Revised Common Lectionary (Complementary)
24 हे परमप्रभु, तपाईंले धेरै चकित थोकहरू गर्नुभयो।
पृथ्वी त्यही थोकहरूले भरिपूर्ण भई भरिएको छ।
हामी जताततै प्रत्येक थोकमा तपाईंको बुद्धिमता देख्छौं।
25 समुद्रलाई हेर त्यो कति ठूलो छ।
अनगन्ती प्राणीहरूले त्यो भरिएकोछ।
त्यहाँ ससाना र विशाल अनगन्ति प्राणीहरू छन्।
26 त्यस समुद्रमा जहाजहरू चल्दछ,
लिब्यातान समुद्रमा खेल्छ।
महा-सागरमा समुद्री प्राणी तपाईंले सृष्टि गर्नुभयो।
27 परमेश्वर, ती सारा जीवित प्राणीहरू तपाईंमा आश्रित छन्
तपाईंले ठीक समयमा तिनीहरूलाई भोजन दिनुहुन्छ।
28 परमेश्वर, तपाईंले सारा प्राणीहरूलाई भोजन दिनुहुन्छ।
तपाईंले आफ्ना हातहरू खोलेर, राम्रो पौष्टिक भोजन दिनुहुन्छ,
अनि तृप्त नहुन्जेलसम्म तिनीहरू खान्छन्।
29 जब तपाईं तिनीहरूबाट टाढा फर्किनुहुन्छ,
तिनीहरू भयभीत हुन्छन्।
तिनीहरूका आत्माले तिनीहरूलाई छोड्छ, तिनीहरू कमजोर भएर मर्छन्
अनि तिनीहरूका शरीरहरू फेरि धूलोको कण नै बन्दछन्।
30 तर हे परमप्रभु, जब तपाईंले आफ्नो आत्मा पठाउनु हुन्छ,
अनि तिनीहरू स्वास्थ्य हुन्छन्।
अनि तपाईंले फेरि भूमि नयाँ बनाउनु हुन्छ।
31 परमप्रभुको महिमा अनवरत अनन्त रहीरहोस्!
उहाँले सृजना गर्नुभएको कुराहरूमा उहाँ आनन्दित होउन्।
32 परमप्रभुले पृथ्वी तिर मात्र हेरि दिंदा पनि त्यो कम्पन हुनेछ।
उहाँले पर्वतहरूलाई छोडदिंदा मात्र तिनीहरूबाट धुवाँ उड्न थाल्छ।
33 मेरो जीवनभरी परमप्रभुको प्रशंसाको गीत गाउनेछु।
जबसम्म म बाँच्छु परमप्रभुको प्रशंसा गरिरहेने छु।
34 भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ।
म परमप्रभुसित खुशी छु।
35 पृथ्वीबाट पापहरू हटी जाओस्।
दुष्ट मानिसहरू सदाको लागि हराएर जाऊन्।
मेरो प्राणले परमप्रभुको जयजयकार गर्दछ।
परमप्रभुको प्रशंसा गर!
सुकेका हाडहरूको दर्शन
37 परमप्रभुको शक्ति ममाथि आयो। परमप्रभुको आत्माले मलाई शहर बाहिर लिएर गयो अनि तल एउटा बेंसीको बीचमा राखिदियो। बेंसी मरेको मानिसको हाडहरूले भरिएको थियो। 2 बेंसीमा असंख्य हाडहरू थिए, परमप्रभुले मलाई हाडहरूको चारैतिर घुमाउनु भयो। मैले देखें हाडहरू साह्रै सुकेका थिए।
3 त्यसपछि परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! के यी हाडहरू जीवित हुनसक्छ?”
मैले उत्तर दिएँ, “परमप्रभु मेरो मालिक! यस प्रश्नको उत्तर तपाईंले मात्र जान्नु हुन्छ।”
4 परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “ती हाडहरू विषयमा मेरो लागि केही भन। ती हाडहरूसँग भन, ‘सुकेका हाडहरू! परमप्रभुको वचन सुन। 5 परमप्रभु मेरो मालिक तिमीहरूसित यो भन्नु हुन्छ, म तिमीहरूमा सास आउँन दिनेछु अनि तिमी जीवित हुनेछौ। 6 म तिमीहरूमाथि नसा अनि माँसपेशीहरू लगाउँछु अनि म तिमीहरूलाई मासु र छालाले छोपिदिन्छु। त्यसपछि म तिमीहरूमा प्राण संचार गरिदिन्छु अनि तिमी फेरि जीवित भएर उठ्नेछौ। त्यतिबेला तिमीहरूले सम्झने छौ म नै परमप्रभु तिम्रा मालिक हुँ।’”
7 यसकारण मैले परमप्रभुको लागि त्यही कुरा गरेको जस्तो गर्न खोजें। जति बेला मैले केही भन्न आँटेको थिएँ प्रचण्ड ध्वनी सुनें! हाडहरू चल्नु थाले अनि हाडहरू, हाडहरूसित जोडिन थाले। 8 मेरो आँखा अघाडी नसा, मांसपेशीहरू, मासु अनि छालाले हाडहरूलाई छोप्न शुरू गर्यो। तर शरीरहरू हल्लिएन, तिनीहरूमा प्राण थिएन।
9 तब परमप्रभु मेरा मालिकले मसँग भन्नुभयो, “मेरा लागि हावालाई अगमवाणी गर। हे मानिसको छोरो! मेरा निम्ति हावासित कुरा गर। हावासित भन कि परमप्रभु मेरा मालिकले यसो भन्नुहुँदैछ, ‘हावा सबै दिशाबाट आऊ अनि ती लाशहरूलाई जीवन दिइनेछ। तिनीहरू भित्र सास भरि दिनेछु अनि तिनीहरू फेरि जीवित हुनेछन्।’”
10 उहाँले जस्तो बताउनु भएको थियो मैले त्यही प्रकारले हावासित कुरा गरें। अनि लाशहरूमा प्राण आयो। तिनीहर जीवित भए अनि उभिए। त्यहाँ धेरै मानिसहरू थिए, अनि त्यहाँ एउटा एकदमै ठूलो सैनिक बनियो।
11 त्यसपछि परमप्रभु मेरा मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! यी हाडहरू इस्राएलको पुरै घराना जस्तै हुन्। इस्राएलका मानिसहरू भन्छन्, ‘हाम्रो हाडहरू सुकेका छन् हाम्रो आशा समाप्त भयो। हामी पूर्ण रूपले नष्ट गरिएकाछौ।’ 12 यसकारण उसित मेरो निम्ति कुरा गर। उसलाई भन परमप्रभु अनि मालिक यसो भन्नु हुन्छ, ‘मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूलाई बाहिर ल्याउँछु। त्यसपछि म तिमीहरूलाई इस्राएलको भूमिमा ल्याउँछु। 13 मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूका चिहानहरूबाट तिमीहरूलाई बाहिर ल्याउँछु। त्यस बेला तिमी सम्झने छौ कि म नै परमप्रभु हुँ। 14 म आफ्नो आत्मा तिमीहरूमा हालि दिनेछु अनि तिमीहरूलाई फेरि जीवित पार्छु। त्यसपछि तिमीहरूलाई म तिमीहरूको देशमा फेरि ल्याउँछु। त्यसपछि तिमीहरूले थाहा पाउनेछौ म परमप्रभु हुँ। तिमीहरूले जान्नेछौ मैले यो कुरा भनें अनि यस्तो हुने पारें।’” परमप्रभुले यसो भन्नु भएको भयो।
येशू चेलाहरूकहाँ देखा पर्नु भयो
(मत्ती 28:16-20; मर्कूस 16:14-18; लूका 24:36-49)
19 हप्ताको पहिलो दिन थियो। चेलाहरू त्यो बेलुकी भेला भएका थिए। यहूदीहरूको डरले दैलोहरू बन्द थियो। तब येशू आउनु भयो र तिनीहरूका सामुने उभिनु भयो। येशूले भन्नुभयो “शान्ति तिमीहरूसँग रहोस्।” 20 येशूले यति भने पछि उहाँले आफ्ना हात र कोखा देखाउनु भयो। तब चेलाहरूले प्रभुलाई देखेर अति खुशी भए।
21 त्यसपछि येशूले फेरि भन्नुभयो, “शान्ति तिमीहरूसँग रहोस्। पिताले मलाई पठानु भयो। त्यस्तै प्रकारले अब म तिमीहरूलाई पठाइरहेछु।” 22 यती भनिसके पछि, येशूले चेलाहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ। 23 यदि तिमीहरूले मानिसहरूका पाप क्षमा गरिदियौ भने तिनीहरूका पापहरू क्षमा हुनेछ। यदि त्यसो गरेनौ भने तिनीहरूका पापहरू क्षमा हुनेछैन्।”
© 2004, 2010 Bible League International