Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाईः दाऊदको भजन।
13 हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ?
के मलाई सदाको लागि बिर्सनु हुन्छ?
कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नुहुन्छ?[a]
2 कहिलेसम्म म अन्योलमा परूँ,
कहिलेसम्म मैले मेरो हृदयमा उदासीनताको अनुभव गर्नु?
कहिलेसम्म मेरा शत्रुहरू मभन्दा पनि बलिया हुन्छन्?
3 हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्!
मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु।
4 यदि त्यस्तो घटना भयो भने, मेरा शत्रुले भन्ने छ, “मैले उसलाई कुटें!”
यदि त्यसले मलाई पराजित गर्यो भने मेरो शत्रु खुशी हुनेछ।
5 हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें।
तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो!
6 म परमप्रभुको लागि सुखको गीत गाउने छु,
किनभने उहाँले मलाई धेरै असल कुरा गर्नु भएको छ।
दानियललाई दर्शन उल्था गरियो
15 जब म दानियलले यो दर्शन देखें म यो बुझ्नको निम्ति कराएँ। अनि अचानक मानिसको रूप भएको एकजना मेरो छेउमा उभिरहेको देखें। 16 त्यसै बेला मैले ऊलै नदीको किनारबाट मलाई बोलाउँदै गरेको मानव स्वर सुनें। स्वरले भन्यो, “हे गाब्रियल! यस मानिसलाई दर्शनको अर्थ व्याख्या गरिदेऊ।”
17 त्यसपछि तिनी म उभिएको ठाँउमा आए, ऊ आउँदा म डरले घोप्टो परें। तर उसले मलाई भन्यो, “हे मानिसको पुत्र! यो सम्झ कि यो दर्शनले अन्तको समयलाई संकेत गर्दै छ।”
18 ऊ बोल्दा बोल्दै म भुइँमा अचेत भएर लडें। तर उसले मलाई समातेर म उभिएकै ठाउँमा फेरि उभ्याए। 19 गाब्रियलले भने, “हेर म तिमीलाई भन्छु क्रोधको अन्त के हुनेछ। किनभने तोकिएको समयमा अन्त हुनेछ।
20 “तिमीले देखेको दुइ सींङे साँढे भेंडा़ मादी देश र फारस देशका राजाहरू हुन्। 21 त्यो बोको चाँहि यूनानीहरूको राज्य हो। अनि त्यसको निधारको ठूलो सींङ चाहिँ प्रथम राजा हो। 22 त्यो भाँचिएको सींङको सट्टामा उम्रेका चार सींङहरू चाँहि चार राज्यहरू हुन्, जुन त्यस जातिबाट खडा हुनेछन्। तर तुलनामा त्यसको जतिकै पराक्रम हुनेछैन।
23 “ती राज्यका अन्तिम दिनहरूमा जब तिनीहरूको पाप चरमसीमा मा पुगेको हुन्छ, तब एउटा क्रूर निष्ठूर र युद्धकलामा निपुण राजा देखा पर्नेछ। 24 त्यसको शक्ति महान हुनेछ, त्यसले अवर्णनीय विध्वंश ल्याउने छ। आफूले गरेको जुनसुकै काममा त्यो सफल हुनेछ। त्यसले ठूला-ठूला जाति र पवित्र मानिसहरूमा विध्वंश ल्याउने छ।
25 “त्यसको मन निरन्तर क्रियाशील रहनेछ, र आफूले रचेको चतुर षड्यन्त्रमा त्यो सफल हुनेछ। त्यसले ठूला-ठूला युक्तिहरू रच्नेछ। तिनीहरूले नचिताएको समयमा त्यसले तिनीहरूमाथि धेरै विध्वंश ल्याउनेछ। त्यसले प्रधानहरूका प्रधानलाई पनि धाक दिनेछ तर कुनै मानिसको हात विनानै त्यो ढल्नेछ।
26 “साँझ र बिहानको विषयमा दिइएको यो प्रकाश सत्य छ, तर यो दर्शन तिमीले गुप्त राख्नैपर्छ, किनभने त्यसले धेरै पछि आउने दिनहरूलाई संकेत गर्छ।”
27 त्यसपछि मेरो शक्ति हरायो। केही समय सम्म म बिमारी भइरहें। तब म उठेंर फेरि राजाको काममा लागें। तर त्यस दर्शन ले गर्दा म डराई रहें र कसैले मलाई त्यो बुझाउँन सकेन।
आफूसित भएको उत्साह र आनन्द नगुमाऊ
32 ती दिनसम्म जब प्रथम पल्ट तिमीहरूले सत्यको शिक्षा पाएका थियौ। तिमीहरूले ठूलो संघर्ष गर्नु परेका थियो र धेरै दुःख खप्नु परेको थियो, तर तिमीहरू दृढ नै रह्यौ। 33 कहिले-काहीं मानिसहरूले तिमीहरूलाई फोहोरी कुरा गरे अनि धेरैका अघि गाली गरे। अनि कहिले-काहीं यस्ता व्यवहार गरिएकाहरूलाई तिमीहरूले सघायौ। 34 हो तिमीहरूले त्यस्ता मानिसहरूलाई जेलमा सघायौ र तिनीहरूको दु:खहरू बाँड्यौ। अनि आफूसित भएको हरेक थोक हराउँदा पनि हर्षित नै रह्यौ। तिमीहरू प्रसन्न नै रह्यौ किनकि तिमीहरूसित केही थियो जो उत्तम छ र त्यो सदाकाल रहिरहने छ भन्ने जान्दथ्यौ।
35 यसर्थ उत्साह नहराऊ जुन तिमीहरूको अतीतमा थियो। तिम्रा उत्साहलाई प्रशस्त पुरस्कार दिइन्छ। 36 तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं। 37 चाँडै नै,
“जो आउनु हुँदैछ आउनुँ नै हुनेछ।
उहाँले विलम्ब गर्नु हुनेछैन।
38 जो अहिले मसित धर्मी छ,
उसको विश्वासको कारणले जीवन पाउने छ।
तर यदि त्यस मानिसले भयले मुख फर्काउँछ भने,
म उसित प्रसन्न रहनेछैनँ।”(A)
39 तर हामी तिनीहरू मध्येका होइनौं जो डरले फर्कन्छन् र नष्ट भएकाछन्। होइन हामी त विश्वास भएका मानिसहरू हौं, र बचाइएका छौं।
© 2004, 2010 Bible League International