5 तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ।
परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें, मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइनँ।
अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!
6 यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ।
तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता सङ्कटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।
7 हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ,
तपाईं मलाई सङ्कटहरूबाट रक्षा गर्नुहुन्छ।
तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ।
यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।
8 परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु
र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु।
म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।
9 यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ।
ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ।
ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”
10 दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्।
तर परमेश्वरको स्नेहपूर्ण करूणाले ती मानिसहलाई घेर्ने छ,
जसले परमप्रभुमाथि भरोसा गर्छन्।
11 हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ।
हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।
संसारका राज्यहरू माथि न्याय
15 परमप्रभु, इस्राएलका परमेश्वरले मलाई यी कुराहरू भन्नुभयो “यर्मिया, यो कचौरोको दाखरस मेरो हातबाट लेऊ। यो मेरो क्रोधको दाखरस हो। म तिमीलाई विभिन्न जातिहरूमा पठाई रहेछु। ती जातिहरूलाई यही प्यालाबाट पियाऊ। 16 तिनीहरूले यो पिउँनेछन्। त्यसपछि तिनीहरू धरमराउनेछन् र पागल मानिस जस्तो व्यवहार गर्नेछन। तिनीहरूले तरवारको कारण त्यसो गर्छन् जुन तिनीहरूको विरूद्ध म पठाउँदैछु।”
17 यसर्थ मैले परमेश्वरको हातबाट त्यो कचौरा दाखरस लिएँ। म ती जातिहरूमा गएँ अनि त्यो कचौराबाट मैले दाखरस पियाँए। 18 मैले यो दाखरस यरूशलेम र यहूदाका शहरहरूमा खनाइदिएँ। मैले यहूदाका राजाहरू र अगुवाहरूलाई त्यो कचौराबाट दाखरस पिउँन लगाँए। तिनीहरू आज जस्तो देखन्छन, मरुभूमि झैं उजाड, डरलाग्दो चीज अनि खिल्ली र श्रापको पात्र बनाउन मैले तिनीहरूलाई पिलाएँ।
19 मैले मिश्रका राजा फिरऊन, तिनका अधिकारीहरू, महत्वपूर्ण नायकहरू, उनका सबै मानिसलाई परमप्रभुको रीसको दाखरस पिउनु लगाँए।
20 मैले अरबका जम्मै बासिन्दाहरू, ऊजका सबै राजाहरू, पलिश्तीहरूका सबै राजाहरू जसमा अश्कलोन, गाजा, एक्रोन, अश्दोदमा बाँकी रहेका जम्मै मानिसलाई परमप्रभुको रीसको दाखरस पिउनु लगाँए।
21 अनि मैले एदोम, मोआब र अम्मोनिहरूका सबै राजाहरू पनि गाभिन्छन्, सबैलाई परमप्रभुको रीसको दाखरस पिउनु लगाँए।
22 मैले सोर र सीदोनका सबै राजाहरू र जम्मै मानिसलाई परमप्रभुको रीसको दाखरस पिउनु लगाँए।
अनि समुद्रका टापुहरूका राजाहरूलाई यो पिउन लगाँए। 23 ददान, तेमा र बूजका अनि कनपट सम्म केश काट्ने मानिसहरूलाई मैले यो पिउन बाध्य गराँए। 24 मैले अरब देशका र सीमान्तका सारा राजाहरू जो मरुभूमिमा बस्छन्, 25 जिम्री, एलाम र मादैका सारा राजाहरूलाई पनि यो पिउन लगाँए। 26 मैले सारा उत्तरका राजाहरू नजिक र टाढामा भएका राज्यहरूलाई यो पिउनु लगाँए। मैले सबै पृथ्वीका राजाहरूलाई परमप्रभुको क्रोधको कचौराबाट दाखरस पिउन लगाँए। तर “शीशकका”[a] राजाले पनि अन्य जातिहरूले पिए पश्चात पिउनेछन्।
27 “यर्मिया! सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले के भन्नुहुन्छ, ती जातिहरूलाई भनिदेऊ यसकारण परमप्रभुले भन्नुहुन्छ, ‘पिऊ, मात, वान्त गर र लड अनि नउठ किनभने म तिमीहरूका माझमा तरवार पठाइरहेछु।’
28 “ती मानिसहरूले तिम्रो हातबाट कचौरा लिन अस्वीकार गर्छन। तिनीहरूले यसलाई पिउन अस्वीकार गर्छन। तर तिमीले तिनीहरूलाई भन्नेछौ, ‘सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुहुन्छ तिमीहरूले अवश्य नै यो कचौराबाट पिउनेछौ। 29 मैले यरूशलेममाथि जसलाई मेरो नाउँले कहलाइन्छ अनि सायद तिमीहरूले दण्ड पाउँदैनौ भनेर सोचिरहेका होलाऊ, विपत्ति ल्याउन थालिसकेकोछु। म पृथ्वीमा भएका सारा मानिसहरू प्रति आक्रमण गर्न तरवारलाई बोलाउनेछु।’” यो सेनाहरूका परमप्रभुबाट आएको सन्देश हो।
44 “हाम्रा पुर्खाहरूसँग मरूभूमिमा पवित्र मण्डप थियो। कसरी तम्बू बनाउनु मोशालाई परमेश्वरले बताउनु भयो। तिनले परमेश्वरले देखाउनु भएको योजना अनुसार बनाए। 45 तब यहोशूले हाम्रा पुर्खाहरूलाई अरू राष्ट्रहरूको जमीन हत्याउनुमा अगुवाइ गरे। हाम्रा मानिस जमीनभित्र पसे अनि परमेश्वरले अन्य राष्ट्रहरूलाई बाहिर खेद्नु भयो। जब हाम्रा मानिसहरू त्यस नयाँ जमीनमा गए, तिनीहरूले आफूसित त्यही मण्डप लगेर गए। हाम्रा मानिसहरूले त्यो मण्डप आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका थिए, अनि तिनीहरूले त्यसलाई दाऊदको समय सम्म जोगाएर राखे। 46 परमेश्वर दाऊदसँग अत्यन्त खुशी हुनुभयो। दाऊदले परमेश्वरलाई याकूबको परमेश्वरका निम्ति भवन निर्माण गर्न दिनुहोस् भनी परमेश्वरलाई आग्रह गरे। 47 तर सुलेमान (दाऊद का पुत्र) एक मानिस थिए जसले उहाँको लागि मन्दिर निर्माण गरे।
48 “तर मानिसको हातले बनाएको मन्दिरमा सर्वोच्च परमेश्वर बस्नु हुन्न। जस्तो अगमवक्ताले भन्छन्:
49 ‘परमप्रभु भन्नुहुन्छ,
स्वर्ग मेरो सिंहासन हो।
पृथ्वी त्यो ठाउँ हो जहाँ मेरा खुट्टाहरू आराम गर्छन्।
कस्तो प्रकारको घर तिमी मेरो लागि बनाउन सक्छौ?
मैले आराम गर्न सक्ने स्थान त्यहाँ कहाँ छ?
50 के मेरा हातहरूले यी सबै कुराहरू बनाएको होइनन्?’”(A)
51 तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैँ विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ। 52 तिमीहरूका पुर्खाहरूले नसताएका कुनै अगमवक्ता होलान? ती अगमवक्ताहरूले एक धार्मिक आउनु हुन्छ भनेर पहिल्यै भनिसकेका थिए। तर तिमीहरूका पुर्खाहरूले तिनीहरूलाई मारे। अनि अहिले तिमीहरूले एक धार्मिक मानिस प्रति विश्वासघात गर्यौ अनि उहाँलाई मार्यौ। 53 तिमीहरू त्यही मानिसहरू हौ जसले स्वर्गका दूतहरूले दिएको मोशाको व्यवस्थालाई ग्रहण गर्यौ तर पालन गरेनौं।”
© 2004, 2010 Bible League International