Revised Common Lectionary (Complementary)
दाऊदको प्रार्थना।
17 हे परमप्रभु, न्यायको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।
म तपाईंलाई उच्च स्वरमा पुकार्दैछु।
अनि मैले भनेका कुरामा म ईमान्दार छु।
यसैले मेरो प्रार्थनाप्रति ध्यान दिनुहोस्।
2 तपाईं मेरो विषयमा सही निर्णय लिनु हुनेछ
किनभने तपाईं सत्य देख्न सक्नु हुन्छ।
3 तपाईंले मेरो हृदयलाई गहिरो हेर्नु भएको छ
तपाईं रातभरि मसँग हुनुहुन्थ्यो।
तपाईंले मलाई प्रश्न गर्नु भयो अनि केही दोषहरू पाउनु भएन।
मैले कुनै खराब योजना बनाइनँ।
4 मैले जहाँसम्म एकजना मानवको निम्ति सम्भव छ
त्यतिनै मैले तपाईंको आज्ञाहरू पालन गर्ने चेष्टा गरेको छु।
5 मैले तपाईंको पथ अनुशरण गरेकोछु।
मेरो पाइलाहरूले तपाईंले बताउनु भएको बाँच्ने तरिका कहिल्यै छोडेका छैनन्।
6 हे परमेश्वर, प्रत्येक पल्ट मैले तपाईंलाई बोलाएँ।
तपाइँले मलाई जवाफ दिनुभयो।
यसैले अब मेरो कुरा सुन्नु होस्।
7 हे परमेश्वर, तपाईंले ती मानिसहरूलाई सहयोग गर्नुभयो,
जसले तपाईंमाथि भरोसा गरे।
तिनीहरू तपाईंको दाहिनेतर्फ उभिएका छन्।
त्यसैले यो प्रार्थना तपाईंले आफ्ना भक्तजनहरू मध्ये एकजनाबाट सुन्नु होस्।
8 तपाईंले आफ्नो आँखाको नानी जस्तै मेरो रक्षा गर्नुहोस्।
तपाईंको छत्रछाँयामुनि मलाई लुकाउनु होस्।
9 हे परमप्रभु, मलाई नष्ट गर्न खोज्ने दुष्ट मानिसहरूबाट जोगाउनु होस्।
मेरो चारैतिरबाट घात पुर्याउन प्रयास गरिरहेका दुष्ट मानिसहरूदेखि मलाई जोगाउनु होस्।
10 तिनीहरूमा दया छैन।
तिनीहरू साह्रै अहंकारी छन्।
तिनीहरूले परमेश्वरका कुराहरू सुन्दैनन्।
11 ती मानिसहरूले मेरो खेदो गरे।
अहिले तिनीहरू मेरो चारैतिर
आक्रमण गर्न तयार छन्।
12 ती दुष्ट मानिसहरू हिंस्रक सिंहहरू जस्तै अन्य प्राणीहरूलाई मारेर खान्छन्।
तिनीहरू सिंहहरू जस्तै लुक्छन् र आक्रमण गर्न तयार रहन्छन्।
13 हे परमप्रभु, उठ्नुहोस र शत्रु तर्फ जानु होस्।
तिनीहरूलाई आत्मासमर्पण गर्न बाध्य पार्नुहोस्।
तपाईंको आफ्नो तरवार चलाउनु होस् र ती दुष्ट मानिसहरूबाट मलाई बचाउँनुहोस्।
14 हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीबाट हटाउनुहोस्।
हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्।
ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्।
तीनीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्।
15 मैले न्यायको निम्ति प्रार्थना गरें। यसैले, हे परमप्रभु, म तपाईंको मुहार हेर्नेछु।
हे परमप्रभु, तपाईंलाई हेरेर, म पूर्ण सन्तुष्ट हुनेछु।
इस्राएलीहरूको गन्ती गरेर दाऊदले पाप गर्छन
21 शैतान इस्राएलका मानिसहरूको विरूद्ध थियो। त्यसले दाऊदलाई इस्राएलका मानिसहरूको गन्ती गर्न उत्साहित तुल्यायो। 2 यसर्थ दाऊदले योआब र मानिसहरूका अगुवाहरूलाई भने, “जाऊ अनि इस्राएलका सबै मानिसहरूको गणना गर। देशमा भएका हरेकको गन्तीगर। बेर्शेबा शहरदेखि दान शहरसम्म। तब मलाई भन, जसद्वारा त्यहाँ कति जना मानिसहरू छन् म जान्ने छु।”
3 तर योआबले भने, “परमप्रभुले उहाँको राष्ट्रलाई सय गुणा विशाल बनाउन्। हजूर, इस्राएलका सबै मानिसहरू तपाईका दास हुन्। तपाई किन यो काम गर्न चाहनुहुन्छ, मेरा परमप्रभु राजा तपाईले इस्राएलका सबै मानिसहरूलाई पापको दोषी तुल्याउनु हुनेछ।”
4 तर राजा दाऊद ढीट थिए। योआबले त्यसै गर्नु पर्यो जो राजाले भने। यसर्थ योआब गए अनि मानिसहरूको गिन्ती गर्दै देश भरि घुमे। त्यस पछि योआब यरूशलेम फर्की आए। 5 अनि कतिजना मानिसहरू थिए सो दाऊदलाई भने। इस्राएलमा 11,00,000 मानिसहरू थिए जो तरवार चलाउन सक्थे। अनि 4,70,000 मानिसहरू यहूदामा थिए जो तरवार चलाउन सक्थे। 6 योआबले लेवी अनि बिन्यामीनका कुल समूहहरूको गिन्ती लिएनन्। योआबले ती अनि परिवार समूहहरूको गणना गरेनन् किनभने तिनलाई दाऊदको आदेश मनपरेन। 7 परमेश्वरको नजरमा दाऊदले नराम्रो कार्य गरेका थिए। यसर्थ परमेश्वरले इस्राएललाई दण्ड दिनु भयो।
परमेश्वरले इस्राएललाई दण्ड दिनु हुन्छ
8 तब दाऊदले परमेश्वरलाई भने, “मैले अति मूर्खतापूर्ण काम गरेकोछु। मैले इस्राएलका मानिसहरूको गणना गरेर अति नराम्रो पाप गरेका छु। त्यसकारण म तपाईको दासबाट यो पाप हटाई दिनुहोस् भनी याचना गर्छु।”
9-10 गाद दाऊदका दर्शी थिए। परमप्रभुले गादलाई भन्नुभयो, “जा, अनि दाऊदलाई भनः ‘परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः म तँलाई तीनवटा रोजाइ दिंदैछु। तैंले ती मध्ये एउटा रोज्नु पर्छ। तब म तैंले रोजे अनुसार दण्ड दिनेछु।’”
11-12 तब गाद दाऊद कहाँ गए र गादले दाऊदलाई भने, “परमप्रभु यही भन्नुहुन्छ, ‘दाऊद रोज कुन चाँही दण्ड तिमी चाहन्छौ? अनिकालको तीन बर्ष, वा तीन महीनासम्म तेरो शत्रुहरू देखि भागी हिँड्नु जब तिनीहरू आफ्ना तरवार लिएर तँलाई खेद्नेछन् अथवा परमप्रभुबाट तीन दिनको दण्ड। या भयानक रूढ़ी देश भरि फैलिने छ अनि परमप्रभुका स्वर्गदूतले मानिसहरूलाई ध्वंश गर्दै इस्राएलको चारैतिर जानेछन्।’ दाऊद, परमेश्वरले मलाई पठाउनु भएको हो। अब तपाईंले निर्णय गर्नुहोस्, कुन उत्तर मैले उहाँलाई दिनु?”
13 दाऊदले गादलाई भने, “म संकष्टमा परेको छु। म कुनै मानिसले मलाई दण्ड दिएको फैसला चाहँदिन। परमप्रभु दयालू हुनुहुन्छ यसकारण मलाई उहाँको हातमा पर्न दिनोस्।”
14 यसर्थ परमप्रभुले इस्राएलमा भयंकर रोगहरू पठाउनुभयो अनि 70,000 मानिसहरू मरे। 15 परमेश्वरले एउटा स्वर्गदूतलाई यरूशलेम ध्वंश त गर्न पठाउनु भयो। तर जब ती स्वर्ग दूतले यरूशलेमलाई ध्वंशत गर्न शुरू गरे परमप्रभुले त्यो देख्नु भयो अनि उहाँलाई दुःख लाग्यो यसर्थ परमप्रभुले यरूशलेमलाई नाश नपार्ने निश्चय गर्नुभयो। परमप्रभुले स्वर्गदूतलाई जो नाश गर्दै थिए, भन्नुभयो, “रोक! यति नै पर्याप्त छ।” परमप्रभुका स्वर्गदूत यबूसी ओर्नानको खलामा उभिएका थिए।
16 दाऊदले माथितिर हेरे अनि परमप्रभुका स्वर्गदूतलाई आकाशमा देखे। स्वर्गदूतले तिनको तरवार यरूशलेम शहर माथि समातिरहेका थिए। तब दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना शिरलाई भूईँ छुनेगरि झुकाएर प्रणाम गरे। दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति विशेष वस्त्र पहिरेका थिए। 17 दाऊदले परमेश्वरलाई भने, “म त्यही एक हुँ जसले पाप गर्यो। मानिसहरूको गन्ती गर्नका निम्ति मैले नै आदेश गरेको थिएँ। म अन्जानमा थिएँ। इस्राएलका मानिसहरूले केही भूल गरेका थिएनन्। परमप्रभु मेरा परमेश्वर, मलाई र मेरो परिवारलाई दण्ड दिनुहोस्। तर यो भयानक रोगहरूलाई रोक्नुहोस् जसले तपाईंका मानिसहरूलाई मारिरहेछ।”
येशू हाम्रा सहयोगी हुनुहुन्छ
2 मेरा प्रिय नानीहरू, म तिमीहरूलाई यो पत्र लेखिरहेकोछु, जसमा कि तिमीहरूले पाप गर्ने छैनौ। तर यदि कुनै व्यक्तिले पाप गर्छ भने, येशू ख्रीष्टले पिताको अघि हामीलाई बचाउनु हुनेछ। येशू धर्मी हुनुहुन्छ।
2 येशू हाम्रो पाप क्षमा गर्ने माध्यम हुनुहुन्छ अनि सम्पूर्ण संसारका मानिसहरूको पापहरू पनि क्षमा गराउनुहुन्छ।
3 यदि उहाँको आदेश पालन गर्यौं भने हामी निश्चित हुन्छौं कि हामीले परमेश्वरलाई चिन्यौं। 4 एक व्यक्तिले भन्न सक्छ, “म परमेश्वरलाई चिन्छु।” तर यदि त्यस व्यक्तिले परमेश्वरका आदेशहरूको पालन गर्दैन भने त्यो मानिस झूटो हो, उसकोमा सत्य हुँदैन। 5 तर एक व्यक्तिले परमेश्वरको शिक्षा पालन गर्छ तब त्यस व्यक्तिमा परमेश्वरको प्रेमको लक्ष्य रहेको हुन्छ। यसरी नै हामी जान्न सक्छौ कि हामी परमेश्वरको अनुशरण गरिरहेछौ। 6 यदि कुनै व्यक्तिले ऊ परमेश्वरमा बाँच्न चाहन्छ भने ऊ येशू बाँचे झैं बाँच्नु पर्छ।
© 2004, 2010 Bible League International