Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 38

सम्झनाको निम्ति दाऊदको भजन।

38 हे परमप्रभु, तपाईंको क्रोधमा मलाई निन्दा नगर्नु होस्।
    तपाईंको क्रोधमा हुँदा मलाई दण्ड नदिनुहोस्।
हे परमप्रभु, तपाईंले मलाई आघात गर्नु भएको छ।
    तपाईंको काँडाहरू गहिरिएर मभित्र गाडिए।
तपाईंले मलाई दण्ड दिनुभयो।
अहिले मेरो सम्पूर्ण शरीर शिथिल भएको छ।
    मैले पाप गरें र तपाईंले मलाई दण्ड दिनुभयो, यसैले मेरो सारा हाडहरू कट्-कट् दुःखीरहे छन्।
म अधर्म कामहरूको दोषी छु, अनि त्यो दोषको भारी बोकेको छु।
    म टाउको उठाएर हिंड्न पनि लज्जित छु।
मैले मूर्ख कामहरू गरें।
    अब मेरो घाउ खटिराहरूले दुर्गन्ध दिंदैछन।
म कुप्रिएँ र साह्रै ज्यादा झुकेको छु,
    म दिनभरि हताश-हताश हुन्छु।
मलाई ज्वरो आएको छ,
    अनि मेरो सम्पूर्ण शरीर कट्-कट् खाइरहेछ।
म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिनँ।
    मेरो दुःखेको मुटुले मलाई रूने बनाएको छ।
मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो।
    मेरो सुस्केरा तपाईंबाट लुकेको छैन।
10 मेरो मुटु झन्-झन् ढुक्‌ढुक् गरिरहेको छ।
    मेरो बल तुरिन्दै गइरहेको छ, अनि म अन्धो हुन लागिरहेको छु।
11 मेरा बिमारीको कारणले गर्दा,
    मेरा मित्रहरू र मेरो छिमेकीहरू हेर्नसम्म आउने छैनन्।
    मेरो परिवार सम्म मेरो नजिकै आउँदैनन्।
12 मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्।
    तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिंजाइरहेका छन्।
    सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्।
13 तर म बहिरो मानिस जस्तो छु जसले सुन्न सक्तैनन्।
    म त्यो मुख नउघार्ने मानिस जस्तो छु जसले बोल्न सक्तैनन्।
14 म त्यो सुन्न नसक्ने मानिस जस्तो छु जसलाई मानिसहरूले के भनिरहेछ थाहा हुँदैन।
    म मेरा शत्रुहरू गल्ती छन् भनेर कुनै तर्क गर्न सक्तिनँ र प्रमाणित पनि गर्न सक्तिनँ।
15 किनभने हे परमप्रभु, आफ्नो रक्षाको निम्ति म तपाईंलाई पर्खिरहेको छु।
    हे परमेश्वर, मेरो स्वामी तपाईंले मलाई जवाफ दिनु हुनेछ।
16 यदि मैले केही कुरा गरें भने शत्रुहरूले मलाई खिसी गर्छन्।
    तिनीहरूले बिमारी अवस्था देख्नेछन् कि म बिमारी छु अनि भन्नेछन् कि मेरो बिमार मेरै दुष्टकर्मको सजाय हो।
17 म जान्दछु गल्ती कार्यहरू गरेकोले म दोषी छु।
    म मेरो पीडा बिर्सिन सक्तिनँ।
18 हे परमप्रभु, मैले आफ्ना कुकार्यहरूको विषयमा तपाईंलाई भने।
    म आफ्नो पापहरूको विषयमा दुःखी छु।
19 मेरा शत्रुहरू जिउँदा र स्वस्थ छन्,
    अनि तिनीहरूले धेरै-धेरै झूटा कुराहरू भने।
20 मेरा शत्रुहरूले मतर्फ कुकार्यहरू गरे
    अनि मैले तिनीहरूको निम्ति खाली सुकार्य गरें।
मैले सुकार्य गर्ने प्रयास मात्र गरें,
    तर तिनीहरू मेरो विरूद्धमा नैं उठे।
21 हे परमप्रभु, मलाई नत्याग्नु होस्।
    हे मेरो परमेश्वर, मेरो हितैषी भएर बस्नुहोस्!
22 चाँडै आउनुहोस् र मलाई सहयोग गर्नु होस्!
    हे मेरो परमेश्वर, मेरो रक्षा गर्नुहोस्!

लेवी 5:1-13

विभिन्न संभोगका पापहरू

“यदि कसैले यस्तो प्रकारले पाप गरे जसमा त्यो मानिस आफ्नै आँखाले प्रत्यक्ष देखेको अथवा कानले सुनेको कुरोमा साक्षी भएर पनि भन्दैन भने ऊ त्यस कामको निम्ति पापी हो, अनि उसले त्यस पापको निम्ति सजाय भोग्नु पर्छ।

“अथवा कोही मानिस अशुद्ध चीज छुन्छ भने जंगली अथवा पाल्तू पशु अथवा उड्ने पंक्षीको मृत देह छुन्छ, तर कुनै कारणवश त्यो उसले बिर्सन्छ भने त्यस कामको निम्ति ऊ दोषी अनि अशुद्ध बनिन्छ।

“एक जना मानिसले मानिएको अशुद्ध अथवा यस्तो कुनै चीज छुन्छ जसले उसलाई अशुद्ध बनाउँछ तर उसले थाहा पाउँदैन, तर जब त्यस मानिसले यस विषयमा थाहा पाउँछ तब ऊ दोषी हुनेछ।

“अथवा एकजना मानिसले केही राम्रो अथवा नराम्रो काम गर्ने प्रतिज्ञा गर्छ। उसले विचार अनि आफ्नो प्रतिज्ञा बिर्सन्छ। तर जब पछि उसले आफ्नो प्रतिज्ञाको सम्झना गर्छ, तब उसलाई दोषी ठहराइनेछ। जब ऊ त्यस्तो कुनै कुरामा दोषी ठहरिन्छ भने, उसले कसरी पाप गर्यो त्यो स्वीकार गर्नुपर्छ। अनि उसको पाप प्रायश्चितको निम्ति, उसले एउटा जवान भेंडा अथवा बाख्राको पाठी उसको बथानबाट एउटा दोषबलि जस्तै परमप्रभु कहाँ ल्याउनु पर्छ। यस प्रकारले पूजाहारीले त्यो मानिसको पापबाट मुक्त गराउनको लागि प्रायश्चित कार्य गर्नेछ।

“यदि उसले आफ्नो दोषबलि चढाउन भेंडा अथवा बाख्राको पाठीको व्यवस्था गर्न सक्तैन भने, उसले परमप्रभुलाई दोषबलि चढाउनलाई अथवा पापबाट मुक्त हुन र अर्को होमबलिको निम्ति एक जोडी परेवा अथवा ढुकुर ल्याउनुपर्छ। उसले त्यो ढुकुर अथवा परेवाको जोडी पूजाहारीकहाँ ल्याउनुपर्छ र पूजाहारीले एउटा चाँहि पहिले पापबलिको निम्ति चढाओस्। उसले त्यसको घाँटी अँठ्ठाएर टाउको निमोठोस तर त्यसलाई चुँढाई नहालोस्। तब उसले पापबलिको केही रगत शुद्धताको निम्ति वेदीको पाटामा छर्कियोस अनि बाँकी रगत वेदीको आधारमा खँन्याई दियोस्। यो पापबलि हो। 10 त्यसपछि पूजाहारीले अर्को चाँहि ढुकुर परेवा नियमानुसार होमबलि चढाओस्। यस्तो प्रकारले पूजाहारीले त्यस पाप गर्ने मानिसलाई उसको पापबाट शुद्ध गराओस् अनि त्यो मानिसले क्षमा पाउँछ।

11 “यदि कुनै मानिसले दुइवटा ढुकुरहरू अथवा दुइवटा परेवाहरू किन्न सक्दैन भने। भने तब उसले आफ्नो पापबाट मुक्ति पाउनलाई आठ बटुको मिहिन पीठो चढाउनु पर्छ। उसले पीठोसित तेल मिसाउनु हुदैन अनि कुनै सुगन्धित धूप पनि त्यसमा मिसाउनु हुँदैन किनभने त्यो भेटी पापबलिको निम्ति हुनुपर्छ। 12 उसले त्यो पिठो पूजाहारीकहाँ ल्याओस् अनि पूजाहारीले त्यसबाट सम्झना स्वरूप एक मुठ्ठी पीठो निकालेर परमप्रभुको निम्ति अग्निहोममाथि वेदीमा जलाओस्। यो पापबलि हो। 13 यस प्रकार पूजाहारीले त्यस व्यक्तिलाई उसले गरेको पापबाट क्षमा गराउनेछन्। बाँकी रहेको अन्न चाँहि पूजाहारीको निम्ति अन्नबलि जस्तै हुन्छ।”

लूका 17:1-4

पापको कारण नबन र सधैँ क्षमा गर्न तयार होऊ

(मत्ती 18:6-7,21-22; मर्कूस 9:42)

17 येशूले उहाँको चेलाहरूलाई भन्नुभयो, “मानिसमा पाप गराउने घट्नाहरू घट्छन् नै। तर जसले त्यसो गर्छ, उसलाई अत्यन्तै दुःख हुन्छ। त्यो मानिस जो दुर्वल मानिसहरूमाथि अन्याय गर्छ त्यसले कठोर प्रतिफल भोग्नु पर्छ। तर त्यसको लागि गलामा जाँतो बाँधेर सागरमा फ्याँकिनु असल हुनेछ। यसकारण होशियार बस।

“यदि तिम्रो भाइले पापहरू गर्दैछ भने उसको दोष देखाइ देऊ। तर उसले पश्चाताप गर्छ र पाप गर्न बन्द गर्छ भने उसलाई क्षमा गर। तिम्रो भाइ यदि दिनमा सातवटा भूल गर्छ र यदी उसले प्रत्येक पल्ट नै भूल स्वीकार्छ भने उसलाई क्षमा गर्नु।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International