Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 29

दाऊदको भजन।

29 परमेश्वरका सन्तान हो, परमप्रभुको प्रशंसा गर।
    उहाँको महिमा र शक्तिको प्रशंसा गर।
परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं।
    आफ्ना खास पोशाक[a] लगाएर उहाँको उपासना गरौं।
परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।
    मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ, यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।
परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ।
    उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ।
परमप्रभुको आवाजले देवदारका रूखहरू पनि टुक्रा-टुक्रा पारेर भाँच्छ।
    परमप्रभुले लबनोनका ठूला-ठूला देवदारूको रूखहरू भाँच्नु हुन्छ।
परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ।
यो सानो साँढे उफ्रिरहेको झैं देखिन्छ।
    सिरिओन हल्लिन्छ।
    त्यो सानो पाठो नाच्दै गरे झैं देखिन्छ।
परमप्रभुको आवाज बिजुलीको चमकसित हावाबाट बाहिरिन्छ।
परमप्रभुको आवाजले मरुभूमि पनि चम्काई दिन्छ।
    कादेशको मरुभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ।
परमप्रभुको आवाजले मृगलाई भयभीत पारिदिछ।
    परमप्रभुले जंङ्गलहरू ध्वंश पारिदिनु हुन्छ;
तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्।

10 जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो
    अनि सदा-सर्वदको लागि राजा नै हुनुहुनेछ।
11 परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्।
    परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिको आशीर्वाद दिऊन्।

यशैया 1:1-4

यो अमोसको छोरो यशैयाको दर्शन हो। जुन कुराहरू यहूदा र यरूशलेममा हुन आउने थिए। परमेश्वरले ती कुराहरू यशैयालाई देखाउनु भयो। यशैयाले ती दर्शनहरू उज्जियाह योतम, आहाज अनि हिजकियाह यहूदाका राजाहरू भएका समयमा देखे।

आफ्ना मानिसहरू विरूद्ध परमेश्वरको मुद्दा

हे, आकाश र पृथ्वी, परमप्रभुको कुरालाई ध्यान लगाएर सुन! परमप्रभु यो भन्नु हुन्छ:

“मैले मेरा नानीहरूलाई पालन-पोषण गरें,
मैले तिनीहरूलाई हुर्काएँ, बढाएँ
    तर तिनीहरू नै मेरो विरोधी भए।
गोरूले आफ्नो मालिकलाई चिन्छ,
    अनि गधा आफ्नो स्वामीले दाना दिने डुँड[a] कहाँ छ जान्दछ।
तर इस्राएलका मानिसहरूले मलाई चिन्दैनन्।
    मेरै मानिसहरूले मलाई बुझ्दैनन्।”

इस्राएल राष्ट्र नै दोष पूर्णछ। यो दोष मानिसहरूले बोक्नु पर्ने गह्रौं भारी जस्तो छ। ती मानिसहरू पापी परिवारहरूबाट जन्मिएका दुष्ट नानीहरू हुन्। तिनीहरूले परमप्रभुलाई छाडे। तिनीहरूले इस्राएलका पवित्र परमप्रभुको अपमान गरे। तिनीहरूले उहाँलाई त्यागे र उहाँलाई विदेशी जस्तो व्यवहार गरे।

यशैया 1:16-20

16 “आफू स्वयंलाई धोई-पखाल। आफू स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नराम्रा कामहरूलाई रोक म त्यस्ता नराम्रा कामहरू हेर्न चाहँदिन गल्ती काम नगर! 17 राम्रो कामहरू गर्न सिक। अरू मानिसहरूप्रति स्वच्छ बन्। ती मानिसहरूलाई दण्ड देऊ जसले दुःख पैदा गर्छ। ती नानीहरूलाई साथ देऊ जसका आमा-बाबुहरू छैनन्। ती आइमाईहरूलाई समर्थन गर जसका लोग्नेहरू पहिल्यै मरिसकेका छन्।”

18 परमप्रभु भन्नहुन्छ, “आऊ, ती कुराहरूमा चर्चा गरौं। तिमीहरूका पापहरू सिंदूर जस्ता राता छन्, तर तिनीहरू पखालेर फ्याँक्न सकिन्छ र तिमीहरू हिऊँ जस्ता सेतो हुनेछौ। तिमीहरूका पापहरू चहकिलो राता छन्, तर तिमीहरू ऊन जस्तो सेतो हुन सक्छौ।

19 “मैले भनेका कुराहरूमा तिमीहरूले ध्यान दियौ भने तिमीहरूले यस ठाउँबाट असल कुराहरू पाउनेछौ। 20 ध्यान दिएनौ भने, तिमीहरू मेरो विरोधी हुनेछौ। अनि तिम्रा शत्रुहरूले तिमीहरूलाई नाश गर्नेछन्।”

परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।

रोमी 8:1-8

आत्मा र जीवन

यसैले, अब जो-जो ख्रीष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरइने छैन। किन म दोषी भनेर मानिन्नँ? किनभने ख्रीष्ट येशूमा, जीवनदाता आत्माको विधान जसले जीवन ल्याँउछ त्यसले मलाई मुक्ती दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो। व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पापपूर्ण स्वभावहरूले कमजोर बनायो। तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नु भयो। परमेश्वरले आफ्नो पुत्रलाई मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनु भयो जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनु भयो अनि उहाँले पापको र्भत्सना गर्न मनुष्य चोला प्रयोग गर्नु भयो। परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस्, जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैनौं तर आत्मा अनुसार बाँच्छौं।

जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभाव अनुसारै सोंच्दछन्। जो आत्मा अनुसार जिउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्। यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियंत्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ। यो किन सत्य हो? किनभने, जब कुनै मानिसको विचार पापपूर्ण स्वभावको अधीनमा हुन्छ तब ऊ परमेश्वरको विरुद्धमा हुँदछ। त्यस मानिसले परमेश्वरको व्यवस्था मान्दैन अनि वास्तवमा त्यो मानिस परमेश्वरको व्यवस्था पालन गर्न असमर्थ हुन्छ। ती मानिसहरू जो पापपूर्ण स्वभावको अधीनमा छन् भने परमेश्वरलाई कहिल्यै खुशी पार्न सक्तैनन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International