Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
20 सङ्कष्ट परेको बेलामा परमप्रभुले तिम्रो गुहारलाई सुन्नु भएको होस्।
याकूबका परमेश्वरले तिम्रो रक्षा गर्नु भएको होस्।
2 उहाँको पवित्र स्थानबाट परमप्रभुले तिमीलाई सहायतामा पठानु भएको होस्।
उहाँले सियोनबाट तिमीलाई मद्दत गरून्।
3 तिमीले अर्पण गरेका सम्पूर्ण उपहारहरू परमेश्वरले सम्झना गरून्।
उहाँले तिम्रा सबै बलिहरू स्वीकार गरून्।
4 तिमीले खास जे चाहन्छौ परमेश्वरले त्यही गरून्।
उहाँले तिम्रा सबै योजनाहरू सफल पारी गरून्।
5 जब परमप्रभु परमेश्वरले तिमीलाई सहयोग गर्नु हुन्छ हामीहरू खुशी हुनेछौं।
परमेश्वरको नाउँको स्तुति गरौं।
तिमीले मागेको प्रत्येक कुरा परमप्रभुले दिऊन्!
6 अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ!
परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ।
परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ।
7 कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्।
तर हामी ता परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।
8 ती अन्य मानिसहरू पराजित भए, तिनीहरू युद्धमा मारिए।
तर हामीले जित्यौं! हामी विजेता हौं।
9 परमप्रभुले आफूले रोजेका राजालाई बचाउनु हुन्छ!
परमेश्वरले रोजेका राजाले गुहार मागे अनि परमेश्वरले त्यसको जवाफ दिनुभयो!
आगो र बादल
15 पवित्र वास स्थान, करारको पाल खडा गरेको दिन परमप्रभुको बादलले त्यसलाई ढाक्यो। पवित्र स्थान माथिको बादल राती आगो जस्तो देखियो। 16 सब समय त्यो बादल पवित्र पालमाथि रह्यो र राती चाँहि त्यो बादल आगो जस्तो देखिन्थ्यो। 17 जब पालमाथिको बादल सर्थ्यो इस्राएली मानिसहरू पनि हिँड्थे र जब बादल पालमाथि अडिन्थ्यो ती मानिसहरूले त्यहीं शिविर हाल्थे। 18 जब परमप्रभुले आज्ञा गर्नु भयो मानिसहरू हिँडे र जब उहाँले आज्ञा दिनुभयो मानिसहरू हिँड्न बन्द गरे र तिनीहरूले छाउनी स्थापित गरे। जबसम्म पवित्र पालमाथि बादल रहन्थ्यो मानिसहरू छाउनी भित्र रहन्थे। 19 कोही समय बादल पवित्र पालमाथि लामो समयको निम्ति रहन्थ्यो। इस्राएलीहरूले परमप्रभुको आज्ञा पालन गरेर कतै सर्दैन थिए। 20 कहिले काही बादल पवित्र पाल माथि केही दिनको लागि रहन्थ्यो। परमप्रभुको आज्ञामा तिनीहरू छाउनी बसाल्थे र परमप्रभुकै आज्ञामा तिनीहरू सर्थे। 21 अनि कोही बेला साँझदेखि बिहान सम्मै अडिन्थ्यो, र बिहान बादल सरे पछि तिनीहरू पनि हिँड्थे। 22 दुइ दिन, एक महिना अथवा पुरै एक बर्ष बादल पवित्र स्थानको पाल माथि अडिरहे इस्राएलको मानिसहरूको शिविर पनि त्यहीं रहन्थ्यो र कतै सर्दैनथ्यो। तर जब त्यो बादल सर्थ्यो इस्राएलका मानिसहरू पनि यात्रा शुरू गर्थे। 23 परमप्रभुको आज्ञा अनुसार तिनीहरूले शिविर हाले अनि परमप्रभुकै आज्ञा अनुसार यात्रा शुरू गरे। मोशाद्वारा तिनीहरूले परमप्रभुको आज्ञा पालन गरे।
यूहन्नाले स्वर्ग देखे
4 तब मैले हेरें अनि मेरो अगाडी स्वर्गमा एउटा ढोका खोलिएको थियो। अनि मैले त्यही आवाज सुनें जो मैले अघि सुनेको थिएँ। त्यो आवाज तुरहीको आवाज जस्तो थियो। त्यो स्वरले भन्यो, “यहाँ माथि आऊ, अनि म तिमीलाई यसपछि के हुनु पर्छ त्यो देखाउने छु।” 2 तब आत्माले मलाई नियन्त्रणमा लियो। स्वर्गमा मेरो अघि एउटा सिंहासन थियो। त्यस सिंहासनमा कोही बसिरहेका थिए। 3 उहाँ एक जो सिंहासनमा बस्नु भएको थियो, मूल्यवान पत्थर-जास्पर अनि गोमेद जस्तै देखिनु हुन्थ्यो। सिंहासनको वरिपरि पन्ना जस्तै स्पष्ट रङ्ग सहितको इन्द्र-धनुष थियो।
4 सिंहासनको वरिपरि चौबीसवटा अन्य सिंहासनहरू थिए। ती चौबीस सिंहासनमा चौबीस जना अग्रजहरू बसिरहेका थिए। ती अग्रजहरू सेतो लुगामा थिए अनि तिनीहरूका शिरमा सुनको मुकुट थियो। 5 सिंहासनबाट बिजुली चम्किरहेथ्यो अनि गड्याङ-गुडुङको आवाज आइरहेको थियो। सिंहासनको अधि सातवटा दीप बलिरहेका थिए। ती दीपहरू परमेश्वरका सातवटा आत्माहरू हुन्। 6 सिंहासनको अघि काँचका समुद्र झैं केही थियो। त्यो स्फटिक जस्तै स्वच्छ थियो।
सिंहासनको सामुन्ने अनि प्रत्येक छेऊमा चारवटा सजीव बस्तु थिए। ती सजीव बस्तुहरूका अघाडि, पछाडि सम्पूर्ण शरीर भरि आँखाहरू थिए। 7 पहिलो सजीव बस्तु सिंह जस्तै थियो। दोस्रो गाई जस्तै थियो। तेस्रोको अनुहार मानिसको अनुहार जस्तै थियो। चौथो उडिरहेको गरुड़ जस्तो थियो। 8 यी प्रत्येक चार सजीव बस्तुहरूका छ वटा पखेंटाहरू थिए। यी सजीव बस्तुहरूका शरीर भरि, भित्र अनि बाहिर आँखाहरूले भरिएका थिए। तिनीहरू यसो भनिरहन दिन रात रोकिएनन्:
“पवित्र, पवित्र, परमप्रभु परमेश्वर पवित्र छन्, सर्व-शक्तिमान छन्।
उनी सर्वदा थिए, उनी छन् अनि उनी आउँदैछन्।”
© 2004, 2010 Bible League International