Revised Common Lectionary (Complementary)
संसारको शुरू
1 आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो। 2 पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो।
पहिलो दिन—प्रकाश
3 तब परमेश्वरले भन्नुभयो, “उज्यालो होस्!” अनि उज्यालो चम्कन थाल्यो। 4 परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो। तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो। 5 परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” नाउँ दिनु भयो।
साँझ पर्यो अनि बिहान भयो। यो पहिलो दिन थियो।
दाऊदको भजन।
29 परमेश्वरका सन्तान हो, परमप्रभुको प्रशंसा गर।
उहाँको महिमा र शक्तिको प्रशंसा गर।
2 परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं।
आफ्ना खास पोशाक[a] लगाएर उहाँको उपासना गरौं।
3 परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।
मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ, यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।
4 परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ।
उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ।
5 परमप्रभुको आवाजले देवदारका रूखहरू पनि टुक्रा-टुक्रा पारेर भाँच्छ।
परमप्रभुले लबनोनका ठूला-ठूला देवदारूको रूखहरू भाँच्नु हुन्छ।
6 परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ।
यो सानो साँढे उफ्रिरहेको झैं देखिन्छ।
सिरिओन हल्लिन्छ।
त्यो सानो पाठो नाच्दै गरे झैं देखिन्छ।
7 परमप्रभुको आवाज बिजुलीको चमकसित हावाबाट बाहिरिन्छ।
8 परमप्रभुको आवाजले मरुभूमि पनि चम्काई दिन्छ।
कादेशको मरुभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ।
9 परमप्रभुको आवाजले मृगलाई भयभीत पारिदिछ।
परमप्रभुले जंङ्गलहरू ध्वंश पारिदिनु हुन्छ;
तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्।
10 जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो
अनि सदा-सर्वदको लागि राजा नै हुनुहुनेछ।
11 परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्।
परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिको आशीर्वाद दिऊन्।
पावल एफिससमा
19 अपोल्लस कोरिन्थ शहरमा भएको बेला, पावल एफिससको बाटो भएर धेरै ठाउँहरू भ्रमण गरिरहेका थिए। एफिससमा पावलले कतिपय चेलाहरूर भेटे। 2 पावलले उनीहरूलाई सोधे, “के तिमीहरूले विश्वास गर्दा पवित्र आत्मा पायौ?”
तिनीहरूले भने, “हामीले कहिल्यै पनि पवित्र-आत्मा छ भन्ने सुनेका छैनौ।”
3 तब पावलले सोधे, “कस्तो प्रकारको बप्तिस्मा तिनीहरूले लियौ?”
तिनीहरूले भने, “यूहन्नाले बताएको अनुसार बप्तिस्मा हामी लिएका छौं।”
4 पावलले भने, “यूहन्नाले मानिसहरूलाई आफ्नो जीवन परिवर्तन गर्न चाहनेलाई बप्तिस्मा दिन्थे। यूहन्नाले भन्थे एकैजनालाई मात्र विश्वास गर जो ऊ पछि आइरहेछन्। तिनी ‘येशू’ हुन्।”
5 जब तिनीहरूले यो सुने, तिनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए। 6 त्यसपछि पावलले तिनीहरूमाथि हातहरू राखिदिए अनि पवित्र आत्मा तिनीहरूमा आउनुभयो। तब तिनीहरूले विभिन्न भाषाहरू बोल्न थाले र अगमवाणीहरू गर्न थाले। 7 तिनीहरूको हुलमा लगभग बाह्रजना थिए।
4 बप्तिस्मा दिने यूहन्ना आए अनि उजाड-स्थानमा मानिसहरूको बप्तिस्मा गर्ने काम गरे। तिनले मानिसहरूलाई भने आफ्नो जीवन परिवर्तन गर्न चाहेको देखाउनलाई बप्तिस्मा[a] दिनु पर्छ। यसरी तिनीहरूको पापहरूको क्षमा हुनेछन्। 5 यहूदिया र यरूशलेमका सम्पूर्ण मानिसहरू यूहन्ना कहाँ गए। तिनीहरूले आफूले गरेका पापहरूको पश्चाताप गरे, अनि तीनीहरूलाई यर्दन नदीमा यूहन्नाले बप्तिस्मा दिए।
6 यूहन्नाले ऊँटको रौंबाट तयार गरिएका लुगाफाटा पहिरिएका थिए र उनको कम्मरमा छालाको पेटी थियो। तिनले सलह र वन-मह खान्थे।
7 त्यसपछि यूहन्नाले मानिसहरूमा प्रचार शुरू गरेः “मभन्दा पछि एक मानिस आउनु हुनेछ, उहाँ मभन्दा महान हुनुहुन्छ। म निहुरेर उहाँको जुत्ताको फित्ता खोलिदिने योग्यको छैनँ। 8 म पानीद्वारा तिमीहरूलाई बप्तिस्मा दिन्छु तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।”
येशूको बप्तिस्मा भयो
(मत्ती 3:13-17; लूका 3:21-22)
9 त्यसै बेला यूहन्ना भएको स्थानमा गालीलको नासरत भन्ने शहरबाट येशू आउनु भयो। यर्दन नदीमा यूहन्नाले येशूलाई बप्तिस्मा दिए। 10 जब येशू पानीदेखि बाहिर निस्कनु हुँदै थियो, उहाँले आकाश खुल्ला देख्नुभयो। पवित्र आत्मा ढुकुरको रूप लिएर येशूकहाँ ओर्लिनु भयो। 11 स्वर्गबाट एउटा आवाज आयो अनि भन्योः “तिमी मेरा पुत्र हौ, अनि म तिमीलाई प्रेम गर्दछु। म तीमीसँग धेरै प्रसन्न छु।”
© 2004, 2010 Bible League International