Revised Common Lectionary (Complementary)
106 परमप्रभुको प्रशंसा गर!
परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ।
परमेश्वरको प्रेम अनन्त छ!
2 कुनै मानिसले पनि उहाँ कति महान् हुनुहुन्छ, भनेर वर्णन गर्न सक्दैन्।
कसैले पनि परमप्रभु पराक्रमको घोषणा गर्न सक्दैन्।
3 मानिसहरू जसले परमेश्वरको आज्ञाहरू पालन गर्दछन् उनीहरू धन्य हुन्छन्।
ती मानिसहरूले सधैँभरि असल कामहरू गर्दछन्।
4 हे परमप्रभु, याद गर्नुहोस् जब तपाईं आफ्ना मानिसहरूको लागि कृपालु हुनुहुन्छ।
मलाई पनि बचाउनु पर्छ भन्ने सम्झनु होस्।
5 हे परमप्रभु, मलाई राम्रो कुराहरूमा सहभागी हुन दिनुहोस्
जुन तपाईंले आफ्ना रोजेको मानिसहरूको निम्ति गर्नुभयो।
मलाई तपाईंका मानिसहरूसित प्रफुल्लित हुन दिनुहोस्।
मलाई तपाईंका मानिसहरूसँग गुण-गान गर्न दिनुहोस्।
6 हामीले त्यस्तै पाप गर्यौं जस्तो हाम्रा पुर्खाहरूले गरेका थिए।
हामी अन्योलमा थियौं, हामीले अधर्म कामहरू गर्यौं!
13 तर हाम्रा पिता-पुर्खाहरूले तुरून्तै परमेश्वरले गर्नु भएका कुराहरू बिर्से।
तिनीहरूले परमेश्वरको सल्लाहलाई ध्यान दिएनन्।
14 हाम्रा पिता-पुर्खाहरू मरुभूमिमा भोकाए
अनि तिनीहरूले आफ्नो जङ्गली रूपमा परमेश्वरलाई जाँच गरे।
15 तर हाम्रा पिता-पुर्खाहरूले मागेका सबै थोक परमेश्वरले दिनुभयो।
तर परमेश्वरले तिनीहरूलाई डरलाग्दो रोगहरू पनि दिनुभयो।
16 मानिसहरू मोशादेखि डाह गर्न थाले।
तिनीहरू हारूनदेखि पनि ईर्ष्यालु भए जो परमप्रभुका पवित्र पूजाहारी हुनुहुन्थ्यो।
17 यसैकारण परमेश्वरले ती डाही मानिसहरूलाई दण्ड दिनुभयो।
धर्ती चिरिएर दातानलाई निलिदियो।
त्यसपछि चिरिएको जमीन बन्द भए अनि अबिरामको समुदाय जमीन भित्र छोपिएर गयो।
18 तब त्यस भीडको माझमा आगो लाग्यो,
र त्यो आगोले ती दुष्टहरूलाई जलाई दियो।
19 ती मानिसहरूले होरेब पर्वतमा सुनको बाछो बनाएर
तिनीहरूले त्यस मूर्तिलाई पूजा गरे!
20 तिनीहरूले आफ्ना गौरवमय परमेश्वरसित
घाँस खाने बाछोको मूर्ति साटे।
21 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो।
तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए।
जुन परमेश्वरले मिश्रमा महान कार्यहरू गर्नु भएको थियो,
तिनीहरूले उहाँको बारेमा भुलिदिए।
22 परमेश्वरले हाम्रो देशमा आश्चर्यजनक कुराहरू गर्नुभयो।
परमेश्वरले लाल समुद्रको छेउमा डरलाग्दो कामहरू गर्नुभयो!
23 परमेश्वरले ती मानिसहरूलाई नष्ट गर्न चाहनु हुन्थ्यो।
तर परमेश्वरले चुन्नु भएको दास मोशाले, बाटो छेके।
परमेश्वर अत्यन्त रिसाउनु भयो,
तर मानिसहरूमाथि परमेश्वरको रीस रोक्न मोशाले उहासँग बिन्ति गरे।
यसैले परमेश्वरले मानिसहरूलाई नष्ट गर्नु भएन।
47 हे परमप्रभु, हाम्रा परमेश्वर, हाम्रो उद्धार गर्नुहोस्।
परमेश्वरले ती राष्ट्रहरूबाट फर्काई हामीलाई ल्याउनु भयो।
यसकारण हामीले उहाँको पवित्र नाउँको गुण-गान गर्न सक्यौं।
यसकारण हामीले उहाँ प्रति गुण-गान गर्न सक्यौ।
48 इस्राएल का परमप्रभु परमेश्वरको प्रशंसा गरौं।
परमेश्वर सधै रहनु हुन्छ, उहाँ सधै नै रहनुहुने छ।
अनि सारा मानिसहरूले भने, “आमेन!”
परमप्रभुको प्रशंसा गर!
21 “तिमीहरूको निम्ति परमप्रभु मसित रिसाउनु भयो। त्यो असल भूमि जहाँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई राख्नु हुँदैछ त्यहाँ मलाई यर्दन नदीपारि जान नदिने कठोर प्रतिज्ञा गर्नु भयो। 22 तिमीहरू यर्दन नदी पारिको असल भूमिमा गएर बस्न सक्छौ तर म त्यहाँ पस्न सक्तिनँ, मैले यहीं मर्नुपर्छ। 23 तिमीहरू त्यस नयाँ भूमिमा सावधानी पूर्वक बस्नुपर्छ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित गरेको करार बिर्सनु हुदैन। परमप्रभुको आदेश पालन गर र कुनै पनि आकारमा मूर्ति नबनाऊ। 24 किनभने, अरू देवता मान्ने मानिसहरूसित परमप्रभु तिमीहरूका परमेश्वर रिसाएर आगो भई जलाएर नष्ट पार्नु हुनेछ।
25 “तिमीहरू त्यहाँ धेरै समयसम्म रहनेछौ र त्यहाँ तिमीहरूको नानीहरू अनि नाता-नातिनहरू हुनेछन्। तिमीहरू नराम्रो काम गर्नु थाल्छौ। त्यहाँ तिमीहरूले नाना प्रकारको मूर्तिहरू बनाउनेछौ जसले परमप्रभुलाई रीस उठाउनेछ। 26 यसकारण, म तिमीहरूलाई चेताउनी दिंदैछु स्वर्ग र पृथ्वी मेरा साक्षीहरू हुनेछन् र यदि तिमीहरूले त्यस्तो कुकर्म गरेको खण्डमा पुग्नलाई अहिले तिमीहरू यर्दन नदी पार गर्दैछौ तर यदि तिमीहरूले मूर्तिहरू निर्माण गर्यौ भने त्यहाँ धेरै समय बस्न सक्ने छैनौ। यति मात्र कहाँ? तिमीहरू सम्पूर्ण प्रकारले ध्वंश हुनेछौ। 27 परमप्रभुले तिमीहरूलाई राष्ट्रहरूमा छरपष्ट पार्नु हुनेछ र तिमीहरू मध्ये केही मात्र जीवित रहेर परमप्रभुले पठाएको भूमिमा जानेछौ। 28 त्यहाँ तिमीहरूले मानिसले बनाएको यस्तो देवता मूर्तिको सेवा गर्नेछौ, जसले न सुन्छ, न खान्छ न त गन्ध नै थाह पाउँछ कारण तिनीहरू केवल काठ अथवा ढुङ्गाका मूर्तिहरू हुनेछन्। 29 तर अरू भूमिहरू तिर यदि तिमीहरूले आफ्नो सम्पूर्ण हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरलाई खोज्छौ भने तिमीहरूले उहाँलाई पाउनेछौ। 30 जब तिमीहरूमाथि मैले भनेको कुराहरू आइपर्नेछन्, संकष्टमा पर्नेछौ, तब तिमीहरू परमप्रभु आफ्नो परमेश्वरको शरणमा पर्नेछौ अनि उहाँको आज्ञा पालन गर्नेछौ। 31 परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ, यसकारण उहाँले तिमीहरूलाई त्याग्नुहुन्न, तिमीहरूलाई नष्ट पार्नुहुन्न। उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नु भएको करार कहिल्यै विर्सनु हुँदैन।
परमप्रभुले गर्नु भएका महान कार्यहरूको स्मरण गर
32 “अतीतमा यस्तो कुनै महाकार्य भएको थियो? कहिल्यै पनि भएन। तिमीहरू जन्मनु अघिको कुराहरूलाई नियालेर हेर। सृष्टिकालको अवस्थालाई सम्झ जुन समयमा परमेश्वरले मानिस-जातिको सृष्टि गर्नु भयो। संसारमा भएको सबै कुराहरूलाई गहिरो प्रकारले नियालेर हेर, यो भन्दा महान् कार्य कहिल्यै कतै घटेको कसैले सुनेको छ? छैन! 33 तिमीहरूले परमेश्वरलाई आगोबाट बोल्नु भएको सुनेका छौ र पनि तिमीहरू जीवित नै छौ। तर तिमीहरूलाई थाहा छ अरू मानिसहरूसित यस्तो भएको छ? कहिले पनि भएको छैन। 34 अनि कतै अरू ईश्वरले अर्कै देशमा गएर आफ्नो निम्ति मानिसहरू ल्याउने चेष्टा गरेका छन्? कहिले पनि त्यस्तो गरेका छैनन्। तर तिमीहरू आफैंले परमप्रभु तिमीहरूका परमेश्वरलाई यी सब आश्चर्य कार्यहरू सम्पन्न गरेको देखेका छौ। उहाँले तिमीहरूलाई आफ्नो शक्ति प्रदर्शन गर्नु भयो। मानिसहरूले कष्ट अनुभव गरेको पनि तिमीहरूले देखेका छौ। तिमीहरूले अचम्मित अनि आश्चर्य कर्महरू तथा युद्ध अनि डरलाग्दा घट्नाहरू भएको पनि देखेका छौ। 35 परमप्रभुले यी सब घट्नाहरू तिमीहरूलाई देखाउनु भयो जसले गर्दा उहाँ परमेश्वर हुनुहुन्छ भनी तिमीहरू जान्नेछौ। उहाँको बराबर अरू कुनै ईश्वर छैन। 36 तिमीहरूलाई शिक्षा दिनको निम्ति उहाँले स्वर्गबाट आफ्नो आवाज सुनाउनु भयो, पृथ्वीमा उहाँले तिमीहरूको अघि आगोमा देखिनु भयो अनि त्यहाँबाट बोल्नु भयो।
37 “तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नु हुन्थ्यो यसैकारण तिमीहरूलाई उहाँले उनीहरूका सन्तान बनाउन रोज्नु भयो। यसकारण आफ्नो महान् शक्तिद्वारा परमप्रभुले तिमीहरूलाई मिश्रदेशदेखि बाहिर ल्याउनु भयो। 38 उहाँले तिमीहरूलाई तिमीहरूको भन्दा महान् अनि शक्तिशाली जातिहरूको भूमिमा पस्ने अनि त्यसलाई तिमीहरूको आफ्नै बनाउनु भयो। उहाँले तिमीहरूलाई तिनीहरूको भूमिमा बस्न दिनु भयो। अनि उहाँले अझै गर्नु हुँदैछ।
39 “तिमीहरूले बुझ्नु पर्छ अनि मगजमा राख्नु पर्छ, परमप्रभु नै पृथ्वीमा अनि स्वर्गमा परमेश्वर हुनु हुन्छ, अरू परमेश्वर छैनन्। 40 आज मैले तिमीहरूलाई दिनु लागेको उहाँको आज्ञाहरू र विधिहरू तिमीहरूले पालन गर्नैपर्छ र तिमीहरूसँगै तिमीहरूका सन्तानको भलो हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमि सदा-सर्वदाको निम्ति तिमीहरूकै हुनेछ।”
9 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू ठान्दछौ तिमीहरू चलाख छौ। तिमीहरू आफ्ना परम्परालाई कायम राख्न परमेश्वरको आज्ञालाई पर सार्छौ। 10 मोशाले भनेका छन्, ‘तिमीहरूले आफ्ना आमा र बाबुलाई आदर गर्नैपर्छ।’ फेरि उनले भनेका छन् ‘कसैले आफ्ना बाबु र आमाको खराब कुरा गर्छ भने त्यसलाई मार्नु पर्छ।’ 11 तर तिमीहरू भन्छौ कि यदि कसैले उसको बाबु र आमालाई भन्नेछ, ममा केही छ जसलाई तपाईंहरू को सहायताको निम्ति प्रयोग गर्नसक्छु तर म तपाईंहरूको सहायताको निम्ति यसो गर्न चाहन्न किनभने मैले यसलाई परमेश्वरलाई भेटी को रुपमा अलग राखेकोछु। 12 तिमीहरू त्यस मानिसलाई भन कि त्यसले आफ्ना बाबु र आमाको निम्ति केही गर्न आवश्यकता छैन। 13 यसकारण परमेश्वरले जे आदेश गर्नु भएको छ, त्यो मान्न त्यति महत्वपूर्ण होइन भनी सिकाउँछौ तर तिम्रा नियमहरू मानिसहरूले पछ्याउनु अति महत्वपूर्ण छ। अनि त्यस्तै प्रकारले तिमीहरू पनि यस्ता कुराहरू धेरै गर्छौ।”
14 येशूले फेरि भीडहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “प्रत्येकले राम्ररी सुन मेरा कुरा बुझ्नु पर्छ। म के भनिरहेछु। 15 यस्तो केही कुरा छैन जो कुनै मानिस भित्र बाहिरबाट पस्छ जसले उसलाई अशुद्ध पार्छ। तर मानिसको भित्रबाट बाहिर आउने कुराहरूले नै मानिसलाई अशुद्ध पार्न सक्छ।” 16 [a]
17 त्यसपछि येशूले भीडलाई छाडेर घर जानुभयो। चेलाहरूले उहाँलाई त्यो दृष्टान्त बारेमा सोधे। 18 येशूले भन्नुभयो, “के तिमीहरूलाई अझै पनि यो बुझ्न गाह्रो परिरहेछ? के तिमीहरू जान्दैनौ कि कुनै मानिसमा जे पनि बाहिरबाट पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्तैन 19 किनभने खाना मुटुभित्र जाँदैन तर भूँडीमा जान्छ अनि तब यो शरीरबाट बाहिर नालीमा आउँछ।” (जब येशूले यसो भन्नुभयो उहाँले यस कुरालाई स्पष्ट पार्नु भयो कि सबै खाद्यपदार्थ सफा हुन्छन्।)
20 फेरि येशूले भन्नुभयो, “जे कुराहरू मानिसबाट बाहिर निसकन्छ त्यसैले उसलाई अशुद्ध तुल्याउँछ। 21 सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या 22 वेश्यागमन, कुदृष्टि, स्वार्थीपन, निन्दा, धोका, अश्लीलता, ईंर्ष्या, अभद्रता, अहंकार, घमण्ड अनि मूर्खता हुन्। 23 यी सबै दुष्ट कुराहरू मानिसका भित्रबाटै निस्कन्छन् अनि मानिसलाई अशुद्ध तुल्याउँछ।”
© 2004, 2010 Bible League International