Revised Common Lectionary (Complementary)
43 हे परमेश्वर, एकजना मानिस छ, जो तपाईंका भक्तजन मध्ये एकजना होइन।
त्यो मानिस दुष्ट छ र झूटो बोल्दछ।
हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, अनि प्रमाण दिनु होस् कि म सही छु।
मलाई त्यो मानिसबाट बचाउनु होस्।
2 हे परमेश्वर, तपाईं मेरो सुरक्षा-स्थल हुनुहुन्छ,
किन तपाईंले मलाई त्यग्नु भयो?
किन तपाईंले मलाई देखाउनु भएन
कि कसरी म मेरो शत्रुदेखि भाग्नु।
3 हे परमेश्वर, तपाईंको ज्योति र सत्यता ममाथि चम्कोस, तपाईंको ज्योति अनि सत्यताले मलाई बाटो देखाओस्।
तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत अनि तपाईं बस्ने मन्दिरमा डोर्याउनेछन्।
4 म परमेश्वरको वेदीमा जानेछु।
हे परमेश्वर, म परमेश्वरकहाँ आउनेछु जसले मलाई अत्यन्तै खुशी बनाउँनु हुन्छ।
हे परमेश्वर, हे मेरो परमेश्वर,
म वीणा बजाएर परमेश्वरको प्रशंसा गर्छु।
5 किन म यति साह्रो तल झरें?
किन म यत्ति साह्रो विचलित छु?
मैले परमेश्वरको सहायताको निम्ति पर्खनु पर्नेछ,
म फेरि अझै पनि उहाँको प्रशंसा गर्न मौका पाउँछु,
उहाँले मलाई बचाउनु हुन्छ।
एलीको परिवारमा डरलाग्दो अगमवाणी
27 परमेश्वरका एकजना दास आएर एलीलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘म तेरो पिता-पुर्खाहरू मिश्रमा फिरऊनको दासत्वमा रहेको समयमा म तेरो पिताको परिवारमा प्रकट भएँ। 28 इस्राएल भरिका कुलहरू मध्ये तेरो पिताको कुललाई मेरो पूजाहारीको रूपमा चुनेको थिएँ। मैले तिनीहरूलाई मेरो वेदीमाथि धूप बाल्न र मेरो उपस्थितिमा एपोद लाउन छानेको थिएँ। इस्राएलीहरूले चढाएका बलिको भाग उनीहरूसित मैले बाँडे। 29 तर तैंले ती बलि र भेटीहरूमा मेरो आदेश अनुसार आदर गरिनस्। मलाई भन्दा ज्यादा तैंले तेरो छोराहरूलाई सम्मान दिइस्। इस्राएलका मेरा मानिसहरूले मलाई चढाएको पवित्र बलिको भोजन खाएर तँ मोटाएकोछस्।’
30 “परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नुभयो तँ अनि तेरा पिताको सन्तानले सदा-सर्वदा मेरो सेवा गर्नेछन्। तर परमप्रभु अब यसो भन्नुहुन्छ, ‘यस्तो कहिले हुँदैन! मलाई जसले सम्मान गर्छन् म तिनीहरूको सम्मान गर्छु। तर जसले मेरो अनादर गर्छ ऊ अपमानित हुनेछ। 31 समय आउँदैछ जब म तेरो सन्तानलाई नष्ट गर्नेछु। तेरो परिवारमा कसैले पनि बुढो भइन्जेलसम्म जीउने छैनन। 32 इस्राएलको निम्ति असल दिन आउने छ, तर तैले घरमा खराब दिन देख्नेछस्। तेरो परिवारमा कोही पनि बुढो हुन्जेल बाँच्ने छैन। 33 तर तेरा सन्तानको एकजना व्यक्ति मेरो वेदीको पूजाहारीको रूपमा रहनेछ। उसको आँखाको शक्ति रहुन्जेल र शारीरिक शाक्ति कम्ती नहुन्जेल सम्म ऊ रहनेछ। तेरा सन्तान तरवारले काटिएको उसले देख्नेछ। 34 म तँलाई यो चिन्ह दिनेछु जसले गर्दा तैंले यो साँचो हो भनी जान्नेछस्। तेरा दुवै छोरा होप्नी र पीनहास एकै दिनमा मर्नेछन्। 35 म एउटा विश्वासयोग्य पूजाहारी नियुक्त गर्नेछु, जसलाई मैले आदेश गरे अनुसार काम गर्नेछ। म त्यस पूजाहारीको परिवारलाई शक्तिशाली बनाउनेछु। उसले जीवनभरी मैले चुनेको राजाको सामु सेवा गर्नेछ। 36 त्यसपछि तेरो परिवारमा कोही बाँचे भने तिनीहरूले पूजाहारीको अघि आएर झुक्नेछन् र भन्नेछन्, “दया गरी मलाई पूजाहारीको रूपमा नियुक्त गर्नुहोस् ताकि म सँग केही खाने चीज होस्।”’”
यहूदीहरू र व्यवस्था
17 तिमी को हौ? तिमी आफैंले आफूलाई यहूदी भन्दछौ। तिमी व्यवस्थामा भरोसा गर्छौ अनि आफ्नो परमेश्वरको घमण्ड गर्छौ। 18 तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूबाट के चाहनु हुन्छ। अनि तिमीहरू कुन कुरो मुख्य छ त्यो जान्दछौ, किनभने तिमीहरूलाई व्यवस्थाले सिकाएको छ। 19 तिमीहरू सोच्दछौं कि तिमीहरू नै जनताका मार्गदर्शक हौ तर तिमीहरू ठीक मार्ग जान्दैनौ। तिमी सोच्दछौ कि तिमीहरू जनताको निम्ति ज्योति हौं तर आफू स्वयं नै अन्धकारमा छौ। 20 तिमीले आफूलाई ती अज्ञानी मानिसहरूलाई सही कुरा सिकाउने भनेर सम्झन्छौ। अनि तिमीहरू आफूलाई मानिसहरूका उपदेशक भनेर ठान्दछौ जसले धेरै सिक्नु परेको छ। तिमीहरूसँग व्यवस्था छ यसैले तिमीहरू सोच्दछौ की सबै कुराहरू जान्दछौं र सबै सत्य तिमीहरूसँगै छ। 21 तिमीहरूले अन्य मानिसहरूलाई सिकाउँदैछौ। यसकारण तिमीहरू आफैंलाई किन पढाउँदैनौ? तिमीहरू अरूलाई नचोर भन्छौ तर आफैंचाहिँ चोर्दैछौं? 22 तिमीहरू मानिसहरूलाई व्यभिचारको पाप नगर्नु भन्छौ। तर तिमीहरू आफैं चाँहि त्यस्ता पाप गर्दछौ। तिमीहरू मूर्ती-पूजालाई घृणा गर्दछौ। तर तिमीहरू आफैं मूर्तिका मन्दिरहरूको धन किन लुट्छौ? 23 परमेश्वरको व्यवस्थाको विषयमा तिमीहरू घमण्ड गर्छौं। तर तिमीहरूले परमेश्वरको व्यवस्था भङ्ग गरेर उहाँलाई अनादर गर्छौ। 24 धर्मशास्त्रमा लेखिएको छः “तिमीहरूको कारणले, अन्य गैर-यहूदीहरूद्वारा परमेश्वरको अपमान भएको छ।”
25 यदि तिमीहरूले व्यवस्था अनुशरण गरेको भए तिमीहरूको खतनाको माने रहने थियो। तर यदि तिमीहरूले व्यवस्था भङ्ग गर्यौ भने तिमीहरू कहिल्यै खतना नभएको ठर्हने छौ। 26 गैर-यहूदीहरूको खतना भएको हुँदैन। तर यदि तिनीहरूले व्यवस्था अनुसार त्यसो गरे भने तिनीहरू खतना भएका ठहर्दछन्। 27 तिमी यहूदीहरूसँग लिखित व्यवस्था र खतना छ, तर तिमीहरूले व्यवस्था भङ्ग गर्यौ। यसकारण ती मानिसहरू जसको शारीरिक खतना भएको छैन, तर तिनीहरूले व्यवस्थालाई मान्दछन्, यसले तिमीहरू दोषी भएको देखाउँदछ।
28 यदि एक मानिस शारीरिक रूपले मात्र यहूदी हो भने ऊ साँच्चो अर्थमा यहूदी होइन। सत्य खतना शारिरिक खतना मात्र होइन। 29 एक मानिस मनको भित्री तहबाट मात्र साँच्चो यहूदी हुँदछ। साँच्चो खतना आत्माद्वारा हृदयमा भएको हुँदछ विधानद्वारा होइन। यो आत्माले गरेको हुँदछ, लिखित व्यवस्थाले गरेको हुँदैन। हृदयमा खतना भएको मानिसले मात्र परमेश्वरबाट प्रशंसा पाउँदछ, अनि मानिसहरूबाट होइन।
© 2004, 2010 Bible League International