Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 19:7-14

परमप्रभुका शिक्षाहरू अत्युत्तम छन्।
    तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्।
परमप्रभुको व्यवस्था विश्वास योग्यको छ।
    यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ।
परमप्रभुका विधिहरू सही छन्।
    तिनीहरूले मानिसहरूलई खुशी पार्छन्।
परमप्रभुका आदेशहरू निष्कपट छन्,
    तिनीहरूले जीवनमा उचित मार्ग देखाउँछन्।

परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो
    जसले अनन्त चम्किलो उज्यालो पार्छ।
परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्।
    तिनीहरू सम्पूर्ण ठीक छन्।
10 परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्।
    तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मीठा छन्।
11 परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ।
    यदि तिनीहरूलाई पालन गर्यौं भने असल चिजहरू आउँछन्।

12 हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्।
    यसैले मलाई गुप्ती पापहरू गर्न नलगाउनु होस्।
13 मैले चाहेका पापहरू गर्न नलगाउनु होस्।
    ती पापले ममाथि राज नगरोस्।
यदि तपाईंले मलाई सहयोग गर्नुभयो भने म आफ्ना पापहरूबाट मुक्त हुन्छु।
14 आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला।
    परमप्रभु, तपाईं मेरो चट्टान हुनुहुन्छ, तपाईंले मात्र मलाई बचाउनु हुन्छ।

प्रस्थान 18:13-27

13 अर्को दिन मोशाको मानिसहरूको न्याय गर्ने काम थियो। मानिसहरू दिनभरी नै मोशाकहाँ आए।

14 मोशाले मानिसहरूको न्याय गरेको यित्रोले देखे। उनले सोधे, “यो तिमी एक्लै किन गरिरहेका छौ? तिमी एक्लै न्यायधीश छौ? अनि किन दिनभरी मानिसहरू तिमीकहाँ आइरहन्छन्?”

15 तब मोशाले आफ्नो ससुरालाई भने, “मानिसहरू मकहाँ तिनीहरूका समस्याहरूप्रति परमेश्वरको निर्णय के छ त्यो सोध्न आउँछन्। 16 यदि तिनीहरूसित भन्ने कुरो छ भने तिनीहरू मकहाँ आउँछन्। कुन मानिस सही छ म निर्णय गर्छु। यसरी म मानिसहरूलाई परमेश्वरले बताउनु भएको नियम र शिक्षाहरू सिकाउँछु।”

17 तर मोशाका ससुराले उसलाई भने, “यस्तो कार्य गर्ने यो सही तरीका होइन। 18 एक्लो मानिसको निम्ति यो वेशी काम हो। तिमी एक्लै यी सबै कार्यहरू गर्न सक्तैनौ, तिमी थाक्छौ अनि मानिसहरू पनि थाक्छन्। 19 अब मेरो कुरा सुन। मलाई केही सल्लाह दिनु देऊ, अनि म प्रार्थना गर्छु परमेश्वर तिमीसँग हुनु हुनेछ। तिमीले मानिसहरूका निम्ति परमेश्वरको अघि बोल्नु पर्छ, अनि मानिसहरूका मुद्दाहरू सुन्नु पर्छ। 20 तिमीले परमेश्वरका नियम र विधि विधानहरू मानिसहरूलाई सिकाउनु पर्छ। नियमहरू नभत्काउने चेताउनी देऊ। मानिसहरू कसरी बाँच्नु पर्छ सिकाऊ। तिनीहरूले के गर्नु पर्छ बताऊ। 21 तर तिमीले ती मानिसहरू मध्ये कोही मानिसहरू न्यायधीश र अगुवाहरू हुने पनि रोज्नु पर्छ।

“जसमाथि भरोसा गर्न सक्छौ त्यस्ता असल मानिसहरूलाई छान जो परमेश्वरको सम्मान मान्छन्। यस्ता मानिसहरूलाई रोज जो पैसामा आफ्नो निर्णय परिवर्त्तन गर्दैनन्। अनि यी मानिसहरूलाई मानिसहरूमाथि शासकहरू नियुक्त गर। एक हजार, एक सय, पचास अनि दश मानिसहरूका समूहहरूका शासकहरू हुनु पर्छ। 22 यी अगुवाहरूले मानिसहरूलाई न्याय गरून्। यदि कतै महत्वपूर्ण मामला रहे ती शासकहरू तिमीकहाँ आउन सक्छन्। तर अन्य मामलामा तिनीहरूले नै न्याय दिऊन्। यसरी तिम्रो कार्य-भारहरू हल्का हुन्छ। 23 यदि तिमीले यी कार्यहरू परमप्रभुको इच्छामा गर्छौ भने तिमी आफ्नो कार्य गर्नमा सफल हुनेछौ। अनि त्यही समयमा मानिसहरू आफ्नो समस्याहरू समाधान भएपछि घर जानु सक्छन्।”

24 यसकारण मोशाले आफ्नो ससुराले भने जस्तै गरे। 25 उनले इस्राएलीहरूबाट योग्य मानिसहरू छाने। उनले तिनीहरूलाई अरू मानिसहरूमाझ नायक बनाए। उनले मानिसहरूलाई हजार, एक सय, पचास अनि दसको समूहको शासक बनाए। 26 यी अगुवाहरूका लागि मानिसहरूको न्यायधीश थिए। मानिसहरू यी अगुवाहरू कहाँ सधैँ आफ्नो कुराहरू लिएर आउँथे।

27 केही समय पछि मोशाले आफ्नो ससुरा यित्रोलाई विदा दिए र यित्रो फर्केर आफ्नो घर गए।

प्रेरित 4:13-31

13 यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसँगै रहन्थे भनेर थाहा पाए। 14 तिनीहरूले त्यो लङ्गडो मानिस दुइ प्रेरितहरूको छेउमा बसेको देखे। त्यो मानिस निको भएको थियो। यसैकारणले तिनीहरूले ती प्रेरितहरूले भनेको विरूद्ध केही उत्तर दिन सकेनन्।

15 यहूदी अगुवाहरूले तिनीहरूलाई महासभाबाट बाहिर जान भने। त्यसपछि ती यहूदी नेताहरू आपसमा अब के गर्नु पर्ने भन्ने कुरामा वहश गरे। 16 तिनीहरूले भने, “हामीहरूले ती प्रेरितहरूसित के गर्नु पर्ने? यरूशलेमका प्रत्येक मानिसहरूले जान्दछन् कि तिनीहरूले ठूलो आर्श्चयकर्म गरेकाछन्। यो छर्लङ्गा छ। हामी यसलाई सत्य होइन भन्न सक्तैनौ। 17 तर हामीहरू तिनीहरूलाई येशूको विषयमा मानिसहरूलाई अझ धेरै नबताउनु भनेर हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ। तब यो विषय मानिसहरू बीच अझ फैलिने छैन।”

18 यसर्थ यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई फेरि भित्र बोलाए। तिनीहरूले तिनीहरूलाई मानिसहरूलाई येशूको नाउँमा कुनै कुरा नसिकाउनु भनी आदेश गरे। 19 तर पत्रुस अनि यूहन्नाले उत्तर दिए, “परमेश्वर समक्ष के सही छ? तिमीलाई सुन्नु कि परमेश्वरलाई? तिमीहरू आफैं निर्णय गर। 20 हामी चुपचाप बस्न सक्तैनौ। हामीले जे-जे सुन्यौ र देख्यौं हामीले ती कुराहरू मानिसहरूलाई भन्नु पर्छ।”

21-22 यहूदी अगुवाहरूले तिनीहरूलाई दण्ड दिने कुनै त्यस्तो आधार पाएनन् किनभने जे भएको थियो त्यसमा सबै मानिसहरू परमेश्वरको प्रशंसा गरिरहेका थिए। यो चमत्कार नै परमेश्वरबाट प्रमाण थियो। जुन मानिस निको पारियो तिनी चालीस वर्षभन्दा ज्यादा उमेर पुगेका थिए यसैकारणले यहूदी अगुवाहरूले ती प्रेरितहरूलाई फेरि चेतावनी दिए अनि तिनीहरूलाई पठाइदिए।

पत्रुस र यूहन्ना विश्वासीहरूकहाँ फर्किए

23 पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हूलतिर गए। तिनीहरूले आफ्ना हूललाई मुख्य पूजाहारीहरू अनि बुढा यहूदी अगुवाहरूले के-के भनेका थिए सबै बताई दिए। 24 जब विश्वासीहरूले यो सुने, तिनीहरू सबैले परमेश्वरलाई एउटै हृदयले प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे प्रभु, तपाईं नै एक हुनु हुन्छ जसले पृथ्वी, अकाश, समुद्र र तिनीहरूमा भएका प्रत्येक वस्तु यस पृथ्वीमा बनाउनु भयो। 25 हाम्रा पुर्खा दाऊद तपाईंको सेवक हुनुहुन्थ्यो। पवित्र आत्माद्वारा उनले यी शब्दहरू लेखेः

‘किन संसारका मानिसहरू परमेश्वरको विरुद्ध योजनाहरू तयार पार्छन्?
    यी सबै आशाहिन छन्।

26 ‘पृथ्वीका राजाहरू र शासकहरू,
    परमप्रभु र उहाँका ख्रीष्ट विरुद्ध लडाँईँ लड्न एक ठाँउमा भेला भए।’(A)

27 यी कुराहरू साँच्चि नै घटेका थिए जब हेरोद, पन्तियस पिलातस, जातिहरू अनि यहूदीहरू येशूको विरुद्धमा यरूशलेममा एकत्रित भए। येशू तिमीहरूका पवित्र सेवक हुनु हुन्छ। उहाँ एक हुनु हुन्छ जसलाई तिमीहरूले ख्रीष्ट हुन नियुक्ति दियौ। 28 यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए। 29 अनि, अब, सुन्नहोस् परमप्रभु! तिनीहरूले के भनिरहेछन्। तिनीहरूले हामीलाई डर देखाउने कोशिश गरिरहेछन्! परमप्रभु, हामी तपाईंको सेवकहरू हौ। हामीलाई ती कुराहरू भन्नालाई सहयोग गर्नुहोस् जुन तपाईं हामीद्वारा साहससँग भनिएको चाहनु हुन्छ। 30 प्रमाणहरू दिएर अनि तपाईंको पवित्र सेवक येशूको नाँउद्वारा चमत्काहरू गरेर ती रोगी मानिसहरूलाई निको पारी तपाईंको शक्ति देखाउनु होस्।”

31 विश्वासीहरूका प्रार्थना पछि, तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए, र तिनीहरूले परमेश्वरको सन्देश साहससाथ भने।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International