Revised Common Lectionary (Complementary)
मन्दिरमा गइरहेको बेलाको भजन।
126 जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ
त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ।
2 हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ।
अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्,
“परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भूत काम गर्नुभयो।”
3 हो, हामी अत्यन्त खुशी हुनेछौं
यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने।
4 परमप्रभु, हामीलाई फेरि एकपल्ट स्वतंत्र पार्नुहोस्,
जसरी झरना र बग्दा पानीले एकपल्ट मरुभूमि भरिनेछ।
5 एकजना मानिस उदास हुन सक्ला जब उसले बीऊहरू छर्दछ।
तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।
6 त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ,
तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ।
इस्राएलको दण्ड समाप्त हुनेछ
40 तिमीहरूका परमेश्वरले भन्नुहुन्छ,
“मेरा मानिसहरूलाई सान्त्वना देऊ, सान्त्वना देऊ।
2 नम्र भएर यरूशलेमलाई भन,
‘तिमीहरूको सेवाको अवधि सकिएको छ।
तिमीहरूले आफ्नो पापको प्रायश्चित गरिसकेका छौ।’
परमप्रभुले यरूशलेमलाई उसले गरेको एउटा पापकोलागि
दुइपल्ट दण्ड दिनु भएकोछ।”
3 सुन, कोही मानिस चिच्याइरहेको छ!
“मरुभूमिमा परमप्रभुका लागि एउटा बाटो तयार गर।
मरुभूमिमा हाम्रो परमेश्वरको लागि चिल्लो बाटो बनाऊ।
4 प्रत्येक बेंसी पूर्ण गर प्रत्येक पर्वत
र पहाडलाई मैदान बनाऊ।
बाङ्गो-टेढो परेका बाटोहरू सोझो बनाऊ।
खस्रो मैदानलाई चिल्लो बनाऊ।
5 तब, परमप्रभुको महिमा प्रकट गरिनेछ।
अनि सँग-सँगै सारा मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्।
हो, परमप्रभु, स्वयंले यी कुराहरू भन्नु भएको थियो!”
6 एउटा आवाजले भन्यो, “बोल।”
यसकारण मानिसले भन्यो, “मैले के भन्नु पर्छ?”
त्यो आवाजले भन्यो, “तिनीहरू सबै घाँस जस्ता हुन्।
तिनीहरूको धर्म जङ्गली फूल जस्तै हो।
7 परमप्रभुबाट एक प्रवाहपूर्ण वायु घाँसमाथि बहनेछ
अनि घाँस मर्नेछ र फुल झर्नेछ।
हो, जम्मै मानिसहरू घाँस जस्तै हुन्।
8 घाँस मर्दछ र जङ्गली फूलहरू झर्दछ।
तर हाम्रो परमेश्वरको वचन निरन्तर रहिरहन्छ।”
मुक्ति परमेश्वरको सुसमाचार
9 सियोन, भन्नलाई तिमीसँग सुसमाचारहरू छन्।
तिमी अल्गो पर्वतमाथि जाऊ र चिच्याउँदै सुसमाचार प्रचार गर।
हे यरूशलेम! भन्नलाई तिमीसँग सुसमाचार छन्।
नडराऊ, कराएर बोल।
यी समाचार यहूदाका सारा शहरहरूमा भन
“हेर, यहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ।”
10 परमप्रभु मेरा मालिक पराक्रमसाथ आइरहनु भएकोछ।
उहाँ सबै मानिसहरूमाथि शासन गर्न बल प्रयोग गर्नुहुनेछ।
परमप्रभुले आफ्ना मानिसहरूको राम्रो कर्मकोलागि,
पुरस्कार ल्याउनु हुनेछ।
11 असल गोठालेले झैं परमप्रभुले आफ्ना मानिसहरूको हेरचाहा गर्नुहुन्छ।
साना पाठो आफ्नो पाखुरामा च्यापे झैं उहाँले आफ्ना भेंडा़हरू एकत्रित पार्नुहुनेछ।
तिनीहरूका आमाहरू उहाँको पछाडि हिंड्नेछन्।
22 हामी जान्दछौ सारा संसार सृष्टि गरिएको प्रसव-वेदनाले तडपिरहेकी एउटी स्त्रीले झैं आज सम्म उत्सुकतापूर्वक पर्खिरहेकै छन्। 23 यो संसारले मात्र होइन, हामीले पनि आन्तरिक पीडा बोकेर पर्खिरहेकाछौं। हामीमा परमेश्वरको प्रतिज्ञाको प्रथम अंश सरह आत्मा छ। यसैले हामीलाई उहाँले आफ्ना सन्तान कहिले बनाउनु हुने हो भनेर उत्सुकतापूर्वक पर्खिरहेकाछौं। मेरो भन्नुको तात्पर्य, हामीलाई उहाँले हाम्रा शरीरहरूबाट कहिले मुक्ति दिनुहुनेछ भनेर पर्खिरहेकाछौं। 24 हामीहरू बचाईँयौं र हामीमा यो आशा छ। यदि हामीले पर्खिरहेका कुरा देख्न सके त्यो साँचिकै आशा हुने छैन। मानिसहरूले त्यस कुराको आशा गर्दैनन् जुन तिनीहरूले पहिल्यै पाइसकेका हुँन्छन्। 25 तर हामी केही चीजको आशा गरिरहेछौं जुन हामीले अहिले सम्म पाएका छैनौं। हामीले ठूलो धैर्यसित त्यो पर्खिरहेका छौं।
© 2004, 2010 Bible League International