Revised Common Lectionary (Complementary)
त्यस समय दाऊद विक्षिप्त भएपछि अबिमेलेकले उनलाई निकाली दियो। यसरी दाऊदले त्याग गरे। दाऊदको एउटा भजन।
34 हर समय म परमप्रभुलाई धन्यको भन्छु।
उहाँको स्तुति निरन्तर मेरो ओंठमा हुनेछ।
2 नम्र मानिसहरू! सुन र खुशी बन।
मेरो प्राणले परमप्रभुको विषयमा घमण्ड गर्दछ।
3 मसँग-सँगै परमप्रभुको स्तुति गर!
र हामी मिलेर उहाँको नाउँको बढाईं गरौं।
4 म परमेश्वरको सहायता पाउनलाई उहाँकहाँ गएँ।
अनि उहाँले मलाई उत्तर दिनुभयो।
मेरा सब डरहरूबाट उहाँले मलाई बचाउनु भयो।
5 उहाँको सहायता पाउन परमप्रभुलाई हेर,
तिमी लज्जित हुनु पर्ने छैन,
उहाँले तिमीलाई स्वीकार गर्नुहुने छ।
6 यस दुःखी मानिसहले उहाँको सहायता पाउनलाई परमप्रभुलाई पुकारा गर्यो।
अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो।
उहाँले मलाई सबै सङ्कटहरूबाट बचाउँनुभयो।
7 जुन मानिसहरूले परमप्रभुको अनुशरण गर्छन्, परमप्रभुको र्स्वगदूतले,
उनीहरूको चारैतिर छाउनी बनाउँछ अनि तिनीहरूलाई बचाउँछन्।
अनि स्वर्गदूतहरूले तिनीहरूको रक्षा गर्छन्।
8 परमप्रभुलाई जाँच गरेर हेर, उहाँ कति असल हुनुहुन्छ।
जुन मानिसले उहाँमाथि आश्रय राख्दछ ऊ अवश्य खुशी हुनेछ।
9 परमप्रभुका पवित्र भक्तजनहरू उहाँको उपासना गर।
उहाँ बाहेक परमप्रभुका भक्तजनहरूका लागि अरू कुनै सुरक्षित ठाउँ छैन।
10 बलवान मानिसहरू कमजोर र भोका हुनेछन्।
तर जुन मानिसहरू सहयोग माग्न परमेश्वर कहाँ जान्छन् तिनीहरू मध्ये प्रत्येकले असल थोकहरू पाउनेछन्।
11 केटा-केटीहरू मलाई ध्यान देऊ,
म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु।
12 यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ
र असल, लामो जीवन बाँच्न चाहन्छ भने,
13 तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन;
त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन।
14 नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर।
शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।
15 परमप्रभुले असल र राम्रो मानिसहरूको रक्षा गर्नुहुन्छ।
उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुन्छ।
16 तर परमप्रभु ती मानिसहरूका विरूद्ध हुनुहुन्छ जसले नरम्रा कामहरू गर्छन्।
उहाँले तिनीहरूलाई पूर्ण प्रकारले ध्वंश पारिदिनु हुन्छ!
17 परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ।
उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ।
18 जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्।
परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ।
अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ।
19 धार्मिक मानिसहरूका धेरै समस्याहरू हुन सक्छन्,
तर परमप्रभुले तिनीहरूका प्रत्येक समस्याबाट बचाँउनु हुनेछ।
20 परमप्रभुले तिनीहरूका सम्पूर्ण हड्डीहरू जोगाउनु हुनेछ।
एउटा पनि हड्डी भाँचिन दिनु हुनेछैन।
21 तर दुष्टहरूलाई संकष्ट र दुःखले मार्ने छन्।
असल मानिसहरूका शत्रुहरू ध्वंश हुने नै छन्।
22 जुन मानिसहरू उहाँमाथि आश्रित छन् परमप्रभुले आफ्ना दासहरूको प्राणको रक्षा गर्नु हुन्छ।
उहाँले तिनीहरूलाई ध्वंश हुन दिनु हुनेछैन।
दण्डले मानिसहरूलाई नष्ट गर्नेछ
5 मेरो मालिक सर्वशक्तिमान परमप्रभुले भूमिलाई छुनु हुन्छ,
अनि त्यो भूमि पग्लन्छ।
तब त्यस भूमिमा भएका सबै मानिसहरू मृतकहरूका निम्ति रूनेछन्।
त्यो प्रदेश मिश्रको नील नदी जस्तै
माथि उर्लन्छ अनि तल झर्दछ।
6 परमप्रभुले आफ्नो स्थान आकाशमाथि बनाउँनु भयो।
उहाँले आफ्नो आकाश पृथ्वीमाथि राख्नु भयो।
उहाँले समुद्रको पानीलाई बोलाउँनु हुन्छ।
अनि देशमाथि खन्याउनु हुन्छ।
उहाँको नाउँ परमप्रभु हो।
परमप्रभुको इस्राएललाई नष्ट गर्ने प्रतिज्ञा
7 परमप्रभु भन्नुहुन्छ:
“हे इस्राएली, तिमीहरू मेरा निम्ति कुश जस्तै हौ।
मैले इस्राएललाई मिश्रबाट निकालेर ल्याएँ।
मैले पलिश्तीहरूलाई करतोरबाट ल्याएँ।
अनि अरामीहरूलाई कोरबाट।”
8 हे परमप्रभु मेरा मालिकको आँखाहरू पापपूर्ण राज्यमाथि छन्।
परमप्रभुले भन्नुभयो,
“म इस्राएललाई पृथ्वीबाट सम्पूर्ण रूपले नष्ट पार्नेछु।
तर म याकूबको घरलाई ध्वंश गर्नेछैन।”
9 हेर! वेकारका मानिसहरूलाई
अलग गराउनु इस्राएलका मानिसहरूलाई
चालनिमा आँटा चाले झैं हल्लाउनु
म आज्ञा दिनेछु।
10 “मेरा मानिसहरू मध्येका पापीहरू तरवारले मारिन्छन्।
तिनीहरूले भन्दैछन्, ‘हामीमा नराम्रो आउनेछैन।’
अथवा हामीलाई जित्ने छैनन्।”
परमेश्वर राज्यको पुनस्थापनाको शपथ लिन्छन्
11 “त्यसदिन म दाऊदको ढलेको पाललाई उठाउनेछु,
म चर्केकाहरू र नष्ट भएका भवनहरू मर्मत गर्नेछु।
म त्यसलाई पहिलेको जस्तै
पुनः र्निर्माण गर्नेछु।
12 ताकि एदोममा बाँकी रहेका मानिसहरू
र राष्ट्रहरू जो मेरो नाउँले (यहोवा) कहलाइन्छन्,
तिनीहरू लिनलाई परमप्रभु,
जसले यी सब गर्ने घोषणा गर्नु हुन्छ।”
13 परमप्रभु भन्नुहुन्छ, “त्यो समय आइरहेछ,
जब प्रत्येक प्रकारको भोजन ज्यादाहुन्छ।
अब मानिसहरूले आफ्नो फसल काटिसकेका हुँदैनन्,
हलो जोत्ने समय आइहाल्छ,
मानिसहरू अहिले दाखरस निकाल्नको लागि बसेका हुन्छन्,
फेरि दाखको रोप्ने समय आइहाल्छ।
पहाडबाट दाखरसको धारा बग्ने छ
अनि त्यो पहाडबाट झर्नेछन्।
14 मेरो मानिस इस्राएलीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु।
तिनीहरूले त्यो नष्ट भएको शहर फेरि बनाउँनेछन्
अनि तिनीहरू ती शहरमा बस्नेछन्।
उनीहरूले दाख बारीहरू लाउनेछन्
अनि तिनीहरूले उब्जाऊ गरेको
दाखरस पिउनेछन्,
उनीहरूले बगैंचाहरू रोप्नेछन्
अनि त्यसबाट फलेको फलहरू खानेछन्।
15 उनीहरूलाई उनीहरूकै जमिनमा बसाउँछु
अनि उनीहरू फेरि त्यो देशबाट निकालिने छैनन्।
जुन मैले उनीहरूलाई दिएँ।”
परमप्रभु तिमीहरूका परमेश्वरले यी कुराहरू भन्नुभयो।
13 दाज्यू-भाइ, दिदी-बहिनीहरू म जान्दछु, म अझै त्यस लक्ष्यमा पुगेको छैन। तर एउटा कुरा जुन म सधैँ गर्छु, त्यो होः म बितेको कुरा भुलिदिन्छु अनि आफ्नो अघिल्तिरकै लक्ष्यमा पुग्न म सक्दो कोशिश गर्छु। 14 लक्ष्यमा पुग्ने र पुरस्कार पाउने कोशिश म गरिनैरहन्छु। त्यो पुरस्कार मेरो निम्ति पक्का गरिएकोछ किनकि परमेश्वरले मलाई ख्रीष्टद्वारा जीवनमाथि बोलाइएको छु।
15 हामी जो आत्मिक पाको भएका छौं सबैले यस प्रकारले नै सोच्नु पर्छ। अनि यदि केही विषयमा तिम्रो विचारसित नमिल्ने कति यस्तो भिन्दै प्रकारले सोच्छ भने परमेश्वरले उसलाई स्पष्ट पारिदिनु हुनेछ। 16 तर हामीमा पहिले देखि भएको सत्यलाई भने छोड्नु हुँदैन।
17 दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरू सबैले म बाँचे झैं बाँच्ने चेष्टा गर्नुपर्छ। अनि ती मानिसहरूलाई पछ्याउ जसले हामीले बताएका तरिकामा बाँचिरहेका छन्। 18 धेरै मानिसहरू ख्रीष्टको क्रूसको शत्रु जस्ता भएर बाँचेका छन्। मैले त्यस्ता मानिसहरूको बारेमा बारम्बार भन्दै आएको छु अनि अहिले पनि म आँसु खसाउँदै तिनीहरूका बारेमा भनिरहेछु। 19 तिनीहरू जुन तरिकामा बाँचेकाछन् त्यसले तिनीहरूलाई विनाश तिर घचेट्नेछ। तिनीहरू परमेश्वरको सेवा गर्दैनन्। ती आफैंलाई खुशी राख्न मात्र बाँच्छन्। ती लाज लाग्दो काम गर्छन् र त्यसमा गर्व गर्छन्। 20 तर हामी स्वर्गका बासिन्दा हौं। हाम्रा मुक्तिदाताको स्वर्गबाट आगमनको निम्ति हामी पर्खिबसेका छौं। प्रभु येशू ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ। 21 उहाँले हाम्रो दुर्बल शरीर बद्ली गरेर उहाँको शक्तिले आफ्नै जस्तो महिमाशाली शरीर बनाइदिनु हुनेछ। त्यही शक्तिले उहाँ प्रत्येक चीजलाई आफ्नो अधीनमा ल्याउन योग्य हुनुहुनेछ।
गर्न पर्ने कामहरू
4 मेरा प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू, म तिमीहरूलाई माया गर्छु र भेट्न चाहन्छु। तिमीहरूले मलाई खुशी पार्यौ अनि तिमीहरूमाथि गर्वित तुल्यायौ। मैले सिकाए जस्तै प्रभुलाई पछ्याउन नछोड।
© 2004, 2010 Bible League International