Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
15 हे परमप्रभु, तपाईंको पवित्र पालमा को बस्न सक्छ?
तपाईंको पवित्र पर्वतमा को चढ्न सक्छ?
2 केवल त्यो मानिस बस्न सक्छ जसको जीवन पवित्र छ र जसले असल कामहरू गर्न सक्छ।
जसले सत्य बोल्छ, केवल त्यो मात्र तपाईंको पर्वतमा बस्न सक्छ।
3 यस्तो मानिसले अरूको विषयमा खराब बोल्दैन।
उसले आफ्नो छिमेकीको विरूद्धमा नराम्रो गर्दैन।
उसले आफ्ना परिवारका मानिसहरूको विषयमा लज्जाजनक कुराहरू गर्दैन।
4 त्यो मानिसले तिनीहरूलाई अस्वीकार गर्छ
जसले परमेश्वरलाई घृणा गर्छ।
तर उसले तिनीहरूलाई सम्मान गर्छ जसले परमप्रभुलाई आदर गर्छ।
यस्तो मानिसले आफूलाई हानि गराएर पनि आफ्नो प्रतिज्ञा कायम राख्छ।
5 उसले कसैलाई ऋण दिन्छ
तर ब्याज लिंदैन।
अनि निर्दोष मानिसहरूलाई नोक्सान पार्न घूस लिंदैन।
यदि ऊ कुनै असल मानिस जस्तै बाँच्छ भने
ऊ सदा परमेश्वरको नजिक हुनेछ।
15 तब मोशा पर्वतबाट तल ओर्लिए। तिनीसित दुवैपट्टि करार लेखिएको दुइवटा शिला-पाटीहरू थियो। यी पाटीहरूमा दुवै पट्टि लेखेको थियो। 16 यी पाटीहरू परमेश्वर आफैंले बनाउनु भयो, अनि यसमाथि आज्ञाहरू लेख्नु भयो।
17 जब मोशा पर्वतबाट तलतिर ओर्लिदै थिए यहोशूले मानिसहरूलाई चिंच्याउदै गरेको सुने, यहोशूले मोशालाई भने, “मैले छाउनीभित्र युद्धको ध्वनि सुने।”
18 मोशाले उत्तर दिए, “यो आवाज सेनाहरूको विजय ध्वनि होइन। अनि यो हार्ने सेनाहरूको आवाज पनि होइन। त्यो आवाज जो म सुन्दैछु, त्यो सँगीतको स्वर हो।”
19 मोशा छाउनी नजिक आइपुगे अनि त्यहाँ एउटा बाछो र मानिसहरू नाच्दै गरेको देखे। मोशा एकदमै क्रोधित भए अनि तिनीसित भएको च्याप्टो ढुङ्गाहरू भूँईमा फ्याँके। पर्वतको बेंसीमा ती ढुङ्गाहरू फुटेर टुक्रा-टुक्रा भए। 20 तब मोशाले बाछालाई पगाले र यसलाई धूलो पारे। तब उनले धूलोलाई पानीभित्र हाले, उनले त्यो पानी इस्राएलीहरूलाई पिउन कर लगाए।
21 उसले हारूनलाई भने, “यी मानिसहरूले तिमीलाई के गरे? किन तिनीहरूमाथि तिमीले यस्तो ठूलो पाप ल्यायौ?”
22 हारूनले उत्तर दिए, “हजूर, क्रोधित नहुनुहोस्। तपाईंलाई थाहा छ यी मानिसहरू सधैँ केही गल्ती गर्न तैयार नै रहन्छन्। 23 यी मानिसहरूले मलाई भने, ‘मोशाले हामीलाई मिश्र देशबाट अगुवाई गर्नु भयो, तर उहाँलाई के भयो हामी जान्दैनौं, यसर्थ हाम्रो अगुवाई गर्न केही देवताहरू बनाऊ।’ 24 यसकारण मैले तिनीहरूलाई भनें तिनीहरूको सुन ल्याऊ तिनीहरूले त्यो मलाई दिए। मैले त्यो सुन आगोमा हाले् र आगोबाट त्यो बाछो निस्कियो।”
25 मोशाले देखे हारूनले मानिसहरूलाई नियन्त्रणबाट बाहिर जान दिए, मानिसहरू जंगली जस्तो कुदिरहे अनि तिनीहरूका सबै शत्रुहरूले तिनीहरूको मूर्खको जस्तो व्यवहार देखे। 26 यसर्थ मोशा छाउनीको प्रवेशद्वारमा उभिए र भने, “परमप्रभुलाई समर्पण गर्ने जो पनि मेरो वरिपरि भेला हुनुपर्छ। सबै लेवीहरू उनको वरिपरि भेला भए।”
27 त्यसपछि मोशाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरले के भन्नु भएको छ म तिमीहरूलाई भन्नेछु ‘प्रत्येकले हातमा तरवार लिएर छाउनीको एक कुनादेखि अर्को कुनासम्म जानुपर्छ। तिमीहरूले आफ्नो दाज्यू-भाइ, साथीहरू, अनि छिमेकीहरूलाई मार्नै पर्छ।’”
28 लेवीहरूले मोशाको आज्ञा पालन गरे अनि त्यस दिन लगभग तीन हजार इस्राएलीहरूले ज्यान गुमाए। 29 त्यसपछि मोशाले भने, “आज तिमीहरूका छोराहरू अनि दाज्यू-भाइ मारेर आफूलाई परमप्रभुको सेवामा सर्मपण गर्यौ। यसको निम्ति तिमीहरूले आशिष पाउनेछौ।”
30 अर्को बिहान मोशाले मानिसहरूलाई भने, “तिमीहरूले असाध्यै ठूलो पाप गर्यौ। अब म परमप्रभुकहाँ जानेछु। हुन सक्छ म तिमीहरूको पापका निम्ति प्रायश्चित गर्नु सक्छु।” 31 तब, मोशा परमप्रभुकहाँ गए अनि भने, “दया गरी सुन्नु होस्, यी मानिसहरूले सुनको देवता बनाए र साह्रै नराम्रो पाप गरेका थिए। 32 अब यिनीहरूका पाप क्षमा गरि दिनुहोस्। यदि तिनीहरूलाई क्षमा गर्नु हुँदैन भने तपाईंले लेख्नु भएको पुस्तकबाट मेरो नाउँ निशान मोटाइ दिनुहोस्।”
33 तर परमप्रभुले मोशालाई भन्नु भयो, “ज-जसले मेरो विरोधमा पाप गरेकाछन्, म तिनीहरूको नाउँहरू मेरो पुस्तकबाट हटाउने छु। 34 यसर्थ तल गएर मैले जहाँ जानु भन्छु त्यहाँ तिनीहरूको अगुवाइ गर। मेरो स्वर्गदूतले तिमीलाई अगुवाई गर्नेछ। जब पाप गर्ने मानिसहरूलाई दण्ड दिने समय आउँछ तिनीहरूलाई दण्ड दिइनेछ।” 35 यसर्थ परमप्रभुले मानिसहरूमाथि डरलाग्दो बिमार खन्याई दिनु भयो। उहाँले यसो गर्नु भयो किनभने हारूनले अगुवाइ गरेका मानिसहरूले एउटा सुनका बाछो बनाएका थिए।
साँच्चो धन
9 यदि विश्वासी निर्धन भए ऊ गर्वित हुनुपर्छ, किनभने परमेश्वरले उसलाई धनी बनाउनु भएको छ। 10 यदि विश्वासी धनी भए ऊ गर्वित हुनुपर्छ किनभने ऊ गरीब छ। धनी मानिस जङ्गली फूल सरी मर्नेछ। 11 सूर्यको उसको पोल्ने तापसित उदय हुन्छ। सूर्यको तापले घाँसलाई ओइलाईदिन्छ। फूल झर्छ, फूल सुन्दर थियो, तर अहिले त्यो भूँईमा झर्यो। धनी व्यक्तिसित त्यही कुराहुन्छ। उसको व्यपारको योजना गर्दा गर्दै मर्छ।
परिक्षा परमेश्वरबाट आउँदैन
12 त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। 13 यदि कुनै मानिस परमेश्वरले परिक्षामा पार्नु भयो भने उसले यो भन्नुहुँदैन, “परमेश्वरले मलाई प्रलोभित गराउँदै हुनु हुन्छ।” दुष्टले परमेश्वरलाई परिक्षा तुल्याउन सक्तैन। अनि परमेश्वर स्वयंले कुनै पनि व्यक्तिलाई प्रलोभित तुल्याउनु हुँदैन। 14 एकजना व्यक्तिलाई आफ्नै दुष्ट कुराले प्रलोभित तुल्याउँछ। उसको आफ्नै दुष्ट इच्छाले बाहिर तान्छ अनि उसलाई जालमा फँसाउँछ। 15 दुष्ट इच्छाबाट पाप जन्मन्छ। जब पाप बढ़छ, यसले मृत्यु जन्माउँछ।
16 मेरा प्रिय भाइ-बहिनीहरू, मूर्ख नबन।
© 2004, 2010 Bible League International