Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 46

प्रमुख संगीतकारलाई: “अलामोत”[a] द्वारा गाउने कोरह परिवारहरूको एउटा भजन।

46 परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ।
    सङ्कटको बेला उहाँबाट हामी सधैँ सहयोग पाउन सक्छौं।
यसैकारण भुइँचालो आए ता पनि
    पर्वतहरू समुद्रको गर्भमा झरे तापनि हामी डराउँदैनौ।
हामी भयग्रस्त छैनौं जब समुद्र आँधीले अन्धकार हुँन्छ
    र पर्वतहरू थर्किन्छन्।

त्यहाँ एउटा नदी छ जसको धाराले
    सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ।
परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन।
    घाम उदाउनु अघिनै परमेश्वर साथ दिन त्यहाँ हुनुहुन्छ।
जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ।
    प्रत्येक जाति डरले काम्ने छन् अनि ती साम्राज्यहरू धराशायी हुनेछन्।
सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।
    याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

परमप्रभुले गर्नुभएको ती शक्तिशाली कामहरूलाई हेर।
    उहाँले पृथ्वीमा गर्नु भएको डरलाग्दा कार्यहरू हेर।
परमप्रभुले पृथ्वीमा कतैपनि युद्धहरू रोक्न सक्नु हुन्छ।
उहाँले सिपाहीहरूका धनु भाँच्न सक्नु हुन्छ,
    तिनीहरूका भालाहरू छरपस्ट पारेर तिनीहरूका ढालहरू जलाई दिनुहुन्छ।

10 परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान!
    म जाति-जातिलाई परास्त गर्नु सक्छु,
    म संसारलाई अधीनमा राख्न सक्छु!”

11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।
    याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

हितोपदेश 8:1-21

ज्ञान नै असल स्त्री हुन्

के ज्ञानले तिमीलाई बोलाउँदैन र?
    के समझशक्तिले तिमीलाई ठूलो स्वरमा बोलाएको छैन र?
ऊ अग्लो ठाउँहरू माथि उभिन्छे,
    जहाँबाट दोबाटो देखिन्छन्।
ऊ शहरको प्रवेशद्वार नजिक छे,
    उनले खुल्ला ढोकाहरूबाट बोलाइरहेकी छे।

ज्ञानले भन्छे, “हे मानिस हो, म तिमीहरूलाई आह्वान गर्दछु,
    म सबै मानिसहरूलाई बोलाउँदैछु।
तिमीहरू जो अनुभवी छैनौ भने ज्ञानी हुन सिक।
    हे मूर्खहरू हो, बुझ्न सिक।
तिमीहरू सुन, म जुन कुराहरू सिकाउँछु, तिनीहरू महत्वपूर्ण छन्।
    जुन कुराहरू सही हुन, तिनीहरू नै भन्छु।
मेरा वचनहरू सत्य हुन।
    किनभने मेरा ओंठहरूले मिथ्यालाई घृणा गर्छन्।
मेरो मुखबाट निस्केका सबै वचनहरू सही तथा न्यायपूर्ण हुन्छन्
    अनि कुनै पनि भ्रमित तथा झूटो हुँदैनन्।
यी सब भनाईहरू समझ हुने मानिसहरूको लागि स्पष्ट छन्
    अनि ज्ञानी मानिसहरूको निम्ति तिनीहरू सरल छन्।
10 मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्,
    अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो।
11 ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो।
    ज्ञान मानिसले चाहने ती सवै चिजहरू भन्दा असल हो।”

ज्ञानले के गर्छ

12 “म ज्ञान हुँ।
    अनि म बिवेकसँग बस्छु।
    तिमीले मलाई विद्या अनि राम्रो योजनासँग पाउनँ सक्छौ।
13 परमप्रभुको डर मान्नु नै दुष्टतालाई घृणा गर्नु हो।
    अभिमान, अहंकार, कुटिल व्यवहार
    अनि छलपूर्ण बोलीलाई म घृणा गर्छु।
14 मसँग राम्रो सल्लाह अनि स्वास्थ्य ज्ञान छ।
    मसँग समझशक्ति अनि सामर्थ्य छन्।
15 मेरै सहायतामा राजाहरूले राज गर्छन्,
    अनि शासकहरूले उचित कानून बनाउँछन् जुन सही र न्यायपूर्ण हुन्छ।
16 राजकुमारहरू, राजकीय मानिसहरू,
    निष्पक्ष न्याय घोषणा गर्नेहरूले आफ्नो काम मद्वारा गर्छन्।
17 म ती मानिसहरूलाई प्रेम गर्छु, ज-जसले मलाई प्रेम गर्छन्
    अनि यदि मानिसहरूले मलाई चेष्टा गरेर खोज्छन् भने तिनीहरूले मलाई भेट्ने छन्।
18 धन दौलत र आदर मसित रहन्छ,
    म अनन्त धन अनि साँचो सफलता प्रदान गर्छु।
19 मैले दिएका भेटीहरू शुद्ध चाँदी भन्दा असल छन्
    औ म जुन चीज दिन्छु तिनीहरू अकबरी सुनभन्दा असल हुन्छन्।
20 म मानिसहरूलाई सही मार्गमा डोर्याउँछु,
    म तिनीहरूलाई सही न्यायले चल्ने पथमा डोर्याउँछु।
21 मलाई मन पराउनेहरूलाई सम्पत्ति दिन्छु,
    हो, म तिनीहरूको घर नै सम्पत्तिले भरिदिन्छु।

मर्कूस 3:13-19

येशूले आफ्ना बाह्र जना चेलाहरू छान्नु भयो

(मत्ती 10:1-4; लूका 6:12-16)

13 त्यसपछि येशू पहाडमाथि लाग्नुभयो। येशूले केही मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो। ती मानिसहरूलाई येशूले नै छान्नु भएको थियो। ती मानिसहरू येशू भएकहाँ पुगे। 14 येशूले बाह्रजनालाई चुन्नु भयो अनि तिनीहरूलाई “प्रेरित” भनेर भन्नुयो। येशूले ती बाह्रजना मानिसहरूलाई उहाँसित बस्नु, अनि प्रचारका निम्ति, अरू स्थानमा पठाउन चाहनुहुन्थ्यो। 15 अनि येशूले ती मानिसहरूलाई अरू मानिसहरूमा लागेको दुष्ट आत्मा हटाउने शक्ति प्राप्त होस् भन्ने चाहनुहुन्थ्यो। 16 येशूले छान्नु भएका ती बाह्रजना मानिसहरू थिए:

सिमोन (जसलाई उहाँले पत्रुस नाउँ दिनु भएको थियो),

17 याकूब र यूहन्ना, जब्दीका छोराहरू (जसलाई येशूले बोअनर्गेश नाउँ दिनुभएको थियो जसको अर्थ हुन्छ “गर्जनका छोराहरू”),

18 आन्द्रियास,

फिलिप,

बारथोलोमाई,

मत्ती,

थोमा,

याकूब (अल्फयसको छोरो),

थेदियस,

सिमोन कनानी,[a]

19 अनि यहूदा इस्करियोती (जसले येशूसित विश्वासघात गरेको थियो)।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International