Revised Common Lectionary (Complementary)
गिमेल्
17 मेरो निम्ति राम्रो गर्नुहोस्, ताकि म बाँच्न सकौं
अनि तपाईंको आज्ञा पालन गर्नसकौं।
18 हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस्,
ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ
अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ।
19 म यस पृथीवीमा भौतारी हिँड्ने परदेशी जस्तै हुँ।
मैले तपाईँका आज्ञाहरू जान्नु परेको छ।
परमप्रभु, तपाईंका उपदेशहरू मबाट नलुकाउनुहोस्।
20 म सारा समय तपाईंको विधिहरू
अध्ययन गर्न चाहन्छु।
21 हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो।
अनुचित घटनाहरू तिनीहरूतर्फ घट्नेछन्,
किनकि तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे।
22 मलाई लज्जित र व्याकुल हुन नदिनुहोस्।
मैले तपाईंको करार पालन गरेको छु।
23 अगुवाहरूले पनि मेरो बिरोधमा कुरा गरे।
तर म तपाईंको दास हुँ, हे परमप्रभु!
अनि मैले तपाईंको नियमहरू पढेकोछु।
24 तपाईंको करार मेरो सल्लाहाकार हो।
यसले मलाई हितकारी परामर्श दिंदछ।
परमेश्वरको प्रतिज्ञा
33 परमप्रभुको सन्देश दोस्रो पल्ट यर्मियाकहाँ आयो। यर्मिया अझ प्रहरीहरूका चोकमा बन्द थियो। 2 “परमप्रभुले पृथ्वी बनाउनु भयो अनि यसलाई सुरक्षित राख्नु भयो। उहाँको नाउँ परमप्रभु हो। परमप्रभु भन्नुहुन्छ, 3 ‘यहूदा, मलाई प्रार्थना गर, अनि म जवाफ दिनेछु। म तिमीलाई महत्वपूर्ण गुप्त कुराहरू भन्नेछु। यी कुराहरू तिमीले पहिले कहिले सुनेका छैनौ।’ 4 परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्छ: ‘परमेश्वरले ती कुराहरू यरूशलेमका घरहरू, जुन घेरामचान र लडाइँको प्रतिरोधमा नष्ट भएको थियो त्यस बारेमा र यहूदाका जग्गाहरू र राजाको महलहरू बारेमा भन्नुहुन्छ।
5 “‘यस शहरको दुष्टकर्मले गर्दा म अब उसो यसको रक्षा गर्ने छैन। यरूशलेमको विरूद्ध युद्ध गर्न बाबेलका सेनाहरू आउनेछ र मेरो क्रोधले मारेको लाशहरूले यो शहर भनिनेछ।
6 “‘तर म शहरमा पुनः आरोग्यता र स्वस्थ्य ल्याउनेछु। म तिनीहरूलाई सुस्वास्थमा राख्नेछु। म शान्ति र सुरक्षा ल्याउनेछु। 7 म यहूदा र इस्राएलबाट लुटिएका समानहरूको पुन बहाली गराउनेछु। म तिनीहरूलाई विगतको जस्तै बनाई दिनेछु। 8 मेरो विरोधमा तिनीहरूले गरेको पाप धोई पखाल्नेछु। तिनीहरूले मेरो विरूद्ध गरेको सबै पाप र विद्रोहहरू क्षमा गर्नेछु। 9 जब मैले गरेको भलाइ कार्यहरू यस शहरका बसिन्दाहरूले सुन्छन्। तब पृथ्वीका जम्मै जातिहरू अघि यस शहरले मकहाँ प्रशंसा र महिमा ल्याउनेछ। जब ती जातिहरूले मैले यो शहरवासीहरूका निम्ति गरेको शान्ति र उन्नतिका कुराहरू सुन्छन तिनीहरू भयभीत हुनेछन् अनि काम्नेछन्।’
10 “यसकारण परमप्रभु भन्नुहुन्छ, ‘तिमीहरू भनिरहेकाछौ, हाम्रो देश मानिस र पशुहरू बिनाको उजाड ठाउँ हो।’ अहिले यरूशलेमका गल्लीहरू र यहूदाका शहरहरू मानिसहरू र पशुहरू बिना ध्वंस भएको छ। 11 तर चाँडै यो ठाउँमा आनन्दको मिठो, दुलहा-दुलहीहरूको खुशीयाली र परमप्रभुमा प्रशंसाको आवाजहरूले गुन्जयमान हुनेछ। ती मानिसहरूले भन्ने छन्,: ‘सेनाहरूका परमप्रभुको प्रशंसा गर। परमेश्वर भलो हुनुहुन्छ। उहाँ सधैँ कृपालु हुनुहुन्छ।’ तिनीहरूले मन्दिरमा धन्यवाद बलि चढाउनेछन् कारण यस ठाउँबाट जे-जे लुटिएको थियो म त्यो पुनः बहाली गराउनेछु अनि अघि जस्तो थियो त्यस्तै बनाउनेछु।” परमप्रभु भन्नुहुन्छ।
दुइजना अन्धाहरू निको भए
(मर्कूस 10:46-52; लूका 18:35-43)
29 जब येशू र उहाँका चेलाहरू जोरिकोबाट जाँदै थिए, धेरै मानिसहरूले उहाँलाई पछ्याए। 30 बाटोको किनारमा दुइजना अन्धा मानिसहरू बसिरहेका थिए। ती अन्धाहरूले येशू त्यतैतिरबाट जाँदै गर्नु भएको कुरा सुने। अनि ती अन्धाहरू चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
31 सबै मानिसहरूले ती अन्धाहरूलाई हप्काए। तिनीहरूले ती अन्धाहरूलाई हल्ला गरेर विन्ती गर्न दिएनन्। तर ती अन्धाहरू अझ जोडले चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
32 येशू रोकिनु भयो र अन्धाहरूलाई बोलाएर उहाँले भन्नुभयो, “म तिनीहरूको निम्ति के गरिदिऊ भन्ने चाहन्छौ?”
33 अन्धाहरूले जवाफ दिए, “परमप्रभु हामी देख्न चाहन्छौं।”
34 येशूलाई अन्धाहरूप्रति दया जाग्यो। उहाँले ती अन्धाहरूका आँखा स्पर्श गर्नुभयो अनि तिनीहरू देख्ने सक्ने भए। त्यसपछि तिनीहरू येशूलाई पछ्याउन लागे।
© 2004, 2010 Bible League International