Revised Common Lectionary (Complementary)
सत्तरी बूढा-प्रधानहरू
4 इस्राएलीहरूसँग रहेको विदेशीहरूको एउटा दलले मासु खान साह्रै इच्छा गरे चाँडै सबै इस्राएली मानिसहरूले पनि मासुको लागि गनगनाउन थाले। ती मानिसहरूले विलाप गरेर भने, “हामीलाई मासु खानु कसले देला? 5 हामीले मिश्रमा हुँदा बिना मूल्य माछा खाएको सम्झना आँउछ। साग-पातहरू, काँक्रा, खरबुजा, हरियो साग सब्जी, प्याज अनि लसूनहरूको सम्झना आउँछ। 6 तर अहिले हामीले भोक नै हरायौं। मन्न बाहेक केही खानेकुरा देख्दैनौं।”
10 प्रत्येक परिवारका मानिसहरू आ-आफ्नो पालको प्रवेशद्वारमा बसेर गनगनाई रहेका थिए। यसले परमप्रभुलाई अत्यन्तै रीस उठायो अनि मोशा पनि दुःखीत भए। 11 मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन कष्ट दिनु भयो? मैले तपाईंलाई किन सन्तुष्ट पार्न सकिन जसले गर्दा यी मानिसहरूको जिम्मावारी म माथि थप्नु भयो? 12 के मैले गर्भधारण गरेर यी मानिसहरूलाई जन्माएको हुँ र? तपाईंले यिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्छु भनेको भूमिमा एउटी रोगी-सेविकाले नानी बोकेर हिंडे झैं यी मानिसहरूलाई छात्तीमा राखेर लैजानु भन्नुहुन्छ। 13 जब यी मानिसहरू ‘हामीलाई मासु खान दिनुहोस्’ भन्दै मसँग रून्छन् त मैले यिनीहरूलाई खुवाउने मासु कहाँ पाउनुँ? 14 यी मानिसहरूको हेरचाह गर्न म आफैं योग्य छैनँ कारण ममाथि जिम्मावारी एकदमै धेरै भयो। 15 यदि तपाईं मसित यस्तै व्यवहार गर्नुहुन्छ र तपाईंले मलाई मन पराउनु हुन्छ भने बरू मलाई मारिदिनुहोस् ताकि मैले आफ्नै कष्ट भोग्नु पर्दैन।”
16 परमप्रभुले मोशालाई भन्नुभयो, “सत्तरी जना बूढा-प्रधानहरूलाई जम्मा गर जसलाई तिमीले बूढा-प्राधानहरू अनि मानिसहरूको अगुवा जस्तै सम्मान गरेका छौ अनि तिनीहरूलाई म भए कहाँ भेट हुने पालमा ल्याऊ।
24 यसकारण मोशा बाहिर आए अनि परमप्रभुले तिनलाई भन्नु भएको कुरा मानिसहरूलाई भने। अनि इस्राएलका बूढा-प्रधानहरूबाट सत्तरी जना भेला पारेर तिनीहरूलाई पालको वरिपरि उभ्याए। 25 तब परमप्रभु बादलमा तल आउनु भयो र मोशालाई भन्नुभयो। तब परमप्रभुले केही आत्मा जो मोशा माथि थियो लिएर ती इस्राएलीहरूको 70 जना बूढा प्रधानहरू माथि हालि दिनु भयो तिनीहरूले अगमवाणी बोल्न शुरू गरे। त्यही समय मात्र थियो कि यी मानिसहरूले यस्तो गरे, उनीहरू माथि पवित्र आत्मा आए पछि।
26 त्यहाँ छाउनी भित्र दुइजना व्यक्ति एलदाद र मेदाद थिए। तिनीहरूको नाम 70 जना बूढा प्रधानहरूको सूचीमा हालिएको थियो। तर तिनीहरू छाउनी बाहिर गएका थिएनन्। तापनि आत्मा तिनीहरूमाथि पनि आयो र तिनीहरूले अगमवाणी गरे। 27 एकजना जवान मानिस मोशा कहाँ दगुर्दै आएर भन्यो, “छाउनीमा एलदाद र मेदादले अगमवाणी गरिरहेका छन्।”
28 युवावस्थाबाट नै मोशाको सहायक रहेको नूनका छोरो यहोशूले तिनलाई भन्यो, “हे परमप्रभु! तिनीहरूलाई रोक्नु होस्।”
29 तर मोशाले उत्तर दिए, “के तिमी मेरो डाह गर्छौ? म इच्छा गर्छु कि परमप्रभुले उहाँको आत्मा सबै मानिसहरूलाई खन्याउनुँ हुनेछ अनि सबै मानिसहरू अगमवाणी गर्न सक्छन्।”
7 परमप्रभुका शिक्षाहरू अत्युत्तम छन्।
तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्।
परमप्रभुको व्यवस्था विश्वास योग्यको छ।
यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ।
8 परमप्रभुका विधिहरू सही छन्।
तिनीहरूले मानिसहरूलई खुशी पार्छन्।
परमप्रभुका आदेशहरू निष्कपट छन्,
तिनीहरूले जीवनमा उचित मार्ग देखाउँछन्।
9 परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो
जसले अनन्त चम्किलो उज्यालो पार्छ।
परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्।
तिनीहरू सम्पूर्ण ठीक छन्।
10 परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्।
तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मीठा छन्।
11 परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ।
यदि तिनीहरूलाई पालन गर्यौं भने असल चिजहरू आउँछन्।
12 हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्।
यसैले मलाई गुप्ती पापहरू गर्न नलगाउनु होस्।
13 मैले चाहेका पापहरू गर्न नलगाउनु होस्।
ती पापले ममाथि राज नगरोस्।
यदि तपाईंले मलाई सहयोग गर्नुभयो भने म आफ्ना पापहरूबाट मुक्त हुन्छु।
14 आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला।
परमप्रभु, तपाईं मेरो चट्टान हुनुहुन्छ, तपाईंले मात्र मलाई बचाउनु हुन्छ।
प्रार्थनाको शक्ति
13 यदि तिमीहरू मध्ये एक जनाले कष्टहरू भोगिरहेको छ भने उसले प्रार्थना गर्नु पर्छ अनि यदि तिमीहरू मध्ये एकजना सुखी छ भने, उसले गीतहरू गाउनु पर्छ। 14 यदि तिमीहरू मध्ये एकजना विरामी छ भने, उसले मण्डलीका अग्रजहरूलाई बोलाउनु पर्छ। अग्रजहरूले उसलाई परमप्रभुको नाउँमा तेल मालिस गरिदिनु पर्छ अनि तिनीहरूले उसको निम्ति प्रार्थना गरिदिनु पर्छ। 15 विश्वाससित गरेको प्रार्थनाले विमारीमा निको पार्छ। परमप्रभुले उसलाई निको पार्नु हुन्छ। अनि यदि त्यो व्यक्तिले पाप गरेको भए परमेश्वरले उसलाई क्षमा प्रदान गर्नु हुनेछ।
16 सधैँ तिमीहरू एक अर्कामा पाप स्वीकार गर। तब एक अर्काको निम्ति प्रार्थना गर। यसो गर, तब परमेश्वरले तिमीहरूलाई निको पार्नु हुन्छ। धार्मिक मानिसको प्रार्थना शाक्तिशाली र प्रभावशाली हुन्छ। 17 एलिया पनि हामी जस्तै मानिस थिए। तिनले पानी नपरोस् भनी, गम्भीरता पूर्वक प्रार्थना गरे, त्यस भूमिमा तीन र्बषसम्म पानी परेन। 18 तब एलियाले पानी परोस् भनी प्रार्थना गरे। अनि आकाशबाट पानी पर्यो अनि भूमिले फेरि फसल उमार्यो।
आत्माहरू बँचाउ
19 मेरा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू मध्ये एकजना सत्यदेखि बरालीन सक्छौ। अनि अर्को व्यक्तिले उसलाई सत्यतर्फ फर्की आउन सहायता गर्न सक्छ। 20 यसलाई स्मरण गर कुनै मानिस जसले एक पापीलाई नराम्रो मार्गबाट फर्काई ल्याउँछ, उसले त्यस पापीको आत्मालाई मृत्युबाट बँचाउनेछ। यसो गरेर त्यस व्यक्तिले धेरै पापहरू प्रति क्षमा प्राप्त गराउनेछ।
जो तिमीहरूको विरुद्धमा छैन, त्यो तिमीहरूपट्टी छ
(लूका 9:49-50)
38 यसकारण यूहन्नाले भने “गुरूज्यू, हामीले एकजना मानिसलाई तपाईको नाउँ लिएर अर्को मानिसमा भएका भूतहरू भगाऊँदै गरेको भेट्यौ। त्यो हामीमध्ये कोही पनि थिएन। त्यसैले, त्यसलाई हामीले रोक्यौं, किनभने त्यो हाम्रो दलको मानिस थिएन।”
39 येशूले भन्नुभयो, “त्यसलाई नरोक। यदि मेरो नाममा कसैले शक्तिपूर्ण कामहरू गर्छ भने उसले मेरो बारेमा खराब कुरा गरेको हुँदैन। 40 यदि कोही मानिस हाम्रो विरुद्धमा छैन भने ऊ हामीसित छ। 41 म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीलाई ख्रीष्टको मानिस मानेर यदि कसैले एक कचौरा पानी दिई सहायाता गर्छ भने, उसले आफ्नो इनाम कहिल्यै गुमाउनेछैन्।
पापको बारेमा येशूको चेतावनी
(मत्ती 18:6-9; लूका 17:1-2)
42 “यदि यी मध्ये कुनै एउटा सानो बालकले ममा विश्वाश गर्दछ अनि अर्कोले त्यसलाई पाप गर्न लाउँछ भने उसको लागि यो राम्रो हुनेछ कि आफ्नो घाँटीमा जाँतो बाँधेर समुद्रमा हाम फालोस्। 43 यदि तिमीहरूको हातले तिमीहरूलाई पाप गराउँछ भने, त्यसलाई काटिदेऊ। तिमी दुबै हातसित नरकमा जानु भन्दा एउटै हात लिएर असल जीवन जीउनु चाँही उत्तम हो। त्यो सल्केको आगो जस्तो हो कहिल्यै निभ्दैन। त्यसलाई काटिदेऊ। 44 [a] 45 यदि तिम्रो खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटिदेऊ। तिम्रो शरीरको एक अङ्ग बिना परमेश्वरको राज्यमा प्रवेश गर्नु, दुवै खुट्टा भएर नरकमा जानु भन्दा उत्तम हो। 46 [b] 47 यदि तिम्रो आँखाले तिमीलाई पाप गराउँछ भने त्यसलाई निकाल। तिम्रो निम्ति एउटा आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु दुइवटै आँखासँग नरकमा फ्याँकिनु भन्दा उत्तम हो। 48 नरकमा, जसलाई कीरा लाग्दछ त्यो कहिल्यै मर्दैन। नरकमा, आगो पनि कहिल्यै निभ्दैन।
49 “तिमीहरू प्रत्येक मानिस आगोले दण्डित हुनेछौ।
50 “नुन राम्रो हुन्छ। यदि नूनले नूनको स्वाद नै हराएको छ भने त्यसलाई फेरि नूनिलो बनाउन सकिंदैन। यसैले असल बन, अनि एका-अर्कामा शान्ति कायम राख।”
© 2004, 2010 Bible League International