Revised Common Lectionary (Complementary)
पहिलो स्त्री
18 तब फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिसको लागि एक्लो बस्नु राम्रो होइन। म उसको लागि एकजना सहयोगी बनाउनेछु जो ऊ जस्तै नै हुनेछे।”
19 यसर्थ परमप्रभु परमेश्वरले जमीनका सबै पशुहरू र आकाशमा चरा-चुरूङ्गीहरू सृष्टि गरी तिनीहरूको के-के नाउँ राख्दा रहेछन् भनी मानिसकहाँ पठाउनु भयो। अनि मानिसले तिनीहरूलाई जे भने तिनीहरूको त्यही नाउँ रह्यो। 20 अनि मानिसले पाल्तू गाई-वस्तु, आकाशमा उड्ने चरा-चुरुङ्गीहरू र जङ्गली जनावरहरूको नाउँ राख्यो। तर मानिसको निम्ति कुनै सहयोगी साथी पाएन। 21 त्यसपछि परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निंद्रामा सुताउनु भयो। जब त्यो मानिस गहिरो निंद्रामा पर्यो उहाँले एउटा करङ्ग त्यस मानिसबाट निकाल्नु भयो तब परमेश्वरले करङ्ग निकालेको ठाउँमा मासुले पुरिदिनुभयो। 22 त्यस मानिसबाट निकालिएको करङ्गबाट उहाँले एउटी स्त्री मानिस सृष्टि गरी तिनलाई त्यस मानिस कहाँ ल्याउनु भयो। 23 तब त्यस मानिसले भने,
“आखिरमा म जस्तै अर्को एउटा व्यक्ति
उसको हड्डी मेरो हड्डी बाट आयो,
अनि उसको शरीर मेरो शरीरबाट आयो।
किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले
म तिनलाई ‘स्त्री मानिस’ भन्नेछु।”
24 यसकारण, एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ। यसरी दुइजना मानिसहरू एउटै बनिन्छन्।
प्रमुख संगीतकारलाई गित्तित रागमा गाउने दाऊदको भजन।
8 हे परमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ।
तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ।
2 साना केटा-केटी र दूधमुखे बालकहरूका मुखहरूबाट पनि तपाईंको महिमा र प्रशंसा सुनिन्छ।
तपाईंले तिनीहरूलाई त्यस्तो शक्तिशाली गीतहरू दिनुभएकोछ,
जसले तपाईंको सम्पूर्ण शत्रुहरूलाई चुप पारी दिन्छ।
3 हे परमप्रभु, म तपाईंको आफ्नो हातले बनाउनु भएको स्वर्गलाई हेर्छु।
अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरूलाई हेर्छु,
4 र म अचम्म मान्छु, किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्?
किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ?
किन तपाईंले तिनीहरूको त्यति वास्ता राख्नुहुन्छ?
किन तपाईंले तिनीहरूको त्यति सम्झना गर्नुहुन्छ?
5 तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्!
किनकी तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणीहरू (स्वर्गदूत) जस्तै बनाउनु भयो,
अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो।
6 तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको मालिक तिनीहरूलाई बनाउनु भयो।
तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो।
7 सबै मानिसहरूले भेंडा र गाई साथै सम्पूर्ण जङ्गली जनावरमाथि अधिकार गर्छन।
8 तिनीहरूले आकाशमा उड्ने पंक्षी र समुद्रमा पौडिने हरेक जनावर
र माछाहरूमाथि पनि अधिकार गर्छन्।
9 हे परमप्रभु, हाम्रा स्वामी, सारा पृथ्वीमा तपाईंको नाउँ अत्यन्त महान छ।
परमेश्वर आफ्ना पुत्रद्वारा बोल्नु भयो
1 अघि-अघि परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो। 2 अनि अब यी अन्तिम दिनहरूमा परमेश्वर हामीसँग आफ्ना पुत्रद्वारा बोल्नुभएकोछ। उहाँले आफ्ना पुत्रद्वारा यो समस्त विश्व बनाउनु भयो अनि उहाँले आफ्ना पुत्रलाई सबै कुराको आफ्ना उत्तराधिकारी बनाउनुभयो। 3 पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो। 4 परमेश्वरले उहाँलाई एउटा नाउँ दिनुभयो जुन कुनै पनि स्वर्गदूतहरूको नाउँ भन्दा उच्च छ। त्यसैले उहाँ स्वर्गदूतहरू भन्दा महान् हुनुहुन्छ।
मानिसहरूलाई बचाउन ख्रीष्ट मानिस जस्तै बन्नुभयो
5 आउन लागेको त्यो नयाँ संसारको शासक बन्न परमेश्वरले स्वर्गदूतहरूलाई छान्नु भएन। त्यो भविष्यको संसार हो जुन हामीले चर्चा गर्न लागेका छौं। 6 धर्मशास्त्रमा लेखिएको छ:
“तपाईं किन मानिसलाई सम्झनु हुन्छ?
किन तपाईंले मानिसको पुत्रको बारे सोंच्नु हुन्छ?
ऊ यति महत्वपूर्ण छ?
7 छोटो अवधिका निम्ति तपाईंले उसलाई स्वर्गदूतहरू भन्दा निम्न बनाउनुभयो।
तपाईंले उहाँलाई आदर र महिमाको मुकुट लगाई दिनुभयो,
8 अनि सबैकुराहरू तपाईंले उसैको अधीनमा ल्याई दिनुभयो।”(A)
परमेश्वरले “सबैकुरा उसैको अधीनमा ल्याई दिनुभयो” भन्ने भनाइले भन्दा उहाँको अधीनदेखि बाहिर केही रहेन भन्ने बुझिन्छ। तर हामी उहाँले सबैमाथि शासन गरेको देख्दैनौं। 9 केही समयको निम्ति येशू स्वर्गदूतहरू भन्दा निम्नको बनाइनुभएको थियो। तर अहिले हामी उहाँलाई आदर र महिमाको मुकुट लगाउनु भएको देख्छौ किनकि उहाँले कष्ट भोग्नु भयो र क्रूसमा मर्नुभयो। किनभने परमेश्वरको अनुग्रहले येशूले प्रत्येक व्यक्तिका निम्ति मृत्युको अनुभव गर्नुभयो।
10 परमेश्वर नै हुनुहुन्छ जसले आफ्नो महिमाको लागि सबैकुरा बनाउनुभयो। उहाँले आफ्नो महिमाको भागीदार बनाउन उहाँले धेरै छोराहरू चाहनुभयो। यसर्थ परमेश्वरले जे-जे गर्नु परेको थियो त्यही गर्नुभयो। परमेश्वरले उहाँलाई एक पूर्ण मानिस बनाउनुभयो जसले सबैलाई मुक्ति तर्फ डोर्याउनु हुन्छ। परमेश्वरले उहाँको यातनाद्वारा येशूलाई पूर्ण बनाउनुभयो।
11 उहाँ नै एक जसले मानिसलाई पवित्र बनाउँनुहुन्छ र ती पवित्र बनाएकाहरू एउटै परिवारबाट आएका छन्। यसकारण उहाँ तिनीहरूलाई आफ्ना दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू भन्न लजाउनु हुन्न। 12 त्यसैले उहाँ भन्नुहुन्छ,
“हे परमेश्वर! तपाईंको बारेमा म आफ्ना भाइ-बहिनीहरूलाई घोषणा गर्नेछु।
तपाईंका सबै मानिसहरूका अघि म तपाईंको प्रशंसाको गीत गाँउनेछु।”(B)
2 केही फरिसीहरू येशूकहाँ आएर येशूलाई परीक्षा लिने कोशिश गरे। तिनीहरूले उहाँलाई भने, “के कुनै मानिसले आफ्नो पत्नीसँग बिवाह विच्छेद गर्नु उचित हो?”
3 येशूले उत्तर दिनुभयो, “मोशाले तिमीहरूलाई कस्तो आज्ञा पालन गर्नु भन्नु भएको छ?”
4 फरिसीहरूले भने, “मोशाले अनुमति दिए कि मानिसले एउटा विवाह विच्छेद पत्र लेखेर आफ्नो स्वास्नीसँग विवाहविच्छेद गर्न सक्छ।”
5 येशूले भन्नुभयो, “मोशाले त्यो आज्ञा तिमीहरूलाई नै लेखिदिएको हो। किनभने परमेश्वर को शिक्षा ग्रहण गर्न तिमीहरूले चाहेकाछैनौ। 6 तर जब परमश्वरले संसार बनाउनु भयो, उहाँले मानिसहरूलाई पुरुष र स्त्रीको रूपमा बनाउनुभयो, 7 त्यसकारण कुनै मानिस आफ्नो बाबु र आमा त्याग्छ र आफ्ना स्वास्नीसँग बस्छ। 8 अनि तब ती दुइजना एक हुन्छन्। 9 यसकारण मानिसहरू अलग हुँदैन जसलाई परमेश्वरले एक बनाएका छन्। तिनी दुइजना रहँदैनन् एक हुन्छन।”
10 त्यसपछि, येशू र चेलाहरू एउटा घरभित्र थिए। चेलाहरूले येशूलाई फेरि विवाहविच्छेद बारे सोधे। 11 उहाँले भन्नुभयो, “यदि कुनै मानिसले आफ्नी पत्निसँग विवाह विच्छेद गर्छ, अनि अर्की स्त्रीसँग विवाह गर्छ भने त्यसले आफ्नी पत्नीसँग व्यभिचारको पाप गरेको ठरिन्छ। 12 त्यसरी यदि कुनै स्त्रीले आफ्नो लोग्नेसँग विवाह विच्छेद गर्छे अनि अर्को लोग्नेसँग विवाह गर्छे भने त्यो पनि व्यभिचार हो।”
येशूद्वार बालकहरूलाई ग्रहण
(मत्ती 16:13-15; लूका 18:15-17)
13 मानिसहरूले तिनीहरूको बालकहरूलाई येशू समक्ष ल्याए, ताकि उहाँले तिनीहरूलाई छोईदिऊन्। तर चेलाहरूले मानिसहरूलाई बालकहरू लिएर आएकोमा हकारे। 14 त्यहाँ जे घट्ना घट्यो येशूले देख्नुभयो। उहाँले बालकहरूलाई उहाँकहाँ नआउनु भनेर रोकेकोमा क्रोध प्रकट गर्नुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य तिनीहरूको नै हो जो यी बालकहरू जस्तै छन्। 15 म तिमीहरूलाई साँच्चो भन्दछु। तीमीहरूले परमेश्वरको राज्यलाई ग्रहण गर्नै पर्दछ, जसरी सानो बालकले दिइएको कुरा स्वीकार्दछ, नत्र भने तिमीहरू कहिल्यै त्यहाँ पस्न पाउने छैनौ।” 16 त्यसपछि येशूले ती बालकलाई आफ्नो काखमा लिनुभयो। उहाँले आफ्नो हातहरू तिनीहरूमाथि राख्नुभयो अनि आशीर्वाद दिनुभयो।
© 2004, 2010 Bible League International