Revised Common Lectionary (Complementary)
कोरह परिवारहरूको उपासनाको भजन।
48 परमप्रभु महान् हुनुहुन्छ।
उहाँको पवित्र पर्वतमा, मानिसहरूले हाम्रो परमेश्वरको शहरमा अधिक प्रशंसा गर्दछन्।
2 परमेश्वरको पवित्र शहर यस्तो आनन्दमय उचाइमा छ!
यसले पृथ्वीभरिका मानिसहरूलाई आनन्द दिन्छ!
सियोन पर्वत परमेश्वरको साँच्चो पर्वत[a] हो,
यो महान् राजाको शहर हो।
3 त्यस शहरको राजमहलमा,
परमेश्वरलाई किल्ला भनिन्छ।
4 एक समय, केही राजाहरू आपस्तमा भेट गरे।
तिनीहरूले यस शहरमाथि आक्रमण गर्ने योजना गरे।
तिनीहरू सबैले यस शहरतर्फ कदम बढाए।
5 तर त्यसपछि ती राजाहरू यो शहर देखेर छक्क परे।
तिनीहरू सबै भयग्रस्त भए अनि लम्पट परे!
6 डरले ती राजाहरूलाई कस्सेर समात्यो।
ती राजाहरू डरले कामे।
7 हे परमेश्वर तपाईंले शक्तिशाली पूर्वेली बतास चलाउनु भयो
अनि तिनीहरूका ठूल-ठूला जहाजहरू सबै भताभुङ्ग पारिदिनु भयो।
8 हो, हामीले तपाईंको महान् शक्तिका कथाहरू सुनेका छौं।
तर यसलाई हामीले हाम्रो परमेश्वरको शहरमा पनि देख्यौं,
सर्वशक्तिमान् परमेश्वरको शहरलाई उहाँले अनन्त सम्मको लागि बलियो बनाउनु भयो!
9 हे परमेश्वर, तपाईंको मन्दिरमा तपाईंको प्रेमपूर्ण अनुग्रहलाई हामी सतर्क भएर सोच्दछौं।
10 हे परमेश्वर, तपाईं प्रख्यात हुनुहुन्छ,
मानिसहरूले तपाईंलाई पृथ्वीभरि प्रशंसा गर्दछन्।
तपाईं कति धार्मिक हुनुहुन्छ भनेर सबैलाई थाहा छ।
11 हे परमेश्वर! सियोन पर्वत खुशी हुन्छ।
यहूदाका शहरहरू तपाईंको सही निर्णयले गर्दा रमाउँदछन्।
12 सियोनको चारैतर्फ हिंड्।
शहरमा हेर। त्यहाँका अग्ला महलहरू गन।
13 अग्ला पर्खालहरू हेर,
सियोनका राजमलहरूको प्रशंसा गर।
तब तिमीले आफ्ना भावी सन्तानहरूलाई यसको विषयमा भन्न सक्नेछौ।
14 यी परमेश्वर सदा-सर्वदाका लागि हाम्रा परमेश्वर हुनुहुन्छ।
उहाँले हामीलाई सघैं पथ-प्रर्दशन गर्नु हुनेछ।
बिलामलाई तेस्रो अगमवाणी
24 जब बिलामले चाल पाए कि परमप्रभु इस्राएलीहरूलाई आशीर्वाद दिनमा खुशी हुनुहुन्छ, तिनले आफ्नो जादु टुनाहरू प्रयोग गरेनन्, तर तिनी मरुभूमि तिर फर्केर हेरे। 2 जब बिलामले मरुभूमि तिर हेरे तिनले इस्राएली मानिसहरूलाई आफ्नो-आफ्नो कुल गरि छाउनीहरूमा बसेको देखे। त्यसपछि परमेश्वरको आत्मा तिनीभित्र आयो। 3 अनि बिलामले यो अगमवाणी दिएः
“यो समाचार बओरका छोरो बिलामबाट हो।
म ती चीजहरूको विषयमा भन्दैछु जो म स्पष्ट देख्छु।
4 म यो वाणी परमेश्वरबाट सुन्छु।
परमेश्वर सर्वशक्तिमानले जे देखाउनु भयो मैले त्यो देखें।
म जो स्पष्ट देख्छु त्यो विनम्र भई भन्छु।
5 “हे याकूबका मानिसहरू हो तिमीहरूका पालहरू कति सुन्दर छन्।
हे इस्राएलका बासिन्दाहरू हो! तिमीहरूका छाउनीहरू कति राम्रा छन्।
6 तिमीहरूको पालहरू
नदी किनारका बगैंचाहरू जस्तै
एकै पंक्तीमा रोपिएका ताड़का रूखहरू फैलिए जस्तै,
परमप्रभुले रोप्नु भएको घिउकुमारी जस्तै,
पानी नेरको देवदारहरू जस्तै
फैलिएका छन्।
7 तिनीहरूका बाल्टीहरू पानीले भरिएर पोखिनेछन्,
अनि तिनीहरूका बीउहरूले प्रशस्त पानी पाउने छन्।
तिनीहरूका राजा अगाग भन्दा ठूलो हुनेछ,
अनि तिनीहरूको राज्य बढ्नेछ।
8 “परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट ल्याउनु भयो,
तिनीहरूको निम्ति जंङ्गली साँढेको सींङ जस्तै शक्तिशाली हुनुहुन्छ।
ती इस्राएलीहरूले आफ्नो शत्रुहरूलाई निल्नेछन्,
र तिनीहरूको हड्डी फुटाएर चूर पर्नेछन्।
अनि तिनीहरूलाई आफ्नो बाणहरूले छेड्नेछन्।
9 विश्राममा तिनीहरू
सिंह झैं सुत्नेछन्,
अनि तिनीहरू जवान सिंहहरू झैं छन्,
तिनीहरूलाई कसले बियूँझाउँने?
तिनीहरूलाई आशीर्वाद दिने आशीषित हुन्छन्,
अनि तिनीहरूलाई सराप्ने श्रापित हुन्छन्।”
10 बिलामसित बालाक रिसाएर हात पक्डिएर, तिनले बिलामलाई भने, “मैले तिमीलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएको थिएँ तर तिमीले तिनीहरूलाई तीन पल्ट आशीर्वाद दियौ। 11 अब तिमी झट्टै आफ्नो घरमा जाऊ। मैले भनेको थिएँ कि म तिमीलाई ठूलो सम्मान दिनेछु, तर परमप्रभुले तिमीलाई सम्मान पाउनुबाट बन्चित गराउनु भयो।”
12 बिलामले बालाकलाई भन्यो, “के मैले तिम्रा दूतहरूलाई भनेको थिईनँ। 13 ‘यदि बालाकले सुन र चाँदीले परिपूर्ण महल दिए पनि म परमप्रभुको आज्ञा विरूद्ध केही गर्दिनँ? म त्यही गर्छु जो परमप्रभुले भन्नुहुन्छ।’ 14 अब म आफ्नो घरमा फर्केर जान्छु। तर म तिमीलाई चेतावनी दिन्छु कि यी इस्राएलका मानिसहरूले तिमी र तिम्रा मानिसहरूलाई भविष्यमा के गर्नेछन्, सुन।”
कन्या मरियम
26-27 इलीशिबाको छैटौं महीनामा, गालीको एउटा शहर नासरतमा बस्ने एउटी कन्याकहाँ परमेश्वरले एउटा गाब्रिएल नाउँ गरेको दूतलाई पठाउनु भयो। तिनी दाऊदको परिवारको यूसुफ नाउँ गरेको एक मानिससँग मगनी भएकी थिइन्। ती कन्याको नाउँ मरियम थियो। 28 ती स्वर्गदूत मरियमकहाँ गए अनि भने, “शुभकामना छ। परमप्रभु तिमीसितै हुनुहुन्छ। तिमी उहाँको खुवै प्रिय छौ।”
29 तर त्यो स्वर्गदूतले भनेका यी कुराहरूमा मरियम खुबै विचलित भइन्। मरियम छक्क परिन् र भनिन् “यो अभिवादन को अर्थ के हो?”
30 ती दूतले उनलाई भने, “डराउनु पर्दैन मरियम, किनभने परमेश्वर तिमीसित अत्यन्त खुशी हुनुहुन्छ। 31 सुन! तिमी गर्भवती हुनेछौ अनि तिमीले एउटा छोरो जन्माउनेछौ। अनि उहाँको नाउँ तिमीले येशू राख्नु। 32 उहाँ महान् हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाईनु हुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। 33 उहाँले याकूबका घरानामाथि सधैँका लागि शासन गर्नुहुनेछ। येशूको राज्यको अन्त्य कहिल्यै हुनेछैन।”
34 मरियमले ती स्वर्गदूतलाई भनिन्, “म कन्या नै छु, यस्तो कसरी हुन सक्छ?”
35 ती स्वर्गदूतले मरियमलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ अनि सर्वशक्तिमान परमेश्वरको शक्तिले तिमीलाई ढाक्नेछ। यसकारणले जो जन्मनुहुन्छ उहाँ परमेश्वरको पुत्र कहलाइनु हुनेछ। 36 यस विषयमा ध्यान देऊः तिम्रो आफन्त इलीशिबा पनि गर्भवती छिन् तिनको अवस्था वृद्ध अनि बाँझी कहलाइएता पनि अहिले तिनी छ महीनाबाट गर्भवती भएकी छिन्। 37 किनभने परमेश्वरमा जे कुरा पनि सम्भव छ।”
38 मरियमले भनिन् “म परमप्रभुकी दासी हुँ। तपाईंले भने जस्तो ममाथि हुनदिनुहोस्।” त्यसपछि दूत उनीबाट विदा भए।
© 2004, 2010 Bible League International