Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: वाद्य वादन सहित-जति वेला सेफिद आयो अनि शाऊललाई भन्यो, “दाऊद हाम्रा मानिसहरूका वीचमा लुकिरहेको छ।” दाऊदको मस्किल नाउँको भजन।
54 हे परमेश्वर, तपाईंको शक्ति प्रयोग गरेर मलाई बचाउनु होस्।
मलाई स्वतन्त्र[a] पार्नलाई तपाईंको शक्ति प्रयोग गर्नुहोस्।
2 हे परमेश्वर, मेरो प्रार्थना सुनी दिनुहोस्।
मैले भनेका कुराहरूमा ध्यान दिनुहोस्।
3 विदेशीहरू जसले परमेश्वरलाई उपासना गर्दैनन् उनीहरू मेरो विरूद्ध उठिरहेछन्।
ती शक्तिशाली मानिसहरूले मलाई मार्न खोजिरहेछन्।
4 हेर, मेरो परमेश्वरले मलाई बचाउँनु हुनेछ।
मेरो स्वामीले मलाई साथ दिनुहुनेछ।
5 जो मेरो विरूद्धमा उभिन्छन् तिनीहरूलाई परमेश्वरले दण्ड दिनुहुनेछ।
परमेश्वर मप्रति साँचो हुनुहुन्छ, अनि उहाँले ती मानिसहरूलाई नाश गर्नुहुनेछ।
6 परमेश्वर, मेरो निस्वार्थ मनले तपाईंलाई भेटीहरू चढाइरहेछु।
हे परमप्रभु, म तपाईंको शुभनाउँको स्तुति गर्नेछु।
7 किनभने तपाईंले मलाई सारा कष्टहरू देखि बचाउँनु भयो।
मैले आफ्ना शत्रुहरू परास्त भइरहेको देखें।
मिद्यानीहरू इस्राएलसित युद्ध गर्छन्
6 फेरि इस्राएलीहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। यसकारण सात बर्षसम्म परमप्रभुले मिद्यानका मानिसहरूलाई इस्राएलका मानिसहरूमाथि पराजित पार्न दिनु भयो।
2 मिद्यानका मानिसहरू अत्यन्त शक्तिशाली अनि इस्राएलका मानिसहरू प्रति निष्ठूर थिए। यसर्थ इस्राएलका मानिसहरूले पर्वतहरूमा अनेक लुक्ने ठाउँहरू निर्माण गरेका थिए। तिनीहरूले आफ्ना भोजनहरू गुफाहरू अनि भेट्न गाह्रो पर्ने स्थानहरूमा लुकाए। 3 तिनीहरूले त्यसो गरे किनभने पूर्वबाट मिद्यानी अनि अमालेकी मानिसहरू आएर तिनीहरूका बालीहरू सदैव नष्ट गरिदिन्थे। 4 ती मानिसहरूले त्यो भूमिमा छाउनी थापेर बस्थे अनि इस्राएलका मानिसहरूले रोपेका बालीहरू नष्ट गरिदिन्थे। ती मानिसहरूले इस्राएलका मानिसहरूको गाजा शहर नजिकसम्मका भूमिको फसल नष्ट गरिदिए। ती मानिसहरूले इस्राएलका मानिसहरूलाई खानका निम्ति केही पनि छाडेनन्। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति कुनै भेंडा, वा गाई-बस्तु वा गधाहरू पनि छाडेनन्। 5 मिद्यानका मानिसहरू माथि आए अनि त्यस भूमिमा छाउनी थापेर बसे। तिनीहरूले आफ्ना परिवारहरू अनि आफ्ना पशु प्राणीहरू ल्याए। तिनीहरू सलहको हुल झैं धेरै थिए। ती मानिसहरू अनि ऊँटहरू यति धेरै थिए कि तिनीहरूको गन्ती गर्न सम्भव थिएन। यी सबै मानिसहरू त्यस भूमिमा आए अनि त्यसलाई ध्वंश पारे। 6 इस्राएलका मानिसहरू मिद्यानका मानिसहरूको कारणले अत्यन्त गरीब भए। यसर्थ इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभु समक्ष विलाप गरे।
7 मिद्यानका मानिसहरूले ती सबै दुष्टकर्महरू गरे। यसर्थ इस्राएलका मानिसहरू सहायताका निम्ति परमप्रभुसित विलाप गर्नलागे। 8 यसर्थ परमप्रभुले तिनीहरू कहाँ एक अगमवक्तालाई पठाउनु भयो। अगमवक्ताले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु, इस्राएलका परमेश्वरले जे भन्नुहुन्छ त्यो यो होः ‘तिमीहरू मिश्रदेशमा दास थियौ। मैले तिमीहरूलाई मुक्त गरें अनि तिमीहरूलाई त्यस भूमिबाट बाहिर ल्याएँ। 9 मैले तिमीहरूलाई मिश्रदेशका शक्तिशाली मानिसहरूबाट बचाएँ। त्यसपछि कनान देशका मानिसहरूले तिमीहरूलाई घात पुर्याए। यसर्थ मैले फेरि तिमीहरूलाई बचाएँ। मैले ती मानिसहरूलाई तिनीहरूका भूमि छोडन लगाएँ। अनि तिनीहरूको भूमि तिमीहरूलाई दिएँ।’ 10 तब मैले तिमीहरूलाई भने, ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू एमोरी मानिसहरूको भूमिमा बस्नेछौ, तिमीहरूले तिनीहरूका झूटा देवताहरू पूज्न हुँदैन थियो।’ तर तिमीहरूले मेरो कुरा पालन गरेनौ।”
ख्रीष्ट सम्बन्धी क्रूसका सुसमाचार
2 प्यारा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, जब म तिमीहरू कहाँ आएँ, मैले तिमीहरूलाई परमेश्वरको सत्य घोषणा गरें। तर मैले आलंकारिक शब्द लगाएर वा ज्ञानको कुरा गरीनँ। 2 जतिन्जेल सम्म म तिमीहरूसित थिँए, येशू ख्रीष्ट र उहाँको क्रूसको मृत्यु बाहेक अरू सब कुरा बिर्सौ भन्ने मैले निश्चय गरेको थिँए। 3 जब म तिमीहरूकहाँ आएँ, म कमजोर थिँए अनि डरले कामिरहेको थिएँ। 4 मेरो वचन र प्रचार मानिसहरूलाई फुस्लाउने ज्ञानीका शब्दहरू थिएनन्, तर मेरो शिक्षाको प्रमाण शक्ति थियो जुन आत्मादेखि आउँछ। 5 तिमीहरूको विश्वास मानिसको ज्ञानमा होइन तर परमेश्वरको शक्तिमा आधारित होस् भनि मैले त्यसो गरें।
© 2004, 2010 Bible League International