Revised Common Lectionary (Complementary)
सम्झनाको निम्ति दाऊदको भजन।
38 हे परमप्रभु, तपाईंको क्रोधमा मलाई निन्दा नगर्नु होस्।
तपाईंको क्रोधमा हुँदा मलाई दण्ड नदिनुहोस्।
2 हे परमप्रभु, तपाईंले मलाई आघात गर्नु भएको छ।
तपाईंको काँडाहरू गहिरिएर मभित्र गाडिए।
3 तपाईंले मलाई दण्ड दिनुभयो।
अहिले मेरो सम्पूर्ण शरीर शिथिल भएको छ।
मैले पाप गरें र तपाईंले मलाई दण्ड दिनुभयो, यसैले मेरो सारा हाडहरू कट्-कट् दुःखीरहे छन्।
4 म अधर्म कामहरूको दोषी छु, अनि त्यो दोषको भारी बोकेको छु।
म टाउको उठाएर हिंड्न पनि लज्जित छु।
5 मैले मूर्ख कामहरू गरें।
अब मेरो घाउ खटिराहरूले दुर्गन्ध दिंदैछन।
6 म कुप्रिएँ र साह्रै ज्यादा झुकेको छु,
म दिनभरि हताश-हताश हुन्छु।
7 मलाई ज्वरो आएको छ,
अनि मेरो सम्पूर्ण शरीर कट्-कट् खाइरहेछ।
8 म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिनँ।
मेरो दुःखेको मुटुले मलाई रूने बनाएको छ।
9 मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो।
मेरो सुस्केरा तपाईंबाट लुकेको छैन।
10 मेरो मुटु झन्-झन् ढुक्ढुक् गरिरहेको छ।
मेरो बल तुरिन्दै गइरहेको छ, अनि म अन्धो हुन लागिरहेको छु।
11 मेरा बिमारीको कारणले गर्दा,
मेरा मित्रहरू र मेरो छिमेकीहरू हेर्नसम्म आउने छैनन्।
मेरो परिवार सम्म मेरो नजिकै आउँदैनन्।
12 मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्।
तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिंजाइरहेका छन्।
सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्।
13 तर म बहिरो मानिस जस्तो छु जसले सुन्न सक्तैनन्।
म त्यो मुख नउघार्ने मानिस जस्तो छु जसले बोल्न सक्तैनन्।
14 म त्यो सुन्न नसक्ने मानिस जस्तो छु जसलाई मानिसहरूले के भनिरहेछ थाहा हुँदैन।
म मेरा शत्रुहरू गल्ती छन् भनेर कुनै तर्क गर्न सक्तिनँ र प्रमाणित पनि गर्न सक्तिनँ।
15 किनभने हे परमप्रभु, आफ्नो रक्षाको निम्ति म तपाईंलाई पर्खिरहेको छु।
हे परमेश्वर, मेरो स्वामी तपाईंले मलाई जवाफ दिनु हुनेछ।
16 यदि मैले केही कुरा गरें भने शत्रुहरूले मलाई खिसी गर्छन्।
तिनीहरूले बिमारी अवस्था देख्नेछन् कि म बिमारी छु अनि भन्नेछन् कि मेरो बिमार मेरै दुष्टकर्मको सजाय हो।
17 म जान्दछु गल्ती कार्यहरू गरेकोले म दोषी छु।
म मेरो पीडा बिर्सिन सक्तिनँ।
18 हे परमप्रभु, मैले आफ्ना कुकार्यहरूको विषयमा तपाईंलाई भने।
म आफ्नो पापहरूको विषयमा दुःखी छु।
19 मेरा शत्रुहरू जिउँदा र स्वस्थ छन्,
अनि तिनीहरूले धेरै-धेरै झूटा कुराहरू भने।
20 मेरा शत्रुहरूले मतर्फ कुकार्यहरू गरे
अनि मैले तिनीहरूको निम्ति खाली सुकार्य गरें।
मैले सुकार्य गर्ने प्रयास मात्र गरें,
तर तिनीहरू मेरो विरूद्धमा नैं उठे।
21 हे परमप्रभु, मलाई नत्याग्नु होस्।
हे मेरो परमेश्वर, मेरो हितैषी भएर बस्नुहोस्!
22 चाँडै आउनुहोस् र मलाई सहयोग गर्नु होस्!
हे मेरो परमेश्वर, मेरो रक्षा गर्नुहोस्!
दाऊदले शाऊललाई लाजमर्दो बनाएको
24 शाऊलले पलिश्तीहरूलाई खेदिसकेपछि मानिसहरूले शाऊललाई भने, “दाऊद त एनगदीको नजिककै मरुभूमिमा छ।”
2 सारा इस्राएलबाट शाऊलले 3,000 मानिसहरूलाई छाने। शाऊलले ती छानिएका मानिसहरू लिएर दाऊद र तिनका मानिसहरूको खोजी गर्न थाले। तिनीहरूले घोरल-चट्टानको छेउछाउमा खोजे। 3 शाऊल बाटो छेउको भेंडा गोठमा आए। त्यहाँ छेउमा एउटा गुफा थियो। शाऊल आफैंलाई लुकाउन गुफा भित्र पसे। दाऊद र तिनका मानिसहरू धेरै पर गुफाभित्र लुकिरहेका थिए। 4 मानिसहरूले दाऊदलाई भने, “आज परमप्रभुले भन्नुभएको दिन होइन? उहाँले तपाईंलाई भन्नु भएको थियो, ‘तिम्रो शत्रुलाई म तिम्रो हातमा सुम्पिदिनेछु, त्यसपछि तिम्रो इच्छानुसार तिम्रो शत्रुलाई जे गर्छौ गर।’”
त्यसपछि दाऊद घस्रँदै-घस्रँदै शाऊलको छेउ पुगे। दाऊदले शाऊलको खास्टोको एक टुक्रा चाल नपाई काटिदिए। 5 पछि दाऊदलाई शाऊलको टुक्रा खास्टो काटेकोमा नराम्रो लाग्यो। 6 दाऊदले मानिसहरूलाई भने, “परमप्रभुले मलाई आफ्नो मालिकलाई क्षति गर्नबाट रोकुन्। शाऊल परमप्रभुले छान्नु भएको राजा हुन् र मैले त्यसो नगरको भए हुने थियो।” 7 दाऊदले यसो भनेर आफ्ना मानिसहरूलाई रोकी राखे। उसले तिनीहरूलाई शाऊललाई हानि गर्न अनुमति दिएनन्।
शाऊल गुफा छोडेर आफ्नै बाटो लागे। 8 दाऊद गुफाबाट निस्किएर आए र शाऊललाई बोलाउँदै भने, “हे मेरो प्रभु! महाराजा!”
शाऊलले पछि फर्केर हेरे। दाऊदले शिर झुकाए। 9 दाऊदले शाऊललाई भने, “जब मानिसहरूले भन्छन्, ‘दाऊदले तपाईंलाई चोट पुर्याउने योजना बनाइरहेछ’? तपाईंले किन तिनीहरूको कुरा सुन्नुभयो। 10 म तपाईंलाई हानि पुर्याउने छैन। तपाईं आफ्नै आँखाले देख्न सक्नुहुन्छ। परमप्रभुले तपाईंलाई आज मेरो हातमा गुफामै सुम्पिदिनु भएको थियो। तर मैले तपाईंको हत्या गरिन। तपाईंमाथि म कृपालु भएँ। मैले भनें, ‘म मेरो मालिकलाई हानि गर्ने छैन। किनभने उनी परमप्रभुले छान्नु भएको राजा हुन्।’ 11 यो लुगाको टुक्रा मेरो हातमा हेर्नुहोस्। मैले यो टुक्रा तपाईंको खास्टोबाट काटेको हुँ। म तपाईंलाई मार्न सक्थें, तर मैले त्यसो गरिनँ। यो कुरा तपाईंलाई थाहा होस् भन्ने म चाहान्छु। म तपाईंलाई यो जनाउन चाहान्छु कि तपाईंको विरूद्धमा मैले कुनै योजना बनाएको छैन। मैले तपाईंलाई कुनै अनिष्ट गरेको छैन। तर तपाईं मेरो पछि लागेर मलाई मार्न चाहानुहुन्छ। 12 परमप्रभुले नै यसको न्याय गर्नुहुन्छ। मलाई गर्नु भएको अत्यचारको बद्ला परमप्रभुले तपाईंलाई दण्डित तुल्याउनु हुनेछ। तर म आफैं तपाईंको विरूद्धमा जाँदिन। 13 त्यहाँ एउटा पूरानो भनाइ नै छ,
‘खराब कुरा दुष्ट मानिसहरूबाट फैलिन्छ।’
“मैले कुनै नराम्रो गरिनँ। म दुष्ट मानिस पनि त होइन। म तपाईंलाई हानि गर्नेछैन। 14 तपाईंले कसलाई खेदो गर्नु भएको छ? इस्राएलका राजा कसको विरूद्धमा आक्रमणमा ओर्लिएका छन्? तपाईंले आफ्ना वास्तविक शत्रुलाई खेदिरहनु भएको छैन। तपाईं मरेको कुकुर अथवा उपियाँको पछि लाग्नु जस्तै हो। 15 परमप्रभुले यस मामलामा न्याय गर्नुहुनेछ। उहाँले नै हामी दुइ बीचमा निर्णय गरून्। जब उहाँले तपाईंबाट मलाई जोगाउनु हुन्छ परमप्रभु आफैंले देखाउनु हुनेछ कि म सही छु।”
16 दाऊद चुप्प लागे अनि शाऊलले सोधे, “यो तिम्रो आवाज हो, मेरो छोरा दाऊद?” त्यसपछि शाऊल रूनथाले शाऊल धेरै नै रोए। 17 शाऊलले भने, “तिमी म भन्दा धर्मी अनि असल छौ तिमीले म प्रति असल काम गर्यौ, तर म नै तिम्रो विरूद्धमा थिएँ। 18 मेरो लागि गरेका असल कामहरूका बारे तिमीले भन्यौ। परमप्रभुले नै मलाई तिम्रो सामु ल्याउनु भयो। तर तिमीले मलाई केही गरेनौ। 19 यसले यो देखाउँछ म तिम्रो शत्रु होइन। मानिसले शत्रुलाई सहजै पक्रन सक्दैन र सहजै छोड्दैन पनि उसले शत्रुलाई राम्रो गर्दैन। परमप्रभुले तिमीलाई इनाम दिनुहुन्छ, कारण तिमीले मलाई केही गरेनौ। 20 म जान्दछु तिमी राजा हुने नै छौ। तिमीले इस्राएल माथि शासन गर्ने नै छौ। 21 अब मलाई एउटा वचन देऊ। परमप्रभुको शपथ खाएर वचन देऊ कि मेरो सन्तानहरू कसैलाई पनि मार्ने छैनौ। मेरा पिताको परिवारबाट मेरो नाउँ निशान हटाउँने छैनौ।”
22 दाऊदले शाऊलसँग शपथ खाए। दाऊदले शाऊलका सन्ताहरू कसैलाई पनि मार्ने छैनन् भन्ने वचन सुनेर शाऊल घरतिर फर्के। दाऊद र तिनका मानिसहरू किल्लातिर लागे।
प्रभुको भोज
17 अब यी विषयहरूमा म तिमीहरूलाई भन्छु, तिमीहरूको प्रशंसा गर्दिन। तिमीहरूका सभाले सहायता भन्दा तिमीहरूलाई खति नै गर्छ। 18 पहिलो कुरो त, म सुन्दैछु कि मण्डलीमा जब तिमीहरू भेला हुँदछौ तिमीहरू बाँडिन्छौ। अनि केही अंशमा म यस कुरालाई पत्याउँछु। 19 तिमीहरूको बीचमा फाटो आउनु आवश्यक छ, त्यसले तिमीहरू मध्ये को चाँहि वास्तविक विश्वासी हो थाहा हुन्छ।
20 जब तिमीहरू सबै एकत्र हुन्छौ तिमीहरूले वास्तवमा प्रभुको भोज खाइरहेका हुँदैनौ। 21 किनभने जब तिमीहरू खान्छौ एउटाले अर्कालाई नपर्खी खान्छौ। कतिले अलिकति पनि खानै वा पिउनै नपाई कति चाँहि टन्न भइसक्छन्। 22 तिमीहरू आफ्नै घरमा खान अनि पिउन सक्छौ! यस्तो लाग्छ, तिमीहरू सोच्छौ कि परमेश्वरको मण्डली महत्वहीन छ। जो गरीब छ तिनलाई तिमीहरू शरममा पार्दछौ। म के भनुँ? म तिमीहरूको प्रशंसा गर्दिन।
27 त्यसैकारण कसैले अयोग्य रीतिले रोटी खान्छ वा कचौराबाट पिउँछ भने, उसले प्रभुको शरीर र रगतको विरुद्ध पाप गर्छ। 28 हरेकले रोटी खान र कचौराबाट पिउन अघि आफ्नो हृदय जाँच्नु पर्छ। 29 यदि कसैले त्यो प्रभुको शरीर हो भन्ने नचिनी रोटी खायो र कचौराबाट पियो भने उसको ख्वाई र पियाईले आफैंमा न्यायाकोलागि दण्ड निम्त्याउछ। 30 त्यसै कारणले तिमीहरूका समाजमा धेरैजना रोगी औ कमजोरीहरू छन् र कति मरेर गए 31 तर हामीले आफैंलाई ठीकसित जाँच्यौं भने परमेश्वरले हामीलाई जाँच्न हुँदैन। 32 तर जब प्रभूले हामीलाई जाँच्नु हुन्छ उहाँले सही मार्ग प्रदर्शनको लागि हामीलाई अनुशासित गराउनु हुन्छ ताकि यो संसारका अरू मानिसहरू सरह तिमीहरूलाई दण्ड नहोस् भनी उहाँले यसो गर्नु हुन्छ।
33 यसैले मेरा दाज्यू-भाइ, दिदी-बाहिनीहरू हो, जब तिमीहरू खानका निम्ति भेला हुन्छौ एका-अर्कालाई पर्ख।
© 2004, 2010 Bible League International