Revised Common Lectionary (Complementary)
23 सतर्क भएर हिंड्ने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ।
परमप्रभुले ती सिपाहीहरूलाई नष्ट हुनदेखि जोगाउनु हुन्छ।
24 यदि त्यो सिपाहीले दगुरेर आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ,
र उसलाई युद्ध गर्नुबाट जोगाउनु हुनेछ।
25 म जावन थिएँ तर अब वृद्ध भएको छु,
तर मैले कहिल्यै पनि परमेश्वरले धार्मिक मानिसहरूलाई त्याग्नु भएको देखेको छैन।
मैले कहिल्यै पनि धर्मी मानिसहरूका नानीहरूले खानको लागि भीख माग्नु परेको देखेको छैन।
26 धार्मिक मानिसहरूले उदारतापूर्वक अरूलाई दिन्छन्
अनि धार्मिक मानिसहरूका नानीहरू परमप्रभुका आशीर्वाद हुन्।
27 यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौ भने
तिमी सँघै बाँच्ने छौ।
28 परमप्रभुले न्याय मन पराउनु हुन्छ,
उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोड्नु हुन्न।
परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ रक्षा गर्नुहुन्छ
तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ।
29 धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसारको देश पाउनेछन्।
तिनीहरू त्यहाँ सदा-सर्वदा बस्ने छन्।
30 धर्मी मानिसले उत्तम सल्लाह दिंदछ।
उसको निर्णय प्रत्येक मानिसको निम्ति निष्पक्ष हुन्छ।
31 उनले परमप्रभुका उपदेशहरू मनन गरेको छ।
अनि ठीक प्रकारले बाँच्नबाट ऊ कहिल्यै बन्चित हुँदैन।
32 तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्।
33 जब असल मानिसहरू दुष्ट मानिसको पासोमा पर्छन्,
परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न।
जब दुष्ट मानिसहरूले असल मानिसहरूलाई न्यायालयमा लैजान्छन्,
परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न।
34 परमप्रभुले भन्नु भएको कुराहरू गर र उहाँको सहयोगको निम्ति पर्ख।
परमप्रभुले तिनीहरूलाई विजयी बनाउनु हुनेछ, अनि परमेश्वरले दिनु भएको जग्गा पाउने छौ,
उहाँले दुष्टहरूलाई त्यो जग्गा छोड्न लाउनु हुनेछ।
35 मैले एक बलवान कपटी मान्छे देखें।
ऊ एकदमै सप्रेको रूख जस्तै बलियो थियो।
36 तर ऊ हिंडी सकेको थियो।
मैले उसलाई खोजें, तर भेट्न सकिनँ।
37 शुद्ध र ईमान्दार बन।
शान्ति प्रिय मानिसहरूले धेरै सन्तानहरू पाउनेछन्।
38 तर जुन मानिसले आज्ञाहरू मान्दैन त्यो पूर्ण रूपले ध्वंश हुनेछन्।
अनि तिनीहरूका भावी सन्तानहरूलाई जग्गा छोडेर जानलाई बाध्य हुनेछन्।
39 धर्मी मानिसहरूलाई परमप्रभुले बचाउँनु हुन्छ।
जब धर्मी मानिसहरू सङ्कटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ।
40 परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउँनु हुन्छ।
धर्मी मानिसहरू परमप्रभुमाथि आश्रित हुन्छन्,
अनि तिनीहरूलाई उहाँले दुष्ट मानिसहरूबाट बचाउनु हुनेछ।
शमूएलले राजाबारे बताए
12 शमूएलले सबै इस्राएलीहरूलाई भने, “तिमीहरूले भनेको प्रत्येक कुरा मैले गरे। तिमीहरू माथि राजा नियुक्त गरें। 2 अब तिमीहरूलाई अगुवाई गर्नको निम्ति राजा हुनुहुन्छ। म बुढो भएँ तर मेरा छोराहरू तिमीहरूसित छन्। जब म एउटा ठीटो थिएँ, त्यस बेला देखि तिमीहरूका अगुवा थिएँ, त्यस बेला देखि तिमीहरूका अगुवा भएर आएँ। 3 अहिले म यहाँ छु। यदि मैले कुनै भूलचुक गरेको भए परमप्रभुको अघि अनि परमप्रभुले चुन्नु भएको राजाअघि तिमीहरूले भन्नुपर्छ। के मैले कसैको गाई अथवा गधा चोरें? कसैलाई ठगे वा कष्ट पुर्याएँ? के मैले पैसा अथवा एक जोडी जुत्ता कहिले घुस लिएकोछु? यदि मैले यस्तो केही गरेको भए त्यसलाई म सच्याउनेछु।”
4 सबै इस्राएलीहरूले जवाफ दिए, “होइन! तपाईंले हामी कसैलाई पनि केही नराम्रो गर्नुभएन। हामीलाई कहिले पनि ठग्नुभएन र केही पनि लिनुभएन।”
5 शमूएलले इस्राएलीहरूलाई भने, “परमप्रभु र उहाँले चुन्नु भएको राजा गवाही हुनुहुन्छ। तिमीहरूले जे-जे भन्दैछौ उहाँ दुइजनाले सुन्दै हुनुहुन्छ। उहाँहरूलाई पनि थाहा भयो तिमीहरूले मलाई कुनै दोष दिएनौ।” सबै मानिसहरूले एकसाथ जवाफ दिए, “साँच्चै हो! परमप्रभु नै गवाही हुनुहुन्छ!”
6 तब शमूएलले मानिसहरूलाई भने, “हो परमप्रभु हाम्रो गवाही हुनुहुन्छ। परमप्रभुले नै मोशा र हारूनलाई चुन्नुभयो। अनि उहाँ नै हुनुहुन्छ जसले तिम्रा पिता-पुर्खाहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो। 7 अब तिमीहरू त्यहाँ खडा होऊ, म तिमीहरूलाई परमप्रभुले तिम्रा पिता-पुर्खाहरू र तिमीहरूका लागि गर्नुभएका ती राम्रा अर्थहरू बताउँछु।
8 “याकूब मिश्र गए पछि मिश्र बासीहरूले उसका सन्तानहरूको जीवनलाई धेरै कष्टमय बनाए। यसर्थ तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति रोइकराइ गरे। परमप्रभुले मोशा र हारूनलाई पठाउनु भयो। मोशा र हारूनले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रबाट बाहिर लिएर आए अनि यही ठाउँमा बस्ने व्यवस्था मिलाई दिए।
9 “तर तिम्रा पिता-पुर्खाहरूले परमप्रभु परमेश्वरलाई त्यागे। यसकारण परमप्रभुले तिनीहरूलाई सीसराका दास हुन दिनुभयो। सीसरा हासोरका सेनाका सेनापति थिए। त्यसपछि परमप्रभुले तिनीहरूलाई पलिश्ती र मोआबका राजाका हातमा सुम्पिदिनुभयो। तिनीहरू सबै तिम्रा पिता-पुर्खाहरूको विरूद्ध लडे। 10 तर तिमीहरूका पिता-पुर्खाहरूले रूँदै परमप्रभुलाई सहायता मागे। तिनीहरूले भने, ‘हामीले पाप गर्यौ। हामीले परमप्रभुलाई छाडेर झूटो देवता बाल र देवी अश्तारोतको सेवा गर्यौ। अब हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुहोस्, हामी तपाईंका सेवक बन्नेछौ।’
11 “यसकारण परमप्रभुले यरूब्बाल, बाराक, यिप्तह अनि शमूएललाई त्यहाँ पठाउनुभयो। परमप्रभुले तिमीहरूको चारैतिरका शत्रुहरूबाट तिमीहरूलाई रक्षा गर्नुभयो यसकारण तिमीहरू सुरक्षित रह्यौ। 12 त्यस समयमा पनि अम्मोनीको राजा नाहाश तिमीहरूको विरूद्ध लड्न आएको देख्यौ। तिमीहरूले भन्यौ, ‘होइन, हामीहरूमाथि शासन गर्ने राजा नै चाहिन्छ।’ तिमीहरूले यही भन्यौ यद्यपि परमप्रभु तिमीहरूका परमेश्वर नै राजा हुनुहुन्थ्यो। 13 अब तिमीहरूले चुनेका राजा यहाँ छन्। परमप्रभुले तिमीहरूमाथि राजालाई नियुक्ति गर्नुभयो। 14 यदि तिमीहरूले उहाँलाई सम्मान गर्यौ भने परमप्रभुले तिमीहरूको रक्षा गर्नु हुन्छ। तर तिमीहरूले परमप्रभुको डर राख्दै सम्मान गर्नु पर्नेछ। आदेश पालनगर्दै सेवा गर्नुपर्ने छ। उहाँको विरूद्धमा जाने छैनौ। तिमीहरूका साथै तिमीहरूलाई शासन गर्ने राजाले पनि परमप्रभु तिमीहरूका परमेश्वरको अनुशरण गर्नुपर्छ। यदि तिमीहरूलाई भनेका कुराहरू पालन गर्छौ भने परमेश्वरले तिमीहरूलाई रक्षा गर्नुहुनेछ। 15 तर यदि परमप्रभुले भनेका तिमीहरूले मानेनौ र उहाँको विरूद्धमा गयौ भने, उहाँ पनि तिमीहरू र तिमीहरूका शासकको विरूद्धमा जानुहुनेछ।
16 “अब अझै चुपचाप उभिएर त्यो अचम्मको कामलाई हेर, जुन परमप्रभुले तिमीहरूका आँखा अगाडि गर्नुहुनेछ। 17 यो गहुँको फसल काट्ने समय हो। म परमप्रभुसँग प्रार्थना गर्नेछु। म उहाँसँग बिजुली चम्कँदै पानी पार्ने बिन्ती गर्नेछु। तब तिमीहरूलाई यो थाहा लाग्ने छ कि तिमीहरूले परमप्रभुको विरूद्धमा राजा मागेर भूल काम गरेका छौ।”
18 यसकारण शमूएलले परमप्रभुसँग प्रार्थना गरे। त्यही दिन परमप्रभुले मेघ गर्जनसित पानी बर्षाउनु भयो। यसकारणले गर्दा मानिसहरू परमप्रभु र शमूएलसँग साह्रै डराए। 19 सबै मानिसहरूले शमूएललाई भने, “दया गरेर परमप्रभु तपाईंका परमेश्वरलाई हाम्रो निम्ति प्रार्थना गरिदिनु होस्, तपाईंका सेवकहरूका निम्ति हामीहरूलाई नष्ट हुन नदिनु होस्। हामीले धेरै चोटी पाप गरेका छौ। हामीले राजा मागेर फेरि अर्को पाप थपेका छौं।”
20 शमूएलले जवाफ दिए, “नडराऊ! यो सत्य हो! तिमीहरूले त्यस्ता नराम्रा कामहरू गर्यौ। तर परमप्रभुलाई पछ्उन नछोड। हृदय देखि नै परमप्रभुको सेवा गर। 21 देवताका मूर्तिहरू केवल मूर्ति मात्र हुन्। त्यसले तिमीहरूलाई सहायता गर्दैन। यसर्थ त्यसको पूजा नगर। देवताका मूर्तिहरूले न त तिमीहरूलाई सहायता गर्न सक्छन् न त रक्षा नै गर्न सक्छन्। तिनीहरू केहि होइनन्।
22 “तर परमप्रभुले आफ्ना मानिसहरूलाई छोडनु हुँदैन। परमप्रभु तिनीहरूलाई आफ्नो मानिस बनाएर प्रसन्न हुनुहुन्थयो। यसर्थ उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई त्याग्नु हुनेछैन। 23 अनि म तिमीहरूका निम्ति प्रार्थना गर्न छोड्ने छैन। यदि मैले तिमीहरूका लागि प्रार्थना गरिनँ भने परमप्रभु विरूद्ध मेरो पाप हुनेछ। म तिमीहरूलाई शिक्षा दिइरहन्छु ताकि तिमीहरूले राम्रो र सही जीवन जिउनेछौ। 24 तर तिमीहरूले परमप्रभुको डर अनि आदर गर्नैपर्छ। तिमीहरूको सम्पूर्ण हृदयले परमप्रभुको सेवा हुनुपर्छ। उहाँले तिमीहरूका निम्ति गर्नुभएको अचम्मका कार्यहरूलाई सम्झौं। 25 तर यदि तिमीहरूले हठी र लगातार दुष्ट कार्य गरिरह्यौ भनेः परमेश्वरले तिमीहरू र तिमीहरूका राजालाई नष्ट गर्नु हुनेछ।”
येशूले आफ्ना चेलाहरूको खुट्टा धुनुभयो
13 यो प्राय यहूदीहरूको निस्तार चाड आइसकेको बेला थियो। येशूले जान्नु हुन्थ्यो कि अब उहाँ को संसार छोडने समय आइपुग्कोछ। अब आफ्ना पिता कहाँ फर्की जाने समय आइपुगेकोछ। येशूले सधैँ तिनीहरूलाई प्रेम गर्नु भयो जो उहाँसँग त्यस संसारमा थिए। अब येशूले तिनीहरूलाई आफ्नो पूर्ण प्रेम देखाउने समय आएको थियो।
2 येशू र उहाँका चेलाहरूको, निम्ति बेलुकाको भोजन थियो। शिमोन इस्कारयोतीको छोरा यहूदालाई येशूको विरुद्ध हुने कुरा अघिबाटै शैतानले प्रेरित गराएको थियो। 3 पिताले येशूलाई सबै कुरामाथि शक्ति दिनुभएको थियो। येशूले यी कुराहरू जान्नु हुन्थ्यो। उहाँ यो पनि जान्नु हुन्थ्यो कि उहाँ परमेश्वरबाट आउनु भएको हो। अनि परमश्वर तर्फै फर्किरहनु भएको थियो भन्ने पनि जान्नु हुन्थ्यो। 4 जब तिनीहरूले खाई रहेका थिए, येशू उठ्नु भयो र आफ्ना पोशाकलाई पन्साउनु भयो। उहाँले तौलिया लिएर आफ्नो कम्मरमा बेह्रनु भयो। 5 तब येशूले भाँडामा पानी खन्याउनु भयो। उहाँले तब चेलाहरू खुट्टा धुन थाल्नु भयो। र आफ्ना कम्मरमा बेहेरेको तौलियाले उनीहरूका खुट्टा पुछिदिनु भयो।
6 येशू शिमोन पत्रुस कहाँ आउनु भयो। तर पत्रुसले येशूलाई भने, “प्रभु, मेरो खुट्टा धुनु पर्दैन।”
7 येशूले जवाफमा भन्नुभयो, “अहिले मैले के गरिरहेछु तिमी जान्दैनौ। तर पछि बुझ्ने छौं।”
8 पत्रुसले भने, “अँहँ! तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।”
येशूले भन्नुभयो, “यदि मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो कुनै अंश रहने छैन।”
9 शिमोन पत्रुसले भने, “प्रभु, मेरो खुट्टामात्र होइन, मेरो हात र टाउँको पनि धोइदिनु होस्।”
10 येशूले भन्नुभयो, “नुहाइसके पछि एक मानिस सम्पूर्ण रूपले सफा हुँदछ। उसको खुट्टामात्र धुनु पर्दछ। तिमीहरू सबैजना शुद्ध छौ तर कोही कोही मात्र छैनौ।” 11 येशूले उहाँको विरुद्ध को जाने छ चिन्नुहुन्थ्यो। त्यसैकारणले येशूले भन्नुभयो, “तिमीहरूमा सबै शुद्ध छैनौं।”
12 येशूले तिनीहरूका खुट्टा धोइसक्नु भयो। तब आफ्नो पोशाक लगाई टेबलतर्फ फर्की जानुभयो उहाँले भन्नुभयो, “तिमीहरू जान्दछौ मैले तिमीहरूलाई के गरें? 13 तिमीहरूले मलाई ‘गुरूज्यू’ र ‘प्रभु’ भनेर बोलाउँछौ। अनि यो ठीक हो किनभने म त्यही हुँ। 14 तिमीहरूका प्रभु र गुरू हुँ। किनेभने मैले तिमीहरूका खुट्टा एक नोकरले जस्तो धोएँ। यसैले तिमीहरूले पनि एकअर्काको खुट्टा धुनु पर्छ। 15 मैले तिमीहरूको अघि उदाहरणको लागि यो गरें। र तिमीहरूले एकाअर्कामा त्यसै गर्नु पर्छ जस्तो मैले गरें। 16 म सत्य भन्छु। एक नोकर उसको मालिक भन्दा ठूलो हुँदैन जसलाई केही कार्यका निम्ति पठाइएको छ ऊ ती पठाउने भन्दा ठूलो होइन। 17 यदि तिमीहरूले यी कुराहरू जान्दछौ, गर्यौ भने सुखी हुनेछौ।
© 2004, 2010 Bible League International