Revised Common Lectionary (Complementary)
दाऊदको स्तुतिगान।
110 परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो,
“जति बेला सम्म म तिम्रा शत्रुहरूलाई तिम्रो अधीनमा पार्दिन,
त्यस बेलासम्म मेरो दाहिनेपट्टि बस्।”
2 परमप्रभुले तिम्रो राज्य बढाउनलाई सहयोग गर्नु हुनेछ।
तिम्रो राज्य सियोनमा शुरूहुनेछ,
अनि यो त्यति बेलासम्म बढ्दै जानेछ,
जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ!
3 जब तिमीले आफ्ना सैनिकहरूसँगै भेला गर्नेछौ,
तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्।
तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्।
अनि विहानै एका-अर्कासित भेट हुनेछ।
ती युवा पुरूषहरू भूईँमा शीत परे जस्तै
तिम्रो वरिपरि हुनेछन्।
4 परमप्रभुले प्रतिज्ञा गर्नुभयो
उहाँले आफ्नो मन बद्लि गर्नुहुँदैन।
“तिमी अनन्तको निम्ति
मल्कीसेदेक जस्तै पूजाहारी हौ।”
5 मेरो स्वामी तिम्रो दाहिनेपट्टि हुनुहुन्छ।
जब उहाँ क्रोधित हुनुहुन्छ उहाँले अन्य राजाहरूलाई डराउनु हुनेछ।
6 परमेश्वरले जाति-जातिहरूलाई न्याय गर्नुहुनेछ।
धर्ती मृत शरीरहरूले ढाकिने छ।
अनि परमेश्वरले शक्तिशाली जातिहरूका नेताहरूलाई दण्ड दिनु हुनेछ।
7 राजाले बाटोमा झरनाको पानी पिउनु हुनेछ।
त्यसपछि उहाँले टाउको उठाउनु हुनेछ अनि बलियो[a] हुनु हुनेछ।
7 परमेश्वरले उनलाई भन्नुभयो, “मिश्रमा भएका मेरो मानिसहरूले कष्ट भोगेको मैले देखेको छु। मैले तिनीहरूको शोकपूर्ण प्रार्थनाहरू सुनेको छु, जब तिनीहरूका कमारा मालिकहरूले जबरजस्ती कठिन कामहरू गर्न लगाए। म तिनीहरूको दुःखको कारण पनि जानेकोछु। 8 अब म त्यहाँ जान्छु अनि मेरो मानिसहरूलाई मिश्री मानिसहरूबाट बचाउँछु। म तिनीहरूलाई त्यस स्थानबाट निकालेर तिनीहरूले कष्ट भोग्नु नपर्ने स्थानमा लिएर जान्छु। त्यो ठाउँ धेरै-धेरै असल चीजहरूले भरिएको हुनेछ र कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसी जस्ता विभिन्न जातिका मानिसहरू बसो-बास गर्छन्। 9 मैले इस्राएलका मानिसहरूको पुकार सुनेकोछु। मैले देखें मिश्रीहरूले तिनीहरूका निम्ति जीवन कति कठोर बनाइदिएका छन्। 10 यसकारण अब म तिमीलाई फिरऊन कहाँ पठाउँछु। जाऊ अनि मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याऊ।”
11 तर मोशाले परमेश्वरलाई भने, “म कुनै एउटा त्यस्तो महान मानिस होइन। म कसरी त्यो मानिस हुन सक्छु जो फिरऊन कहाँ जान सक्छ र इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन सक्छ?”
12 परमेश्वरले भन्नुभयो, “तिमीले भलो गर्न सक्छौ किनभने म तिमीसित हुनेछु। यही प्रमाण हुनेछ कि मैले तिमीलाई पठाउँदैछु तिमीले इस्राएलीहरूलाई मिश्रदेशाबाट अगुवाई गरेपछि, तिमी आउनेछौ अनि यही पर्वतमा आराधना गर्नेछौ।”
13 तब मोशाले परमेश्वरलाई भने, “जब म इस्राएलीहरू कहाँ जान्छु अनि तिनीहरूलाई भन्छु, ‘म तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरद्वारा पठाइएको हुँ,’ अनि तिनीहरूले तपाईंको नाउँ सोधेमा मैले के भन्नु पर्नेछ?”
14 तब परमेश्वरले मोशालाई भन्नुभयो, “‘म जो हुँ त्यही हुँ’ तिनीहरूलाई भनिदेऊ, ‘म हुँ,’ भन्नेले तिमीलाई तिनीहरूकहाँ पठाएको हो।” 15 परमेश्वरले मोशालाई अझ भन्नुभयो, “तिमीले इस्राएलीहरूलाई के भन्नु पर्छ भने, ‘परमप्रभु तिम्रो पिता-पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। मेरो नाउँ सदैव परमप्रभु रहनेछ। यही रूपमा मानिसहरूले मलाई पुस्तौं-पुस्तासम्म चिन्नेछन्,’ यसैकारण मानिसहरूलाई भन, ‘परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको छ।’”
39 यहूदीहरूले भने, “हाम्रा पिता अब्राहाम हुन्।”
येशूले भन्नुभयो, “यदि तिमीहरू साँच्चि नै अब्राहामका सन्तान हुँदा हौ त तिमीहरूले त्यही कुराहरू गर्ने थियौ जुन कुरो अब्राहामले गरे। 40 म मानिस हुँ जसले परमेश्वरबाट सुनेको सत्य बताएँ। तर तिमीहरू मलाई मार्ने प्रयास गर्छौ। अब्राहमले त्यस्ता कुरा गरेनन्। 41 तब तिमीहरूले त्यही कुराहरू गरिरहेकाछौ जो तिम्रा आफ्नै पिताले गर्छन्।”
तर यहूदीहरूले भने, “हामी त्यस्ता अवैद्य बालहरू होइनौं जसले कहिल्यै पनि आफ्ना पिता को थिए जानेनौ। परमेश्वर नै हाम्रा पिता हुन्। हाम्रा अरू पिता छैनन्।”
42 येशूले ती यहूदीहरूलाई भन्नुभयो, “यदि परमेश्वर साँच्चै तिमीहरूका पिता भएको भए तिमीहरूले मलाई प्रेम गर्ने थियौ। म परमेश्वरबाटै आएको हुँ, र म यहाँ छु। म आफ्नै अधिकारबाट आएको होइन। परमेश्वरले मलाई पठाउनु भयो। 43 तिमीहरूले यी कुराहरू किन बुझदैनौ, जो म सिकाउँछु? किनभने तिमीहरूले मेरो शिक्षा स्वीकार गर्न सक्तैनौ। 44 तिमीहरूका पिता शैतान हो। तिमीहरू उसका सन्तान हौ। उसले जे चाहन्छ तिमीहरू त्यही गर्दछौ। शैतान आदिकालदेखि नै हत्यारा थियो। उ सधैँ सत्यको विरुद्धमा छ अनि उभित्र सत्य छैन। जब ऊ झूटो बोल्छ तब उसले त्यो झूटो स्वभाविक रूपले बोल्छ। हो शैतान असत्यवादी अनि असत्यको पिता हो।
45 “म साँच्चो भन्दछु। त्यसैले तिमीहरू मलाई विश्वास गर्दैनौ। 46 म पापको दोषी छु भनेर तिमीहरूमा कसले प्रमाण दिन सक्छौ? म तिमीहरूलाई सत्य भन्दछु किन तिमीहरू मलाई विश्वास गर्दैनौ? 47 जो परमेश्वरको हो उसले परमेश्वरले भन्नु भएका कुरा मान्दछ। तर तिमीहरू परमेश्वरले जे भन्नु हुन्छ त्यो स्वीकार्दैनौ, किनभने तिमीहरू परमेश्वरका होइनौ।”
येशूले आफ्नै र अब्राहामको विषयमा भन्नुहुन्छ
48 यहूदीहरूले उत्तर दिए, “हामीहरूले भन्यौ तिमी सामरी हौ। अनि भूतात्मा तिमीभित्र छ। के यस्तो भन्नु हामी सही छैनौं?”
49 येशूले उत्तर दिनुभयो, “म भित्र भूतात्मा छैन। म आफ्ना पितालाई सम्मान गर्छु तर तिमीले मलाई सम्मान गर्दैनौ। 50 म आफ्नै सम्मान पाउने कोशिश गरिरहेको छुँइन उहाँ एक हुनुहुन्छ जसले मेरो निम्ति सम्मान चाहनु हुन्छ। उहाँ न्यायकर्ता हुनुहुन्छ। 51 म साँच्चो भन्छु। यदि कुनै मानिसले मेरो वचन पालन गर्छ भने, त्यो मानिस कहिल्यै मर्ने छैन।”
52 यहूदीहरूले येशूलाई भने, “अब हामी पक्का भयौं कि तिमीभित्र भूतात्मा छ अनि अगमवक्ताहरू अनि अब्राहाम पनि मरे। तर तिमी भन्छौ, ‘जुन मानिसले तिम्रो वचन पालन गर्दछ ऊ कहिल्यै मर्ने छैन।’ 53 के तिमी आफैंलाई हाम्रा पिता अब्राहामभन्दा महान सोच्छौ? अब्राहाम मरे। अनि अगमवक्ताहरू पनि मरे। तिमी आफूलाई के सम्झन्छौ?”
54 येशूले जवाफ दिनुभयो, “यदि मैले आफूलाई सम्मान दिएको भए, त्यो सम्मान व्यर्थ हो। जसले मलाई सम्मान दिनुभयो उहाँ मेरा पिता हुनुहुन्छ। अनि जसलाई तिमीहरू आफ्नो परमेश्वर भन्छौ। 55 तिमीहरू वास्तवमा उहाँलाई चिन्दैनौ। म उहाँलाई चिन्दछु। यदि मैले मेरा पितालाई चिनिनँ भने म तिमीहरू जस्तै झूटो हुनेछु। तर म उहाँलाई चिन्दछु। अनि म उहाँले जे भन्नुहुन्छ पालन गर्छु। 56 तिम्रा पिता अब्राहाम म आउने दिन हेर्नलाई हर्षित थिए। उनले त्यो दिन देखे र हर्षित भए।”
57 यहूदीहरूले येशूलाई भने, “तिमीले अब्राहामलाई देखेकाछौ? तिमी 50 र्वष पनि पुगेका छैनौ!”
58 येशूले उत्तर दिनुभयो, “म तिमीलाई साँच्चो भन्छु। अब्राहाम जन्मनु भन्दा पनि अघिबाट म छँदै छ्।” 59 जब येशूले त्यसो भने, मानिसहरूले उहाँमाथि ढुङ्गाहरू टिपेर हाने। तर येशू लुक्नु भयो र मन्दिर छाडेर जानुभयो।
© 2004, 2010 Bible League International