Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: दाऊदको एउटा स्तुति-गान।
65 सियोनमा हुने परमेश्वर, म तपाईंको प्रशंसा गर्दछु।
मैले वाचा गरेका कुराहरू तपाईंलाई दिनेछु।
2 सबै मानिसहरू तपाईंकहाँ आउँछन्,
किनभने तपाईंले हाम्रो प्रार्थना सुन्नुहुन्छ।
3 जब हाम्रा पापहरू यति विघ्न बोझिला हुन्छन्,
तब तपाईंले ती पापीहरू लैजानुहुन्छ।
4 हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू छान्नु भएकोछ।
तपाईंले हामीलाई तपाईंको मन्दिर आउनु र उपासना गर्नलाई छान्नु भएको छ।
अनि हामी अत्यन्त खुशी छौं।
तपाईंको घरमा, पवित्र मन्दिरमा हामी असल पदार्थहरू पाँउछौ र हामी सन्तुष्ट हुन्छौं।
5 हे परमेश्वर, हामीलाई बचाउँनु होस्।
धर्मी मानिसहरूले तपाईंलाई प्रार्थना गर्दछन्,
अनि तपाईंले उनीहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ।
तपाईंले उनीहरूको निम्ति अचम्म लाग्ने कार्यहरू गर्नुहुन्छ।
संसारभरिका मानिसहरूले तपाईंलाई विश्वास गर्दछन्।
6 परमेश्वरले आफ्ना शक्तिद्वारा पर्वतहरू बनाउनु भयो।
हामीले उहाँका शक्तिहरू हाम्रा वरिपरी देख्छौ।
7 परमेश्वरले कठोर समुद्रलाई शान्त पार्नुभयो।
परमेश्वरले पृथ्वीमा मानिसको “समुद्र” बनाउनुभयो।
8 संसार भरिका मानिसहरू तपाईंको आर्श्चयचकित कार्यहरू देखेर छक्कै परेकाछन्।
सूर्योदय र सूर्यास्तले हामीलाई आनन्द दिन्छ।
9 तपाईंले धर्तीको खुब ख्याल गर्नुहुन्छ
तपाईं यसलाई पानीले सिंचनु हुन्छ र यसले थोकहरू उमार्दछ।
परमेश्वर तपाईंले खोला-नालाहरू पानीले भर्नुभयो
अनि त्यहाँको पानीले उप्जनी गराउँछ।
10 तपाईंले खेतहरू रोप्नलाई पानी बर्साउनु भयो,
तपाईंले खेतहरू पानीले चिसो पार्नुभयो
अनि ताजा उद्भिद्हरू उमार्नु भयो।
11 तपाईंले नयाँ-बर्ष सप्रेको फसलसँग शुरू गर्नुभयो।
अनि बर्षको अन्त प्रशस्तै फसलहरूले भर्नुभयो।
12 तपाईंले मरुभूमि र पहाडमा घाँसहरूले ढाक्नुभयो।
13 चउरहरू भेंडाहरूले भरिएका छन्,
बेंसीहरू अन्नले पुरिएका छन्।
हरेक जना खुशीसँग गाईरहेछन्, कराईरहेका छन्।
त्यो दिन सूर्य अटल रह्यो
10 त्यसबेला अदोनिसेदेक यरूशलेमका राजा थिए। ती राजाले सुने कि यहोशूले ऐ शहरलाई परास्त गरे अनि पूर्णरूपले त्यसलाई नष्ट गरिदिए। ती राजाले थाहा पाए कि यहोशूले यरीहो अनि त्यसका राजालाई पनि त्यसै गरेका थिए। ती राजाले यो पनि थाहा पाए कि गिबोनका मानिसहरूले इस्राएलका मानिसहरूसित शान्ति सन्धि गरेका थिए। अनि ती मानिसहरू यरूशलेमको अत्यन्त नजिकमा बस्थे। 2 यसर्थ अदोनिसेदेक अनि तिनका मानिसहरू अत्यन्त डराएका थिए। गिबोन ऐ शहर जस्तो सानो शहर थिएन। गिबोन अति विशाल शहर थियो। यो एउटा राजकीय शहर जस्तै ठूलो थियो। अनि त्यस शहरका सबै मानिसहरू असल लडाकूहरू थिए। यसकारण राजा भयभीत भए। 3 अदोनि सेदेक, यरूशलेमका राजाले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनको राजा दबीरकहाँ समाचारवाहक पठाए, 4 “मेरो साथमा आउनु होस्, अनि मलाई गिबोनमाथि आक्रमण गर्न सहयोग दिनु होस्। गिबोनले यहोशू अनि इस्राएलका मानिसहरूसित शान्ति-सम्झौता गरेकोछ।”
5 यसकारण यी पाँच राजाहरूले तिनीहरूका सेनाहरू जम्मा गरे। (पाँच राजाहरू यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा अनि एग्लोनका राजा थिए।) तिनीहरू आफ्ना सैनिकहरू लिएर गिबोनमा गए, शहरलाई घेरा हाले अनि लडाईं लडे।
6 गिबोन शहरका बासिन्दाहरूले गिलगालको छाउनीमा यहोशूकहाँ एकजना समाचारवाहक पठाए। तिनले ल्याएको समाचार यस्तो थियो, “हामी तपाईंहरूका दाशहरूलाई नत्याग्नुहोस् चाँडै आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्। पहाडी देशका सबै एमोरी राजाहरूले तिनीहरूका सेनाहरूलाई हाम्रो विरूद्ध लड्न ल्याएका छन्।”
7 यसर्थ यहोशू आफ्ना सम्पूर्ण सेनाहरू सहित गिलगालबाट हिंडे। यहोशूका सर्वोत्तम योद्धाहरू तिनीसित थिए। 8 परमप्रभुले यहोशूलाई भन्नुभयो, “ती सेनाहरू देखि भयभीत नहोऊ। म तिमीहरूलाई तिनीहरूलाई हराउने शक्ति दिनेछु। ती सैनिकहरूमा कोही पनि तेरो सामाना गर्ने योग्यको छैन।”
9 यहोशू अनि तिनका सेना रात भरि गिबोन तर्फ हिंडे। शत्रुहरूले यहोशू आउँदैछन् भनेर थाहा पाएनन्। यसर्थ यो एक आश्चर्यपूर्ण कुरा भयो जब तिनले तिनीहरू माथि आक्रमण गरे।
10 परमप्रभुले ती सेनाहरूलाई अन्योलमा पारिदिनु भयो जब इस्राएलले आक्रमण गरे। यसरी इस्राएलीहरूले तिनीहरूलाई परास्त गरे र महान विजय प्राप्त गरे। इस्राएलका सेनाले शत्रुलाई गिबोन देखि बेथारोनको उकालो बाटो सम्म खेदे। इस्राएलका सेनाले आजेका अनि मक्केदा सम्मका मानिसहरूलाई मारे। 11 जब तिनीहरूले शत्रुहरूलाई ओह्रालो बाटोमा बेथारोन देखि आजेकासम्म शत्रुहरूलाई खेद्दै थिए, परमप्रभुले आकाशबाट ठूला-ठूला असिना खसाउनु भयो। यी ठूला-ठूला असिनाहरूद्वारा अनेक शत्रुहरू मारिए। इस्राएली सैनिकहरूका तरवारले भन्दा असिनाद्वारा धेरै मानिसहरूको मृत्यु भयो।
12 त्यसदिन परमप्रभुले इस्राएलीले एमोरी मानिसहरूलाई परास्त गर्न दिनुभयो। अनि त्यसदिन यहोशू इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिए र परमप्रभुलाई भनेः
“हे सूर्य, गिबोन माथि स्थिर बस्।
चन्द्रमा, अय्ययालोन-बेंसीमाथि स्थिर बस्।”
13 यसर्थ सूर्य स्थिर रह्यो अनि मानिसहरूले आफ्ना शत्रुहरूलाई परास्त नगरेसम्म रोकियो। यो कुरोको उल्लेख याशारको पुस्तकमा लेखिएको छ। सूर्य आकाशको माझमा रोकियो। यो एक दिन पूरा अचल रह्यो। 14 यस्तो पहिला कहिले पनि भएको थिएन। अनि यस्तो फेरि कहिले हुनेछैन। यो त्यो दिन थियो जुनदिन परमप्रभुले मानिसको कुरा सुन्नु भयो। परमप्रभु वास्तवमा इस्राएलीहरूका निम्ति लडिरहनु भएको थियो।
येशू पानीमाथि हिँड्नुभएको
(मत्ती 14:22-33; यूहन्ना 6:16-21)
45 तब, येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढेर बेत्सैदामा समुद्रको अर्कोतर्फ जान लगाउनु भयो। केहीसमय पछि उहाँ आउनेछु भनी उहाँले भन्नु भयो। उहाँ ती सबै मानिसहरूलाई आ-आफ्ना घर पठाउन चाहनु हुन्थ्यो। 46 तिनीहरूलाई विदा गरेपछि, येशू एउटा पहाडतिर प्रार्थना गर्न जानुभयो।
47 त्यस रात, डुङ्गा समुद्रको बीचमा थियो। अनि योशू चाँहि एकलै भूमिमा हुनुहुन्थ्यो। 48 येशूले डुङ्गालाई समूद्रको धेरै टाढा पुगेको देख्नुभयो। उहाँले डुङ्गा खियाउनलाई चेलाहरूले कष्ट गरिरहेको देख्नुभयो। किनभने आँधी तिनीहरूको विरूद्ध चलिरहेको थियो। यो त्यस्तै तीन र छः बजे बिहान बिचको समय थियो। उहाँ डुङ्गा भएतिर जानुभयो। उहाँ पानीमा हिँड्नु भयो। उहाँले लगातार हिँडेर डुङ्गालाई समेत पार गर्ने इच्छा गर्नुभयो। 49 यसैबेला चेलाहरूले येशूलाई पानीमा आँउदै गरेको देखे, तिनीहरूले सोचे त्यो भूत हो। चेलाहरू डरले चिच्याए। 50 सबै चेलाहरू उहाँलाई देखेर भयभीत भए। तर उहाँले तिनीहरूलाई तुरन्तै भन्नुभयो, “साहस राख, म नै हुँ। डराउनु पर्दैन।” 51 त्यसपछि उहाँ चेलाहरू सहित डुङ्गाभित्र जानुभयो। अनि आँधी शान्त भयो। चेलाहरू एकदमै छक्क परे। 52 तिनीहरूले येशूले पाँचवटा रोटीलाई धेरै पारेका देखेका थिए। तर यसको अर्थ के हो भनेर तिनीहरू जान्दैन थिए। तिनीहरू यी सब बुझ्नलाई योग्य थिएनन्।
© 2004, 2010 Bible League International